~प्रदीप नेपाल~
बर्खायाममा उपत्यकाबाट देखिने काला पहाडहरुमा हिउँ परेको यस अघि कहिल्यै देखिएको थिएन। तर यसपालि बिचित्रै भयो। बर्खाको हिउँ हेर्न दामनको त कुरै छोडौँ, नगरकोट पनि जानु परेन। पुल्चोकमा उभिएर हेर्दा पूर्वउत्तरको कालो पहाड हिउँका छिर्काहरु छरिएपछि बिरालीबुट्टे भएको थियो। बेमौसममा झरेको बर्खाको हिउँले सबैको मनलाई रमाइलो पारेको बेला एक्कासी खड्ग भडारी हरायो। उ त्यसरी हराउन सक्छ भनेर कसैले कल्पना समेत गरेको थिएन।
पेशाले च ालक थियो खड्ग भडारी। दश वर्ष बितिसकेको थियो उसले उपत्यकामा गाडी चलाएको। जस्तासुकै गाडीको पनि कान निमोठेपछि सहजढङ्गले गुडाउन सक्ने शीप भएको हुनाले कार्यालयका सबै हाकिमहरु उसले हाँकेकै गाडीमा गुड्न मन गर्थे। स्वभाव पनि विछट्टकै थियो उसको। तीस वर्षे उमेरको खाइलाग्दो ज्यान, गोरो अनुहार, ज्यान र लुगा दुबैलाई सफा राख्ने स्वभाव थियो खड्ग भडारीको। उसको ज्यान र शरीरलाई हेर्दा हत्तपत्त मान्छेले उसलाई चालक मान्न खोज्दैनथे। उसोत खड्ग भडारी पनि ठूलाबडाको बीचमा उभिन पाउदा मौका चुकाउदैनथ्यो। यसो ज्यान हेर्दा ठूलै हुन् कि भन्ने खालका मानिस देख्यो भने उ तिनीहरुकै छेउछाउमा उभिएर कुराकानी सुन्न थाल्थ्यो।
तिनका कुरा बुझ्ने क्षमता पनि थियो भडारीमा। तीन पल्टसम्म कोशिश गर्दा पनि स्कूलबाट विदा पाइने प्रमाणपत्र नपाएपछि खड्ग भडारीले पढाइ छोडेर शीप सिक्ने विचार गरेको थियो र तीनै महिनामा साना गाडी गुडाउन सक्ने चालक भएको थियो। शुरुको एक वर्ष ट्याक्सी चालकको जीवन बिताएपछि खड्ग भडारीले राम्रो कम्पनीमा जागीर पाएको थियो।
बाठो पनि थियो खड्ग भडारी। “ठूलाबडाको सङ्गत गर्नुपर्छ मौका पाएसम्म,” उ आफ्ना साथीभाइलाई सम्झाउथ्यो, “केही सिकियो भने आफूलाई फाइदै हुन्छ। सिक्ने भनेको उही कुरो सुन्ने त हो। डाइभर (उ चालक भन्न पनि जान्दथ्यो, ड्राइभर भन्न पनि जान्दथ्यो, तर उसको मुखबाट चालकका नाउँमा सधैँ यही सम्बोधन मात्रै निस्कन्थ्यो) को जागीर खानेले न पढ्न पाउँछ, न लेख्न। जुरुक्क उठ्यो, स्टेरिङ्ग समात्यो, दिनभरि बेठेगानले दौडियो, घर फर्किन पाउने भनेको त छोराछोरी सुतेपछि न हो। थाकिया होइन्छ। कता लेखपढ गर्ने!”
यति सिपालु कुरा गर्नसक्ने मान्छे एक्कासी हराउन पनि सक्छ भनेर कसले अनुमान गर्थ्यो र? तर अनौठो, अरु कोही नहराएको त्यो टोलमा सबैभन्दा पहिले हराउने मान्छे खड्ग भडारी नै भयो।
हराउनु नहुने मान्छे हराएको हुनाले घर र छिमेकका मानिसहरु नराम्ररी पिरिए। आफन्त र चिनजानका ठाउँहरुमा फोन गरे। अहँ कतै गएको छैन।
“आज त आएकै छैन,” सबैले एउटै उत्तर दिए।
कतै गाडी पो पल्टियो कि भनेर ट्राफिक प्रहरीमा सोधखोज गरे।
“आज एउटा पनि सवारी साधन दुर्घटनामा परेको रिपोर्ट छैन,” बग्गीखानाको सपाट उत्तर थियो।
“तै पनि नानी, ट्राफिकलाई थाहा नभएरै पनि दुर्घटना हुन सक्छ नि,” दिदीले आफ्नो घरमा पाहुना आएको भाइलाई अह्राइन्, “जा न, यसो अस्पतालतिर सोधखोज गरेर आइज।”
अस्पताल चाहार्न गएको भाइ फर्किँदा घडीले रातको १२ बजाइसकेको थियो। बिहानीका शितल तरङ्गहरु घर ओरिपरि तैरिन थालिसकेका थिए। तर घरमा अझै भात पाकेको थिएन। भाइले एक अम्खोरा पानी घटघट खाइसकेपछि थकित स्वरमा भन्यो, “तीनटै अस्पतालमा गएँ। अहँ, कतै हुनुहुन्न। सवारी दुर्घटनाको कुनै घाइते अस्पतालमा ल्याएकै छैन भने सबैले।”
“कहाँ गयो होला त्यो?” आमाले भनिन्।
“यस्तो त आजसम्म कहिल्यै गर्नुहुन्नथ्यो,” पत्नीले सुस्केरा छोडिन्, “दश बजेभन्दा ढिलो हुने भयो भने बेलैमा फोन गरेर ‘पीर नगर्नु’ भनेर खबर गर्नुहुन्थ्यो।
“आकस्मिक काम परेर कतै बाहिर गा’ पनि त हुनसक्नु हुन्छ, सप्पै हाकिमलाई भिनाजु नै नभै हुँदैन बाहिर जाँदा,” भाइले घरलाई शान्त्वना दिन खोज्यो।
“त्यस्तो हुँदा पनि बाटामा जहाँ टेलिफोन भेटिन्छ, त्यहीँबाट फोन गरेर खबर दिने गर्नुहुन्थ्यो, यस्तो आचक्ली त कैल्यै गर्नैभएको थिएन,” दिदीको कुरो सुनेर भाइ अलमल्ल पर्यो।
“दुलै, नानीलाई यसो केही खान देउ, रातभरि अस्पताल चाहार्दा थकाइले पनि लस्तै पार्या होला।”
“तपाईँहरुले खानु भयो र?” भाइले सबैको भोको अनुहार नियाल्दै सोधे।
कसैले उत्तर दिएन। उसैले दिदीतिर फर्किँदै सम्झाउने स्वरमा भन्यो, “हामी पिरिएर अहिले केही हुन्न दिदी। यसो खानेकुरो बसा। म बिहानै खोजीनीतिमा जाउँला।” तर दिदी उठिन।
“नानी, कतै तेल्लाई पुलिसले त लगेन!” बाबुले सन्देह पोखे, “हामीले त तेतातिर ध्यानै पुर्याएनौँ।”
“पुलिसले लान पनि केही दोष त गर्नैपर्यो,” भाइले अनपत्यारिलो स्वरमा भन्यो, “आजसम्म भिनाजुको त्यस्तो खोट पनि देखिएको छैन।”
“आजभोलिको जमाना,” बुढाले लामो सास तानेपछि भने, “खोटै के चाहिन्छ र?”
“बुबा आमा अब पीर नगर्नुस्, म बिहानै प्रहरीमा सोधखोज गरुँला, ठूलो भिनाजु हुनुहुन्छ, अरु साथीभाइ पनि छन्, कतै हुनुहुँदो रहेछ भने मिल्नसक्ने भएसम्म भनसुन पनि गरुँला।”
रात सुँक्सुकाउँदा सुक्सुकाउँदै बिहानीले आँगनमा पाइलो टेक्यो।
‘बुबा खै?’ भनेर सोधेनन् केटाकेटीले। तिनले आफ्नो बाबुलाई चाडपर्व र छुट्टीका दिनमा मात्रै देख्ने गरेका थिए। तर ठूलाहरुका आँखाले घरमा छिर्दै गरेको बिहानीलाई सोधिहाले, ‘खड्ग कहाँ हरायो, थाहा छ तिम्लाई?’
बिहानीलाई थाहा हुने कुरै थिएन, त्यसैले उ उत्तरहीन भएर दैलाको सँघारबाट लुसुक्क भित्र छिर्यो।
“दिदी, नानीहरुलाई खान दे। भरे कुरो बरालिँदै गयो भने तिनले पनि खान सक्दैनन्। म ठूला भिनाजुसँग भेट्न जान्छु, रामरी कुरा गर्छु। एकाध घटामा म सबै पत्ता लाएर आउँछु। पीर नगर, तैँले पीर गरिस भने बुढा बाबुआमाको मन थामिदिने कोही हुँदैन।”
दिदीले पाकेको अकबरे खोर्सानी जस्ता आँखाले भाइलाई बिदा गरी।
“दुलै, केटाकेटीलाई ख्वाइप्याइ गरेर स्कूल पठाइदेउ। उता अलमलिन्छन्,” ससुराले सम्झाउने पारामा भने। तर बुहारीले ‘बाकै मन सम्भि्कन मानिरहेको छैन’ भनेर सहजै थाहा पाई। केटाकेटीलाई अलमल्याउने तरीका सिकाउने बाबुले अलिनो स्वरमा कुरो तन्काए, “म यसो पाँच सात ठाउँमा फोन गरिहाल्छु। तेतिबेलासम्म नानीले पनि केही खबर पठाइहाल्नु हुन्छ कि!”
खबर पठाउने भनिएको मान्छे आफ्नै भाइ हो भनेर बुझ्न बुहारीलाई अप्ठ्यारो भएन।
दुःखको बिहान पनि बित्यो। घरका दुइ भाइबैना केटाकेटीले खानेबेलामा मात्रै बाबु नभएको गन्ध पाए। “बा अहिले पनि भात खान नआउने हो आमा?” छोरी चाहिँले सोधेको प्रश्नको उत्तर नत आमाको आँखाले दिनसक्यो, न मुखले नै।
बिहान भात पाकेन भन्न त मिल्दैनथ्यो, तर पाकेको भात कसैले पनि खाएनन्। खानै सकेनन्। बाबुले छ, सात ठाउँमा फोन गरेका थिए। सबै ठाउँबाट हिजैको उत्तर आएको थियो। अलिक चिन्ता गर्नेहरुले, “हैन, अहिलेसम्म पनि आएको छैन?” भनेर सुर्ताको आश्चर्य जाहेर गरे।
“कतै रातभरिको रामरौसमा त गएन!” एकजना चिनारुले टिप्पणी गरेपछि बुढाले निचोरिएको अनुहारले बुढी र बुहारीतिर हेर्दै भने, “परिबन्दले लखेटेपछि कोही आफ्नो नहुँदो रहेछ।” बुढाले टेलिफोनले जिस्क्याएको कुरो जस्ताको तस्तै दुबैलाई सुनाए।
“तेइ मोरो गा’ थियो होला नि,” पीर भित्र आमाको वेदना र आक्रोस चर्कियो।
“भो बा, अब कसैलाई फोन नगर्नुस्, एकाध घटामा कुरो बुझेर आउँछु भनेको छ नानीले।” बुहारीले पीडाको रुमालले ससुराको अपमान पुछने कोशिश गरी।
एकाध घटामा खबर लिएर आउँछु भनेको भाइ चार घटापछि घरमा भित्रियो। तीन जोडी प्रतिक्षारत आँखाहरु उज्याला भए। उनीहरुले भाइको अनुहारलाई उज्यालै देखेका थिए।
“भिनाजुको पत्तो त लागेको छैन, तर नराम्रो त्यस्तो केही भएको छैन।”
“अर्थात्,” तीन जोडी आँखाले एकैचोटी सोधे।
“भिनाजुले हाँकेको गाडी चार भञ्ज्याङ्ग काटेर बाहिर गा’ छैन। यहाँ पनि कतै कुनै गाडी दुर्घटनामा परेको छैन। दुई दिन यता कतै बम पनि पड्किएको छैन। कोही मान्छे मरेको पनि छैन। त्यसैले भिनाजुलाई कहीँ कतै केही भएको छैन।”
बुढाबुढीले भाइको कुरामा अविश्वास गर्नुपर्ने कारण देखेनन्। “के भयो त तेसोभए!” बुढाले आश्चर्य मान्दै भने, “कतै रनाहामा परेर हाकिमहरुकै घरतिर त बसेको छैन, यसो सोधखोज गरौँ न नानी।”
“त्यो पनि मैले गरिसकेँ बुवा। हिजो दिउँसो तीन बजेर सिइओ सरलाई एउटा होटेलमा छोड्नु भएपछि कसैले उहाँको खबर पाएका छैनन्। सिइओ सरले ‘मलाई लिन तिमी आउनु पर्दैन, म्याडम र नानीहरु गाडी लिएर यहीँ आउछन्, तिमी घर जानु भनेर’ बिदा दिनुभएको रहेछ।”
“कहाँ गयो होला नि त्यो,” बाबुले फेरि सुस्केरा हाले।
एक्कासी आमा सुँक्सुकाउन थालिन्।
“आमा नरुनुस्,” भाइले सम्झाउदै भन्यो, “ठूलो भिनाजुले एक ठाउँमा शङ्का गर्नुभएको छ।”
भाइले एकछिन बुढीमाउले सप्कोले गहको आँशु पुछेको हेरिरह्यो, “भिनाजुले एक ठाउँमा शङ्का गर्नुभा’ छ,” पहिलेभन्दा अत्यन्तै गम्भिर र सुस्त स्वरमा भाइले कुरो तान्यो, “अहिले होहल्ला चैँ गरिहाल्नु हुँदैन, खुटखबर बुझेर यतै आउँछु भनेर भिनाजुले भन्नुभएको छ।”
“कुन ठाउँ होला र त्यो!” बाबुले उदास सुस्केरा फ्याँके।
“सुरक्षातिर यसो सोधपुछ गरौँ, थाहा लाग्छ भन्नुभएको छ।”
भाइले सबैलाई खुवाउन बेस्सरी कर गर्यो। चुलै बसेनन् भन्न त मिल्दैन, तर गाँस निल्न घाँटीले मानेन। बाबुले चार पाँच गाँस करैले निले होलान्। आमाले त पहिलै गाँसमा हिक्का छोडिन। दाल, तरकारी केही नहालेको तिनको भात नूनिलो भयो भन्ने भाइलाई थाहा भयो। एकछिन त आमा निशब्द रोइन्। तर उनको भक्कानो थामिएन। बाह्र घटासम्म बाँधिएको उनको मनको बह “मेरो बाबु” भन्दै भक्कानिएर फुट्यो। सासुको रोदनले बुहारीलाई क्वाँ क्वाँ पारिहाल्यो। “ए नरोओ न,” भन्न भ्याउदा नभ्याउदै बुढाले पनि हिक्का छोडिहाले।
भाइ अलमल्ल पर्यो। के भनेर सम्झाउने यी डाँडाका जुन जस्ता बुढाबुढीलाई? के भनेर फकाउने हुर्कँदो बैशकी आफ्नी प्यारी दिदीलाई?
गलामा आँशु अडकिए जस्तो भयो भाइलाई। कि बोली नै अड्किएको हो? उसले पत्तै पाएन।
२५ श्रावण २०६१
डल्लु, काठमाडौ
(स्रोत : कथाकारको ब्लगबाट सभार)