कथा : रुपान्तरण

~प्रदीप नेपाल~

सेल्मेको टाउकामा घाम बास बस्नै आँटेको थियो। त्यो रातो भैसकेको थिएन, तर त्यसको रङ्गलाई पहेँलो मात्र भन्न पनि सकिँदैनथ्यो। अब बाटो तेर्सो थियो। त्यसैले भञ्ज्याङ्ग घर माथिको चौतारोमा एकछिन बसौँ भनेर मैले आफ्नो ज्यानको भारलाई चौतारोको ढुङ्गा माथि बिसाएँ।

म बसेपछि गीता र सन्तोष पनि बस्ने नै भए।

चार वर्ष नाघिसकेको थियो म घरमा आउन नसकेको। त्यसै त्यसै मेरो मनले लामो सास तान्न माग्यो। धाप्पिएको थिइन म। स्याँ स्याँ पनि भएको थिइन। र पनि मनको इच्छा पुरा गर्दै मैले लामो सास तानेँ।

“खान्टाङ डाँडाको एउटा पिपल नासिएछ नि,” गीताका आँखा म भन्दा अघि अघि कुदेछन्। मैले खा48टाङ डाँडाको लडेर समाप्त भएको पुरानो पिपलको रुखतिर आँखा डुलाउनै भ्याएको रहेनछु।
उहिले खा48टाङ डाँडाको प्राइमरी स्कूलमा पढ्दा हामी पिपलका पाकेका गुलिया दाना खान बेस्सरी तानातान गर्थ्यौँ।

दशैँ लागिसकेको थियो गाउँमा, तर रमाइलो भने कतै देखिदैनथ्यो। रित्तो सन्नाटाले सबैलाई आफ्नो पैँतालामुनि थिचेर राखेजस्तो लाग्थ्यो। मन उदास भयो।

भकु48डो हराए जसरी घाम बिस्तारै डाँडामा बास बस्यो। तर धर्तीमा गोधुली झरिसकेको थिएन।

“अब जौँ,” गीताले सन्तोषलाई उठाउँदै भनिन्, “रात पर्छ।”

“केही रात पर्दैन,” मैले एकछिन बसौँ न भन्ने भाकामा भनेँ, “कति छ र अब! ज्यास्तै भए बीस मिनेट।”

“सलाम सान्काका,” पश्चिमतिर रातो हुन थालेको क्षितिज नियाल्दै गरेको मलाई झसङ्ग पार्दै एउटा घोर्ले स्वर चौतारोमा ओर्लियो। म फनक्क फर्किएँ।

“को? देवीराम हो? …” बोल्दा बोल्दै म ट्वाँ परेँ। देवीराम सम्साँझै चौतारीतिर भेटिन्छ भनेर मैले कल्पनै गरेको थिइन।

“तर्सिनु भो काका?” देवीरामले ढुक्कले हाँस्तै भन्यो र गीतातिर फर्किँदै नमस्कारको हात जोड्दै सोध्यो, “काकी हो?”

“हो,” गीताले सामान्य ढङ्गमा जवाफ दिइन् र देवीरामले प्रतिकृया जनाउन नपाउदै सोधिहालिन्, “अनि बाबु नि?”

“काकी म जङ्गली,” देवीराम ढुक्कले हाँस्यो। गीताको अनुहारमा भयको पातलो पर्दा देखियो।

“राम, आफ्नौ धेर पौरख नदेखाउ, काकी डराउँछिन्। यिनले तिमीहरु कसैलाई चिनेकी छैनन्। शायद तिमी नै पहिलो होलाउ,” मैले देवीरामलाई सम्झाउने भाकामा भनेँ। गाउँघरमा हामी देवीरामलाई राम भनेर बोलाउथ्यौँ।

“काकी, हामीसँग डराउनु पर्दैन, तानाशाहसँग नडराई काठमा48डौमा बस्नुभएको छ भने हामी त हजुरकै भाइ भतिजा हौँ।”

देवीरामको बोली र हाँसोले गीताको मन छोएछ। उनको अनुहारको डर बिस्तारै पखालिँदै गयो।

“अनि बाबु यसरी चौतारामा? त्यो पनि दिन नगल्दै ..” गीता अड्किई अड्किई सोध्दै थिइन्।

“काकी, यहाँ पुरानो सत्ताको चलखेल नभएको दुइ वर्ष बितिसक्यो। यहाँ हजुरहरुले डराउनु पर्ने कुनै कारण छैन।” देवीरामले गीतालाई सम्झाउदै मसँग सोध्यो, “हजुरमाले खबर गर्नुभएन काका? मैले त हजुरमालाई सबै भनेको थिएँ।”

“भन्नु भाथ्यो, हाम्रै राम त्यताको सबैभन्दा ठूलो नेता भा’छ भन्नु भाथ्यो।”

“तपाईंहरुले बाटो छोडिहाल्नु भो, त्यसैलाई टिपेको न हो हामीले। को सानो को ठूलो। यस्तो विभाजनको के अर्थ हुन्छ र!”

मैले कल्पना गरेको देवीराम त्यहाँ थिएन। देवीराम अर्कै भएको थियो। उ बेलाको उद्द48ड केटो अहिले मिलाई मिलाई बोल्न जान्ने भएको थियो। उ मलाई पुरानै भाकामा तपाईं भनिरहेको थियो अनि पहिलो पटक भेटिएकी काकीलाई हजुर हजुर भन्दै फकाइरहेको थियो।

गीताको अप्ठ्यारो मैले बुझेको थिएँ। अझै उनीभित्र असुरक्षाको भय नाचिरहेको थियो। त्यो त्रासबाट मुक्त हुन उनी छिटो घर पुग्न चाहन्थिन्। तर म भने देवीराममा आएको परिवर्तन देखेर अघि कहिल्यै भन्दा बढी आश्वस्त भैसकेको थिएँ।

तै पनि घर पुग्नै थियो। त्यसैले मैले उठ्दै भनेँ, “राम तिमी कता जान्छौ? हामीले अब घरतिर लाग्नु पर्छ।”

मलाई कुरो अधुरो भयो जस्तो लाग्यो। त्यसैले मैले उप्रति अलिक बढी चासो देखाउँदै भनेँ, “कि हिँड तिमी पनि घरतिरै, तिम्रो केही कार्यक्रम छैन भने।”

“मलाई त बोलाइरहनै पर्दैन,” रामले पनि उठ्तै भन्यो, “काकी भाइको नाम सन्तोष होइन?”

रामले जति काकी काकी भने पनि गीताको मन चङ्गा हुन सकिरहेको थिएन। उनले अलि अलि दबेको स्वरमा भनिन्, “हो।”

“काका, तपाईंको रुकस्याक म बोकिदिन्छु दिनुस्,” देवीरामको यो परिवर्तन पनि मेरा लागि नौलो थियो।

“चार घ48टाको बाटो बोकरै आएँ, यो बीस मिनेट तिमीलाई बोकाउनु भनेको त उही बाह्र हात नापेर बित्तामा हार्नु जस्तो भैहाल्यो नि!”

“हार्दा पनि छोरैसँग हार्ने न हो,” देवीरामको हाँसोले मलाई झन छक्क पार्‍यो।

“राम, तिमीहरुको बारेमा शहरमा हामी जे सुन्थ्यौँ त्यस्तो तिमी छैनौ। अहिले तिमी जे हौ, त्यो विगतको तिमी होइनौ,” मैले आफ्नो रुकस्याक देवीरामलाई दिँदै भनेँ।

“काका, समय एकै ठाउँमा टिकिरहँदैन भनेर तपाईंले नै मलाई पढाएको हो। गएको सात वर्षमा तपाईंको राममा चिताइनसक्नुको परिवर्तन आएको छ। तपाईंले छोड्दाको राम एउटा काम नलाग्ने लठुवा केटो थियो। नेता भएको देवीराम गाउँ जनसरकारको शासक थियो। अहिले तपाईंले भेटेको तपाईंको राम जनताको सेवक हो।”

रामको मिठो वाक्य कति समयलाई हो भन्ने अनुमान गर्ने तह मैले धेरै पहिले नै पार गरिसकेको थिएँ। त्यसैले गीतालाई अघि अघि लगाएर सन्तोषको हात समातेर मैले पाइलो चालेँ। राम म सँगसँगै हिड्न थाल्यो।

“राम तिमीले घरबारी सबै छोडेछौ, दाजुलाई पनि हिँडायौ रे …,” मैले कुरो मात्रै उक्काएँ।

“काका हामी आजको दिन ती पिडाको घटनातिर नरुमल्लिउँ। समय धेरै छ। तपाईंहरु टिकाको भोलिपल्ट विराटनगरतिर जाने भन्ने मैले सुनेको छु। बिस्तारै कुरा गरौँला।”

रामको स्वरमा उत्साह थिएन। रोएको थियो त्यो स्वर।

“तर राम, यो गोधुलीमा तिमी आफ्नो मनको पीडालाई जति सजिलरी पोख्न सक्छौ, दिउँसोको चर्को घाममा त्यति सजिलरी पोख्नै सक्तैनौ। म तिम्रो काका हुँ। तिम्रो जस्तै जिन्दगी बेहोरेको काका हुँ। गीता तिम्री काकी हुन् र तिमीहरुलाई मायाले मुसार्नु पर्छ भनेर पहाड त्यागेको पच्चिस वर्षपछि तिनी यहाँ आएकी छन्। यस्तो मिठो सान्निध्य तिमी कहाँ पाउँछौ र! भन मनको पीर पोखिने गरी भन …।”

“काका, आज नमिठो कुरो नगरुँला भनेरै यो चौतारोमा लिन आएको थिएँ, तपाईंले पगाल्नु भयो ढुङ्गो भैसकेको मेरो मनलाई,” देवीराम एकछिन अड्कियो, “मेरो बैनीले के अपराध गरेकी थिइ? म पो जङ्गलतिर लागेको थिएँ। उ त यहीँ हाइस्कूलमा पढ्दै थिई। उसले न कतै प्रचार गरेकी थिई, नकसैलाई हाम्रो पार्टीमा आमन्त्रण गरेकी थिई। तर काका, गस्तीमा आएका सामन्ती राक्षेसहरुले बलात्कार गर्दा गर्दै त्यसले आफ्नो कलिलो तर सुन्दर जीवनलाई माटोमा बिसाई …।

“काका मेरी आमाले खेपेको दुःखको त म बयान गर्नै सक्दिन। जति आमाको दुःख सम्भि्कन्छु – त्यति पुरानो सत्ताका नोकरहरुलाई काँचै काटकुट गरेर गिद्धलाई मासु खान दिउँ जस्तो लाग्छ। मेरी आमालाई कुटी कुटी मारे राक्षेसहरुले।”

देवीरामले एउटो अक्षर पनि बढाएको थिएन तिनको परिवारले बेहोरेको अतिचारको। आमाले भन्नुभाथ्यो, “देवीरामका कारणले सान्नानीको घर उजाडियो। अकालमा छोरी मार्दिए, बिचरी सान्नानीलाई पनि कुटी कुटी मारे।”

आमालाई देवीरामको राजनीतिसँग कुनै चासो थिएन। उहाँका लागि त परिवार भित्रका मानिसहरु राज्यको अतिचारले मारिने कुरो मात्रै ठूलो थियो।

“अनि दाइले त्यत्तिकै घर छोडिदिनु भयो? मैले त उहाँलाई पनि तिमीहरु जङ्गल जङ्गल कुदाउँदैछौ रे भन्ने सुनेको थिएँ,” मैले सोधेँ।

“त्यतिबेला यहाँ जनसत्ता स्थापित भैसकेको थिएन। बहिनीलाई बलात्कार गरेर मारे अपराधीहरुले, आमालाई कुटेरै मारे तिनले। बालाई त्यसपछि मैले सुरक्षित इलाकामा लगेँ र मेरो सम्पत्ति पार्टीकरण गरियोस् भनेर नेतृत्व समक्ष अनुरोध गरेँ।”

रामको यो पराक्रमका बारेमा पनि आमाले हामीलाई पोहोरै जनाउ दिइसक्नु भएको थियो। त्यसैले मैले आश्चर्य नमानी सोधेँ, “पार्टीकरणको यो रोमाण्टिकता कति वर्ष टिकाउँछौ राम?”

“काका, तपाईंहरु बुर्जुवा भैसक्नु भयो, त्यसैले तपाईंलाई विश्वास नलागेको हो,” देवीरामले चित्त नदुखाइ टिप्पणी गर्‍यो।

देवीरामले बोलीपिच्छे पुरानो सत्ताको रट लगाएको हुनाले मैले सोधेँ, “राम, पुरानो सामन्ती सत्ता र तिमीहरुको नयाँ सामन्तवादका बीचको आधारभूत भिन्नता के हो?”

“यो हिमालको चिसो र तराईको धानको बीचको भिन्नता के हो भनेजस्तो भैहाल्यो नि काका,” भेट भएको धेरैपछि मैले देवीरामको स्वरमा हाँसो अनुभूत गरेँ।

“राम, तिमीहरुको सत्तामा पनि जनताले आफ्नो स्वतन्त्र अभिव्यक्ति दिन पाउँदैनन्, पुरानो सत्ताले पनि त्यसलाई अहिले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ। जसरी पुरानो सत्ता राज्यको सबै पक्षमा एकाधिकार चाहन्छ, तिमीहरु पनि त्यस्तै एकाधिकारको पक्षमा छौ। पुरानो सत्तालाई हिंसा मनपर्छ, तिमीहरुलाई उही हिंसा मनपर्छ। फरक कहाँ छ?”

धेरैबेर रामले कुनै उत्तर दिएन। हामी मूलबाटो छोडेर आफ्नो घरतिर लागिसकेका थियौँ र पाँच मिनेट भित्रैमा हामी घरको आँगनमा उभिने थियौँ। रामले लामो सुस्केरा तानेर भन्यो, “काका, म अहिले तपाईंसँग बहस गर्न चाहन्न। पूर्वको रातो किरणको पहिलो झल्को तपाईंले नै देखाउनु भएको थियो र मैले बन्दुकबाट छुटकारा पाउन बन्दुक उठाउनै पर्छ भनेर घरबाट निस्किएपछि पनि तपाईंले ‘रामले एकदिन वर्तमानको उग्रताबाट मुक्ति पाउनै पर्छ, रहर लागुन्जेल बन्दुक बोकोस्, तर अकालमा नमारियोस्’ भनेर ठूला काका मार्फत पठाउनु भएको खबर पनि मैले बेलैमा पाएको थिएँ। अहिले पनि मलाई ‘सशस्त्र शत्रुलाई निशस्त्र हातहरुले पराजित गर्छन्’ भन्ने विश्वास छैन। तपाईं बन्दुक माथि विश्वास गर्दिन भनेर बीस वर्ष पहिले नै पन्छिनु भएको मान्छेसँग अहिले मेरा सबै कुरा मिल्छन् भन्ने मलाई विश्वास छैन। त्यसैले यसपालि झगडा नगरौँ। धेरै बहस भयो भने काकी डराउनु होला,” देवीराम हाँस्यो।

शायद उ गीतालाई आश्वस्त पार्न चाहन्थ्यो। तर देवीराममा हुर्किएको परिपक्वता देखेर म चाहिँ छक्कै परेको थिएँ।

“तिमी यत्ति धेरै फेरिएको छौ भनेर मैले कल्पना पनि गरेको थिइन।”

“समयले सबैलाई फेर्न वाध्य पार्दोरहेछ काका,” देवीरामले गलेको स्वरमा भन्यो।

“ठूल्काका,” घरको आँगनमा पुग्ने बित्तिकै देवीरामले बोलायो।

“राम हो? ट्याक्स उठाउन आइस कि क्या हो! तेरो काका माथि जेठाजु कहाँ गा’छ।” आमाको स्वरमा कुनै डर थिएन।

“ट्याक्स भनेको क्यो हो राम?” गीता र सन्तोष घरको दलानमा चढ्दै थिए, मैले फ्याट्ट सोधेँ।

“हजुरमा, सान्काका, काकी र भाइलाई लिएर आ’छु।” देवीरामले मलाई जवाफ दिएन।

“दलानमै बस्छौ होला बाउ छोरा गन्थन गरेर,” आमाले पनि समझदारी देखाउनु भयो, ट्याक्सको कुरो अगाडि बढाउनु भएन।

बत्ती बाल्ने बेला भैसकेको थियो। आमा हातमा लालटिन उचालेर भित्रबाट बाहिर निस्किनु भयो। गीताले आफ्नो झोला आडैको खाटमा राखेर आमालाई ढोग्न निहुरिइन्। तर आमाले बीचैमा गीतालाई रोकेर सामुन्ने उभ्याउनु भयो।

“हजुरमा, काकीलाई ढोग्न दिँदा पनि अब यो नातिले केही गुनासो गर्दैन।”

“चिताउनै नसक्ने गरी फेरिएको छस् नानी तँ,” आमाले मायालु स्वरमा भन्नुभयो, “पुजा गर्दा हप्काउने, शिवालयको मुर्ती लगेर खोलामा फाल्ने, तँ जस्तो मान्छेको यो पुनर्जन्म होला भनेर मैले त सोच्नै सकेकी थिइन। विचित्रैले फेरिइस् – उबेला राक्षस जस्तो लाग्थिस् अहिले मान्छे जस्तो भइस्। तेरा साथीहरु पनि यसैगरी फेरिए नानी?”

“सबै त के फेरिएलान् र हजुरमा,” देवीरामले सपाट स्वरमा भन्यो, “तर म फेरिएको छु।”

“तेसोभए अब हामीले कर तिर्नु पर्दैन?” आमाको स्वरमा आशा थियो।

“त्यो त तिर्नै पर्छ हजुरमा। राज्यको नियम हो, त्यसलाई हामी सबैले पालन गर्नुपर्छ।”

“तिमेरको नियम पालन नगर्नेलाई पहिले जसरी नै कुटपीट गर्छौ फेरि पनि?”

“हजुरमा, आज मलाई केही नसोध्नुस्। तपाईंको नाति फेरिएको छ, त्यो पनि सान्काकाको पुरानो शिक्षा सम्भि्कएर। तर सबै फेरिएका छैनन्। जहिलेसम्म म यहाँ छु – हाम्रो तर्फबाट जनता माथि कुनै करकाप लादिने छैन। म रहिन भने लुटपाट गरेर विदेश भास्सिने फटाहा पनि यहाँ आउन सक्छ। त्यसले फेरि तपाईंहरुलाई पहिलेजस्तै दुःख दिन सक्छ। अहिले सबै तय भैसकेको छैन, हाम्रो पाइलो अघि बढेको छ, तर सबैको पाइलो अघि बढेको छ भन्न सक्ने अवस्थामा म छैन।”

देवीरामको स्वरमा निराशा र पछुतो थियो। तर मेरो मनमा उज्यालो बढेको थियो। मलाई लाग्यो – देवीराम आफ्नो उग्रताबाट यथार्थ धरातलमा ओर्लिइसकेको रहेछ।

आमाले लालटिन दलानको खाँबोमा झु48ड्याउनु भयो।

त्यो साँझ, हामी सबैका लागि सुसमाचार लिएर आएको थियो। हामीलाई दलानमा छोडेर आमा, गीता र सन्तोषलाई लिएर भित्र पसिसक्नु भएको थियो। आमा भित्र पसेपछि मात्रै भाउजुले दलानमा निस्किएर “भञ्ज्याङमै कुरेर बसेको थिइस् कि क्या हो राम, काकाकाकीलाई” भनेर जिस्क्याउनु भयो।

हामी आफ्नो घरमा सानालाई तँ कै सम्बोधनले बोलाउन बढी रुचाउँछौ। तिमी भनेको पराइ शब्द ठान्नुहुन्छ आमा। आमाले सानैमा मलाई सिकाउनु भएको थियो, ठूलालाई तपाईं भन्नु, सानालाई तँ भन्नु। घरबाहिरकालाई तिमी भन्नु, हजुर कसैलाई नभन्नु। मैले शहरिया भएको र देवीरामलाई राजनीतिक हिसाबले अलिक परकै ठानेर तिमी भनेको थिएँ। भाउजुका लागि देवीराम एक पुस्ता पर भए पनि जेठानीकै छोरो थियो, त्यसैले त्यो तँ नै थियो।

आमा र भाउजुका लागि देवीराम जनसरकार प्रमुख हुनसकेको थिएनछ। त्यसैले मैले देवीरामलाई जिस्क्याएँ, “आमा र भाउजुले तिमीलाई जनसरकारको प्रमुख नमान्दा तिमीलाई रिस उठ्तैन राम?”

“अहिले उठ्तैन।”

दाजु आँगनमा टुप्लुक्क देखिनु भयो।

“कहाँ भेटिस नयाँ सत्ताको प्रमुखलाई?” दाजुले ठट्टा गरेको हो कि सहजरुपमा बोलेको हो, मैले खुट्याउनै सकिन।

“काकाले होइन, मैले नै भेटेको हुँ,” देवीरामले मभन्दा पहिले जवाफ दियो, “भञ्ज्याङघरमा बसिरहेको थिएँ, चौतारोमा चिनेको मान्छे उक्लिएको जस्तो लाग्यो। आज काका आउने कुरो थाहै थियो। अनि मै आएँ।”

“देवीराम, तिमी गाउँलेहरुको सामना गर्न सक्छौ?” मैले ठट्टालाई बिर्सिसकेको थिएँ।

“यसले त गर्ला नै पनि। किनभने आफ्नो गाउँमा यसले उत्तिसाह्रो बिगार गरेको छैन। यो कुनै भाटे कारबाहीमा पनि देखिएको थिएन। हाम्रो गाउँमा यिनेरले कुनै मान्छे पनि मारेका छैनन्। बरु यसप्रति गाउँलेको सहानुभूति नै छ। सानी मारिइ बलात्कृत भएर, भाउजुलाई कुटेरै मारे। बारी बाँझै रह्यो, घर चुहुने भयो। यसले केही पाएन, उल्टै बरु गुमायो सबैथोक भन्ने सोचाइ छ सबैको,” दाजुले लामो स्पष्टीकरण दिनुभयो।

“जेभए पनि बेहोर्नै पर्छ नि सान्काका,” देवीरामले अनौठो स्वरमा भन्यो। “हामीले बलात् परिवर्तन गर्न खोज्यौँ, आफूसित असहमत हुने बित्तिकै जोकोहीलाई पनि दुश्मनै देख्यौँ। तर अहिले म सुधि्रएको छु। जनताको मन फेर्न बन्दुक होइन नम्रता चाहिन्छ भन्ने बोध गरेको छु। सान्काकाले बीस वर्ष अगाडि जे बोध गर्नुभएको थियो, अहिले मैले त्यसको आधार भेट्टाएको छु। राज्यसत्तासँग बन्दुक रहेसम्म जनताको हातमा पनि बन्दुक हुनुपर्छ भन्ने मान्यता मेरो हो। तर जनतालाई तर्साउन बन्दुक उठाउनु पर्छ भन्ने अज्ञानी सोचलाई मैले खारेज गरिसकेको छु।”

“राम, तिमी आफ्नै साथीहरुबाट बच्न सक्छौ?” मैले शङ्का गरेँ।

“तर शान्तिको मर्मबोध नगरी पनि त बाँच्न सकिन्न। यो युद्ध हामी हार्दैनौँ, उस्तै परे जितौँला पनि। तर हामी जनताबाट तिरस्कृत भएका छौँ भन्ने सत्यलाई हामीले अस्वीकार गर्न मिल्दैन। आमा र बहिनीलाई पुरानो असती सत्ताले मारेको हुनाले गाउँलेहरुमा मप्रति सहानुभूति छ। तर हाम्रा कतिपय साथीहरुलाई गाउँलेहरुले भेटे काँचै खाने अवस्था पनि छ। यो वास्तविकतालाई हामीले स्वीकार्नु पर्छ र आफूलाई सुधार्ने कोशिस गर्नुपर्छ। मलाई विश्वास छ – जनताले हामीलाई माफी पनि दिनेछन्, स्वीकार पनि गर्नेछन्।”

“तिमीहरुको रुपान्तरणप्रति विश्वास गर्न सकिने आधार त अझै पनि तिमीहरुले दिन सकेका छैनौ,” मैले आफ्नो आशङ्कालाई लुकाइन, “तिम्रो यो विनम्रता हाम्रो पारिवारिक सम्बन्धका कारण हो भन्ने नै अर्थ निस्किन्छ अहिले पनि।”

“त्यो पनि होला,” देवीरामले प्रतिवाद गरेन, “तर त्यो मूल होइन। यो नाता त हिजो पनि थियो। हजुरमाले मलाई देख्यो कि सराप्न थाल्नुहुन्थ्यो। ‘मार बरु मलाई, तँलाई घरभित्रै हुल्दिन’ भनेर गाली गर्नुहुन्थ्यो। मैले पनि ‘जोरी नखोज बुढी’ भनेर हजुरमाको अपमान गरेकै थिएँ। त्यतिबेला पनि त हामी हजुरमा र नाति नै थियौँ। अहिले पनि त्यो भन्दा बढी केही थपिएको छैन। ‘अब शान्तिमार्गमा लाग्नुपर्छ’ भनेपछि हजुरमासँग माफी माग्न आएँ। ‘टुहुरो भएपछि तेरो सुद्धी फिर्‍यो नि, कठैबरा’ भनेर हजुरमा म भन्दा पहिले रुनुभयो। म यहाँ नाताले भन्दा मेरो ब्यवहारले मलाई सहज बनाएको भन्ठान्छु।”

आँगन बाहिर रात थियो, आगन भित्र लालटिनको उज्यालो थियो। धर्तीलाई पातलो उज्यालो दिने चन्द्रमा अझै उदाइसकेको थिएन।

मंसिर ७, ०६२
कंचनजङ्घा।
(शब्द संयोजन)

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.