(टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् )
(टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )
(टुङ्गना र डम्फु – ३ यहाँ पढ्नुहोस् )
यसपालीको कुरा बेग्लै छ |
जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो प्रणय दिवसको दिनमा लेख्नलाई मसंग केहि पनि छैन | यस्तो पनि दिन आउने छ जिन्दगीमा भनेर मैले सपनामा पनि सोचेकी थिईन | समयको यो चक्रमा घुम्दै म यति बेला इटालीको पिन्जोलोमा आइ पुगेकी छु | धुपी र सल्लाका रुखहरुले घेरेको एउटा घरको बरन्डामा उभिएर आँखा भरि फैलिएको हिमालहरुलाई नियाली रहेकी छु | अलि पर, पहाडहरु भन्दा पनि पर एक लस्कर हिमालहरु पनि म जस्तै क्षितिज भरि आँखा डुलाएर बसेका छन् | आकाश फुटेर छताछुल्ल क्षितिज भरि खसेको छ | आकाश जस्तै सपनाहरु पनि फुटेका छन् र
प्रत्यक सिसाका टुक्राहरुमा म मेरा अमुर्त सपनाका अबशेषहरु बटुली रहेकी छु | अब बाकी नै के छ जिन्दगीमा ? कुनै बेला हिमाल देखेपछि मनमा एक किसिमको मातलाग्ने गर्दथियो, उनीहरुसंग जिस्किन मन लाग्दथियो, पोहोर साल यति बेला अर्थात् यो प्रणय दिवसको दिन म मेरो देशको उत्तरी भेगमा, स्यांग्बोचेको एउटा होटेलको बरन्डामा बसेर थामसेर्कुसंग मस्किएर बसी रहेकी थिएँ | मेरो सपनाको यलम्बरसंगको पुनर्मिलनको घटना कति रोमान्चकारी थियो | कुनै सिनेमाको कथा जस्तै |
पिन्जोलो मेरो देशको खुम्जुंग हो, यस्तै अनुभूति भै रहेको छ मलाई | तर मेरो नजिकमा मलाई सधै आफ्नो अंगालोमा बाँध्न चाहने मेरो क्याप्टेन लामा मेरो नजिक छैन | आजभोली म उसलाई फुटेको सपनाका टुक्राहरुमा खोज्ने गर्छु | त्यहा हेलिकोप्टरको सिसाहरु गढेको उसको क्षत विक्षत अनुहार मात्रै सलबलाउछन | हो मेरो क्याप्टेन लामा, आफैले चलाई रहेको हेलिकोप्टरको दुर्घटनामा परेर ……..| बतासहरु मेरो नजिक न आउनु अब | म मेरो आँसु छ्चल्कियेला भनि डराउने गर्छु |
मेरो इटालियन साथी जसको सपना पनि क्याप्टेन लामासंगै अनन्तको यात्रामा उडेको थियो, हाम्रो भेट स्याँगबोचेमा आंग दिकिको होटेलमै भएको थियो | उनको यलम्बर उसको कामको सिलसिलामा केहि दिनको लागि काठमाडौँ जानु पर्ने भएर क्याप्टेन लामासंगै गएको थियो | हामीलाई के थाहा उनीहरु सल्लाह गरेरै पो उडेका थिए की ? जे होस् हामी, इमिल्लीना र म दुवै आफ्नो प्रेमीको अन्तिम संस्कारको लागि त्यहाँ पुगेका रहेछौं | यति बेला म उनकै पाहुना बनेर पिन्जोलो आइ पुगेकी छु | “यो बर्षको प्रणय दिवस तिमि र म इटालीका पहाडहरुसंग, झरना र खोलाहरुसंग बिताउँ है ?” भन्ने उनको शब्दहरुले मेरो चिसो ढुंगा जस्तै मुटुलाई हल्लाई दियो अनि म वास्तबमा त्यो परिवेशबाट भाग्ने दाउमा पनि थिएँ | कहाली लाग्दो चिसो दिन र रातहरु, जिन्दगी दुष्कर भै सकेको थियो बाच्नलाई | मानिसका आँखाहरु तीखा झिर झैँ लाग्ने , आफ्नो परिवेश ओरिपरिको आवाजहरुले पनि पिलो जस्तै दुखाउने, खै के भयो भयो मलाई म त्यसै त्यसै अत्तासी सकेकी थिएँ | एउटा चिसो बतासको झोक्काले हिर्काए पछि म भित्र भागेँ | एउटा ठुलो ऐनाको सामुन्ने उभिन पुगेँ | धेरै समय पछि मैले आफ्नो रुपलाई ऐनामा नियालेँ | कपाल खौरिएको मेरो अनुहारलाई टीठलाग्दो नियालेँ | आइप्याडको टच स्क्रिनमा औलाले फोटोहरु सारे जस्तै म आफ्नो त्यो रुपलाई ऐनाको कुना तिर धकेल्दै थिए, न भन्दै त्यहाँ मेरो अर्कै उमेरमा अर्कै रुप देखा पर्यो अनि म क्रमश: ति सबै रुपहरुलाई नियाल्दै ऐनाको कुना तिर धकेल्दै जान थालेँ | छिटो छिटो धकेल्न थालेँ अनि मेरो कम उमेर हुँदाको, म सानी छँदाको मेरो रुप पनि ऐनाको कुनामा धकेली सकेपछि त्यहाँ मैले मेरो आमा अनि बाबाको अनुहार देखेँ | मेरा औलाहरु हिउले कक्रिय जस्तै अरट्ठ जमेको भान भयो | ” सपना त हाम्रो पनि फुट्यो नि ” एउटा आवाज, कता कता आमाको जस्तो, कता कता बाबाको जस्तो अथवा दुवै संगै बोलि रहे जस्तो… आवाज कानमा ठोक्किए पछि म मुर्ति झैँ तेही उभिएर बाबा र आमाको तस्बिर संग टाँस्सीए झैँ भए | थर थर कामेको आवाजमा बोले “…तपाई हरुको सपना पनि….?”
अनि अचानक ऐनामा एउटा कम्पन आयो र लहरमा मानिसको छाया हराए जस्तै चित्रहरु आउदै जादै गर्न थाले | र्यान्डम स्लाइड सो जस्तै | कहिले म इन्कुबेटरमा राखिएको सानी तर सुन्दर नानीलाई देख्दथिए | कहिले मोटर साइकलको पछि एउटी बच्ची च्यापेर बसेकी आमालाइ, अनि कहिले एउटी सानी केटिलाई स्कूलको युनीफर्म लगाई दिदै गरेकी आमालाइ, अनि कहिले बाबाको कोट टाइ र चस्मा लगाएर छोरा भएको स्वांग पार्ने उत्ताउली केटीलाई | यति धेरै चित्रहरु आउन थाले कि म थाकेर नजिकैको काउचमा गइ थच्चारिएँ |
मैले आमा बाबाको पनि सपना हुन्छ होला भनेर कहिल्यै सोचिनँ, अथवा नसोचेको स्वांग पारी बसेँ | सायद मेरो बारेमापनि उहाँहरुको कुनै सपना थियो होला ? त्यो आवाज फेरी पनि मेरो कानमा प्रतिध्वनित भयो र घनले जस्तै हिर्कायो मेरो मष्तिस्कलाई | स्वतन्त्र, एउटा आफैमा मग्न मेरो जिन्दगी पक्कैपनि मेरो आमा बाबाको सपना हुन सक्दैन | म कहाँ आइ पुगेँ ? आफुले हिडी सकेको बाटो सम्झिदा अत्यास लागेर आयो | अनि म जुरुक्क उठेर बरन्डातिर भाग्न खोजि रहेकी बेला इमिल्लीना कोठामा प्रबेश गरिन र मलाई बाहिर जान इशारा गरिरहेकी थिइन् | म चुप चाप उनको पछि लागेर उनको सानो यस. यु. भी. मा गइ बसी दिएँ | उनले मेरो अनुहारको रंग नियाल्दै भनिन ” के भयो तिमिलाई ?”
प्रति उत्तरमा उल्टै प्रश्न गरेँ ” कहाँ जादै छौ हामी ?”
मेरो आशय बुझेकी उनले थोरै मुस्कुराउदै भनिन “त्यहाँ, जहाँ पुगे पछि हामी सम्भवत: हाम्रो बर्तमानलाई भुल्न सक्ने छौ ” अनि उनले आफ्नो आइपोडलाई aux मा जोडिन | एउटा मीठो गीतको धुनसंगै गाडी अगाडी बढ्न सुरु गर्यो | केहि बेरमै बस्तीलाई ओझेल पारेर प्रकृतिको एउटा यस्तो विहंगम दृश्यमा दौडिदै थियौ मानौ त्यो पाखा, बैंसको उन्माद चढेकी एउटी उत्ताउली केटि हो | कतै लटरम्म सुनाखरी जस्तै फूलहरु, कतै संगीतको तालमा झुली रहेको घाँसको भेल | अलिपर आकाससंग अढेस लागेर बसेका हिमाल जस्तै चट्टानहरु जो मुर्छना बाट फर्किन सकी रहेका छैनन् | चुप चाप नियाली रहेका छन् यो पहरा पर्बतलाई | अनायास हामी एउटा घना जंगल भित्र छिर्यौ, काहाली लाग्दो शुन्यता, कतै कतै घामका प्रकाशहरु हामीलाईनै पछ्याउदै आइ रहे जस्तै | अनायास, कता कता एउटा ठुलो खोला बगी रहे जस्तो आवाज सुनिन थालेको केहि बेरमै एउटा चट्टानको काखमा पुगे पछि इमिल्लीनाले गाडी रोकिन | गाडीबाट ओर्लिए पछि मात्रै मैले देखे ठिक त्यो चट्टानको पछाडी एउटा बिशाल झरना, एउटा ठुलो पर्बतबाट फाल हानेर निरन्तर आत्महत्या गरिरहेकी छे | म बिल्कुल स्तब्ध भै त्यहीं चट्टानको एक छेउमा बसेर त्यो बिशाल झरनालाई नियाल्न थाले | एमिली पनि मेरो नजिकै आइ बसिन र भनिन ” उ तिमीलाई केहि भनि रहेकी छे ”
मैले झरना तिर इंगीत गर्दै सोधे ” उनले मलाई केहि भनि रहेकी छ ? …अनि तिमि उनको भाषालाई बुझ्दछ्यौ ?”
स्वीकृतिमा टाउको हल्लाउदै इमिल्लीनाले भनिन ” तिमि चुपचाप उनलाई नियाल र उनलाई सुनी राख, उ तिम्रै भाषामा तिमिसंग बात मार्न थाल्ने छिन् ”
म जिल्ल परेर त्यो बिशाल झरनामा आँखा टासेर त्यहिँ बसी रहे | इमिल्लीना भने त्यहाँबाट उठेर अन्यत्र लागिन | म त्यहिँ चट्टानलाई सिरानी हालेर ढल्किएँ र बोझिल आँखाहरु चिम्लिएर त्यो झरनाको भाषा बुझ्ने कोसिस गर्न थाले | नभन्दै…नभन्दै कोहि मेरो मुडुलो शिर सुम सुम्याई रहेको थियो र भनि रहेको थियो “आखिर मैले तिमीलाई भेट्टाई हाले |”
“भाग्ने त तिमि थियौ ? यस्तरी भाग्यौ कि ….|” मैले बोल्दा बोल्दै मेरो ओठमा चिसो औला राखी दियो उसले |
उसले फेरी पनि मेरो मुडुलो शिर सुम सुम्यायो र भन्यो “जे भए पनि तिमीले यसरि केश काट्न नहुने | त्यो झरना जस्तै लाग्दथियो तिम्रो केश |”
“पहराबाट खसेर निरन्तर आत्म हत्या गरि रहेको त्यो झरना जस्तै …?” मैले भनेँ “आफ्नो आफ्नो दृस्टीकोण हो म त त्यहाँ अविरल जिन्दगि देख्छु | जे सुकै होस् बर्तमान मात्रै आफ्नो हो भन्ने संदेश दिई रहेको छ त्यो झरनाले | त्यो पहरा पछिको उसको जिन्दगीप्रति कसैको कुनै चासो छैन | पहराबाट झरेर पहाडको कुन कुना तिर उ बिलिन भई | त्यो प्रति पनि कसैलाई चासो छैन |
“कति भोग्नु यस्तो बर्तमान ? पोखिएर कति बाच्नु ? बरु एउटा ताल हुन पाय हुन्थियो ” म त्यसै त्यसै बडबडाएँ |
सायद इमिल्लीनाको उपस्थितिले हाम्रो यकान्त बिथोलियो | म झस्किएर विउझिदा म एक्लै थिए | मेरो केस सुम्सुम्याउने मानिस त्यहाँ थिएन | मसंग बोलिरहेको मानिस मेरो नजिक थिएन | एमिली मलाई अन्तै कतै लान खोजि रहेकी थिई र म त्यो झरनासंगको केहि पल मुटुमा साच्दै त्यहाँबाट उठे | ढुंगा नै ढुंगाको बाटोहरुमा गरुङ्गो पैताला सार्दै म उसलाई पछ्याउन बाध्य थिएँ | रुखै रुख भित्र लुकेको एउटा फराकिलो घरको संघार टेके पछि मात्रै त्यहाँ घर पनि छ भन्ने कुरा थाहा भयो | त्यो एउटा रेस्टुरेन्ट थियो | सम्पूर्ण सजावटले आज भ्यालेंटाइन् डे भन्ने आभाष दिई रहेको थियो | एउटा कुनामा अप्सरा जस्तै लाग्ने दुइ जना युवतीहरु ग्राहकहरुको स्वागतमा ब्यस्त थिए | अनि, अलि पर एक जना मानिस पियानोमा मस्त थियो | मेरा पैतालाहरु मलाई त्यतै घचेड्दै थियो | संगीतले त्यसै पनि तान्छ मलाई | यहाँको बातावरण झन्डै झन्डै बांफको त्यो रेस्टुरेन्ट जस्तै थियो जहाँ मैले पहिलो पल्ट टुंगना र डम्फु सुनेकी थिएँ | जिन्दगीमा पहिलो पल्ट रातो फुलको चाहना भएको थियो अनि ….अनि बहकिनु सम्म बहकियेकी थिएँ | बिल्कुल त्यस्तै छ यहाँको वाताबरण यतिबेला | पियानोबाट निस्किएको धुन बाहेक अरु कुनै पनि कुराले मेरो ध्यान तान्न सकिरहेको छैन | वास्तबमा त्यो अन्जान मानिस पनि सबै कुरा भुलेर पियानोमा मात्र मग्न छ | एउटा धुनको शृंखला सकिए पछि उ अलि कति सल्बलायो तर दायाँ बायाँ कतै नहेरी फेरी पियानोमा आफ्ना औलाहरु चलाउन थाल्यो | मेरो आश्चर्यको सिमाना रहेन जब उ पियानोमा कुनै पुरानो नेपाली गीतको धुन खेल्न थाल्यो जुन धुन कता कता मेरो स्मृतिमा बसेको धुन थियो | म स्मृतिको हरेक पानाहरु पल्टाउन थाले | कहाँ सुनेको थिएँ मैले यो धुन ? यो प्रश्न, यो कौतुहलताको उत्तर म आफैं भित्र खोज्न थालें तर मेरा पैतालाहरु पियानोको छेउसम्म हिडन सकेन | सायद त्यो पियानो बजाउने मानिसको मुहार नियाले पछि म आफ्नो कौतुहलता मेटाउन सक्ने थिएँ | तर किन किन आजभोली मलाई मानिसहरुको अनुहारमा कुनै रुची छैन | एक किसिमको बितृष्णा जागेको छ, अनुहारहरु संग | आफ्नै अनुहार संग पनि | यस्तैमा मेरो ध्यान अनायास इमिल्लीना तिर गयो | उ बारको नजिकै एउटा मानिससंग गफमा मस्त थिई | मलाई त्यो मानिसको अनुहार हेर्ने रहर पनि लागेन | उ त् संसार नै भुलेर गफिई रहेकी थिई | म फेरी पनि त्यो पियानोको धुनमा डुब्न थाले | अनायास मेरो ओठहरु बिस्तारै सल्बलायो र त्यो गीतको केहि शब्दहरु बडबडाउन थाल्यो :
“सपना भए त बिर्सी दिन्थे, बिपना हो र आफै तर्से
मुर्ति भय त तोडी दिन्थे, मान्छे नै हो र माया गरे”
छेउ न टुप्पा, गीतको अन्तराको केहि शब्दहरु मन मस्तिस्कमा उफ्री रह्यो | म त्यो गीतको सम्पूर्ण शब्दहरु सम्झिने प्रयास गरिरहेकी थिएँ, इमिल्लीना मेरो सामुन्ने आइपुगिन, संगसंगै उसंग गफिई रहेको मानिस पनि | अनि, मेरो एकान्त, एकाग्रता सबै बिथोलीयो | परिचयसंगै त्यो पियानो बजाउने मानिस उसको नेपाली साथी भएको रहस्य खुल्यो, तर उसले उसको नाम भनेन बरु आज साँझको डिनर संगै खाँदै छौ भन्ने जानकारी दियो | मैले इमिल्लीनाको अनुहार चियाएँ, उ मुस्कुराई रहेकी थिई | सायद मेरो ओठमा पनि त्यस्तै कुनै मुस्कान सल्बलायो होला त्यसैले त उसले भन्यो
” मैले यहाँ आउदा यस्तो संयोगको कल्पना सम्म पनि गरेको थिईन ”
वास्तबमा मैले पनि एस्तो संयोगको कल्पना गरेकी थिइनँ, त्यो अर्को मानिस अझै पियानोमा त्यहिँ मेरो ओठमा अल्मलिएको धुन बजाई रहेको थियो |
“तिमि प्रकृतिसंग नजिक हुन मन पराउछ्येउ भन्ने थाहा पाएँ ” उसले कुराको प्रसङ्ग बदल्न चाह्यो |” तर म यतिबेला तिम्रो साथीको संगीतमा लट्ठीएकि छु ” झन्डै यसो भनेकी तर त्यहीं जमेर बस्ने सुरले खाली एउटा मन्द मुस्कानले पन्छाउन खोजेँ उसलाई |
सायद मेरो मुस्कानले सहि अर्थ दियो, उसले भन्यो “त्यसो भय हामी एकछिन् बाहिर जाऊँ ?”
मैले असभ्य हुन चाहिनँ र स्वीकृतिमा टाउको हल्लाई दिएँ | इमिल्लीनाले आफ्नो न्यानो हात दिईन, हामी हात समाएर आँखै आँखाको भाषामा केहि बोलि रहेका थियौ | म एक छिन् पछि इमिल्लीनालाई त्यो मानिससंगै जादै गरेको हेरेर टोलाई रहेकी थिएँ | अनायास पियानो बज्न बन्द भयो र वाताबरणमा एक किसिमको सन्नाटा छायो | मैले पछि फर्किएर हेरेँ, उ त मलाई नै नियाली रहेको थियो | कता कता देखेको परिचित जस्तो लाग्ने अनुहार | अनि उ उठेर सरासरी बारतिर लम्कियो | म त्यो धुन र उसको अनुहारलाई एकैपल्ट सम्झिन थालेँ | क्यानाडाको बांफमा अध्ययन गर्दाका पलहरु आँखामा सल्बलाउन थाल्यो अनि मलाई हेक्का भयो उ त रितेन हो | उसलाई मैले पहिलो पल्ट बांफ सेन्टरको एउटा ग्यादरिंगमा यसरी नै पियानो बजाई रहेको अवस्थामा देखेकी थिएँ | अनि यो मैले सम्झिन नसकेको नेपाली गीतको धुन पनि उसले नै बजाएको हो भन्ने पक्का भयो | मैले फेरी उसलाई चियायँ र हाम्रा आँखाहरु गजबले जुध्यो | म सम्हालिन पनि नपाउदै उ त उठेर सरासरी म भए तिरै लम्कियो |
“सायद म तपाइलाई चिन्दछु ? ” नजिक आए पछि उसले सहज भन्यो |
“मेरो यो हुलियामा पनि ?’ मैले पनि सहज उत्तर दिएँ | उ मैले सोचे भन्दा फरक ढंगले गम्भीर भयो र भन्यो ” वास्तबमा, तपाइको यो गेटअप, विश्वास गर्न निक्कै गाह्रो कुरो हो ” उसले समाती राखेको ग्लासबाट एक घुट्को पिएर फेरी भन्यो ” तपाई मेलिना नै हो भनेर ठम्याउन मलाई अलिकति समय त लाग्यो नै |”
म मौन भइ दिएँ, कुनै शब्द नै जुरेन | सायद यो असहज परिस्थितिलाई टाल्न उ आफ्ना आँखा यता उता डुलाउन थाल्यो |
“मेरो एउटा इटालियन साथी थियो, कता लागेछ कोनी ?” उ बडबडायो |
” तपाइको इटालियन साथी मेरो इटालियन साथी लिएर प्रकृतिसंग नजिक हुन गएको छ |” झन्डै यसो भन्न लागेकी थिएँ उसले नै मलाई उछिनेर भन्यो ” सायद उ माथि बरन्डा तिर लाग्यो, तपाइ जानु भयो माथि बरन्डामा ?”
“किन केहि विशेष कुरा छ र त्यहाँ ?” मैले उत्सुकता देखाएँ |
” प्रकृतिको एउटा विहंगम दृश्य देख्न पाइन्छ त्यहाँबाट, जानु हुन्छ ?” उस्ले सोधी हाल्यो |
“अहिले नै ?” सायद यस्तै प्रश्न या आसय झल्कियो मेरो अनुहारमा, त्यसैले त उस्ले पनि भनि हाल्यो ” केहि पिउने कुरा लिनु हुन्छ ? के मन पर्छ तपाइलाई ?”
“पछि पिउँला ” भन्दै म उसंग माथि जान उठेँ | उ मेरो ब्यबहारबाट अति नै प्रसन्न भएको भाव लुकाउन सकी रहेको थिएन | इमिली जस्तै म पनि उसको साथ लागेर हिडी दिएँ |
उही झरना तर फरक आकृतिमा झन् धेरै पानीसंग झन् धेरै बेगले फाल हानी रहेको दृश्यले मन मस्तिष्कलाई एकै पल्ट यस्तरी तान्यो कि म त्यहिँ मुर्ति भएँ | पानीका बाछिटाहरु बाक्लो बन कुइरो भएर नजिकैका साना ठुला पहाडहरुलाई चुमी रहेको थियो | अनि बताससंगै उडेर आएको त्यो झरनाको पानीका बाछिटाहरुले मेरो गालामा स्पर्श गर्दा म अति रोमान्चित भएँ | मैले आफ्ना दुवै हातका पन्जाहरुलाई हावामा हल्लाएँ र उस्लाई अर्थात् त्यो झरनालाई अभिवादन गरेँ | झन् धेरै हावा चल्यो र झन् धेरै बाछिटाहरुले मलाई चुम्यो | कतै उ मलाई रितेनसंग देखेर प्रसन्न भएकी त होइन ? मनले मलाई प्रश्न गर्यो | मैले उस्लाई हेरेँ, उ त मेरो भाव भंगीमामा लट्ठीएको थियो |
“मैले पहिलो पल्ट तपाईलाई देख्दाको रुपलाई यो झरना संग तुलना गर्न मन पराउँछु म | तपाइको लामो कालो केश बिल्कुल यो झरना जस्तै थियो ” उ झरना तिर नियालेर बोलि रहेको थियो | मैले उसको उत्सुकतालाई बुझेँ तर केहि पनि बोल्न सकिनँ | म चुपचाप झरनालाई नै नियाल्न थालेँ तर उ त मलाई रितेनसंग बात मार्न उक्साई रहेकी थिई |
” के म जान्न सक्छु ……?” उसको वाक्य पुरा नहुँदै मैले उस्लाई नियालेँ अनि उ आफ्नो बाक्य पनि पुरा नगरेर सम्हालिने प्रयास गर्न थाल्यो |
” के जान्न चाहनु हुन्छ ? यहि कि मैले केश मुण्डन किन गरेँ ? ” मैले उसको मनको कुरा बुझी सकेकी थिएँ | प्रतिउत्तरमा उसले टाउको मात्र हल्लायो र टिठ लाग्दो नियाल्यो |
” तपाईलाई के लाग्छ ? किन काटे हुँला मैले मेरो झरना जस्तो केश ? ” मैले उल्टै उस्लाई प्रश्न गरेँ | मलाई थाहा छ, उ पनि म जस्तै भावनामा बहकिएर शब्दहरुमा रुमल्लिने मानिस हो | म उसको मनको कुरा सुन्न लालायित जस्तै भएँ | तर उ केहि पनि बोलेन, अहं बोल्दै बोलेन | निक्कै बेर पर्खिएँ तर उसको मुखबाट कुनै बाक्य नै फुटेन |
” तपाइले कसैलाई प्रेम गर्नु भएको छ ? ” मैले अचानक यस्तो प्रश्न गरेँ उ त मलाई हेरेको हेर्यै भयो |
” Simple question … yes or no मा भन्नुस न ” मैले सहज भनि दिएँ |
“yes .. तर ..” उसले तर पनि जोड्यो र रोकियो पनि | यसको मतलब एउटा दुर्दान्त कहानी उसको प्रेमको पछाडी पनि छ | यती बुझ्न मलाई गाह्रो भएन | यस्तो नभएको भए उ पियानोमा त्यस्तो गम्भीर गीतको धुन खेल्ने नै थिएन, अनि मेरो मनमा त्यो धुन संग संगै फेरी अरु शब्दहरु खेल्न थाल्यो :
” पानी भय त सुकाई दिन्थेँ, आँसु नै हो र बहाई दिएँ
ढुंगा भए त फुटाई दिन्थेँ, मुटु नै हो र लुकाई राखेँ ”
अझै पनि त्यो गीतको सुरुको बोल मेरो स्मृतिमा आउन सकेको छैन | मैले कुराको प्रसङ्ग बदल्ने हेतुले भनेँ “तपाई अघि जुन धुन बजाई राख्नु भएको थियो त्यो गीतको सबै शब्दहरु आउँछ ?”
” आउँछ ”
“गाएर सुनाउन सक्नु हुन्छ ?”
“एक सर्तमा ”
“कस्तो सर्त ?”
“केश..?”
अनायास मेरो हात मेरो छोटो केस सुमसुम्याउन पुग्यो, बतासले उडाएर ल्याएको पानीका थोपाहरु लपक्कै बसेका रहेछन | ती पानीका थोपाहरु छुँदा, त्यो स्पर्शले मनमा एउटा हलचल नै मच्चियो | कस्तो मीठो अनुभूति, यस्तो लाग्यो, म त्यो झरनासंग लपक्कै टाँसिएर बसेकी छु अनि उनि मलाई मेरो केश सुमसुम्याएर केहि भनि रहेकी छे | म यकोहोरीएर उनको बोलिहरु सुन्नमा मग्न भएँ |
रितेन, सायद उसलाई लाग्यो उसले मेरो केशको बारेमा कुरा निकालेर गल्ति गर्यो, त्यसैले उ पनि चुपचाप म जस्तै टोलाई रह्यो | सुस्तरी सुस्तरी बन कुइरो सर्दै सर्दै आयो, बन कुइरोसंगै झरनाको पानीको झन धेरै बाछिटाको स्पर्श महसुस गर्न थालेँ, कुइरोले ओरिपरिको सम्पूर्ण वाताबरण छोपी सकेको पत्तै भएन | म कुइरो भित्र लुकी सकेकी थिएँ अनि अनायास फेरी त्यहि आवाज “तिमिलाई सम्झना छ, म तिम्रो केशहरुलाई आफ्नो चित्रहरुमा कोर्न चाहन्थेँ ? मुर्तिहरुमा तिम्रो आँखालाई त खोपी सकेको थिएँ अनि तिम्रो केशलाई पनि खोप्न चाहन्थेँ ? तिम्रो केशलाई मेरो क्यामेराहरुमा पनि कैद गर्न चाहन्थेँ …तिमीले तिम्रो केश काट्न नहुने ..|”
म अनायासै बडबडाउन थालेँ ” त्यसैले त मैले मेरो जम्मै केश फालेकी, तिमि स्वयम जिम्मेवार छौ, मेरो यो रुपको लागि..|”
“किन ?”
” तिमि नै नभए पछि ..?”
“……………..”
” म मेरो कल्पनामापनि तिमि मेरो केशसंग खेली रहेको महसुस गर्ने गर्दथेँ | अनि स्यांगबोचेमा तिमीले नियतपूर्बक मेरो केश आकास भरि फिँजाई दिएका थियौ, मेरो नजिकै हेलीकोप्टर ल्याएर ..याद छ ? मेरो सिङ्गो आकास फुटाई दियौ तिमीले ? तिमि निष्ठुरी रहेछौ ..|”
म त्यो पलको चित्र आँखामा ल्याएर कति बेर उभिएँ कुन्नि बनकुइरो सबै हराई सकेको मलाई पत्तै भएन | म त त्यहाँ रितेनसंगै उभिई रहेकी थिएँ | उ आफ्नै दुनियामा हराई रहेको भेटें | हाम्रो कुरा मेरो केशमै पुगेर रोकिएको थियो | खै किन हो कुन्नि, उसलाई पनि मेरो यो रुपले तर्साए जस्तो लाग्यो | मैले आफ्नो परेलीहरुमा बसेका शीत हो कि आँसुका थोपाहरु बिस्तारै पुछेँ र सुस्तरी रितेनलाई नियालेँ |
“तपाइको यो मौनता झन् कहाली लाग्दो थियो ” उसले मतिर नहेरिकन भन्यो | मैले उसलाई पुलुक्क हेरेँ | उ मलाई नै एकोहोरो नियाली रहेको थियो त्यहि प्रश्न आँखामा राखेर |
“यहि सोच्नुस कि म आफ्नो प्रेमको बरखी बसेकी छु अनि यहि नै मेरो बाँच्नुको परिभाषापनि भएको छ | ” मैले केहि अबरुद्ध आवाजमा अनि केहि भावाबेशमा भनि दिएँ | अनि यस्तो मौनता छायो कि मलाई आफ्नै उपस्थितिको आभाससम्म पनि भएन | रितेनले, रित्तो गिलास हातमा खेलाउँदै आफुलाई सम्हाल्ने कोसिस गरिरहेको मैले थाहापाएँ |
“तपाइको गिलास ….?”
अर्थपूर्ण नियाल्यो उसले आफ्नो रित्तो गिलासलाई र फेरी पर, झन् पर टाढा कता कता पुर्यायो आफ्नो दृस्टीलाई |
म भने चट्टानहरुमा पछारिएर झरनाको पानीहरुले आफैँ आफ्नो निकास खोजेर बगी रहेको दृश्यमा एकोहोरिन पुगेँ |पानी न हो | बग्नै पर्छ, रोकिएर बस्नै सक्दिनन | यस्तो लाग्छ, मेरा सबै सपनाहरु झरनाका ति पानीहरु जस्तै सैयौं फिट तल खसेर पत्थरहरुमा पछारिएका छन र निकास खोज्न नजानेर या नसकेर त्यहिं जमेका छन् | जस्तो कि अहिले पनि म पत्थर जस्तै उभिएकी छु, मुर्छनाबाट बिउँझिन सकिरहेकै छुईन | बग्नुको त कुरै छाडी दिउँ |
मैले फेरी आफ्नो छोटो छोटो केशहरु सुमसुम्याएँ | शीत जस्तै लपक्क बसेका पानीका थोपाहरुको स्पर्शले मनमा एक किसिमको तरंग ल्यायो | म कल्पनामै बांफको त्यो रेस्टुरेन्टभित्र पुगेँ | भ्यालेन्टाईन डे को त्यो साँझ, टुंगना र डम्फु बजाउँदै आउने त्यो मानिससितको मेरो जम्काभेट | मेरो आँखाको प्रशंसामा उसले बोलेका शब्दहरु, दुइ हरफ शब्दहरु मात्रै हो वास्तविकता | बाँकी त सबै मेरो मनको कल्पना | झरनाको पानी पछारिए पछि उठेका बाछिटाका बादल जस्तै, जस्तो कि यहाँ बन कुइरो भएर घरि घरि छोप्न आउँछ, जुन यथार्थमा बादल हुँदै होइन |
दोस्रो बर्ष भ्याँग्कुभरमा मैले उसलाई एउटा मुर्तिकारको रुपमा कल्पना गरें र मन लागुन्जेल आफ्नो केशहरु संग खेल्न दिएँ | एउटा मानिस जीवनमा आओस र मेरो केशहरुसंग त्यसरी नै खेलोस, रहर मात्रै |
कोहि मेरो नजिकै भएको भान भयो “मैले दिएको जी मालालाई सम्हालेर राखेकी छ्यौ ?” उही पहिलेको आवाज मेरो कानमा बडबडायो | मेरो हातहरु अनायास छातीमा पुग्यो | जी मालाको स्पर्शले म सिरिंग भएँ र मैले फेरी सुनेँ “म तिमीलाई अर्को जुनीमा भेट्ने छु, तिमि पुनर्जीवनमा विश्वास गर्छौ भने |”
“अर्को जुनीमा …?” म आफै पनि बडबडाएँ |
” हो अर्को जुनीमा ..तर तिम्रो अघि सिंगै जीवन बाँकि छ, तिमि त्यो झरना जस्तै स्वतन्त्र बग न | जमेर बस्ने तिम्रो रहरसंग मेरो सहमति छैन |”
” त्यो झरना जस्तै ..?” म फेरी बडबडाएँ |
” हो, उनको उन्मादलाई हेर न, उनको बेगलाई आत्मसात गर न ”
“यो तिम्रो पबित्र मायाको नासो हो, यो मेरो छातीसंगै टाँसिएर बस्ने छ |” मेरो बडबडाउने क्रम रोकिएन |
” फ्याँकी देउ त्यस्लाई, त्यो झुठो बन्धन हो ..” फेरी त्यो आवाज |
मैले आफ्नो छातीसंग टाँसिएको त्यो जी मालालाई बलियो समातेँ | निक्कै बेर समातेँ | अनि शीत हो कि आँसु, आँखा निथ्रुक्क रुझ्यो | म त्यो झरना हेरेर कहिले पनि नथाक्ने भएछु, यस्तरी यकोहोरीएछु कि मैले रितेनको उपस्थितिलाई पनि बिर्सीएछुँ | उ आफ्नो हातको रित्तो गिलास र मलाई पालै पालो नियाली रहेको थियो |
“तपाइँको गिलास ..|” फेरी पनि मैले उसलाई उसको रित्तिएको गिलासको याद दिलाएँ | निक्कै अर्थपूर्ण हेर्यो उस्ले आफ्नो हातको रित्तो गिलासलाई र भन्यो ” रित्तो गिलास, रित्तो आकास, रित्तो जिन्दगी, मन पर्छ मलाई यो रित्तो पन | अभ्यस्त जस्तै भै सकेको छुँ |” उसको बोलीमा गजबको वेदना मिसिएको थियो | म केहि बोल्नै सकिनँ | यस्तो लाग्यो, उ पनि अनन्त बेदनामा डुबेको मानिस हो | अनि अनायास मेरो कानमा अघि उसले बजाई रहेको धुन खेल्न थाल्यो र अचम्मसंग त्यो गीतको अर्को अन्तरा मेरो ओठमा सल्बलायो :
” पानी भए त सुकाई दिन्थेँ, आंसुनै हो र बहाई दिएँ
ढुंगा भए त फुटाई दिन्थेँ, मान्छे नै हो र माया गरें ”
अनि मेरो आँखामा त्यो दृश्य पनि सल्बलायो, बांफमा त्यो रेस्टुरेन्टतिर झर्नु अघि मैले उसलाई उसको बरन्डामा यसरि नै त्यहाँको प्रकृतिसंग हराई रहेको देखेकी थिएँ | चार बर्ष बिती सक्यो तर उ अझै ..? किन मन परेको होला उसलाई रित्तोपन ? मलाई आफ्नै रित्तोपनले चिथरी रहेको बेला मैले उसलाई सोध्ने आंटनै गर्न सकिन |
फेरी बन कुईरोले हाम्रो परिबेशलाई ढपक्कै ढाक्यो अनि फेरी पानीका हल्का बाछिटाहरुको स्पर्श महसुस गर्न थालेँ | बन कुइरो, झरना, कहाली लाग्दो जंगल अनि हामी बिचको मौनता ? म यो मुर्दा शान्तिको गर्भमा कता हराएँ हराएँ |
” तल जाऊँ ? ” अचानक उसले रित्तो ग्लास देखाउँदै भन्यो र मेरो प्रतिक्रियाको प्रतीक्षा नै नगरी हिँडी पनि हाल्यो |
म उ संगसंगै तल ओर्लिएँ | इमिल्लीना उनको नयाँ साथीसंग बारमा बसेर पिई रहेकी थिई | उनको सामुन्ने एउटा गिलासमा रातो गुलाफको फुल देखेर मैले कुरा बुझीहालेँ | उ निक्कै प्रसन्न देखिन्थी | हामी सरासरी उनीहरु भएको ठाउँमै पुग्यौँ | रितेनले उसको साथीको काँधमा यसरी धाप मार्यो, त्यस्को अर्थ बुझ्न मलाई कुनै समय लागेन | उ आफ्नो गिलास भरेर पियानो भएतिर लम्कियो, मानौ पियानोसंग छुट्टिएर उ बस्नै सक्दैन | म इमिलीको कुरा सुन्दै थिएँ पियानोको कि बोर्डबाट संगीतको तरंग उठ्न सुरु गर्यो | मेरो आश्चर्यको सिमा नै रहेन, उ त मैले सुन्न चाहेको अर्थात् मेरो गलामा अड्कि रहेको गीत नै गजबसंग गाउन सुरु गर्यो |
“कति बुझाउ यो दुनियालाई, कति रुझाउ यो आँखालाई……|”
म त्यो गीतको शब्द शब्दमा हराउन थालेँ | मेरो सम्पूर्ण बेदना ब्यक्त भै रहे झैँ लाग्ने त्यो गीत, कहिल्यै नसकियोस जस्तो | अनि मैले पनि एउटा रित्तो गिलास समातेँ | बाठी इमिलीले त्यसमा रेड वाईन खन्याई हाली | त्यो गीत सकेर उसले पियानोको माथि राखेको आफ्नो गिलास हातमा लियो र एउटा लामो घुट्को पियो | सबैले ताली बजाएर उसलाई झन् प्रोत्साहित गरिदिए |
” यस्तो लाग्छ प्रेममा घायल भएको मानिस हो तिम्रो साथी ” इमिल्लीनाले उसको नयाँ साथीलाई सोधी |
“कसरि थाहा पायौ ?” उसले सोध्यो |
” हेर न उ कस्तो गम्भीर अनि दुखि देखिन्छ, यो धुन सुन्दा कुनै असफल प्रेमको कथा सुनेको जस्तो लागेन तिमीलाई ?” उनले भनि |” वास्तबमा तिमीले ठिक अन्दाज गर्यौ | रितेन एउटा निर्दोष प्रेमको शिकार हो |”
“निर्दोष ?” इमिल्लीनाले आश्चर्य ब्यक्त गरिन | म चुप चाप सुनी रहें |
“उ एउटा निर्दोष भूलको सजाय भोगी रहेको छ | आफ्नो पहिलो प्रेमलाई बिर्सिनै सक्दिन भन्छ |”
“वास्तबमा भयो के त ? तिमीलाई भनेको छ उसले ?” इमिल्लीना झन् उत्सुक बनिन |
” उ आफ्नो साथीको अनुरोधमा उसको श्रीमती र बच्चासंग हस्पिटल गएको थियो रे, त्यति हो उसको भुल |”
“पहेली नबुझाउ, हस्पिटल जानु पनि भुल हुन्छ र ?” इमिल्लीना मस्कीई |
” दुर्भाग्यबस उसको प्रेमिका त्यहीं हस्पिटलको एउटा छेउमा उभिएर उनीहरु गाडीबाट ओर्ली रहेको दृश्य नियाली रहेकी रहिछिन, अनि उ यस्तरी गईन रे त्यो दिन देखि उसले उनको छायाँ पनि भेट्टाउन सकेको छैन रे |”
“मुर्ख मानिस, दुनियामा अरु कोहि भेटेन उसले ?” इमिल्लीनाले कुरा बुझी र गजबले हाँस्दै भनि | मलाई पनि अलिकति हाँसो उठ्यो त्यो अन्जान केटीको मुर्खताप्रति | म भएकी भए भेटेर सोध्ने थिएँ |
मैले रितेनलाई नियालेँ | उ केहि पल घोरियो, शायद कुन धुन बजाउने भनि सोची रहेको होला | मलाई भने उसले फेरी पनि त्यहि गीत गाई दिए हुन्थ्यो जस्तो भै रहेको बेला उसले अर्कै गीतको धुन निकाल्न सुरु गर्यो | निक्कै बेर त्यो धुनसंग अल्मलियो उ, र कुमार सुब्बाकै अर्को एउटा गीत गाउन सुरु गर्यो | हामी भने बारबाट उठेर डिनरको लागि अलि पर गयौँ | दुइ चार खुड्किलामाथि उक्लिनु पर्ने त्यो ठाउँ पूर्णत: परम्परागत इटालिएन शैलीबाट सजिएको थियो | झ्याल बाहिर त्यहि झरनाको अर्को अंश उस्तै मोहक देखि रहेकी थिई तर मलाई भने भित्ताहरुमा टाँगिएका तेल चित्रहरुले आकर्षित गर्यो र म त्यसमा हराउन थालेँ | त्यहाँ घोडाका चित्रहरु पनि थिए तर एउटा अर्कै चित्रले मेरो आँखालाई चुम्बकले झैँ तान्यो | म त्यतैतिर लसकिएँ | बिशाल तालको छेउमा एउटा सानो डुंगा अनि त्यस्मा खुट्टा राखुँ कि नराखुँ को दोधारमा परेकी एउटी अर्धनग्न युवतीको शरीर, जसको लामो केशले झन्डै पानी छोएको छ, म त्यो चित्रमा हराई रहेकी बेला रितेनले गाईरहेको गीतको बोल कानमा ठोक्किन थाल्यो:
“त्यो डुंगाले पुर्याउँछ तिमीलाई, तिमीले देखेको सपनासम्म
त्यो डुंगाले लैजान्छ तिमीलाई, तिमीले गरेको कल्पनासम्म
म संग एउटा डुंगा छ हृदयको, यसलाई एउटा सागर देउ ……”
म यस्तरी लट्ठिएँ चित्र अनि संगीतमा मानौ त्यो चित्र नभएर वास्तविकता हो | अनि म नै त्यो युवती हुँ, जो दोधारमा परेकी छे | डुंगामा पाइला राखुँ कि न राखुँ ?
मेरो मन उडेर फेरी बांफनै पुग्यो, चार बर्ष अघि, त्यो नै पहिलो भ्यालेंटाईन डे थियो जति बेला मैले पहिलो पल्ट रातो गुलाफको चाहना गरेकी थिएँ | कल्पनामा बहकिनु सम्म बहकिएकी थिएँ र अचम्मको संयोग, त्यो रातको मेरो कल्पना जस्तै म एउटा चित्रको सामुन्ने नै उभिएकी छुँ यतिबेला र त्यति बेलाको मेरो सपनाको राजकुमार जस्तै उ पनि संगीतमा मग्न छ | फरक यति हो कि उ पियानो बजाई रहेको छ | मैले आँखा अन्तै मोडेँ | इमि उनको नया प्रेमीसंग अंगालोमा बाँधिएर चुम्बनमा लिप्त थिईन | बिस्तारै मैले आफ्ना पाईलाहरु अर्को भित्ता तिर बढाएँ जहाँ अर्को चित्रको ठुलो क्यानभास झुन्डिएको थियो | एउटा नाङ्गो मैदानमा थुप्रै उत्ताउला घोडाहरुको चित्र | म भागेर फेरी उही पहिलेको चित्र सामु उभिन पुगेँ |
मेरो हात खुट्टा सबै कांपी रहेको थियो र म छातीको जी मालालाई बलियोसंग समाएर सम्हालिने प्रयास गरि रहेकी बेला कोहि मेरो बिल्कुल नजिकै उभिन आएको आभास पाएँ | त्यो भ्रम थिएन, रितेन मेरो नजिकै उभिएको थियो आफ्ना दुवै हातहरु शरीरको पछाडी बाँधेर | एकनास त्यहि चित्रलाई नियाली रहेको थियो |
आत्तिएर मैले भनेँ “बिल्कुल तपाइँको गीतको मर्म समातेको रहेछ यो चित्रले, उनि त्यो डुंगामा पाइला राख्ने कि नराख्ने दोधारमा परेकी जस्ती देखिन्छिन | ”
प्रतिउत्तरमा रितेनले आफ्नो शरीरको पछिल्लो भागबाट आफ्ना दुवै हातहरु अगाडी ल्यायो र मेरो अघि बढायो | मैले सपनामा पनि नसोचेको कुरा, उसको हातमा त रातो गुलाफको फूल थियो | पहिलो पल्ट, उसको आँखाको बाटोबाट उसको मुटु सम्म पुगेँ अनि उसको हातबाट रातो गुलाफको फुल समातेर म माथि बरन्डा तिर भागेँ | एउटा उन्मुक्त हासो संगै म त्यो रातो फूल हल्लाई, हल्लाई त्यो झरनालाई देखाई रहेकी थिएँ | रितेन मलाई पछ्याउँदै मेरो नजिक उभिन आइ सकेको थियो | एकै छिनमा, झरनाका बाछिटाहरुले बनकुइरो भएर हामीलाई आफ्नो अंगालोमा बाँधी सकेको थियो |
(फ्लोरिडा – वेस्ट पाल्म बिच)
(स्रोत : ‘क्यासल रककी अप्सरा’ कथा संग्रह बाट )