किराँती दन्त्यकथा : खे: सुङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~

सर्वप्रथम मानव जातिको सृष्टिका क्रममा स्त्री जातिको सृष्टि भयो भनी लिम्बू बूढापाकाहरूले भन्छन् । यस जातिलाई मुजिङ्ना खियोङ्ना भनिन्थ्यो र यस जातिका आइमाईहरू फट्याङ्ग्रा जत्रा थिए । तरूनी भएपछि कामदेवले उनीहरूलाई सताएका हुनाले उनीहरू लोग्ने खोज्न स्वर्गलोक र मर्त्यलोकको चारैतिर डुले तर उनीहरूले कहीँ पनि लोग्ने पाएनन् । यसरी लोग्ने नपाएपछि पातहरू बजाउँदै विरहका गीतहरू गाउँदै उनीहरू जङ्गल- जङ्गलमा घुम्न थाले ।

सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले उनीहरू पीरमर्का बुझेर वायु देवता पठाए । वायु देवताले सबै मुजिङ्ना खियोङ्नाहरूलाई गर्भवती बनाए । दश महिनापछि हजारौं हजार स्त्री, पुरूष मानवहरूको जन्म भयो र केही समयपछि उनीहरूले संसार नै ढाके । त्यस बेला उनीहरूमा ज्ञान तथा बुद्वि विवेकको विकास भई नसकेकाले उनीहरू पशु सरह थिए । उनीहरूलाई खाम्जिरी खाम्बोङ्वा सा, लुङ्जिरी लुङ्बेङ्बा सा जातिका मानव भनिन्थ्यो, अत्यन्त पुड्का थिए ।

खाम्जिरी खाम्बोङ्बा सा, लुङ्जिरी लुङ्बोङ्बा सा मानव जातिका पालामा संसारभरि पाप, भ्रष्टचार, अत्यचार, व्यभिचार, आपसमा लडाइँ तथा मारकाट, चोरी एवम् अराजकता फैलिएको थियो । यो देखेर तागेरा निङ्वाफुमाङ साह्रै रिसाए । उनीहरू सबैलाई सखाप पार्ने विचार गरे । उनले समुद्रमा पानी बढाएर पृथ्वीका डाडाँकाडाँहरू ढाके र महाप्रलय ल्याए । ‘खाम्जिरी खाम्बोङ्बा सा, लुङ्जिरी लुङ्बोङ्बा सा‘ मानव जातिका प्राय: सबैजसो नष्ट भए । उनीहरूमध्ये केही मात्र बाँचे । त्यसपछि उनीहरूमा चेतनाको विकास भयो । नातागोतामा विवाह गर्नु हुँदैन, एकले अर्कालाई थिचोमिचो गर्नु हुँदैन र सबै मिलेर बस्नुपर्छ भन्ने चेतना उनीहरूमा देखा पर्यो । त्यसै बेला सोधुङ्गेन लेप्मुहाङको उत्पत्ति भयो । उनले मानिसहरूलाई खेती गर्न सिकाए । मानिसहरूले मधेसमा धानको खेती र पहाडमा मकैको खेती गर्न थाले । मानिसहरूले खेती गर्न जानेपछि उनीहरूको जीवन सुखमय भयो । सबै मानिसहरूले सोधुङ्गेन लेप्मुहाङको पूजा गर्न थाले । मानिसहरूले खेती गर्न त जाने तर त्यसलाई कसरी पकाएर खानुपर्छ भन्ने कुरा चाहिँ जानेका थिएनन् र भाँडाकुँडाको आविष्कार पनि भइसकेको थिएन । सोधुङ्गेन लेप्मुहाङले ती मानिसहरूलाई भात पकाउन पनि सिकाए । सर्वप्रथम मानिसहरूले बाँसको आँखाभित्र चामल राखेर त्यसलाई आगोमा राखी भात पकाए । त्यो भात खाएपछि मानिसहरू साह्रै खुसी भए । त्यसपछि उनीहरूले पाकेको भात सोधुङ्गेन लेप्मुहाङलाई चढाउन थाले ।यसरी थाकको थाक भात सोधुङ्गेन लेप्मुहाङको वरिपरि थुप्रिन थाल्यो र चढाएको भात कुहिएर सडेर जान थाल्यो । मानव जातिले ठूलो परिश्रम गरी उब्जाएको अन्न यसरी खेर गएकाले एक दिन सोधुङ्गेन लेप्मुहाङले सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङ्लाई विन्ती गर्दै भने – “यसरी सडेगलेको अन्नलाई कसरी खान हुने बनाउन सकिन्छ भन्ने सम्बन्ध हजुरले मलाई ज्ञान दिनुहोस् ।” दन्त्यकथा

तागेरा निङ्वाफुमाङले भने – “आज राति सपनामा यसको सम्बन्धमा म तिमीलाई भन्छु र सपनामा म जे भन्छु त्यही बमोजिम गर्नू ।”

सोधुङ्गेन लेप्मुहाङलाई राति सपनामा तागेरा निङ्फुमाङले भने “तिमीले जङ्गलमा गई यो- यो किसिमको पाँच थरीको औषधी ल्याउनू र सडेगलेको भातमा राखिदिनू । यति गरेमा त्यो पुन: खान योग्य हुन्छ ।”

सपनामा तागेरा निङ्वाफुमाङले बताए बमोजिम सोधुङ्गेन लेप्मुहाङले जङ्गलबाट पाँच किसिमका औषधी खोजी ल्याएर सडेगलेको भातमा राखे ।केही समयपछि त्यो सडेगलेको भात ‘काताक्वा: मो लोप्मा थी‘ (जाँड) मा परिणत भई खान योग्य भयो । तर जब मानिसहरूले यसलाई खान थाले उनीहरू आपसमा झगडा गर्न थाले । त्यसपछि सोधुङ्गेन लेप्मुहाङले त्यस चीजलाई ‘खे:‘ (झगडा वा लडाइँ गर्नु) र ‘सुङ‘ (चिज) भनी नामकरण गरे । त्यसैले लिम्बूहरू आज पनि जाँड बनाउने मोर्चालाई ‘खे:सुङ‘ भन्दछन् । दन्त्यकथा

(सङ्कलक: शिवकुमार श्रेष्ठ)

इतिहासमा स्नातकोत्तर गरेका शिवकुमार श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन्। श्रेष्ठ किरात याक्थुङ्ग केन्द्रीय कार्यसमितिको मानार्थ सदस्यता समेत प्राप्त गरेका छन्।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.