पुस्तक समीक्षा : समय र सपनाहरू: पीडाको पिरामिड

~रमण घिमिरे~Raman Ghimire

भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् । 

वाचाल कवितासिर्जनाका एक प्रखर कवि हुन् विमल । उनका कवितामा समसामयिक राजनीतिक र सामाजिक व्यंग्य चेतना मुखरित हुन्छन् । जीवन र कविता फरक–फरक कुरा होइनन् । कवितामा कल्पनाको आयतन फराकिलो भए पनि त्यसमा वर्णित पात्र र घटना कहीँ न कहीँ यथार्थको धरातलमा उभिएरै अभिव्यक्त भइरहेका हुन्छन् ।bookcover - Samay ra sapanaharu - Bimal Baidhya

उनी कवितामा पारम्परित फूल, नदीनाला, हिमाल, पहाडजस्ता प्राकृतिक विम्ब खन्याएर कविता सिर्जना गर्न चाहँदैनन् । किनभने, आजको कविताको विम्ब फरक भइसकेको छ । आजको कविताको प्रतीक, विम्ब, घटना, पात्र मान्छेमा साँघुरिएको छ । त्यसैले वैद्य मान्छेकै कविता लेख्छन् । किनभने, यही मान्छेभित्र बाँचेको हुन्छ, कविमन पनि ।

संग्रहभित्रको एक सशक्त काव्यसिर्जना हो, ‘शिशिरको खेतमा घामको खेती’ । ‘एउटा प्रश्न तपाईंहरूलाई’मा राजनीतिक चेत हुँदाहुँदै पनि कवितालाई उनले नारा हुन दिएका छैनन् । अर्को पठनीय कविता हो, ‘सिमानाको राजनीति’ ।

विद्रोह र निराशा उनका कविताका उद्गम हुन् । यससँगै पीडा, विरह, आक्रोश आदि पक्ष बयली खेल्दै आउँछन् । शान्ति, सुख, उत्साह कुनै अमुक सीमाभित्र थुनिएका छन् । आजको मान्छे छटपटीमा छ, मनभित्र कोलाहल बोकेर हिँडिरहेको छ । न उसको यात्रा छ, न गन्तव्य । निरुद्देश्य भौँतारिरहेछ ।
विडम्बना के भने १२ वर्षको समय र परिस्थितिमा कुनै सकारात्मकता देखा पर्न सकेन । झन्झन् विग्रह र विचलनका चाङ खप्टिन पुगेका छन् । कवितामा मात्र कवि कसरी न्याना, स्नेहपूर्ण, मायालु र विश्वासका शब्दहरू उमार्न सक्छ ? तैपनि, मानिसभित्रको आशा बीज त ज्यूदै रहँदो रहेछ । त्यसैले होला उनी भन्छन्, ‘हिँडिरहनुपर्छ । पछाडि नफर्की निरन्तर हिँडिरहनुपर्छ । किनभने, हिँडेपछि नै हो, कुनै डाँडामा पुगिने र कुनै डाँडामा पुगेपछि नै हो अर्को डाँडा देखिने । र, बाटो टुंगिएपछि नै हो, अर्को क्षितिज देखिने ।’

द्वन्द्वै–द्वन्द्व र प्रताडनाहरूले भरिएका ३४ वटा कविता छिचोलिसकेपछि अन्तिम ३५औँ कवितामा भने कवि सकारात्मक देखिन्छन् । सायद उनी प्रेमलाई बिटुल्याउन चाहँदैनन् । र, सायद अबको उनको कविताको बाटोमा सकस र विडम्बना तगारो हाल्न आउँदैनन् । र उनले भनेझैँ अबको मान्छे ‘पीडाहरूको पिरामिड’ नहोला बरू प्रेमको ताजमहल हुन सक्ला । समग्रमा समय र सपनाहरूमा संग्रहित वैद्यका कविताले पछिसम्म पाठकको मनमा छाप छोड्न सफल छन् । संग्रहका कवितामा मान्छेभित्रको पीडालाई मर्मस्पर्शी रूपमा अभिव्यक्त गरिएका छन् ।

समय र सपनाहरू

लेखक  :    विमल वैद्य
प्रकाशक  :    शैलुङ बुक्स
पृष्ठ :   ८०
मूल्य :    १५१ रुपियाँ 

प्रकाशित: भाद्र ११, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.