कथा : माओवादीको लस्कर

~प्रदीप नेपाल~

टाँकिचौरको ओरालोमा घामले बेस्सरी हानेको छ। रूखहरू पनि प्याक्प्याक् परिरहेका छन्। अहं, एक पित्को हावा चलेको छैन।

उहिले केटाकेटीमा पढेको एउटा कथालाई ओरालो झरिरहेकाहरूले पालैपालो सम्भि्कए। घाम र बतासको कथा …

एकादेशमा एउटा घाम थियो र अर्को एउटा बतास थियो। दुबै असाध्यै घमडी थिए। कोही कसैसँग हार्न मान्दैनथे। बतास आफूलाई सबैभन्दा ठूलो ठान्थ्यो, घाम पनि आफू भन्दा कोही माथि छैनन् भनेर अहङ्कार गर्थ्यो। घामकी आमाले भनी, “नानी अहङ्कार गर्नु हुन्न। विनम्रताले साथी बनाउछ। अहङ्कारले दुश्मन थप्छ। विनम्रता मायाको भाइ हो, अहङ्कार शत्रुताको मित हो।”

बतासकी आमाले पनि आफ्नो छोरालाई सम्झाउदै भनी, “नानी मैमत्ता हुनुहुन्न। त्यस्तालाई कसैले रूचाउदैनन्। नम्र बन र सबैको मनको साथी बन।”

तर घाम र बतास दुइटैलाई आमाहरूको अर्ती पचेन। तिनीहरू म ठूलो, म महान, म सबैको प्यारो भन्दै झगडा गर्न थाले।

एकदिन झगडै झगडामा दुइटाले को महान, को प्यारो, को ठूलो भन्ने बाजी थापे। घामले भन्यो – “उ तल बाटामा एउटा मान्छे हिंडिरहेको छ। त्यो मान्छेले जसलाई मन पराउछ, त्यो नै महान हुन्छ।”

“हुन्छ, बाजी भने बाजी सही।” बतास पनि के कम थियो र?

घाम र बतासले पालैपालो बाटोमा हिंडिरहेको मान्छेको छेउमा जाने र उसको हातबाट महानता, ठूलोपन र प्यारोपनको प्रमाणपत्र लिने निधो गरे।

शुरूमा बतास मान्छे तिर हान्नियो। कानमा सिट्ठी बजेको कोकोहोलो मच्चाउदै त्यो पहाडबाट तल भन्भनियो। मान्छेको कोट च्यातियुंला जसरी उड्न थाल्यो। बिचराको टाउकाको टोपी त पलमै कहाँ पुग्यो पुग्यो। हाव झन झन मान्छेको नजिक आउन थाल्यो। मान्छेले न उभिंदा सुख पायो न हिंड्दा। घरी उ उडिरहेको लुगालाई सम्हाल्थ्यो त घरी हावाले खोसेर उडाउनै आँटेको झोलाको खकनलाई काँधमा सपक्क मिलाउथ्यो। हावा चर्किंदै गयो, मान्छेको हुर्मत पनि बढ्दै गयो।

“छ्या, यो हावा पनि कति चल्या होला?” ठूलो बरको रूखको आडमा लुक्दै मान्छेले हावालाई सराप्यो। हावा खिसि्रक्क पर्यो। उसले बाजी हारिसकेको थियो। अँध्यारो अनुहार लाएर उ आफ्नो थलो तिर फर्कियो।
हावा हराएपछि मान्छे बरको आडबाट बाहिर निस्कियोे। आकाश कंचन थियो। आफ्ना दुइटै आँखाबाट मायाको फूल बर्षाए जसरी घामले मान्छेको तालु ताकिरहेको थियो। भरखरै मात्र हावाको हुडरी बेहोरेको मान्छेलाई पाँच सात मिनेट त रमाइलै लाग्यो। तर त्यसपछिका प्रत्येक पाइलामा उ घामसँग मुर्मुरिन थाल्यो। घामलाई पनि प्रमाणपत्र लिन हतारो थियो। त्यसैले त्यो यात्रीको तालु सेक्न झन झन चर्को हुंदै थियो। एकैछिनमा वायुमडल तात्यो, बाटाका ढुङ्गाहरू टेक्नै नसकिने गरी ताते। ससाना झारका छोराछोरीहरू लल्याक लुलुक भएर मुर्झाए।

“थुइक्क मोरा घाम,” विरक्तिएको यात्रीले मुखभरिको गाली गर्यो। घाम खिसि्रक्क पर्यो।
टाँकिचौरको ओरालोमा ठ्याम्मै त्यही कथा दोहोरिएको थियो। माथि खानीगाउँको तेर्सोमा हिंडिरहंदा आकाशमा पातलो बादल लागेको थियो र सिरिरिरि हावा पनि चलिरहेको थियो। पानी परिहाल्ने पो हो कि भन्ने डरले त्यो सिङ्गो लस्करलाई तर्साइरहेको थियो। त्यतिबेलाको तिनीहरूको हिंडाइ पनि हेर्नेखालको नै थियो। मैदानमा मार्च गरिरहेका सिपाहीं जस्तै थिए तिनीहरू। फटाफट पाइला चालेका मशिन जस्ता थिए तिनीहरू।
खानीगाउँमा तिनीहरूले भात खाए। भात खानु अघि चौतारोमा बसेर तिनीहरू एकछिन सुस्ताए। झडै दुइघटै बित्यो यो लहनतहनमा। यो दुइ घटामा बादल आफैं घामको पछिल्तिर लुकिसकेको थियो। आकासमा पानी बोकेका वादलहरू थिएनन्। आकाश कंचन थियो, त्यो गाढा निलो थियो र घाम आफ्नो पुरानो गतीमा पश्चिमतिर तन्किइरहेको थियो।

खानीगाउँको गाविस भवनबाट परक्क बटारिएर बाटो ओरालो झर्यो। ओरालोसँगै सबैको शरीर पोलिन थाल्यो। ओरालाको प्रत्येक पाइलाले घामलाई पहिले भन्दा बढी चर्को, पोल्ने खालको तातो बनाउदै थियो। टाँकीचौरको बर पिपल मुनिबाट ओरालो लागेपछि त घामले सबैलाई हिरिक् हिरिक् पार्न थालिहाल्यो।

मान्छे पनि थोरै थिएनन्। थिए होलान् चालिस जना। रानीघाट दरबार हेर्न हिंडेका युवाहरू नासपाती टोक्दै ओरालो झरिरहेका थिए।

“साप्, माथि हेर्नुस् त,” कालीगडकीको सबैभन्दा लामो पुलको उत्तरी कोखामा आएका पुलिसहरूले नियालेर टाँकीचौरको ओरालोमा हेरे। पैंतीस चालिस जना तन्नेरीहरू एकसुरले ओरालो झरिरहेका थिए।

“के भो?” सापले सोध्यो।

“माओवादी जस्ता छन्,” पुलिसले भन्यो।

“हँ?” हाकिमका हिंड्दा हिंड्दैका पाइला रोकिए। पुल अलिक परै थियो। उ पुलको जगको आडमा उभियो र पछिल्तिर फर्किएर उसले भन्यो, “एइ, एकछि चुप।”

हाकिमले सर्प जसरी बटारिएको टाँकीचौरको ओरालोमा नियालेर हेर्यो। कोही कमेज सुरूवाल लाएका छन्, कसैको शरीरमा पेट शर्ट छ, कसैले टोपी लाएका छन्, कोही नाङ्गै टाउको ओरालो झरिरहेका छन्।

‘यो ज्यान खाने घाममा मान्छेको लस्कर किन कालीगडकी तिर झर्छ? कोही मर्या भए एउटा कुरा हो। तर तिनीहरू त मलामी जस्ता पनि छैनन्, अघि पछि कसैले लास बोकेको छैन, शंख बजेको छैन … …।’ हाकिमले मनमनै गुन्यो।

“साप, हामी पो दरबारको गङ्गाजीको मुर्ती चोरिएको हुनाले छानबिन गर्न करले हिन्या छौं, त्यो माथिको हुल माओवादी नभए किन यो चर्को घाममा ठाडो ओरालो झर्थ्यो र? एक दुइ जना भए केही काम पर्यो होला भन्न हुन्थ्यो। त्यहाँ त सिङ्गै एउटा प्लाटुन नै छ …।” सिपाहींले ठ्याम्मै हाकिमको मनको कुरो भन्यो।

“एकछिन चुप् लाग्,” हाकिमले अलि जान्ने भएर भन्यो, “मान्छे हुन् कि गुरिल्ला हुन् पहिले ठम्याउनु पर्छ, उनीहरू कता जाने हुन् थाहा पाउनु पर्छ …।” हाकिमले पुलिसलाई अर्ति दिए पनि तिनीहरू मान्छे होइन, गुरिल्लै हुन् र उनीहरू अन्त कतै होइन, यही लामो पुल तरेर स्याङ्गजा तिर आउदै छन् भन्ने निष्कर्ष हाकिमको मनले शुरूमै निकालिसकेको थियो।

“साप्, चालिस जनासँग त भिड्न सकिन्न,” पहिले कुरो उक्काउने सिपाहींले भन्यो।

“ठीक् भनिस्,” सापले पनि भन्यो।

“साप, गुरिल्लाको त भरोसै हुन्न। तिनीहरू त उडेरै आउन बेर छैन,” फेरि त्यही सिपाहींले भन्यो।

“हुम्,” हाकिमले हाकिमी पाराले भन्यो, “अँ, ठीक भनिस्।”

“साप, हामी कता लाग्ने?” सिपाहींले सोध्यो।

“एकछिन पख,” हाकिमले आफ्नो गहु्रंगो जिम्मेवारी पुरा गर्न खोजे जसरी भन्यो, “हामी उता देब्रे तिरको जङ्गलमा छिप्नु पर्छ। तिनीहरू पक्कै पनि बाटै बाटो जालान्। माथि भगवतीको मुर्ती चोर्न हिन्या पनि हुन सक्छन्। अथवा उता गुल्मी कट्ने दाउमा पनि हुन सक्छन्। जे भए नि त्यो ओरालो झरेर तिनीहरू राम्दी हानिदैनन्। सबैलाई सतर्कताका साथ बाटा माथि लुक्नु भन् …।”

टाँकीचौरको ओरालाको हुल निकै तल झरिसकेको थियो। पुलिसहरू पुल भन्दा झडै दुइ सय मिटर परको बाक्लो जङ्गलमा छपक्क हराए।

“साप, माओवादीको हुल त रानीघाट दरबार तिर लाग्यो,” जङ्गलमा सुरक्षित भएर बसेको हाकिमको कानैमा साउती गरे जसरी उही पुरानो पुलिसले भन्यो, “त्यो हुल त सलह जसरी दरबारको सिंढी चढ्न थाल्यो।”

“हं, किन त्यता गए हं?” हाकिम पनि छक्क पर्यो।

“बाँकि मुर्ती लिन गए हुनन्,” सिपाहींले बुद्धिमत्तापूर्ण निष्कर्ष निकाले जसरी भन्यो, “माओवादी धर्म, कर्म, देवी, देउता केही मान्दैनन्। अस्तिन कालिकोटमा एउटी माओवादीनीले नछुने भएको बेला शिवलिङ्ग छोइ भन्थे। मुर्ती अन्त लगेर बेच्यो भने पैसा आउछ भन्थे। त्यसैले साप,” निष्कर्ष सुनाउनु अघि पुलिस गम खाएर एकछिन रोकियो, “अस्तीको मुर्ती बेचेपछि अर्को शिबको मुर्ती लिन आ’ होलान्।”

“एकछिन चुप लाग्,” हाकिमले न हकारेको न माया गरेको स्वरमा भन्यो, “तिनीहरू त्यहाँ गएर के गर्छन् रामरी हेर्। तिनीहरू मुर्ती चोर्नै आएका रहेछन् भने एकछिनमै त्यहाँबाट बतास् भैहाल्छन्। होइन भने तिनीहरू त्यहाँ नअड्किई बाटो लाग्छन्। त्यसैले रामरी हेर्।”

“साप्, तिनीहरू त लल्याक लुलुक भए जसरी आँगनमा पो पल्टिए,” छेउको सिपाहींले भन्यो।

“हेर्दै गर्,” हाकिमले आदेश दियो।

सिपाहीं हेरिरहेकै थियो।

रानीघाट दरबारलाई लिपपोत गरेर राम्रो पारिएकोे थियो। यद्यपि बन्दाको सुन्दरता अझै त्यसमा पोतिइसकेको थिएन। झ्याल ढोकाका खापाहरू नयाँ थिए। माथिको सत्तरी पनि नयाँ थियो। भर्याङ्गलाई पनि नयाँ ढङ्गले बनाइएको थियो। तर पनि त्यो सुन्दर थियो। एक शताब्दी अघिको प्रेम प्रतीक अब फेरि नयाँ सुसार बोकेर स्निग्धता छरिरहेको थियो। परबाट हेर्दा ताजमहल नै लाग्ने रानीघाट दरबार भित्र छिर्दा शितल हावाको मायाले प्रेमको स्पर्श दिन्थ्यो।

टाँकीचौरको ओरालोमा लस्त परेर आएको चालिस जनाको हुल रानीघाट दरबारको चिसो हावामा आइपुगेपछि फ्यात्त आँगनमा पसारियो। आँगन सफा थियो, तर त्यहाँ ओछ्याइएका स्लेटका कापहरूबाट हरियो घाँस मौलाउदै थियो। आँगनको बीचमा भएको माछा पोखरी सुक्खा थियो र त्यसको ओंठमा कलेटी परेको थियो।
“सर, यो हरिबोधिनी एकादशीमा हामी विद्यार्थीहरूले मिलेर यो दरबार सफा गर्नुपर्छ,” ओरालोको थकाइलाई बिस्तारै आँगनमा सारेको एउटा विद्यार्थीले भन्यो।

“एकादशीमै किन?” सरले सोधे।

“मेला लाग्छ नि सर्।”

“ठीक भन्यौ,” सरले खुशी मनले भने, “एकादशी भन्दा तीन दिन अघि हामी एक डेढ सय विद्यार्थीहरू यहाँ आउने। यहीं बस्ने। यहीं भात पकाएर खाने। अनि तल गडकी नुहाउने ठाउँदेखि सफा गर्दै गर्दै यो आँगन, उताको भान्सा सबै सफा गर्ने।”

चालिसै जनाको थकाइ मर्यो। उनीहरूका आँखा स्वप्निल भए। ती आँखाहरूमा पनि प्रेमको ताजमहल नाचिरहेको थियो।

“सर, हेर्नुस् त कस्तो निर्मोही मन? यस्तो ठाउँमा पनि नारा!”

“हुन्देउ,” भित्तालाई नै कुरूप पारेको नारातिर नियाल्दै सरले भने, “सुन्दरता सबैका लागि सुन्दरता हुंदैन। सुन्दरता कसैका लागि स्नेह र प्रेम हुन्छ भने कसैका लागि त्यो बलात्कारको माध्यम पनि हुन्छ। सुन्दरता सधैंभरि एउटै मात्र अनुहारमा खुम्चिदैन। पाशविकताका लागि सुन्दरता आक्रमण हो भने मानवताका लागि सुन्दरता पुजाको थाली हो।”

“सर, मान्छे किन मान्छेको दुश्मन हृन्छ? मान्छे किन सुन्दरताको दुश्मन हुन्छ? मान्छेलाई किन प्रकृति प्यारो लाग्दैन?”

प्रश्नहरूको बाढीले सरलाई छोपेपछि सर खिसिक्क हाँसे। उनले सबै विद्यार्थीलाई कालिगडकीको किनारतिर लगेर भने, “जीवनलाई नदी जसरी बग्न नदिनेहरूका लागि जीवनमा कुरूपता मात्रै रोपिएको हुन्छ। त्यसैले सुन्दरताको अनुहारमा त्यो भद्दा अक्षरहरूको नारा कोर्छ, सुन्दरतालाई बजारको वेश्यालयमा लगेर बेच्न मुर्ती चोर्छ।”

“यो असमानता किन सर? के सबैले सभ्यता सिक्न सक्दैनन्?”

“यो भेद नै प्रकृति हो। यो भेद नै जीवनको स्वभाविक पक्ष हो। इतिहास यही भेदबाट यहाँसम्म आइपुगेको छ र भेदहरूको भारी बोकेर नै यो निरन्तर अघि बढिरहनेछ।”

सरको कुरो नबुझे पनि विद्यार्थीहरूले सन्तोकको टाउको हल्लाए।

“साप्, साप्,” दुरबीनले जसरी रानीघाट दरबार नियाली रहेको सिपाहीं झडै झडै आत्तिएर कराए जसरी बोल्दै थियो, “माओवादीहरू नै रा’न्। उ साप फेरि तिनीहरू मन्दिर तिरै झरे। लौ न नि, मोराहरूले अर्को त्यो शिबजीको मुर्ति पनि लाने भए। हे मोरा हो …।”

“नकरा,” साप झर्कियो, “तिनीहरू मुर्ति बोकेर उतैउता बाटो लागुन् भनेर भगवतिसँग प्रार्थना गर्।
पातका चस्माबाट पुलिसहरूले नियालीरहेका विद्यार्थीहरू मन्दिरमा झरिसकेका थिए।

“सर, यो नारा मेटौं है?” एउटाले भन्यो।

“अहिले हुन्देउ,” सरले बिस्तारै भने, “केही दिनमै हामी यहाँ आउदैछौं। त्यतिबेला हामी सिङ्गै कम्पाउड सफा गर्नेछौं। उसै पनि यो नारा आफैं सफा हुंदै रहेछ। हेर त,” सर एकछिन रोकिए, “यहाँ नेकपा माओवादी भन्ने नारा बढी चहकिलो छ, तर जनयुद्ध अमर होस् भन्ने अक्षरहरू त पिताम्बर जस्तै पहेंला भैसकेका रहेछन्।”

भदौ ७, ०५८
काठमाडौ।

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.