कथा : बाघमारेको लालसलाम

~प्रदीप नेपाल~

यो कथा हो राजारानी गाउँको। राजारानी गाउँ धनकुटामा पर्छ।

यो कथा हो क्षेत्रजङ्ग आङबोहाङको। क्षेत्रजङ्ग एउटा ठूलो ज्यान र फराकिलो छाति भएको मान्छे हो।

यो कथा हो क्षेत्रजङ्गको सौर्यको, उसको पौरखको।

यो कथा हो कसैले कल्पना समेत नगरेको उसको दुखान्तको।

२०६० सालमा चौंसट्ठी वर्ष पुगेको क्षेत्रजङ्ग कुनै राष्ट्रिय नायक होइन। चालिस वर्ष अघि चौबिस वर्षको छँदा क्षेत्रजङ्गले बारी पुछारको कान्लामा एउटा पाटे बाघ मारेको थियो। “यसो हेरेको त ट्वाल्ल आँखा बालेर मैलाई पो हेरिरहेको रहेछ ए बज्या त,” आफ्नो पौरखगाथा गाउँदा प्रायः क्षेत्रजङ्ग यसरी नै कथा थाल्थ्यो, “खुकुरी उज्याउने मौकै भएन। जे होला त नि भनेर म पनि त्यसरी नै ट्वाल्ल परेर बाघलाई हेर्न थालें। बज्या त नजानिदो पाराले मैतिर पो सर्न थाल्यो ए! फर्केर भागौं भने झम्टिहाल्थ्यो, त्यसैले म पनि नजानिदो पाराले पछि हट्न थालें। कहाँबाट बजाउँदा बज्याको खप्पर फुट्छ भनेर दाउ हेर्न थालें। ठाउँ के भेटेको थिएँ, मच्चाएर खुकुरी खप्परेको कञ्चटमै बजारें। बज्याको टाउकामा तेल दलेको थियो कि क्या हो, खुकुरी त प्लित्त चिप्लियो पो ए। एकछिन टाउको हल्लाएर बज्या त भाग्न पो खोज्दो र’छ। कहाँ भाग्छस ए बज्या भनेर मिलाएर दिएँ अर्को दनक। आँ गरेर बाघ मोराले त दाँत ङिच्याएर उत्तानो टाङ पो लाएछ ए।”

लक्का जवान क्षेत्रजङ्गलाई त्यतिबेला गाउँघरको भाकामा सबैले छेत्रे भनेर बोलाउथे। बाघ मरेको समाचार गाउँमा फैलिने बित्तिकै क्षेत्रजङ्गको नाम पनि फेरियो। त्यसै दिनदेखि गाउँघरकाले उसलाई बाघमारा छेत्रे भन्न थाले। वर्ष दिन बित्दा नबित्दै ओरिपरिका गाउँलेको चिनारीमा पनि उ बाघमारे भयो। गाउँमा त उसको नाउँ क्षेत्रजङ्ग आङबोहाङ हो भन्ने सत्य नै विस्मृतिमा गयो।

एउटा बाघ के मारेको थियो क्षेत्रजङ्गले, गाउँको अप्ठेरोको नेतै भैदियो उ। रूख ढाल्नु पर्‍यो बाघमारे, सँुगुर मार्नु पर्‍यो बाघमारे, भीरमौरीको मह काड्नु पर्‍यो बाघमारे। हेर्दा हेर्दै बाघमारे अप्ठ्यारा कामहरूको पर्यायवाची हुनपुग्यो।

गाउँको अप्ठ्यारोलाई सप्ठ्यारो पार्दा पार्दै क्षेत्रजङ्ग गफाडी भएर निस्कियो। यो घरमा गयो त्यहीं गफियो, उ घरमा गयो त्यहीं गफियो गर्दा गर्दै क्षेत्रजङ्ग मान्छेको कुरा काटेर रमाइलो मान्ने मान्छे भैदियो।

उतिबेला गाउँमा रेडियो थिएन। “घडी त तैबरू तैबरू ‘ट्याम’ हेर्न काम लाग्छ – यो रेडियोको के काम? पैसा हालेर किन्नु रे, त्यसै नोक्सान। त्यतिले पुगेन भनेर महिनैपिच्छे ब्याट्री किन – तेता पनि पैसाकै काल” भन्ने जमाना थियो त्यो। एकाध लाहुरेका घरमा रेडियो बज्थे। तर ती घरमा पनि ‘एइ कान्छा, सम्चार आउन थाल्यो, रेडुई बन्द गर् गर्” भनेर छोरालाई अह्राउने जमाना थियो त्यो।

तर क्षेत्रजङ्ग त्यस्तो थिएन। “हाम्रो गाउँका मान्छे कुरै बुझ्दैनन्,” उ दिक्क मान्दै भन्थ्यो। सम्चार नसुनेर पनि हुन्छ कतै! कस्तो कस्तो कुरो था’ हुन्छ।”

रेडियो नेपालले बिहानको सात बजे समाचार भन्थ्यो। राजारानीको सानो बजारमा तीन जना पसलेको घरमा रेडियो थियो। क्षेत्रजङ्गले आफ्नो एउटा काम ठानेको थियो रेडियो नेपालको समाचार सुन्ने। ०२७ सालदेखि क्षेत्रजङ्गले समाचार सुन्ने बानी बसालेको थियो। ०६० सालसम्म त्यो किञ्चित तलमाथि भएन। पहिलो चार बर्ष उसले बजारमै गएर रेडियो सुनिरह्यो। ०३२ सालमा छिमेकी माइलाको छोराले हङकङबाट रेडियो ल्याएपछि ‘ए माइला, लु समाचार सुनौं त’ भन्ने थेगोलाई स्थायी बनाएर उसले समाचार सुन्न थालेको थियो। ०४७ सालमा उसले मास्टर छोरालाई भन्यो, “एइ जेठा, सम्चार सुन्ने निशा लाग्यो। कति अर्काको घरमा धाउने! यसो पाँच सात सयको एउटा रेडियो किन्दे किन्दे।”

गाउँमा गरिखाने परिवार थियो क्षेत्रजङ्गको। बाबु, आमा, दुइ भाइ छोरा, एउटी बुहारी र एउटा नातिको परिवार जमेको थियो त्यतिबेला। नाति बाहेक सप्पै काममा खट्थे। छोराहरूको वुद्धिले सागसब्जी र फलफुलको व्यवसाय पनि चलेको थियो क्षेत्रजङ्गको घरमा। बाघै मारेर बाली जोगाउने बाउलाई माया पनि गर्थे छोराहरूले। त्यसैले जेठो छोराले धरान बजारमा झरेको बेला नौ सय रूपियाँ पर्ने, चट्ट काँधमा बोकेर बजाउदै हिंड्न मिल्ने, लामो समयसम्म ब्याट्री खप्ने राम्रो रेडियो ल्याइदियो बाउका लागि भनेर।

कुरौटे त थियो नै क्षेत्रजङ्ग। आफ्नै रेडियो भएपछि त उ रेडियो भन्दा चारगुना चर्को भयो। रेडियोले एउटा कुरो भन्न पा छैन, त्यसलाई उ चारोट बनाइहाल्थ्यो।

“एइ सन्तबीर, लु माउवादी छिरेछन् है हाम्रातिर नि,” दिउँसो अलिकति रक्सीखान सन्तबीरको पसलमा पस्तापस्तै क्षेत्रजङ्गले भन्यो।

“हाँ! के भन्छ यो बाघमारे?” छक्क पर्‍यो सन्तबीर।

“माउवादी छिरेछन् क्या जिल्लामा!” क्षेत्रजङ्गले मुढामाथि ट्यासाक्क बस्तै भन्यो, “उता छथर तिरबाट छिरेछन्। अब मारामारी हुन्छ हाम्राँ’ पनि। साइसेनाले माउवादी मार्छ, माउवादीले साइसेना मार्छ। चल्ने भो लडाईं, कसो सन्तबीर!”

“तेसो भन्न सकिन्न बाघमारे जेठा,” सन्तबीरले सम्झाउने पारामा भन्यो, “माउवादी छिर्‍या जिल्लाँ’ दोहोरो मार पर्छ भन्छन् सबैजना।”

“आ, हाम्लाई के छ र!” क्षेत्रजङ्गले आड दिन खोज्दै भन्यो, “साइसेना आउदा साइसेनाका मान्छेलाई सलाम साप भन्दिउँला, माउवादी आउदा लाल सलाम माउवादी भन्दिउँला। हाम्लाई के छ र? हाम्लाई राजा हुनुछैन, मन्त्री हुनुछैन। हामी खेती किसानी गरी खानेका लागि के साइसेना, के माउवादी।”

“त्यति सजिलो भए माउवादी पस्या जिल्लाबाट मान्छे किन मुग्लानतिर लर्को लाग्थे होलान् र?” सन्तबीरले पीर मान्दै भन्यो, “म त निको देख्तिन है जेठा। पान्थरतिरको सम्चार त आइरन्छ नि। मौवाबाट नि केटाहरू जति सबै उठिबास लागे भन्थे। उता याङनामको ज्वाईंले पनि सिक्किम जान्छौं, उतै बस्छौं भन्दैथे। यासोके अन्तरेहरू पनि मनिपुर लागे। “उतै आफ्नो थातथलो लेख्या रछ। आफ्नो देश, आफ्ना आफन्तहरू भनेर फर्केर आइयाथ्यो, दोहोरो मारमा परियो, अब बस्न नसकिने भैयो, उतै सजिलो रहेछ बस्न त” भन्दै पोहोर साल विदा माग्न आएका थिए। हाम्रातिर तै माउवादी पस्या थेनन्, अब त यता पनि रात खसेजस्तो छ।”

“जे होला, त्यही भोगिएला नि,” आफ्नो अल्लारे शैलीमा बाघमारेले भन्यो, “हाम्ले पिर मानेर माउवादी जिल्ला छोडेर बाहिर जाँदैनन क्यारे। खै लेउ एक गिलास। यसो जिउ तताउँ।”

“रक्सी खाएर बाहिरफेरो नडुल है जेठा,” सन्तबीरले गिलासमा रक्सी हाल्दै भन्यो, “माउवादीले रक्सी खानेलाई घाँस, गोबर ख्वाउछन् भन्छन्।”

“ठुन्क्याइदिन्छु बज्याहर्लाई” बाघमारेले आफ्नो पुरानो पौरख सम्भि्कदै भन्यो, “उहिले झम्टिनै आएको बाघ त ठुन्क्याइयो भने नाथे माउवादीको के जोर!”

“तै पनि होस् गरे,” सन्तबीरले सम्झाउदै भन्यो।

क्षेत्रजङ्गलाई सित्तन चाहिदैनथ्यो एक गिलास घुट्क्याउन। एकै सासमा गिलास खाली गरेपछि गिलासलाई यस्सो कुनाको सुरक्षित ठाउँमा राखेपछि क्षेत्रजङ्गले भन्यो, “डरा’र बाँचिन्न सन्तबीर, कालले दुइ चोटी लाने होइन। जस्तो परिआउछ त्यस्तै टारौंला।”

रक्सी खाएपछि अरूलाई मात लाग्थ्यो, तर बाघमारे चाहिं रक्सी खाएपछि रौसिन्थ्यो। मात लाग्थ्यो लाग्दैनथ्यो बाघमारेलाई, बाघमारे बाहेक अरू कसैले थाहा पाउदैनथ्यो। तर रक्सी खाएपछि बाघमारे आफू अघिल्तिरको मान्छेका लागि जस्तो भैदिंदा राम्रो हुन्थ्यो, त्यस्तै भैदिन्थ्यो। सन्तबीरको पसल नै उसको आधुनिक “बार” थियो। रक्सी खाएर पसल बाहिर निस्किएपछि मास्टरसँग भेट भयो भने उ पनि मास्टरै हुन्थ्यो र पढाए जसरी गफ छाँटेर आफू ओरिपरिका मानिसलाई भुँडी मडाइ मडाइ हसाउँथ्यो। जिल्ला विकास समितिका सभापतिलाई भेट्यो भने, “एइ सभापति, म उपसभापति, खै मेरो गाउँमा मोटरबाटो ल्याको,” भनेर जिस्किन थाल्थ्यो। बाघमारेको बोली सुनेर सबैभन्दा पहिले सभापति हाँस्न थाल्थ्यो र सभापतिसँगै हाँस्न थाल्थे उसका संगातिहरू।
मनभित्र कुनै कपट नभएको क्षेत्रजङ्गलाई टाढैसम्मका गाउँलेहरूले राम्रैसँग चिन्थे। त्यसैले उसको उल्क्याईंसँग कोही रिसाउदैनथे।

त्यो दिन बजारभित्र मान्छेहरूसँग एकछिन गफिएपछि घरतिर लागेको बाघमारेले बजारको डीलमा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई भेट्यो।

“एइ हेडसर,” उसले प्रधानाध्यापकको बाटो छेक्दै भन्यो, “माउवादी पसेछन् नि जिल्लामा। गाउँमा आउन दिनुहुन्न है। बज्याहरूले के के गर्छन केही ठेगान हुन्न रे।”

“हुन्छ काका हुन्छ। तपाईं बरू अलिक चाँडै घर जानुस्। हामी माओवादीलाई गाउँमा आउन नदिउँला,” प्रधानाध्यापकले बाघमारेलाई सम्झाउदै भने।

“ठीक,” बाघमारेले हेडसरको हात समातेर भन्यो।

तर माओवादीलाई गाउँ छिर्नबाट रोक्ने कोही भएनन्। न बाघमारेको केही लाग्यो, नत प्रधानअध्यापककै केही जोडबल लाग्यो। माओवादी आए। तिनीहरू पहिले बन्दुक पड्काउदै आएर गए। त्यसपछि त सात सात दिनमै बुट बजार्दै आउन थाले।

रास्माओवादी के आएका थिए गाउँमा, सरकारी सेना पनि गाउँ छिर्‍यो सँगसँगै जस्तो। राती आउने माओवादी सेना र दिउँसो आउने सरकारी सेनाको परेडले धरतीको छाती थिलथिलो भयो। पिडाले थलिएको गाउँ निशब्द रून थाल्यो। एउटा हुल बाह्र बजे खाजा खाने निहुमा गाउँमा पसि्रन्थ्यो र “आतङ्ककारीलाई कहाँ लुकाको छस्?” भन्दै ठटाउँथ्यो। त्यो हुल फर्किदा नफर्किदै धर्तीमा रात खस्थ्यो र रातसँग अर्को हुल भात खाने निहुँमा गाउमा भित्रिन्थ्यो र “के के सोध्यो साइसेनाले? ककसले के के जवाफ दियौ? भन्दै पाता फर्काउन थाल्थ्यो।
जीवन दुरूह हुन थालेपछि गाउँ रित्तिन थाल्यो। दुइ वर्षको छोटो अवधिमा राजारानीका सोह्र घर गाउँलेको उठिबास भयो। कहाँ गएर हराए ती?

बाघमारेले गाउँ छोड्न मानेन। भेटेजतिलाई उसले रोक्न पनि छोडेन। “भागेर कता जान्छौ? नेपालमै बस्ने भए भाग्नै परेन। ढिलो चाँडो तिमारू लुक्न गा’ ठाउँमा पनि माउवादी पुगिहाल्छन्। इण्डिया चाइना जता गए नि त्यहाँ आतङ्कवादी छँदैछन्। अहिले संसारमै आतङ्कवादी छ्याप्छ्याप्ती छन्। भुटानले नेपालीलाई खेद्या खेद्यै छ। आसाममा पनि उग्रवादीले नेपालीलाई टिकी खान दिएका छैनन्। अन्त कहाँ जान्छौ?”

सधैं रेडियो सुनिरहने र गाउँलेलाई देश विदेशका समाचार सुनाइरहने हुनाले बाघमारेको सांसारिक ज्ञान माथि गाउँमा कसैले औंलो ठड्याउदैन थियो। तर बाघमारेको प्रश्नको जवाफ खोजेर दुइ बन्दुकको पिसानीमा चेपिएको जोकोही गाउँमा अडिएर बस्न आँट पनि गर्दैनथ्यो। “हेरौं काका, यसो धरानतिर झरेपछि केही पार पाइन्छ कि,” भन्दै गाउँ छोड्नेहरू बाघमारेबाट पन्छिदै ओरालो लाग्थे।

दुइ हजार साठी सालको भदौ महिना कट्नै लागेको थियो। बाघमारे एक गिलास रक्सी तानेर सन्तबीरकै पसल अघिल्तिरको चहुरमा उभिइरहेको थियो। दुइटा बन्दुकले परेड खेलेर गाउँलाई बेस्सरी तर्साएको भए पनि बाघमारेले गफ जोत्न छोडेको थिएन।

“कत्ति डराउँछौ हौ तिमारू? हाम्लाई के छ? जस्तो आउछन् त्यस्तै भैदिदा भैहाल्छ। आखिर एकपल्ट भएपछि सधैं त्यस्तै हुनुपर्ने होइन क्यारे। उनीहरू यहाँ बसुन्जेलसम्मका लागि न हो …।”

“लाल सलाम कमरेड” बाघमारेको बोली अड्कियो। नौ जना दाह्री पालेका, मैला लुगा लाएका मान्छेहरू बाघमारेकै अघिल्तिर ठिङ्ग उभिएका थिए।

“कमरेड हो, लाल सलाम,” मुट्ठी उठाउदै पातलो दाह्री भएको केटाले भन्यो।

“लाल सलाम,” बाघमारेले बोली फर्कायो।

ठ्याङ, ठ्याङ, ठ्याङ …

एक्कैपल्ट गोली पड्कियो, कति पड्कियो पड्कियो। लाल सलाम गर्न माथि उठेको बाघमारेको हात तल झनै भ्याएन। मुटु, घाँटी, कोखो र भुँडी छेडेर बाहिर निस्किएका गोलीहरूले बाघमारेको जीवनलाई पनि आफैंसँग लिएर गएका थिए। पल नबित्तै बाघमारेको शरीर निर्जिव भएर चहुरमा पछारियो।

“एइ, यसको कोही आफन्त भए सदगत गर्न भन्दिनु। हुनत साले आतङ्ककारीलाई सदगतिको के चासो?” नौ जना ती बिचित्रका मानिसहरू एउटा कालिज मारे जस्तो गरी बाटो लागे।

माउवादी जस्ता देखिने तर माउवादीलाई आतङ्ककारी भन्ने केटाहरूको गोलीबाट बाघमारे काका मारिए भन्ने खबर उसका छोराहरूसम्म पुग्दा बाघमारेको रगत सुकेको पनि एक घछा भैसकेको थियो। बेंसीको खेतमा झरेका थिए बिचराहरू! खबर पाउनासाथ हाँपझाँप गर्दै तिनीहरू बजारतिर दौडिन थाले। बजारको डीलमा पाइला राख्दा अर्को पैंतालिस मिनेट बितिसकेको थियो। बाघमारेकी पत्नीको करूण क्रन्दन सुनेर बजार स्तब्ध भएर पराजित सेनापतिको सालिक जस्तो निदाउरो भएर उभिइरहेको थियो।

बाघमारेका छोराहरू बिस्तारै बाबुको शरीर लडेको ठाउँमा पुगे। छोराहरूले आमालाई बाउको शरीरबाट छुट्याए। गाउँलेहरूले एक्लिएकी ती बुढी महिलालाई थुमथुम्याउन थाले। “आजै सद्गत गर्नुपर्छ,” धेरैले सल्लाह दिए। घडीमा दिउँसोको तीन मात्र बजेको थियो।

साँझको नौ बजे बाघमारेका छोराहरू आफन्तहरूको आडमा घर फर्किने बजारमा आइपुगे। बजारको रेडियोले भन्दै थियो, “आज अपरान्ह बाह्र बजे धनकुटा जिल्लाको राजारानीमा गस्तीमा गएको सुरक्षा फौज माथि आक्रमण गर्ने एक आतङ्कककारीको घटनास्थलमै मृत्यु भएको छ। आतङ्ककारी हतियार विशेषज्ञ भएको अनुमान गरिएको छ।”

बाघमारेको माइलो छोराले घरमा पुग्ने बित्तिकै १३ वर्षदेखि बाबुले सुन्दै आएको रेडियोलाई पनि रछ्यानको डीलमा दुइ फिट गहिरो खाल्टो खनेर गाडिदियो।

यो दुइ हजार साठी साल भदौ उनान्तीस गते साँझ साढे नौ बजेको घटना हो। रेडियो माटो मुनि बज्दै छ कि त्यो माटोसँग मिसियो, तपाईलाई हेर्न मन लागेको छ? छ भने राजारानी जानुस्, जोकोहीले पनि बाघमारेको घर देखाइ दिनसक्छ।

काठमाडौ
१ डिसेम्बर २००३

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.