म त डेरामा बसेको मान्छे
अँध्यारो भविष्यको
घेरामा बसेको मान्छे
न त व्यापार छ
न त जागीर छ
मनभरि केवल पीर छ
अनिश्चित तक्दिर छ
अहिले त सक्दिन
केहि वर्ष पर्ख न ल!
गाउँको भत्किएको
घर बनाउनु छ
तिमी गुणवती छौ भनि
बा’ आमालाई मनाउनु छ
अनि आउँला नि
तिम्रै आँगनमा
बाजा बजाएर
डोली सजाएर
केहि वर्ष पर्ख न ल!
के नै होला र आखिर,
मेरो कपाल झरेर
तालु खुइलिएला
माया त पलाइरहला नि!
तिम्रो मुहारमा चमक हराउला
मुस्कान त उहि
भेटिएला नि!
घरमा कुरा चल्यो भने
म त सधैँ टारूँला नि
बैशाखलाई मंसीर अनि
मंसीरलाई बैशाखमा
सारूँला नि!
तिमी पनि
टारिदेउ ल
बहाना बनाई सारिदेउ ल
धेरै दवाब आयो भने
झुटकै आँसु झारिदेउ ल
कुरा चले कुरा काट्नु
मिलाई मिलाई सधैँ ढाँट्नु
केहि त होला नि हाम्रो नि है!
केहि वर्ष पर्ख न ल!
(स्रोत : Suresh Badal’s Blog )