लेख्दालेख्दै डायरी भरिए टन्नै !
कति मात्रै लेख्नु ! के मात्रै लेख्नु !! फेरि नलेखी बस्नै पो सकिन्छ र !!! यस्ता कुराका सिर्कनाले स्वाँट्ठ हान्छन् ।
कवि कुरूप कतार पुगेको पाँच बर्ष नाँघ्यो ।
उनले कविता लेख्न थालेको पनि त्यो भन्दा धेरै भयो । उनको साथी नै भयो अब त डायरी र कविता । उनी फुर्सद मिल्यो कि डायरी पल्टाउन थालिहाल्छन् ।
उनी निकै राम्रा मान्छे हुन् ।
तर उनले आफ्नो नाम साटे । उनलाई लाग्छ, कविहरूले नाम फेरेर कविता लेख्नुपर्छ ।
अरूहरूले पनि सल्लाह दिए – ‘हो त नि ! कविहरूले कविता जस्तै नाम पनि रमाइलो राख्नु पर्छ !’
त्यो बेलादेखि उनले नाम फेरे र राखे – कुरूप !
उनी जतिबेलै कविता गुनगुनाउने गर्ने । फुर्सद पायो कि डायरी पल्टाएर कविता कोर्न थालिहाल्थे ।
‘कविजी ! म त तपाईको कविता निशुल्क सुन्दिनँ ! भए आनन्द आउने झोल नभए पनि मीठो चिया त अनिवार्य !’
कवि कुरूपकोमा आइरहेने दुःखीरामले भन्यो ।
‘तिमी सुन मात्र ! म सब व्यवस्था गरिहाल्छु नि !’
कुरूपले थर्मसबाट चिया खन्याए गिलासमा ।
अनि उनले मच्ची–मच्ची सिलोके कविता सुनाए । उनले भाका हाली–हाली कविता भट्टयाए । उनले लय मिलाई–मिलाई कविता गाए ।
कविता भनिसकेपछि कवि कुरूपले आँखा चिम्ले एकदिन । अनि बिस्तारै आँखा खोल्दै भने – ‘कस्तो लाग्यो मेरो कविता मित्र ?’
‘एकदम बढियाँ छ ।’
‘साँच्चै ?’
‘हो, एकदमै मन छुने खालको छ !’
‘मैले देशका नेताहरूलाई सत्तोसराप गरेको छु नि !’
दुःखीराम र कवि कुरूप बीच अरू थुप्रै कुरा भए । कविताका बारेमा निकै कुरा भएपछि उनीहरू भोलिको ड्युटीमा जानुपर्ने हुनाले छुट्टिए ।
‘कविजी, ओ कविजी !’
गाउँमा उनको यै नाम थियो । उनले पाएको परिचय यहि थियो । उनी सबैका कवि थिए ।
कतारमा यिनी विविध नामले पुकारिन्थे । गार्डको काम पाएथे उनले । अहोरात्र उभिनु पथ्र्याे ।
कवि काका, कवि मामा, कवि दाइ, कवि मित्र अनेक परिचय थियो उनको । तैपनि धेरैजसोले भन्थे – ‘कविजी !’
उनलाई पनि यहि नामले डाकेकोमा सन्तोष लाग्थ्यो । उनी भन्थे पनि – ‘म ठूलो त हैन, सानोतिनो कवि हुँ !’
यसो भनेर उनी अरूप्रति श्रद्धाभाव व्यक्त गर्थे ।
उनले धेरै पढेनन् । पढ्ने अवसर पाएनन् गाउँमा । बुबा बितेपछि घर लथालिङ्ग भो । आमाले तीनजनासँग बिहे गरिन् । उनका जीवनमा ती तीनजना बाउहरूको भिन्नाभिन्नै प्रभाव रह्यो, छाप रह्यो र स्पर्श रह्यो ।
तर ती कसैसँग आमाको जीवन बलियोसँग बाँधिएन । खाली चोट, रोग र रूवाबासी भएर आमाले दिन काट्नु प¥यो ।
सबै बाउहरूले आमालाई एकाध सन्तानको बोझ बोकाइदिए । माया, भरोसा, स्नेह र हार्दिकता दिएनन् । भविष्यको उबडखाबड बाटो दिए, बर्तमानको सम्म सडक दिँदै दिएनन् ।
कविजीलाई यो चोटले खुब मनमा गढेको छ ।
अनि उनी आमालाई सम्झेर मनका उखर्माउला पोखी कविता लेख्छन् । आमाको आँसुले उनलाई नि पोलेको लाग्या छ । त्यसलाई सम्झना गरी कविजीले थुप्रै कविता लेखेका छन् ।
‘कविजी आज गएराती सपनामा आमालाई देखें । तपाईंले कवितामा लेखेको आमा र गाउँमा भएकी आमाको अनुहार उस्तै–उस्तै छ । म आज फेरि त्यै कविता सुन्न आएको ।’
छुट्टीको दिन पारी शुक्रनाथको आवाज सुनियो कविजीको दैलोमा ।
उनीहरू दुवैजना मिली साँझको खानपान राम्रैसँग गरे ।
‘कविजी म त कविता सुन्न आएको ।’
दुवैले एक–एक गिलास दन्काइसकेका थिए ।
‘तिमी समाज भँडुवी भने तिनीहरूले मेरी आमालाई । तँलाई धेरै केटा चाहिने रै’छ भने । मेरी आमालाई गाउँलेले तथानाम भने । सबै बाउहरूले धोकामात्र दिए आमालाई …… !’
कविजीले आमाको कविता सुनाउनु अघि आमाको मूल्य, मर्म र महत्ता बताए ।
यतिखेर उनका आँखामा आँसु भरिएको थियो ।
आमाको बिषयको कविता उनले तीन पटक अनेक भावभङ्गिमा साथ पढे । उनको कविता सुनेर शुक्रनाथ पनि अमिलो अनुहार पारेर निदायो ।
कविजीको हालत नाजुक थियो । तीन महिनायता पैसा हात परेको थिएन । घरबाट पैसाको खोजी भएको फोन उनलाई निकै पटक आएकै हो । तर उनी कन्तबिजोगको हालतमा थियो । उनी भुटभुटिन्थे मनमनै । उनी खुब छटपटिन्थे ।
यै मनको आगो समेटेर कविता लेखे – ‘निर्धन !’
यो निर्धन कविता धेरैलाई सुनाए । सबैका ताली र स्याबासी उनलाई बर्सिए । उनी अचेल निकै प्रफुल्ल छन् – धन कमाउन नसके नि कम्तीमा लेख्न त सकियो – निर्धन कविता ।
प्रायः छुट्टीमा उनको निर्धन कविता धेरैले सुन्न खोज्छन् । कवि कुरूप चम्की–चम्की सुनाउँछन् – धनको अभाव र श्रम गरिरहेका नेपालीहरूको हालत उतारिएको कविता – निर्धन ।
‘कविजी !’
‘हजुर ! टलकजी !!
‘आज म त कविता सुन्न आएको हैं !’
‘थाहा पाएँ, तपाईलाई फूलमाला कविताले छोएछ । हुन्छ म सुनाइहाल्छु नि मित्र !’
त्यो दिनभरि कविजीले टलकलाई ‘फूलमाला’ शीर्षको कविता तीनचार चोटी सुनाए । उनले अरू निकै कविता पनि सुनाएकै हुन् । तर ‘फूलमाला’ कविता टलकलाई खास मन पथ्र्याे । उनी जहाँ भेटे नि त्यसबारे खैखबरी गरिहाल्थे ।
‘के छ फूलमायाको हालचाल !’
फूलमाला अरू कोही थिइनँ । थिई त कविजीकै मनकी मायालु । गाउँमा गाई चराउँदाकी ऊ साथी थिई । कवि र ऊ दिनभरि बगरमा गाईबाख्रा चराउँथे । उमेर चढ्दै गएर मनमा अनेक फूल र बास्नाको अनुभव दुवैले गर्दैथे । तर तिनमा कुनै दाग, चोट र छोइछिटो भएको थिएन । आँखा मन र धुकधुकीमा सीमित थियो ।
आफू कतार जाने अघिल्लो दिन बल्ल फूलमायाले आँफैले बुनेको गलबन्दी दिएर जाँदै गर्दा भनिथी – ‘फेरि भेट होला र ……!’
अब बल्ल थाहा भो कविलाई – ‘ए, त्यो ठूला आँखीभौं गरेकी केटीले त मन पो पराउँदी रैं’छ ।’
तर समयको छाल हुत्तिएर धेरै पर गइसकेको थियो । धेरै रात बिति सकेका थिए । धेरै बिहान यो पृथ्वीका हरेक कुनामा आइसकेका थिए ।
कवि कुरूपले त्यो गोठालो छँदाकी रूपसीलाई बिर्सन सकेन । अनि लेख्यो कविता – फूलमाला ।
त्यै फूलमाला कविता धेरैको मनको आवाज बन्छ । धेरैको धुकधुकीको स्पर्श भएछ । धेरैको हृदयको कम्पन बन्न पुगेछ ।
अनि यसो सानोतिनो खानपिनको आयोजना भयो कि भनिहाल्थे केटाहरू – ‘कविजी, फूलमाला सुनाउँनु न ।’
समयको छाल आइरहेछ । गइरहेछ त्यत्तिकै । कविको कविता लेख्न घटेको छैन । लेख्यो डायरीमा अनि थन्कायो । फुर्सदमा यसो मिलायो अनि आफैं पढ्यो र फेरि जतनले थन्कायो ।
कवि, खुव लेख्छन् कविता ।
उनलाई कहिलेकाँही पीर पर्छ । यसलाई छाप्न पाए हुन्थ्यो ! धेरै ठूलो समारोहमा भट्याउन पाए हुन्थ्यो !! यसलाई ठूलाठूला मान्छेहरूका माझमा सुनाउन पाए हुन्थ्यो ।
तर यो बाह्र घण्टा ढोकामा उभिइरहने जागिर पाएको कवि कुरूपलाई त्यो महान अवसर कहाँ छ र ? यो परदेशिएको गरीब कविलाई त्यो भव्य चानस कसरी आउला र ?
अचेल त घर परिवार बाहेक धेरै कुरालाई लिएर उनले कविता लेखेका छन् । खुब लेख्छन, उनी कविता गजल र गीतहरू ।
सुन्ने सबै पुराना साथीले यो ठाउँ छोडिसके । कविजीका श्रोता छँदै छैनन् । उनका कविता सुनाउन लगाउने उनका हितैषी सबै अर्कै शहरमा सारिएका छन ।
अचेल कविले ठूला–ठूला सेता पानामा कविता लेखी भित्तामा टाँसेका छन् । उनलाई लागेको छ –‘सुनाउन नपाए पनि कसै न कसैले त यी मेरा मनका आँधी थाहा पाउलान् ।’
माड दलेर कवि टाँस्दैछन् भित्तामा कविताका पाना !
(श्रोत:- अन्तर्जाल)