हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।
मेरो नाति मसँग सुत्न थालेको धेरै भएको छैन । उसको बहिनी जन्मेको दुई महिना भयो । बहिनी जन्मेपछि उसलाई आफू सुत्ने कोठा गन्हाउन थाल्यो रे । ऊ जब मसँग सुत्न आउँछ त्यस पछि मैले ऊ ननिदाएसम्म कथा सुनाउनु पर्ने हुन्छ । उसलाई कथा नसुनेसम्म निद्रा लाग्दैन रे । आजभोलि नातिलाई कथा सुनाउनु पर्ने मेरो एउटा अर्को दायित्व थपिएको छ । त्यसै भएर मैले पनि दन्त्य कथाहरू पढ्ने गरेकी छु । उसलाई कथा सुनाउँदा सुनाउँदा एउटा सिङ्गो दन्त्य कथाको पुस्तक सकिइसकेको छ । आज मसँग नातिलाई सुनाउने नया कथा छैन ।
आमा ! कथा भन्नु न ! ऊ भने मलाई कथा भन्न कर गरिरहेको छ ।
मसँग आज नया कथा छैन, बाबु ! आज ज्ञानी भएर थुपुक्क सुत है मेरो राजा ! म भन्छु , तर ऊ भने मानेकै छैन ।
आमा ! आमा ! ड्याडी मम्मी र आमाले भनेको नमान्ने अटेरी जिद्दी बच्चालाई समातेर खाने त्यो छ नि डर लाग्दो राक्षस, हो त्यो कहाँ बस्छ नि र ? त्यसलाई पुलिसले पक्रन सक्दैन ?
सक्दैन बाबु ! सक्दैन ।
किन आमा !
नातिको जिज्ञासालाई शान्त पार्न खोज्दै मैले भनें, किनभने बाबु, त्यो राक्षस आजभोलि मान्छे जस्तै भएर महलमा बस्न थालेको छ । आजभोलि मान्छे र राक्षस छुट्याउन गाह्रो छ ।
अँ कककआमा पनि के के भन्नुहुन्छ के के । हिजोको अस्तिको कथामा राक्षसहरू महेन्द्र गुफा, गुप्तेश्वर, चमेरे गुफा र अनि कुमारी गुफा जस्तो ओडारमा बस्छ भन्नुभएको हैन ?
हो बाबु ! तिमीले भनेको पनि सत्य हो । पहिला पहिला सत्य युगका राक्षसहरू गुफा र ओडारमै बस्थे तर आजभोलि कलियुग लागेपछि ती राक्षस मान्छे जस्तै भएर सहर बजारमा बस्न थालेका छन् ।
पुलिसभन्दा पनि राक्षस बलिया हुन्छन् र आमा ! पुलिसको लठ्ठी र बन्दुकले पनि केही गर्न सक्दैन र ?
-सक्दैन बाबु !
-किन आमा ?
-किनभने राक्षस पनि मान्छे जस्तै ठुलाठुला ओहोदामा पुग्न सफल भएका छन् । ठुला ठुला राक्षसको एक कल फोन आयो भने पुलिस त्यसै डराउँ छन् । पुलिसको लाठी र बन्दुक त साधारण मान्छे र अटेरी जिद्दी बच्चाहरूलाई तर्साउनको लागि मात्र हो ।
-अनि त्यसो भए त्यो राक्षसले मान्छे र बच्चा खान छोड्यो त आमा ?
अँ बाबु ! त्यो राक्षसले मान्छे खान छोडेर मान्छेको आँसु, पसिना र रगतको आहालमा नुहाउन पौडन मन पराउन थालेको छ । भ्रष्टाचारको कलात्मक पलंगमा आराम गर्छ । जिङ्ग्रिङ्ग ठडिएको कपाल र फुस्रो कालो रुप, दाह्रा निस्किएको नाङ्गो शरीर, राता राता आँखा देख्दै डर लाग्दो पहिला पहिलाका राक्षसहरू आजभोलि टाई सुट लगाएका सुकिला मुकिलामा परिवर्तन भएका छन् । प्राडो, पजेरो र बलेरोमा सयर गर्न थालेका छन् ।
अनि त्यसो भए के गर्ने त आमा रु त्यो राक्षसलाई कहिल्यै मार्न नसकिने भयो त ?
सकिन्छ बाबु ! सकिन्छ, किन नसकिनु र ? दह्रो इच्छा शक्ति र त्यागी ईमान्दार नेल्सन मण्डेला र महात्मा गान्धी जस्ता थुप्रै मान्छेहरू जन्म्यो भने ती राक्षसहरू स्वत आफै मर्छन् ।
उसको जिज्ञासाको उत्तर मेरो नातिले पुरा सुन्यो कि सुनेन कुन्नि ऊ त आमाको ममताको न्यानो अँगालोमा बेरिएर फ्वाँ फ्वाँ निदाउन थाल्यो । मेरो कुरा त्यसले कति बुझ्यो कति बुझेन म भन्न सक्दिन ।मेरो नाति भोलि ठुलो भए पछि ती राक्षसहरूलाई तह लगाउने हुन्छ कि अथवा ढुङ्गा मुढा चक्काजामको संस्कृति मौलाएको र दिनहुँ पद्धतिको मलामी जाने तथा विधिको लक्ष्मण रेखा नाघ्ने दुश्साहशी राक्षसहरूको भीडमा मेरो नाति पनि राक्षस बन्ने हो, भन्न सकिन्न । दन्त्य कथाको राजकुमार जस्तै दुई चार जना युवाहरू नदेखिएको होइन तर राक्षसी भीडमा किम्कर्तव्य बिमुढ़ बनिरहेका छ्न्। भोलि मेरो नातिको लागि कुन कथा सुनाउने होला यस्तै यस्तै सोंचाई मनमा खेलाउँदा खेलाउँदै म पनि भुसुक्कै निदाइ छु ।
अल्पबिराम
(स्रोत : Ennnepal