व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल ।

‘जाने होइन दाइ हाइकिङ ?

मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो

बाटो कतै निहुरिएर लौराले भुइँ छाम्दै, कतै बसेर घसि्रँदै हिँडेको सम्झना भयो । त्यो हाइकिङ निश्चय नै शक्तिबर्द्धक र आनन्दमय भएको थियो । वारि पाखाबाट माथि उक्लिँदा ओझेल, शीत र जोखिमको सङ्गत गरिएको थियो । पारि पाखाबाट झरेको ओरालो थियो पहारिलो, न्यानो र जोखिमरहित ।

‘जाने होइन दाइ न्यास्रो मेट्न ?’

पुसको जाडो महिना । लोडसेडिङको अभिशापले औँसीको रात हुनलागेको कान्तिपुरी नगरीको बास । रूघा, खोकी र मन्द ज्वरोले म करिबन थला परेको थिएँ । तैपनि फिल्डमार्सलको अनुनययुक्त आदेश सुन्दा मनमा उमङ्गको तरङ्ग जाग्यो ।

लिखुरे ज्यानमा तीन-चार पत्र लुगा लगाएँ । सङ्कटकालीन ओखती खल्तीमा हालेँ । र हल्का झोला भिरेर बिहान सखारै म घरबाट रवाना भएँ । चाबेल चोकमा माइक्रो चढ्नासाथ हातेफोनको घन्टी बज्यो । फोनको पर्दामा नाउँ आएन । स्वर मलाई चिने-चिनेजस्तो लाग्यो ।

‘म कोटेश्वर चोकमा छु, दाइ कण ।’ बेनामे स्वरले भन्यो- ‘यहाँ अहिलेसम्म कुनै पनि महामहिमले पाउकष्ट गरेको छैन । भेट्ने ठाउँ र समय पो गडबड भो कि ?’

‘ठाउँ त्यही हो । फिल्डमार्सलको कडा उर्दीमा किटिएको समय पौने आठ बजे हो ।’

‘नेपाली समय पो हो कि ?’

‘सो कुरो उर्दीवाल आफैँ जानोस् ।’

जाडाले स्युस्यु गर्दै कोटेश्वर पुगेँ । फोन गर्ने मनुवा विष्णु निष्ठुरी रहेछन् । विशुद्धिले गर्दा तिनले हातेफोन हराएछन् । ठट्टयाइलो भाकामा ती हुस्सुलाई मैले गिज्याएँ- ‘सञ्चार जगतका नाइकेकै हातेफोन यसरी हराउन थालेपछि यो मुलुक कता जाने हो, कण ?’

मौन मुद्रामा जुँगा चम्काउँदै विष्णु मस्किए ।

पर्खाइको समय चिप्लेकीरोझैँ घसि्ररहेछ । उच्चाटलाग्दो समय कटनी गर्न र गरम चियाले ठन्डीलाई दमन गर्न खुला आकाशमुनिको चियापसलमा हामी खडा भयौँ ।

‘राम्रो चिया बनाउनुस्त, दाइ ।’ विष्णुले अतिशय प्रयोगबाट अर्थ खुइलिइसकेको सनातन आग्रह गरे ।

‘सकेसम्म राम्रो बनाउँछु, नसकेको के लाग्छ ?’ बाचाल चियासाहूको टाठो स्वर हुस्सुमा तरङ्गित भयो ।

जातले ती गिरी रहेछन् । नाउँ तिनको गोविन्द । सिरहातिर कतै तिनको घर ।

‘जाडोको याम छ’, मैले कुरो कोटयाएँ- चिया बेपार त जमेकै होला नि गिरीबाबु ?’ गिरी गिलास पखाल्दै थिए । ती एकाएक उत्तेजित भए । ‘प्रचण्डले गरिखान नदिने भए’, आक्रामक मुद्रामा तिनले गुनासो पोखे । ‘किन नि ?’

‘तिनले मजस्ता गरिखानेहरूलाई लखेट्न अलिबेरमै पुलिस पठाउँछन् । माथिबाट प्रचण्ड अराउने, तल वामदेव हाम्रा जरा उधिन्ने ।’

असन्तोष र क्रोधले गिरीबाबुको अनुहार कच्याक-कुचुक भयो । छोटा जुँगा भएको तिनको ओँठमा हल्का कम्पनको तरङ्ग उत्रियो । अत्यासलाग्दो निसास पोखिँदा तिनका नाकका पोरा फस्फस् फुले ।

‘गिरीजी काङ्ग्रेसपट्ट िहो कि कसो ?’ आफ्नो रोजीरोटीको तराजुमा समयको गतिलाई तौलिन खोज्ने चियापतिलाई मैले कुत्कुत्याएँ ।

‘पहिले जे भइयो, भइयो’, आफ्नो अतीतलाई संवादमा प्रवेश निषेध गर्दै तिनले भने- ‘यसपाला माओवादीलाई भोट हालियाथ्यो । यल्ले क्यै गर्ला भन्ने आस थियो । तर पहिलेकाले जे-जे गर्‍या थे, यो त्यै-त्यै गरिरा’छ । गरिपलाई यल्ले पनि क्यै नलछार्ने भो ।’ यहाँनेर घडी हेर्दै तिनले आसन्न खतराको उद्घोष गरेे- ‘प्रचण्ड सरकार आइहाल्छ, अब हाम्लाई लखेट्न ।’

गिरीको गुनासोमा लाग्छ, आममानिसको गुनासोको गुञ्जन छ । म नयाँ हुँ भन्ने सरकारको दिनचर्यामा नयाँ खै के छ ? जनजीवनको कष्टकर दैनिकीमा कहाँ छ नयाँ सरकार ? खोटा ढक र तराजुको निगरानीमा कहाँ छ, नयाँ सरकार ? सडकको फोहोर मिल्काउने दैनिक कर्तव्यमा कहाँ छ, नयाँ सरकार ? जमाखोरी र कृत्रिम अभावको चौकिदारीमा कहाँ छ, नयाँ सरकार ? अड्डा-अदालतको ढिलासुस्ती र घुसखोरीको निषेधमा कहाँ छ, नयाँ सरकार ? मुलुकै अन्धकार हुने लोडसेडिङको उपचार खोज्ने हुटकुटीमा कहाँ छ, नयाँ सरकार ? सुक्दै गएको तुरतुरे धारोको सुधारमा कहाँ छ, नयाँ सरकार ? बालबालिका र सञ्चारकर्मीहरूका अपहरणकारी र हत्याराहरूलाई चिन्ने र पक्रिने तत्परतामा कहाँ छ, नयाँ सरकार ? हातेफोनको घातक मौनभङ्ग गर्ने उद्योगमा कहाँ छ, नयाँ सरकार ?

यसबीच हाइकिङे जमातको खचाखच बस आइपुग्यो । निष्ठुरी र म बसमा चढयौँ । बोझको चापले कन्दै बस भक्तपुरतिर लाग्यो । हाइकिङे हुल विविध बान्कीको छ । त्यहाँ लेखक र पत्रकारहरू छन्, अनुसन्धानकर्मी र विद्यार्थीहरू छन् । देखभेट भएजस्ता तर नाम कण्ठ नभएका अनुहारहरू थुप्रै छन् । अघिल्लोपालि सरोज धिताल पनि थिए । विलम्ब गरी सूचना पाउनाले गर्छु भनी कबोल गरेको काम छाडेर यसपालि ती आउन पाएनछन् । अघिल्लोपालि वसन्त र अस्मिना पनि थिए । ज्यामिरकोटको तिनको घरमाथि चौतारीमा चिया पिएर उकालो लागिएथ्यो । यसपालि ती पनि आएनछन् । ती नहुँदा हुलबीच रिक्तता महसुस भयो । सम्झेँ- उसो त अघिल्लोपालि अनुभव अजीत पनि त थिए । भाँच्चिएको खुट्टो तेस्र्याएर थक्थक् मान्दै ओछयानमा बसेका अनुभवको निन्याउरो अनुहार मेरा आँखा अगाडि नाच्न थाल्यो । मलाई त्यसै-त्यसै खल्लो लायो ।

बूढो बस कन्दै र धूवाँको मुस्लो फाल्दै घसि्ररहेछ । गियर फेरिइपिच्छे गुरुजी मेरो ढाडमा हल्का ढुसिङ दिन्छन् । छपनीबाट हुत्तिने डरले म झसङ्ग हुन्छु ।

‘कता पुगियो होउ ?’ उल्टो दिशातरि फर्केर बसेको म ठाउँको मेसो नपाएर सोध्छु ।

‘भूपू सैनिक चेकिङ आउन लाग्यो ।’

सोच्छु, उपध्रयाहा ज्ञानशाही गयो र सके चेकिङको चुरिफुरी पनि तुरियो होला । नभन्दै कुरो सही रहेछ ।

बस अन्तिम टुङ्गो धुलिखेल चोक पुग्यो । पेटमा हल्का चारो हाल्ने मतो गरियो । खाने आलु कि चना ? चना कि खान्छ घोडाले कि खान्छ छोराले । पुरानो नेपालको यो भनाइको सम्मानमा मैले चना-चिया उदरस्थ गरेँ ।

धुलिखेल चोकबाट हाइकिङे जम्बोरी लेफ-राइट गर्दै बायाँतिर लाग्यो । अब आयो देवीथान जाने हजार खुट्किलाको सिँढी भएको उकालो । हेर्छु, सिँढी गजप छ । हेर्दैमा छाती फराकिलो हुनेगरी चौडा र मनै उज्यालो हुनेगरी सफा ।

‘सिँढी त गजब रहेछ बा ! कति राम्रो सम्भार !’

विष्णु निष्ठुरीका ओठबाट हठात् व्यङ्ग्य वाण उछिट्टयिो- ‘यो नगरपालिका हो दाइ, महानगरपालिका होइन । त्यसैले गर्दाहुँदी….’

देवीथान नयाँ नेपाल र पुरानो नेपालको घाम-छायामा रहेछ । हतियारधारी जवान हातेमोबाइलको लोक लयमा लय मिलाउँदै मगनमस्त थिए । तिनको त्यो मस्तीमा मैले नयाँ नेपालको कलिलो घाम देखेँ । देवीथान अझै ज्ञानशाहीकालीन सैनिक घेराभित्र कैदमा रहेछ । देवीजीको त्यो दुर्दशामा मैले पुरानो नेपालको चिसो छाया देखेँ ।

अब हाम्रो हाइकिङे लर्को दायाँतिरको ओरालो हुँदै नमबुद्धको निवासतर्फ हुत्तियो । डाँडाको काखमा फुच्चे गुम्बा रहेछ । र फुच्चे गुम्बामा रहेछ, युवा वयका फुच्चे बुद्धको प्रतिमा । त्यो प्रतिमालाई मनमनै नमस्कार गरेर हामी खलातीझँै फोक्सो फुलाउँदै नाक ठोक्किने उकालो नाप्न थाल्यौँ ।

‘सिसाकलम-कापी किन्न दुई रुपियाँ दिनुस्न, दाइ ।’ उकालोमा मगन्ते केटाकेटीका एकपछि अर्को टोलीले हामीतिर हात लम्काए ।

‘बुझ्नु भो दाइ’, विष्णु निष्ठुरीको उदास वाणी पाखामा पोखियो- ‘भोलि अन्तर्राष्ट्रिय मुद्राकोष र विश्वबैंकसँग भिख माग्ने हात यिनै हुन् ।’

‘यी होइनन्’, विधायक हरि रोकाले सानो संशोधन प्रस्ताव अघि सारे- ‘यिनका नाउँमा भिख माग्ने हात जनमारा उदारीकरणका आज्ञाकारी चेला रामशरण महतहरूकै हुनेछन् ।’

नमबुद्धको दर्शनपछि केही तल पहारिलो थुम्कोमाथि भोजनको मोर्चा खुल्यो । हाइकिङे जम्बोरी आफूखुसी टोलीमा बाँडियो । साथमा लगेकोे सबैको भोजन टोलीसमक्ष दाखिला भयो । र सुरु भयो सङ्कलित भोजनमाथि प्रेमपूर्ण आक्रमण । भोजन निखि्रयो र आक्रमण सकियो । र अब लाग्यो हाम्रो जम्बोरी फिर्ती यात्रामा ओरालै-ओरालो पनौतीतिर ।

हतार-हतार हुत्तिँदै फेदीको शङ्खु पुगियो । शङ्खुको भूबनोट र बालीनाली हेर्दै विष्णु, हरि र म मुग्ध भयौँ । यही मुग्धमुद्रामा विष्णुका मुखारविन्दबाट तेस्रो दिव्यवाणी प्रस्फुटित भयो- ‘यो भूमि चतुर्मुखी ब्रह्माले फुर्सदमा रचेका हुनुपर्छ ।’

‘होला-होला’, मैले सही थापेँ- ‘बाबुराम भट्टराईलाई भू-डिजाइनर भर्ती गरेर ।’

जमिनका गरा बडाबडा छन् । माटो भरिलो र रसिलो छ । साना साइजका भए पनि सुन्तला बोटभरि लटरम्म छन् । प्रकृतिको त्यो बिछट्टको कलाकारिता र किसानको सिर्जना नजर गर्दै हामी पनौती आइपुग्यौँ । यहाँसम्म हाम्रो हाइकिङ करिबन मर्यादायुक्त चलनमा चलेको थियो । तर अब भने अनिष्ट विचलन सुरु भयो । केही हाइकिङेहरू पनौती आइसकेका थियौँ, केही आइपुग्न केहीबेर लाग्ने पक्का थियो । पितृसत्ताका तीन जुँगामुठे उत्तराधिकारीमा यो ‘केहीबेर’को उपयोग गर्ने प्रबल इच्छा जागृत भयो । तीनमध्ये एक वा उमेरको वरियताका हिसाबले प्रथम पुरुष म आफँै थिएँ । हामी एउटा होटलमा पस्यौँ । हातेमोबाइलको हैसियत जाँच गरिहेरेँ, टावर सिग्नल थिएन ।

‘यहाँ नबसौँ कण’, चनाखो हुन खोज्दै मैले विन्ती बिसाएँ । ‘हामी तीनजना यहाँ अलप हुँदा अरू पैँतालीस-पचासजनालाई सास्ती हुनसक्छ ।’

‘आ…क्यै फरक पर्दैन’, द्वितीय पुरुषले जिराहा मत जाहेर गरे ।

द्वितीय र तृतीय पुरुष म्याड्वेल हाफ झ्याप दिने मुडमा थिए । मैले हस्तक्षेप गरेर तिनको तिर्सनालाई क्वाटरमा झारेँ । सिकार आउन ढिलो भो । पल्लो टेबुलमा हाम्रा दुईजना फयान रहेछन् । तीसँगको भलाकुसारीले केही समय खाइदियो । आधा घन्टा बित्यो, पेय यज्ञको साङ्गे गर्न कणहरू पटक्कै हतार गर्दैनन् ।

‘बाहिर साथीहरू आत्तिए होलान्’, मैले किञ्चित उच्च स्वरमा तातो लगाउन खोजेँ, ‘अब जाऔँ’ । तर तातो लागेन ।

‘हामीलाई छाडेर तिनलाई जानै मिल्दैन’, तृतीय पुरुषले आत्मकेन्दि्रत अभिमान प्रकट गरे ।

‘रिजाप बसमा बसेर कुर्छन्, यो कत्रो कुरो हो र ?’ द्वितीय पुरुषले फैसला सुनाए ।

मलाई उकुस-मुकुस लागेर आयो । हामी तीनजना छौँ, ती हामीभन्दा पन्ध्र गुना धेरै छन् । कसैलाई घर गएर छोराछोरीलाई खुवाउनु-सुताउनु होला । कसैलाई पत्रिकाको टेबुलमा पुगेर समाचार लेख्नु होला । कसैलाई केही होला, कसैलाई केही होला । हामी तीनजनाको सनक र दम्भका कारणले ती सब पनौतीमा किन अड्किरहनु ?

‘आ…दाइ कण ! पीरै नगर्नुस्, ती कुरेर बस्छन् ।’

यसरी झन्डै एक घन्टा बित्यो । हामी त्रिमूर्ति बाहिर निस्कँदा बस अग्घि नै छुटिसकेको थियो ।

‘तिनलाई जान दिऊँ’, मैले अर्को विन्ती बिसाएँ- ‘होटल खोजेर हामी यतै कतै रात गुजारौँ ।’

‘जहाँ पुगेका भए पनि ती फर्केर हामीलाई लिन आउँछन् ।’

‘यो जघन्य ज्यादती नगरुँ, बन्धु ।’

दुई जुँगामुठे कण महोदयले हातेफोनबाट सम्पर्क गरे । र वनेपा पुगिसकेको बसलाई तिनले तथाकथित व्यक्तित्वको बल्छी लगाएर फर्काए । आत्मग्लानिले म बेचैन भएँ । मुखले हामी तीनैजना लोकतन्त्रवादी ! बाचाले हामी तीनैजना बराबरीवादी ! कुराले हैकमवाद र ठालुगिरीका हामी तीनैजना घनघोर शत्रु ! तर अहिले ? अहिले हामी जङ्गबहादुर ! हामी जुद्धशमशेर ! हामी ज्ञानेन्द्र शाह ! हाम्रो भन्ने वचन एउटा, गर्ने कर्म अर्कै ! हाम्रो आवरण एउटा, आवरणभित्रको सार अर्कै !

बस फर्केर आइपुग्यो । हामी त्रिमूर्तिद्वारा पीडित नरनारीहरूसामु मुख देखाउन मलाई लाज लाग्यो । निहुरिएर बसमाथि उक्लेँ । गुरुजीको छेउमा उही बिहानको ठाउँमा एक उदार युवकले मलाई आसन प्रदान गरे । लज्जित हुँदै हेरेँ, सबैका नजर मानौँ मैमाथि एकोहोरिएका छन् । कुन्साङ काका पनि चिनिए, आहा-अहा, उहु-उहुको भाकामा कोमल भट्टले तीर छाडे । तिनको तीरको प्रतिवाद गर्ने नैतिक हुती ममा थिएन । आफ्नो नजरमा आफू गिरेको आफ्नै नजरले देख्नुमा जति दुःख छ, त्यति दुःख अरू केहीमा पनि छैन ।

(स्रोत : कान्तिपुर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

1 Response to व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.