कथा : हिस्सा

~रत्न प्रजापति~Ratna Prajapati

आन्दोलनको क्रममा जिल्ला बन्दको घोषणा गरिएको थियो। बन्द सफल पार्न पार्टीका युवा कार्यकर्ताहरू बजार बन्द गराउँदै हिँडेका थिए। ठाउँठाउँमा जुलुस पनि निकालिएका थिए। ऊ पनि त्यस्तै एउटा जुलुसमा मिसिएको थियो। बजारको मुख्य चोकमा पुगेपछि जुलुसमा मिसिनेहरूको संख्या अझै बढ्यो। चोकमा लाठी र हतियारसहितको सुरक्षाकर्मीलाई देखेपछि जुलुसमा सहभागी आन्दोलनकारीहरू उत्तेजित भए। उत्तेजनामै उनीहरूले चर्का नारा लगाए। चर्का नारा लाग्न थालेपछि सुरक्षाकर्मी पनि उत्तेजित भए। दुवैतर्फको उत्तेजनाले गर्दा मुठभेडको स्थिति उत्पन्न भयो। जुलुस चर्को नारा लाउँदै अघि बढ्यो। सुरक्षाकर्मीले त्यसलाई रोक्न खोज्यो। यही क्रममा दुवैतर्फबाट घम्साघम्सी भयो। हात हालाहाल भयो। सुरक्षाकर्मीको लाठी खाएर आन्दोलनकारीहरू सडकमै ढले। सुरक्षाकर्मीले हवाइ फायर नै गर्न थालेपछि आन्दोलनकारीहरूमा भागदौड सुरु भयो। एकै छिनमा सडक सुनसान भयो।

एउटा मान्छे भने सडकको छेउमा लडी नै रहेको थियो। त्यो मान्छे उही नै थियो। एउटा बूढो मान्छे आएर उसलाई नियालेर हेर्योउ। उसको ढुकढुकी हल्का चलिरहेको थियो। ‘मान्छे जिउँदै छ…।’ बूढो करायो। त्यसपछि बिस्तारै अरू मान्छे पनि आए। अघि सुरक्षाकर्मीले हवाइ फायर गरेपछि भागेका आन्दोलनकारीहरू पनि आए। सबैले उसलाई हेरेमात्रै। अस्पताल लाने धृष्टता कसैले गरेनन्। बरु नारा लाउन थाले, ‘प्रहरी दमन मुर्दावाद…!’

उसको वरिपरि आन्दोलनकारीहरूको भिड लाग्यो। ऊ भने निष्प्राण भएर लडिरह्यो। यतिन्जेलसम्ममा साँच्चै नै उसको प्राणपखेरु उडिसकेको थियो। आन्दोनलकारीलाई बहाना मिलिहाल्यो आन्दोलन चर्काउने। अब त्यहाँ एउटा होइन, दुइटा पनि होइन, धेरै राजनीतिक पार्टीका कार्यकर्ता भेला हुन थाले। सबैले उही नारा लाउन थाले, ‘प्रहरी दमन मुर्दावाद! राज्य आतंक बन्द गर!’

मृत्युको त्यो खबर उसको घरमा पनि पुगिसकेको थियो। उसका वृद्ध बाबुआमा रुँदै–कराउँदै घटनास्थलमा आइपुगे। मरेको छोराको छातीमा घोप्टिएर आमा रुन थालिन्, ‘मेरो छोरा, मेरो सहारा…!’ उसको बाबु उसैगरी रुन थाले हुँक्कहुुँक्क…! वातावरण मौन भयो, संवेदनाले भरियो। तर एकै छिनमा फेरि नाराबाजी हुन थालिहाल्यो, ‘प्रहरी दमन मुर्दावाद…! हत्यारालाई कारबाही गर्…! पीडितलाई क्षतिपूर्ति दे…’

प्रहरी आएर लास उठाउन खोज्यो। तर राजनीतिक पार्टीका कार्यकर्ताले लास उठाउन दिएनन्। प्रहरीले पोस्टमार्टम गर्नुपर्छ भने। कार्यकर्ताले मानेनन्। भने, ‘पहिले क्षतिपूर्ति र मृतकलाई सहिद घोषणा गर। अनिमात्रै लास हामी आफैं उठाउँछौं।’

अब आन्दोलनको स्वरूप फेरियो र उद्देश्य पनि फेरियो। अबको आन्दोलन लासकेन्द्रित हुन थाल्यो, क्षतिपूर्ति र सहिद घोषणामा केन्द्रित हुन थाल्यो। यो उद्देश्यमा सबै राजनीतिक पार्टीको एकमत रह्यो। आन्दोलनकारीहरूको संख्या झन् थपियो। केही छिनअघिको भन्दा बढी आन्दोलनकारी देखिए सडकमा।

सबै पार्टीले साझा वक्तव्य जारी गरे, ‘प्रहरी दमनमा मृत्यु भएकाले मृतकलाई सहिद घोषणा गर्नुपर्छ र मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप दस लाख रुपैयाँ दिनुपर्छ।’

राज्यका तर्फबाट प्रहरीको भनाइ आयो, ‘मृत्युको कारण हृदयाघात हो, प्रहरी दमन होइन।’

मृत्युको कारण प्रहरी दमन नै भएको भन्दै आन्दोलनकारीले सडकमा प्रदर्शन गरे। टायर बाले। चक्काजाम गरे। अटेर गरी एउटा ट्रक आयो। आन्दोलनकारीले ड्याङ्ङ ढुंगा हानिहाले। ट्रकको सिसा झिरिप्पै भयो। त्यसपछि त्यो ट्रक जताबाट आएको हो उतै फर्क्यो। ट्रक फर्केको देखेर अरू सवारी पनि उसैगरी फर्के। अब सवारी आवागमन ठप्प भयो।

पैदलयात्रुको चापले सडकमा मान्छेको भिड झन् बढ्यो। जिज्ञासावश सडकमा ओर्लनेहरूको संख्यासमेत बढेपछि आन्दोलनले ठूलै रूप लिएको देखियो र सरकारमाथि सामाजिक दबाब बढ्यो।

मृतकलाई सहिद घोषणा भएन र क्षतिपूर्तिको घोषणा पनि भएन। यसले गर्दा सडकमा आन्दोलन पनि रोकिएन। सबै राजनीतिक पार्टीका कार्यकर्ताहरू पार्टीको झन्डा बोकेर सडकमा ओर्लिए। आन्दोलन कामकुरा एकातिर कुम्लो बोकी कतातिर भनेझैं भयो।

सडकमा विभिन्न प्रतिक्रियाहरू सुनिन थाले—

– आन्दोलन हुनासाथ प्रहरीले बल प्रयोग गरिहाल्नु ज्यादती हो…

– जनताको ज्यानै लिनु प्रहरी दमन नै हो…

– मृतकलाई सहिद घोषणा गर्नैपर्छ र क्षतिपूर्ति दिनैपर्छ…

चौतर्फी दबाबपछि सरकार र पीडितका पक्षबीच वार्ता भयो। वार्तामा पीडितका तर्फबाट स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भए। सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीलगायत प्रहरी उच्चपदस्थ अधिकारीहरू सहभागी भए। वार्ता स्थलबाहिर पूर्ववत् नारा लागिरह्यो—

– हत्यारालाई कारवाही गर्…

– मृतकलाई सहिद घोषणा गर्…

– मृतकका परिवारलाई दस लाख रुपैयाँ क्षतिपूर्ति दे…

वार्तामा पनि यही माग दोहोरियो। मृतकलाई सहिद घोषणा गर्न र पीडित पक्षले भनेजति क्षतिपूर्ति दिन सरकार पक्ष मञ्जुर भएन। अन्ततः वार्ता असफल भयो।

पीडितका तर्फबाट प्रमुख राजनीतिक दलहरूको आह्वानमा भोलिपल्ट जिल्ला बन्दको घोषणा भयो। बिहानैदेखि लाठी बोकेका युवाहरू बजार बन्द गराउँदै हिँडे। सडकमा गुडेका सवारीमाथि फेरि पनि ढुंगा हान्ने काम भयो। बिरामी बोकेको एम्बुलेन्सलाई अवरोध पुर्याँए। सुरक्षाकर्मीको पहलमा एम्बुलेन्सलाई छाडे पनि बन्दका नाउँमा आम नागरिकले सास्ती खेप्नुपरेपछि सरकारमाथि नै दबाब बढ्यो। अन्ततः वार्ता हुने भयो।

पूर्ववत् वार्ता भयो। वार्तामा उही माग दोहोरियो। आन्दोलनमा थप साना राजनीतिक दलहरूसमेत सामेल भएपछि सरकारमाथि थप दबाब बढ्यो। अनि स्थितिको गाम्भीर्यलाई मनन् गर्दै सरकार पक्ष लचिलो भएर प्रस्तुत भयो। अन्ततः पीडित पक्षको दस लाख क्षतिपूर्तिको मागलाई सम्बोधन गर्ने सहमति भयो। सहिद घोषणा गर्नुपर्ने मागलाई भने उपल्लो निकायमा थप छलफल र निर्णयार्थ वार्ताको निर्णय प्रस्तुत गर्ने सहमति भयो। त्यसपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भयो।

उसको मृत्युको विषयलाई लिएर भएको आन्दोलन सकियो र सुरु भयो क्षतिपूर्तिको प्रक्रिया। उसको बूढा बाबुलाई लिएर विभिन्न राजनीतिक दलका केही कार्यकर्ताहरूले वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म धेरै दिनसम्म धाए। बाबुले सम्‰यो– छोरा नरहे पनि राजनीतिक दलका कार्यकर्ताहरूले छोराले जस्तै साथ दिइरहेछन् र सघाइरहेछन्। यो कुराले मृत्युको कारण दुखेको मनलाई केही सान्त्वना मिल्यो। सम्‰यो कि छोरा राम्रै काममा लागेको रहेछ। कार्यकर्ताहरूले बाबुलाई सान्त्वना दिने क्रममा भनेजस्तै साँच्चै ऊ देशकै लागि लडेको रहेछ भन्ने सम्‰यो उसले पनि।

धेरै दिन सरकारी कार्यालय धाएपछि बल्ल उसको मृत्युको क्षतिपूर्तिबापतको दस लाख रुपैयाँको चेक उसको बाबुको हातमा पर्योय। दस लाख रुपैयाँका चेक पाएपछि बाबुआमाले छोराको अभावमा पनि भविष्य केही सुरक्षित भएको सम्झे। त्यो चेकलाई नै आफ्नो छोरा सम्झेर उनीहरूले मायाले छातीमा टाँसे। तर आफ्नो हीराको टुक्राजस्तो छोराको जीवन दस लाख रुपैयाँसँग साटिएकोमा भने उनीहरूलाई निकै खिन्न र उदास बनायो। सधैं साँझ परेपछि ‘भात पाकेको छैन आमा?’ भन्दै दैलाबाट हामफालेर आउने छोरा अब कहिल्यै नफर्किने भएपछि उनीहरूको घरमा देखिएको शून्यता र रिक्तताको अनुभूति त्यो दस लाख रुपैयाँले नमेटिने सोचेर दुवै उसको तस्बिर हेर्दै टोलाउन थाले।

चेक बुझेको भोलिपल्टै अस्तिअस्ति उसको बाबुसँगै सरकारी कार्यालय धाउने केटाहरू ‘चेक साट्नुभयो बा?’ भन्दै उसको घर धाउन थाले। ‘यो चेकका लागि हामीले पनि धेरै दुःख गर्यौंा, अलिकति हिस्सा हामीलाई पनि चाहिन्छ।’ केटाहरूले नम्रतापूर्वक नै भने। बूढा बाबु केही नबोली बसे। उसको बाबुले त्यो चेक हिजैमात्र बैंकमा खाता खोलेर जम्मा गरेको थियो। उसको निरक्षर बाबुलाई खाता खोल्न उसको मामाले सघाएका थिए।

हरेक दिन पार्टीका केटाहरू आएर सोध्न थाले, ‘चेक साट्नुभयो बा?’ तर पनि उनी नबोली बसिरहेे। सुरुसुरुमा छोराको पीरले नबोलेको होला भन्दै केटाहरूले केही भनेनन्। तर धेरै दिनसम्म नबोली बसेपछि केटाहरूको धैर्य टुट्यो। अब अलिकति जबरजस्ती नै गर्नथाले। ‘हाम्रो हिस्सा नदिने हो भने नराम्रो हुन्छ है बा,’ केटाहरूले घुमाउरो पारामा धम्की नै दिन थाले।

‘आफ्नो छोरा नै नरहेपछि यो रुपैयाँसँग केको मोह।’ यस्तो सोच्दै उसको बाबुले अलिकति पैसा केटाहरूको एउटा समूहलाई दियो। केटाहरू खुसी भए।

भोलिपल्टै अर्को राजनीतिक पार्टीका केटाहरू आएर भन्न थाले, ‘हाम्रो हिस्साचाहिँ खोइ त बा?’ उसको बाबु फेरि पनि उसैगरी नबोली बसिरह्यो। अन्तमा उनीहरूले पनि उसैगरी घुमाउरो पारामा धम्की दिएर गए, ‘हाम्रो हिस्सा नदिने हो भने राम्रो हुँदैन है बा।’

उसको बाबुलाई डर लाग्न थाल्यो। ‘पैसाका लागि यी केटाहरूले जे पनि गर्छन्। ज्यानभन्दा त यो पैसा ठूलो होइन। छोरै नरहेपछि आखिर कसका लागि साँच्नु यो पैसा?’ यस्तो सोच्दै उसको बाबुले ती केटाहरूलाई पनि अलिकति पैसा दियो। ती केटाहरू पनि खुसी भएर गए।

अर्को दिन फेरि अर्को राजनीतिक पार्टीका केही केटाहरू आएर भने, ‘सबैलाई आ–आफ्नो हिस्सा दिनुभयो, हामीलाई चाहिँ बिर्सनुभयो? के हामीले चाहिँ परेको बेला तपाईंलाई सहयोग गरेका थिएनौं र?’ यस्तो सुनेर पनि उसको बाबु पहिलाझैं चुप लागेर बसिरह्यो। केटाहरूले रिसाएर भने, ‘हामीलाई पनि हाम्रो हिस्सा चाहिन्छ। नत्र राम्रो हुँदैन है बा।’

केटाहरूको कुरा सुनिरहेकी उसकी आमालाई उनीहरूको कुरा सुनेर असह्य भयो। अनि उनी रुँदै चिच्याइन्, ‘यसरी आफ्नो हिस्साका लागि मरिमेट्नेहरूले मेरो छोराको लासलाई टुक््रयाएर आ–आफ्नो हिस्सा किन लिएनौ हँ?’

उसकी आमाको कुरा सुनेर केटाहरू रिसले चुर भए। ती केटाहरूले राताराता आँखाले उसको बाबु र आमालाई पालैपालो हेर्नथाले। उसको बूढो बाबु डरले थुरथुर काम्न थाले। ‘लासको मूल्यमा पनि हिस्सा खोज्ने द्रव्यपिशाचहरू…!’ यस्तो भन्दै आमाचाहिँ रुँदै आँसु पुछिरहिन्।

अन्ततः उसका बाबुले ती केटालाई उनीहरूको हिस्सा दिएर पठाए। पैसा पाएर केटाहरू खुसी हुँदै गए। तर अब दुःखी हुने पालोचाहिँ तिनै वृद्ध बाआमाको थियो। किनभने उसको मृत्युबापत क्षतिपूर्तिस्वरूप सरकारले दिएको दस लाख रुपैयाँ राजनीतिक पार्टीका केटाहरूलाई उनीहरूको हिस्सा दिँदादिँदै सकिइसकेको थियो। छोरा त रहेनरहेन, छोराको नाउँमा आएको पैसा पनि रहेन। अब विनासहारा कहालीलाग्दो भविष्य सम्झेर उनीहरू अत्तालिए र भक्कानिए। अनि बूढाबूढी अँगालो हालेर छोरा सम्झँदै ह्वाँह्वाँ रुनथाले।

‘फेरि पनि किन रुँदै छन् यी बूढाबूढी?’ यसो भन्दै फेरि एक हुल केटाहरू घरभित्र पसे। ‘तिम्रो छोराको मृत्युको विरोधमा हामीले सडकमा त्यत्रो टायर बाल्यौं, चक्काजाम गर्यौंर, आन्दोलन गर्यौंा। हिस्सा दिने बेलामा हामीलाई बिर्स्यौ होइन त?’ यस्तो भन्दै ती केटाहरूले रोइरहेका बूढाबूढीलाई पनि ‘खोइ हाम्रो हिस्सा?’ भन्दै लछारपछार पार्न थाले। पीर र सन्तापमा डुबेका बूढाबूढी अचानक आइपरेको संकटले अत्तालिँदै रुवाबासी गर्न थाले। केटाहरू चाहिँ दराज फोडेर खोतलखातल पार्न थाले। ती केटाहरू त्यहीँका स्थानीय चुल्ठेमुन्द्रे दादा र गुन्डाहरू थिए।

दराजमा खोतलखातल गर्दा पनि पैसा नभेट्टाएपछि केटाहरू जंगिए, ‘ए बूढाहरू, कत्ति रोएर नाटक गरिरहन्छौ? खुरुक्क हाम्रो हिस्सा निकाल त?’

डरले बूढो बाबु थुरथुर कामिरहे। केही बोल्न सकेनन्। उसकी आमाले चाहिँ बिलौना गर्दै भनिन्, ‘भएको सबै लगिसके। अब हामीसँग केही बाँकी छैन। अब हामीलाई नै टुक्राटुक्रा पारेर लैजाओ तिमीहरूको हिस्सा…।’

त्यसपछि हिस्सा नपाएका केटाहरू जंगिदै त्यहाँबाट निस्किए।

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.