नियात्रा : ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिदैन

~कृष्ण बजगाईं~Krishna Bajgai

संसार प्रसिद्ध ग्रेटवालमा जब म पाईला टेक्दै थिएँ मेरा चिनियाँ मित्र यू फूङले सुनाए – “चिनमा ग्रेटवाल नचढेको व्यक्तिलाई वहादुर भनिदैन ।” त्यसबेला म साँच्चै रोमािचत भएँ र आफूलाई भाग्यमानी एवं बहादुर ठान्दै पहाडैपहाड भएर ग्रेटवाल उक्लनथालें । आजभन्दा दुईहजार वर्षअघि तत्कालीन चिनियाँ सम्राटहरुले आफ्नो राज्यलाई बाह्य सैनिक आक्रमणबाट सुरक्षा दिन संसारको सबैभन्दा ठूलो तथा लामो सुरक्षा पर्खालको निर्माण गराएका थिए।

पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनीङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ । यसको लम्बाइ करिब १२७०० कि.मि. छ । जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको अंश कटाउने हो भने हाल यसको लम्बाई ६३५० कि.मि.मात्र हुन आउँछ ।

इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षा पर्खाल निर्माणको कार्य थालनी गरे । यिनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरुले थप्दै जोड्दै लम्बाइ बढाएर लगे । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरुलाई दश बर्षसम्म काममा लगाएका थिए । त्यसपछि बिभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८-१६४४ मा गरियो । अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो ।

संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाइ र चौडाइमा भिन्नता पाइन्छ । शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मीटर छ । पूर्वी भागतर्फको पर्खाल भने पकाइएको ईंट तथा आयताकार ढुंगाका जोडाइबाट बनाइएको छ । जसको सरदर उचाइ ७.५ मीटर छ । यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ छ ।
पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरुप निर्माण गरिएको छ । सैनिकहरुलाई सुरक्षा दिन पर्खाल एक मीटर जति अग्लो ढुंगाको जोडाइ गरी उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरु बनाइएको छ । प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रुपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् ।

त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ । सन् १३४५ मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् । त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरु लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरु ६०० बर्षअघि खोपिएका हुन् ।

सुरक्षाको दृष्टिकोणबाट त्यसबेला बनाइएको ग्रेटवाल मौलिक तथा चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको देखिन्छ । प्राचीन ग्रीक तथा रोमले स्कटल्याण्ड र इङल्याण्डको बीचमा सुरक्षाका लागि ग्रेटवाल बनाउनुअघि नै हयाड्रीयन पर्खाल बनाइसकेका थिए ।

चीनको ग्रेटवाल निर्माणले भने विशाल चीन बनाउन सहयोग पुर् याएको थियो । ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरु एकीकरण हुन थालेका थिए । पछि चीनलाई पूर्णरुपमा एकीकरण गरी एकताबद्ध पार्न सो पर्खालले प्रेरणा दिएको कुरा चिनियाँहरु ठान्दछन् । यहाँनिर अमेरिकाका भू.पू. राष्ट्रपति रिचर्ड निक्सनको भनाइ उल्लेखनिय छ । उनले भनेका थिए -“महान राष्ट्रले मात्र यस्तो विशाल पर्खालको रचना गर्न सक्दछ ।”
स्वदेशी तथा विदेशी पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र हुन पुगेको ग्रेटवालको पुननिर्माण तथा जीर्णोद्धार कार्य थालिएको छ । “हाम्रो चीन राष्ट्रलाई माया गरौं हाम्रो गौरव ग्रेटवालको पुननिर्माण गरौ” भन्ने नारा जब बेइजिङका छापाहरुमा सन् १९८४ मा देखिन थाल्यो तब ग्रेटवालको खण्डित र भत्किएको भाग निर्माणका लागि जनस्तरबाट आर्थिक सहयोग जम्मा हुन थाल्यो । त्यस कार्यका लागि बाह्य मुलुकमा रहेका चिनियाँ नागरिक तथा चीनका शुभचिन्तकहरुले पनि प्रशस्त आर्थिक सहयोग प्रदान गरे । जसको फलस्वरुप चीनको ग्रेटवालको केही अंश पर्यकीय आकर्षण दिने हिसाबले पुनर्निमाण गरिएको छ । चीनको पहाडी भू-भागको लामो दूरी पार गरेर गएको यो पर्खाल धेरै ऐतिहासिक तथा मनोरम प्राकृतिक स्थललाई छुँदै गएको छ । पहाडको ठाडो उकालो भएर गएको भागमा समेत चढ्न मिल्ने गरी ढुंगाले छापेका िसंढी बनाइएको छ । अशक्त तथा अपाङ्गहरुलाई ग्रेटवाल हेर्नका लागि केवुलकारको विशेष व्यवस्था मिलाइएको छ ।

सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरुलाई आकर्षण गरिरहेको छ । यो पर्खालको महत्व त्यसबेलादेखि बढेको जुन बेला अमेरिकी अन्तरिक्ष नील आर्मस्ट्रोङले जुलाई १९६९ मा चन्द्रमाको धरातलबाट नाङ्गो आँखाले आफूले पृथ्वीमा रहेका मानव निर्मित वस्तुहरुमध्ये ग्रेटवाल मात्र देखेको घोषणा गरे ।
साहसी तथा मेहनती चिनियाँहरुको अनुपम कलाको नमुना ग्रेटवाल घुमिसकेर उत्रने बेलामा मेरा चिनियाँ मित्र यू फूङले रोचक कुरा सुनाए । चीनमा भन्ने गरिन्छ रे -“चीनको भ्रमण गर्नेले यदि ग्रेटवाल हेर्न छुटायो भने उसको चीन भ्रमण अधुरो हुन्छ ।” यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो । यही आश्चर्यलाग्दो ग्रेटवालले चीनलाई विश्वमा चिनाउन अझ बढी मद्दत पुर् याएको छ ।

साभारः कान्तिपुर दैनिक ‘कोसेली’ शनिवार २५ पुस, २०५५

(स्रोत : Nepalisahitya.webs.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.