व्यङ्ग्य : नयाँ पार्टी – “नेपाल धम्की दल”

~कृष्ण गुरागाईं~Krishna Guragain

आजकल जताततै धम्क्याउने, थर्काउनेहरुकै बोलवाला छ । हिजो मात्र चितवन नारायणगढको व्यापारीहरुले आफुलाई जानकारी नदिई राजस्व अनुसन्धान विभागका कर्मचारी छापा मार्न आए भनेर प्रहरी र सरकारलाई राम्रैसँग धम्क्याए, बाटो अवरोध गरे, जीप, प्रहरी पोष्ट जलाए ।

धम्क्याउने प्रबृत्ति आजकल नेपालका पार्टीहरुमा सरुवा रोग झै फैलिएको छ । विगत एक डेढबर्षदेखि एनेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले जुन विषयमा पनि पार्टीमा असहमति दर्ज गर्दै आएका छन् । शान्ति र संविधानबारेको पार्टीको लाईन होस वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने पार्टीको निर्णयमा होस वा माओवादी सेना समायोजन वा लडाकाको बासस्थान (क्यान्टनमेन्ट)को साँचो नेपाली सेनालाई बुझाउने निर्णयमा होस, उनले नोट अफ डिसेन्ट लेख्न भ्याएकै छन् । अनि सार्वजनिक कार्यक्रममा जंगल फर्कने र फेरि बन्दुक उठाउन सकिने भनेर पटक पटक धम्कि दिईरहेकै छन् । पछिल्लो समयमा त नयाँ पार्टी गठन प्रक्रिया शुरु भईसक्यो भनेर ध्वाँस दिएका छन् । उनको शब्दकोषमा क्रान्ति, धम्की, जंगल, बन्दुक भन्दा अन्य शब्द छैनन् जस्तो लाग्छ ।

धम्क्याउने रोग एमाओवादी मात्र होईन, नेकपा एमाले, नेपाली काग्रेस, फोरम गणतान्त्रिक लगायतका अन्य साना दलमा पनि सरेका छ । एमालेमा सम्वद्ध जनजाति तथा मधेशी नेताहरुले आफुहरुको माग र विचारलाई पार्टीले सम्वोधन नगरेको भन्दै पार्टी छोड्न सकिने भन्दै पार्टीलाई बारम्बार धम्कि दिईरहेका छन् । हिजो मात्र नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधीले पनि उसैगरी धम्क्याएछन् । फोरम गणतान्त्रिका (केहि दिन अघि सो पार्टीमा कारवाहीमा परी निलम्बित) शरदसिंह भण्डारी र विजय कुमार गच्छदार एकअर्काबीचको थर्काई त झन उत्कर्षमा छ यतिबेला । हुन त रक्षा मन्त्रि हुदाँ ताका शरदसिंह भण्डारीले तराईका २२ जिल्ला टुक्रिन सक्ने भनेर ठूलै धम्की दिएका थिए । त्यहि धम्कीले गर्दा उनले मन्त्रि पद तथा अन्तत पार्टीबाट चट हुनुपर्यो ।

धम्क्याउने र धर्काउनेहरुको लिस्ट यतिमै सिमित छैन । महिना दिन पनि पुगेको छैन नेपाल आदिबासि जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले बाहुन नेतृत्वको पत्रकार महासंघ र आफ्ना पक्षमा समाचार नलेख्ने, नबजाउने, नदेखाउने पत्रकारहरुलाई बाँकी नराख्ने भनेको । आफु अनुकुलको कार्यालय वा जिल्लामा सरुवा हुन पाईएन भनेर निजामति कर्मचारीहरुले सिंहदरवारभित्रै मन्त्री र सचिवको विरुद्धमा नारा जुलुस गरेको । थारुहरुको आन्दोलनमा प्रहरीले दमन गर्यो भन्दै प्रहरी संगठनको डाडुपुन्यु सम्हालेका गृहमन्त्री बिजय कुमार गच्छदारले प्रहरीलाई कारवाही गर्नु पर्यो भन्दै माग गरेको ।

यी र यस्तै धम्क्याईहरु आगामी दिनमा अझै बढ्नेवाला छन् । त्यसैले नयाँ पार्टी खोल्न जुरमुराई रहेकाहरुलाई एउटा सुझाव “नेपाल धम्की दल” नामको पार्टी गठन गरिहाल्नुस । पार्टी पक्कै पनि समावेशी हुनेछ । धम्क्याउन बानी परेका व्यापारी, जनजाति, कर्मचारी, पार्टी छोडेका र छोड्न खुट्टा उचालेर बसेका पार्टी नेता तथा कार्यकता सबै यहि पार्टीमा अटाउनेछन्, आउनेछन् । आगामी चुनावमा पक्कै केहि सिट आउनेछन अनि त सरकारमै बसेर सबैलाई धम्क्याउन पाईयो नि । र “नेपाल धम्की दल”को अध्यक्षचाहि धम्कि (गाउघरतिर दम पनि भनिन्छ) ले आज हो कि भोलि हुन लागेका बरिष्ठ काम्रेड मोहन बैद्य उर्फ नोट अफ डिसेन्टलाई दिनु उपयुक्त हुन्छ । अरु पदका लागि चाहि जसले बढी धम्क्याउन र थर्काउन सक्छन, तिनीहरुलाई बाड्नु बेश !

2069/2/25

(स्रोत : Pipalchour.wordpress.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.