कलम झिक्यो कागज निकाल्यो
देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो
अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो
त्यसको पनि अलिकति तल कविको नाम लेख्यो
एकछिन यसो दिमाग खेलायो
जेजे आउँछ सरसरती लेख्यो
बरू कपाल कन्याउन गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।
कविता नफुरे भूतपूर्व प्रेमिकालाई सम्झ्यो
आङै सिरिङ्ङ हुने उसको किरिया सम्झ्यो
नभए डाँडापाखा हे-यो, भावुक बन्यो
गुराँस, हिमाल, झरना र नदीहरू सम्झ्यो
श्रीमतीले चामल र दाल सिद्धियो भने पनि
केटाकेटीले कपडा र फिस चाहियो भने पनि
क्या कविता निस्कँदै छ, बिथोल्न नआऊ भन्यो
दामी कागजमा दामी कलमले
सुनको औंठी लगाएको दामी हातले
सासै नफेरी हतारहतार लेख्यो
बरू भात चपाउन गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।
अरूको किन पढ्नुप-यो ?
व्यर्थैमा टाउको किन दुखाउनुप-यो ?
अरूले उचाल्दै छन् कि, पछार्दै छन् कि
किन बिनसित्ति पर्वाह गर्नुप-यो ?
आफ्नो कवितालाई आफैंले थपडी बजायो
कवि हुन पाएकोमा दङ्ग प-यो ?
अलिकति छोयला मगायो, अलिकति सोमरस घुट्क्यायो
फुर्र पारेर चुरोटको सर्को तान्यो
कागजभरि छताछुल्ल देश पोख्यो
जनता सम्झेर तपतप आँसु बगायो
अलिकति उताबाट सा-यो
अलिकति यताबाट सा-यो
नाम चलेपछि बाह्र हातको टाँगोले पनि छुँदैन
जिन्दगीमा सबथोक गर्न गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।
हेटौँडा, मकवानपुर (नेपाल)
(स्रोत : Satakosahitya)