म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ, अर्थात् हुँदैछ । हाम्रो त्यस्तो चलन छ क्या ? मरेको मान्छेले मुख खोल्दैन भन्ने थाहा हुँदाहुँदै पनि खाए खा नखाए घिचको स्टाइलले पानी ख्वाउने क्रम जारी छ । पानी ख्वाउन आउने थुप्रै थिए, लाम त लामै रहेछ । लामै भन्या सिमकार्डको लाइन, कोरिया जाने लाइन, मन्त्री बन्नेहरूको लाइन जत्तिकै क्या ? मलाई पानी ख्वाउनेहरूमध्ये सबैको त व्याख्या गर्न भ्याउँदिन, केही नमुना भने प्रस्तुत गर्दछु । यस्तैमा मेरा साथी आए, एकदम मिल्ने । साह्रै शोकमा थिए, नहुनु पनि कसरी ? सम्भवतः लँगोटिया यार भन्छ क्यार ? त्यसपछि एक नौटङ्की वाजे आए रोएको नाटक गरेर, भित्रभित्रै त खुब हाँसिरहेको होला मोरो । मसँग मोटै रकम सापटी लिएको कुरा ऊ र मबीच मात्र सीमित थियो । उसको सात पुस्तालाई नभए नि, एक दुई पुस्तालाई भने अवश्य पुग्ने मात्राको थियो ।
त्यही लाइनमा एक विकास बैङ्कका कर्मचारी पनि देखेँ मैले । त्यो बैङ्क कर्मचारी भक्कानो छोडेर रोइ कराई मतिर आइरहेका थिए । यल्लाई चाहिँ म मरेकोमा साह्रै चिन्ता लागेको देखिन्थ्यो । अझ म मरेकोमा भन्दा क्षतिपूर्ति स्वरूप दिनुपर्ने बिमा रकमको चिन्ताको रेखी चाहिँ उसको निधारमा प्रष्टै देखिन्थ्यो ।
डाक्टर साब पनि थियो त्यो लाइनमा । यसैले त हो नि मलाई गलत उपचार गरेर मिति नपुग्दै डाँडा कटाएको । भनिन्छ नि ‘कच्चा बैद्यको मात्रा, यमपुरीको यात्रा’ । त्यसपछि एक जना महाशय आएर मलाई पानी चढाई लालसलाम पारामा मुठ्ठी कसेर हात उठाएर पो गए त । हाँस उठेर कस्तो ? मरेको मान्छे हाँस्नु पनि भएन Û
ओहो ऽऽ पुरुषको लाइनमा महिला, शायद क्रमभङ्ग होला, नत्र यस्तो अन्तिम समयमा पानी ख्वाउन कोही महिला आउनु हुँदैन हाम्रो चलनमा । ए ऽऽ यी त मेरो गोप्रे रहिछ अर्थात् गोप्य प्रेमिका । डाँको छाडेर रोएर गइन् । पानी ख्वाउने बहानामा मेरो लाशैसँग अन्तिम पटक अँगालो पनि मारेर गइन् । अरू मलामीहरू त हेर्याहेर्यै ।
हलुवामा बालुवा भनेझैँ त्यस्ती सुन्दरी गोप्रेपछि यही मुर्दार पो आएछ । आखिरी समयमा अर्थात् मिति पुग्नपुग्न लाग्दा अस्पतालसम्म जानुपर्यो गाडी एकछिन चाहियो भनेर यो मुर्दारलाई फोन गर्दा आनाकानी गरेको कहिल्यै बिर्सिन्न म । अहिले चाहिँ हेर न पानीमाथिको ओभानो बनेर सुँक्कसुँक्क गर्दै अँजुलीभरि पानी बोकेर आइरहेकी छ ।
यो त झन् नामीको व्यापारी । कात्रो र पिताम्बरमा पनि डेढी नाफा खाएर बेच्ने रहेछ, अहिले हेर न ठीक्क पारेर, टोपी सोपी नै फुकालेर आइरहेको छ । ‘नक्कली जोगीले बढी खरानी घस्छ’ भनेभै+m । त्योपछि आउने मान्छे रमाइलो छ, शायद मक्खीचुस भन्छन् क्यारे यस्तो मानिसलाई । एक पटक उसले चिया खाँदै गर्दा उसको चियामा झिँगा खस्याथ्यो । अलिकति भए पनि चिया किन खेर फाल्ने भनेर चियामा खसेको झिँगा टपक्क टिपेर चुसेर ˆयाँकी बाँकी चिया घटघटी पिएका थिए । अजब गजबका हुँदा रै छन् दुनियाँमा ।
यो साहूजी चाहिँ दङ्ग परे होला, मलाई ब्रहृमनालमा लम्पसार देखेर र त्यो पनि यो हालतमा । उसलाई लाग्दो हो जहिले पनि मोलमोलाई गरी वाक्क पार्ने एउटा ग्राहकको दिन पुगेको देखेर । त्यसपछि एक कप चियाको भरमा घण्टौँ गफ छाट्ने गरेको चिया पसलका साहूजी पनि आएका थिए ।
एक जना सहकारीकर्मी पनि आएका रहेछन् । बिचराको अनुहार कागती निचोरेकोभै+m देखिन्थ्यो । शायद लगानी पानीमा डुब्यो भन्ठाने पनि पानी ख्वाएर गए तर त्यति विघ्न ऋण लिएको थिइँन त्योसँग ।
यस्तै नमुनाहरू हेर्दाहेर्दै, जोरीपारीको के हविगत होला भन्ने चिन्ता गर्दागर्दै म त चिसिँदै पो गएँ त । अब पो आभास भयो भात खान पुगेको, सास फेर्न बिर्सेको ।
थाहा छैन मलाई स्वर्ग पठाउँछन् कि नर्क यमदूत तथा
चित्रगुप्तले ? बरू दोबाटोमै राखिदिए त दुबैतिरको ग्राहक आउँथ्यो नि । त्यहाँ पनि गरिखान हुन्थ्यो नि । ब्रहृमनालमा लम्पसार परेर नै आफूमा चेतना आएदेखिको जीवनयात्रा रि गरेर प्ले गरेँ । आफूले खाए, भोगे, गरेका राम्रानराम्रा कार्यहरू सब सम्भे+mँ ।
‘ए उठ्, उठ् भन्या, के निद्रामा बर्बराइरहेको ? भात खान पनि बिर्सिस्, भात खान पुग्यो कि क्या हो ?’ डेरामा सँगै बस्ने साथीले बिउँझाएपछि पो थाहा भयो सपना रै’छ, धन्न बचिएछ । एफ.एम. ट्युन गरेको त नारायणगोपालको गीत आइ रहेकोरहेछ ‘आजै र राति, के देखेँ सपना ? मै मरी गएको’ ।
(श्रोत :- मधुपर्क जेठ, २०६८)