हास्य-व्यङ्ग्य निबन्ध : म:म: पुराण

~डा. सुमन राज ताम्राकार~Dr Suman Raj Tamrakar

‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग (भकभकाएर बोल्ने हो भने आफुलाई राजा ठान्ने), टपटेन मम: (आफुले आफुलाई टपटेन ठान्ने), सगरमाथा मम: (आफुलाई सगरमाथा ठान्ने) आदि इत्यादि ।

त्यसैले ममः मलाई पनि मन पर्छ । ऊ बेलाँ एकथरी उपल्लो जातका मानिसहरु खूब धर्मकर्म गर्थे, नियम – परिधिभित्र बस्थे । अत: राँगाको मासु, लसुन, जाँड रक्सी के –के जाति हो चल्दैनथ्यो रे । आजकल त कुरै नगरौं तिनीहरुलाई नै बढी चाहिएको छ । बाबु– बाजेको पालादेखिको ऋण तिरे झैँ भकुरेको भकुर्यै छन्, नत्र बियर, रक्सी, मासु यति विघ्न महँगो किन हुन्थ्यो र ? नेवार जातिको खाना बढी भेराइटीका हुन्छन् क्या ? व्यापारको मामिलामा उनीहरु अलि सिपालु छन् । त्यसो त मम: लाई खोल नहालीकनै बनाएको भए पनि हुन्थ्यो तर तिनै तथाकथित उपल्लो जातिलाई पनि आफ्नो व्यापार भित्र तान्नको लागि यसरी पीठा भित्र पोको पार्नु पर्या हो भन्ने कुरा मम: विषयमा शोधकार्य गर्ने सिलसिलामा पत्ता लगाएको हुँ । क्याप्सुल भित्र के औषधि थाहा नभए जस्तै तिनीहरुलाई पनि सजिलो, कसैले खाइरहेको देख्यो भने भित्र के छ, के छ के थाहा भनेर पन्छिन पाइयो, आफुले पीठोको डल्लो भनेर खाएको भन्दियो, क्या सजिलो !

अस्ति बिहानै देखि भोको थिएँ, कताबाट दिमागमा मम: खाने इच्छा जाग्यो । सिधै हान्निएँ मम: रेष्टुराँ भित्र । मम: पाक्ने क्रममा रहेछ, पसल भरि ग्राहकहरु टन्न थिए । यसो नजर डुलाएँ त्यहाँ त उ बेलाका बडामहाराधिराजले वर्गीकरण गरे अनुरुप चार जात छत्तीस वर्णकै जमघट रहेछ – कुल्ली देखि फुलीवालासम्म, डाक्टर देखि कण्डक्टर सम्म । मलाई त हाजिर पो लिन मन लाग्यो । सबै जना थुक घुटुघुटु निली मम: पाकिरहेको भाँडोमा आँखा लगाउँदै थिए । यत्तिकैमा पसलेले भाँडोको बिर्को उघार्यो, सबैले लामो सास ताने । पसलेलाई लाग्यो मम: अलि पाकेको छैन, अनि बिर्को बन्द गर्यो । सबैले खुइययऽऽ सुस्केरा काढे । पुन: सबैले थुक निल्न थाले । कति न सित्तैंमा खान पाइने जस्तो गरी सबै मुखामुख गर्न थाले । सब चूप थिए, वातावरण स्टोभको ध्वनिले संगितमय थियो । एकछिन पछि पसलेले फेरि बिर्को निकाल्यो । अब भने मम: पाक्यो र बाँड्न थाल्यो । दुई, तीन जना कामदारले यन्त्रवत् रुपमा मम: पालैसित बाँड्दै ल्याए । सबैको क्रियाकलाप कस्तो थियो भने गौंथलीले आफ्ना बचेरालाई चारो हाल्न लागेका बेला बचेराहरुले मुख बाए जस्तै सबैले हात अगाडि ल्याउँथे । म खुब चाख मानेर सब क्रियाकलाप हेरिरहेको थिएँ । आफ्नो पालो आउने बेलामा मम ः नै सकियो । खाइस् ठूलो भाग !

भोको पेट, नन्स्टप र्यालको बहावको कारण आफ्नो रिस साहूजी माथि पोखें । साहूजीले निकै अनुनय–विनय गरेकाले मात्र नत्र …. । अर्को बानमा फस्ट सर्भ गर्ने शर्तमा मैले धैर्य गरें र चारैतिर नजर डुलाएँ । सब ठाडो घाँटी लगाएर मम: खाँदै थिए । आफु भनें …. । कोही अझ मलाई नै सुनाउने जस्तो गरी झोल थप्न भनिरहेका थिए । आफुलाई त कस्तो पीडा भयो भने यति सास्ती त तराई देखि ट्रकमा खाँदी ल्याएको राँगालाई पनि भएको थिएन होला । विस्तारै विस्तारै खाइसकेका बाहिरिदैं थिए, अरु थपिंदै थिए ।

यस्तैमा, अर्को बान पाक्यो र शुरुमा तै मलाई नै दियो, मैले एक प्लेट मम: एकै सासमा सिध्याएँ । मैले अधिराज्यभर जहाँको पनि मम: खाएको छु – कोथे, फ्राई, टिब्बेटियन, मटन, भेज आदि, इत्यादि । अत: मम: बारे अलि बढी नै थाहा छ । त्यसैले त शोधकार्य पनि यसैमा गर्न लागेको । त्यसो त नेपालमा आपूmले थाहा नपाएको विषयमा पनि जान्ने भएर प्रमुख अतिथि बन्न जाने परम्परा नभएको होइन । यही मम: सम्बन्धि विशेषज्ञताले गर्दा आजको मम: अलि गन्ध आए जस्तो लाग्यो । मम: खाइसकेपछि पैसा तिरीवरि बाहिर निस्किएँ ।

पसलबाट बाहिर मात्र के निस्किएको थिएँ, मैले झल्याँस्स सम्भेंm । थुक्क, आज त एकादशी पो हो । त्यसैले त बिहानै देखि भोको पेट रहेछ । व्रत लिएको त भुसुक्कै बिर्सेछु । पेट पनि असार–साउनमा बादल गर्जे जस्तो गर्जिन थाल्यो । नगर्जिनु पनि कसरी, आजै काटेको राँगाको मासु नै होइन होला त्यो । वाक्वाकी आई उल्टी होला होला जस्तो भयो ।

भोलीपल्ट त बाफ रे बाफ ट्वाइलेटको प्यान नै फुट्ला जस्तो गरी भटटट …. गर्दै राँगो नै कराएको जस्तो गरि पातलो पखाला चल्यो । पैसा तिरेर खानु पनि छ, सास्ती पनि पाउनु छ । जतिसुकै सास्ती पाए पनि के गर्ने ? आइमाईले बच्चा पाएजस्तै । तिनीहरुले प्रसुतिगृहमा रोईधोई, आत्था–उत्थु शिशु जन्माएका बेलामा अब देखि मरे पनि अर्को बच्चा पाउँदिन भनेर खाएको कसम पूरा गरेको भए नेपालमा ‘खसी पार्ने’ अभियान चलाउनु नै पर्थेन नि । यस्तै छ मेरो त्यो सास्ती पनि । एक – दुई दिनपछि अस्तिको सास्ती बिर्सिहाल्छु, फेरि खाऊँ खाऊँ लागिहाल्छ, कति न अमृतकै डल्लो जस्तो । नहोस् पनि कसरी, काठमाडौंमा पाइलैपिच्छे मम: पसल छ । एउटालाई दुत्कारेर गयो, अर्को टुप्लुकिहाल्छ ।

ईतिश्री

(स्रोत : Paniphoto.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.