कविता : उ पनि अर्को ब्रायन

~राजव~Rajab (USLT95641's conflicted copy 2014-09-22)

बिहान उठेपछि
बाहनको दौडादौडी
र तीतो कफीको स्वादबाहेक
अर्को मीठो कुरो
र नवजात सूर्यको गति हेर्न पाइन्न
थुप्रै सुन्दरता मारेर
बनेको यो चरम–नगरमा

न भिजेका केटाकेटी देखिन्छन्
न ओत लागेका मान्छे देखिन्छन्
ब्राइन भन्छ
यहाँ ओत कतै पाइँदैन
यस्तो ठाउँमा के बस्नु
जान्छु मध्यसमुद्रतिर
वा पहाडतिर वा तराईतिर
खूब मजाले सूर्योदय हेर्छु, अस्ताचल हेर्छु
झरीमा रुझ्छु
रात, बिहान
र दिनको आनन्द लिन्छु
जान्छु चराहरू भएको ठाउँमा
जान्छु माटो देखिने ठाउँमा
र खेतहरूमा अन्नबालीहरू
को लहलहाउँदो रूप हेर्छु
धर्तीबाट वायुमा
धूलो कसरी उड्छ
मजाले हेर्छु,
वास्तवमा मलाई
नगरले नखाएको प्रकृति छाम्नु छ
र मुटुसम्म पुग्ने अनुभूति लिनु छ
ब्राइन महानगरको व्यस्तताले थलिएको छ
उसलाई पहाडको वैविध्य अग्लाइ
र तराईको सघन रूप
र मरुभूमिको उच्चाट आत्माको ज्ञान छैन
उसले धर्तीको मौलिकता जानेको छैन
बिहान उठेपछि
बिछ्यौनैदेखि दाँत माझ्दै
बाथरुमभित्र पसेर
निस्केपछि
हडबडीको लुगा भिरेर
कारको गति रन्काउने ब्राइन
बाटोको कुनै ‘कफी सप’ मा पस्छ
त्यहाँबाट कपभरि बीस आउँस कफी किनेर
फेरि कारको बेतोड गतिमा तातो कफी चुस्दै
मध्यनगरको असी तले भवनको
तीसौँ तलाको अफिस कोठामा
छिरेपछि ब्राइनको
प्रत्येक दिन
डलर उत्पा
दनमा त्यहीँ बित्छ
शहर बिजुलीले उजेलिएपछि
टाउको बिसाउन कुनै सम्भ्रान्त ‘पव’ मा पस्छ र
एकाद घण्टा त्यहीँ आनन्द किनेर बिताउँछ
त्यसपछि ब्राइन
कोन्यागको नशामा मस्तिएर
डोचेस्टरको आफ्नू अपार्टमेन्टमा गुँडुल्किन पुग्छ,
बितेको तेह्र वर्षदेखि ब्राइन यही गरिरहेछ,
बेलाबेला अति दिक्किएर भन्छ
मसँग कुनै जीवन छैन
यही हो मेरो जीवन
के छ यसमा ?
तीतो कफी
कोन्यागको नसा
“अमेरिकन स्प्रिट एलो’ चुरोट
इम्पोर्टेड डिओडिरेन्टको वासना
डलर सचेत कामको क्रुर बोझ
र, नवजात कार
यत्ति हो
यत्ति हो
यत्ति हो जीवन
म वञ्चित हुंदैछु
ताजा कविहरू
जिमी सान्टियागो बाका,
मार्क कोक्स, रिटा डोभ, स्टिफेन डन, विलि कोलिन्स
डेभिड लेहम्यान, नाओमी सिहाव नाय, इरा साडोफ
लुइस गुलग र टोनी टोस्टका कविताहरू र मलिसा
इवे, फ्रेड इस्कर, सारा रेन, एरिक वेस्ट
र मार्क एडकिन्सका रंगका तरंग र सूक्ष्मताहरूबाट

वञ्चित हुँदै छु
सब मौलिकताबाट
मेरा दिनहरू
खरो डलरमा निख्रिँदै छन्
म कहिले बौलाउँछु डाक्टर ?
तर उत्तरआधुनिक डाक्टर जन बेरी बोल्दैन
ऊ पनि अर्को ब्राइन हो

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.