~सोनाम सोल्टी~
तिम्रा उत्साहका स्वरहरु,
मेरा सफलताका सोपानहरु हुन्,
स्वरहरुलाई बलियो पार ।
तिम्रा शुभ चाहनाहरु,
मेरा आकांक्षाका प्रारम्भहरु हुन्,
चाहनाहरुलाई खँदिलो पार ।
हेर ! अनन्त यात्रामा निस्किएका छौं हामी,
क्षितिज ताकेर पाइला सार,
गुराँस जस्तो शुभकामना लिएर हिँडेका छौं हामी,
त्यसलाई सम्हालेर राख ।
000000
तिम्रा दरिला हातहरु,
मेरा विजय यात्राका सहाराहरु हुन्,
हातहरुलाई कसिलो पार ।
तिम्रा गन्तव्य ठम्याउने दृष्टिहरु,
मेरा यात्राका कम्पास हुन्,
दुष्टिहरुलाई दुरुस्त राख ।
हेर ! मानवताको युद्धमा होमिएका छौं हामी
न्यायलाई नै ध्येय मान,
विजयको अग्रिम उदघोष लिएर बढेका छौं हामी,
त्यसलाई अन्तसम्म तान ।
000000
तिम्रा अथक पाइलाहरु
मेरा यात्राका बाहनहरु हुन्,
पाइलाहरुलाई छरितो पार ।
तिम्रा अजेय शक्तिहरु
मेरा आशिर्वादका प्रतिकहरु हुन्,
शक्तिहरुलाई एक गठ जोड ।
हेर ! अन्तिम समरका हामी योद्धा हौँ,
राक्षसहरुलाई ध्वस्त गर ।
असमानता सम्याउन लागेका छौं हामी,
आफूलाई बलियो पार ।
000000
आउ ! स्वरहरु देउ,
हातहरु बढाउ,
पाइलाहरु टेक,
आकांक्षा दह्रो पार ।
यो नै त हो अन्तिम समर,
विजयका निम्ति आफूलाई तयार गर ।
– लामिडाँडा, खोटाङ्ग
प्रकाशित मिति : 2008-08-18- 10:14
(स्रोत : Americadarpan)
