~रमण घिमिरे~
भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् ।
वाचाल कवितासिर्जनाका एक प्रखर कवि हुन् विमल । उनका कवितामा समसामयिक राजनीतिक र सामाजिक व्यंग्य चेतना मुखरित हुन्छन् । जीवन र कविता फरक–फरक कुरा होइनन् । कवितामा कल्पनाको आयतन फराकिलो भए पनि त्यसमा वर्णित पात्र र घटना कहीँ न कहीँ यथार्थको धरातलमा उभिएरै अभिव्यक्त भइरहेका हुन्छन् ।
उनी कवितामा पारम्परित फूल, नदीनाला, हिमाल, पहाडजस्ता प्राकृतिक विम्ब खन्याएर कविता सिर्जना गर्न चाहँदैनन् । किनभने, आजको कविताको विम्ब फरक भइसकेको छ । आजको कविताको प्रतीक, विम्ब, घटना, पात्र मान्छेमा साँघुरिएको छ । त्यसैले वैद्य मान्छेकै कविता लेख्छन् । किनभने, यही मान्छेभित्र बाँचेको हुन्छ, कविमन पनि ।
संग्रहभित्रको एक सशक्त काव्यसिर्जना हो, ‘शिशिरको खेतमा घामको खेती’ । ‘एउटा प्रश्न तपाईंहरूलाई’मा राजनीतिक चेत हुँदाहुँदै पनि कवितालाई उनले नारा हुन दिएका छैनन् । अर्को पठनीय कविता हो, ‘सिमानाको राजनीति’ ।
विद्रोह र निराशा उनका कविताका उद्गम हुन् । यससँगै पीडा, विरह, आक्रोश आदि पक्ष बयली खेल्दै आउँछन् । शान्ति, सुख, उत्साह कुनै अमुक सीमाभित्र थुनिएका छन् । आजको मान्छे छटपटीमा छ, मनभित्र कोलाहल बोकेर हिँडिरहेको छ । न उसको यात्रा छ, न गन्तव्य । निरुद्देश्य भौँतारिरहेछ ।
विडम्बना के भने १२ वर्षको समय र परिस्थितिमा कुनै सकारात्मकता देखा पर्न सकेन । झन्झन् विग्रह र विचलनका चाङ खप्टिन पुगेका छन् । कवितामा मात्र कवि कसरी न्याना, स्नेहपूर्ण, मायालु र विश्वासका शब्दहरू उमार्न सक्छ ? तैपनि, मानिसभित्रको आशा बीज त ज्यूदै रहँदो रहेछ । त्यसैले होला उनी भन्छन्, ‘हिँडिरहनुपर्छ । पछाडि नफर्की निरन्तर हिँडिरहनुपर्छ । किनभने, हिँडेपछि नै हो, कुनै डाँडामा पुगिने र कुनै डाँडामा पुगेपछि नै हो अर्को डाँडा देखिने । र, बाटो टुंगिएपछि नै हो, अर्को क्षितिज देखिने ।’
द्वन्द्वै–द्वन्द्व र प्रताडनाहरूले भरिएका ३४ वटा कविता छिचोलिसकेपछि अन्तिम ३५औँ कवितामा भने कवि सकारात्मक देखिन्छन् । सायद उनी प्रेमलाई बिटुल्याउन चाहँदैनन् । र, सायद अबको उनको कविताको बाटोमा सकस र विडम्बना तगारो हाल्न आउँदैनन् । र उनले भनेझैँ अबको मान्छे ‘पीडाहरूको पिरामिड’ नहोला बरू प्रेमको ताजमहल हुन सक्ला । समग्रमा समय र सपनाहरूमा संग्रहित वैद्यका कविताले पछिसम्म पाठकको मनमा छाप छोड्न सफल छन् । संग्रहका कवितामा मान्छेभित्रको पीडालाई मर्मस्पर्शी रूपमा अभिव्यक्त गरिएका छन् ।
समय र सपनाहरू
लेखक : विमल वैद्य
प्रकाशक : शैलुङ बुक्स
पृष्ठ : ८०
मूल्य : १५१ रुपियाँ
प्रकाशित: भाद्र ११, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )
