कविता : चैतको बतास

~भुवन ढुङ्गाना~

अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यी वर्षहरू हुन्
पछाडि छुटेका ।

वर्षको अन्तिम महिना
चैत छुट्दैछ भारी बिसाएर
पुच्छरमा छ वैशाख झुन्डिएको
चैतको बतासले हल्लाउँछ
बतासले भुँवरी घुमेको छ
फनक्क बितेको यो वर्ष।

अनुभूतिले समातेकी छु
हावाहरूले छुँदैनन्
यी अपरिचितहरू हुन्
बेला–कुबेला दुर्घटनामा परेका
आत्मीयताको गाँठोमा
बिहानीको छापा–खबरले बाँधिएका ।

बतासको गन्थनमा
बारुदको गन्ध
फूलको मालामा
सिनोको दुर्गन्ध

उभिएका छन् लहरै, लस्करै
रामनामी ओढेर
टाउको जोडेर
चैतको बतासमा सयपत्री फूलहरू
ओढेका छन् पिताम्बर
गुनगुन–गुनगुनको मन्त्रोच्चारण
टाउको जोडेर फूलहरू
चैतको बतासमा
अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यो वर्षको अन्तिम चैत हो
बताससँगै छुटिरहेको।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.