कथा : रातो ओढारको फूल

~प्रदीप नेपाल~

साँझभर गज्याङगुजुङ भैरह्यो। त्यसैले पनि पासाङ रामरी निदाउन सकेन। मनको दुखाइले उसको निद्रालाई त्यसै पर पर भगाइरहेको थियो, त्यसमाथि दुर्वासा गड्याङ गुडुङ गरेर वर्षिन थालेपछि उसलाई निदाउनै मन लागेन।

पल्लो खाटमा दुर्वासा सुतेको थियो। पासाङलाई डाहा लाग्यो दुर्वासाको निद्रासित। घरी घरी नाक बज्थ्यो दुर्वासाको नत्र एकनाससँग सुरेली खेल्दै मदनपोखरातिर ओरालो लागेको बतास जसरी स्याँ … स्याँ … गर्थ्यो उसको नाक। बादललाई लाग्यो – धर्तीको सबै प्राणवायु दुर्वासा भित्र छ र त्यो कालीगडकी बगे जसरी एकनासले बगिरहेछ।

बादलले किटिक्क स्वीच थिचेर कोठाको बत्ती बाल्यो। कुकुरको जस्तो पातलो निद्रा भएको दुर्वासा जुरूक्क उठ्यो। नानीदेखिको बानी भनेजस्तो उसको दाहिने हात आफ्नै देब्रे कम्मरमा ठेसियो। फिस्स हाँस्यो बादल।

“यो रिभल्भरको भूतले तपाईलाई जीवनभरि साथ दिने भो,” बादलको टिप्पणी सुनेर दुर्वासा अर्धमुदित आँखामा खिसिक्क हाँस्यो।

“के भो?” लोलाएको स्वरमा दुर्वासाले सोध्यो।

“केही भा’ छैन” पासाङले आफू भित्रको दिक्दारी लुकाउदै भन्यो, “तपाईंको निन्द्रासित डाहा लाग्यो – त्यसलाई भगाउन हल्ला गरेको …।”

“सुतौं अब,” दुर्वासाले लामो हाई काढ्यो।

“कस्तो मान्छे तपाईं पनि!” पासाङले छक्कको आवाज निकाल्यो, “बाहिर त्यत्रो गड्याङगुडुङ छ। पानी झमझम परिरा’ छ। रात पनि त खासै बित्या छैन। भरखर एघारै त बज्या छ। कस्तो निद्रा लाग्या हँ तपाईंलाई!”

“त्यो बेला पानीमा रूझ्दै खुट्टा चाल्दा त निदाइन्थ्यो भने यो त होटलको शान्त कोठा हो। बाहिर परेको पानी, बाहिर चलेको हुरीको के माने हुन्छ र?”

“तपाईंको मनमा हुरी चल्या छैन?” पासाङले दुर्वासाको आँखामा अनुहार जोतौंला जस्तो गरेर सोध्यो, “यत्रो बिखेत्याईं खेपेर पनि तपाइको मनमा आँधि उठेको छैन?”

दुर्वासाको नाम र स्वभाव ठिक्क उल्टो थियो – कांग्रेस पार्टीको छत्तिस जस्तो। मान्छे डराउनु पर्थ्यो उसको नाम सुन्दा। डराउथे पनि तिनीहरू। तर पन्ध्र मिनेट कुरो गर्न भ्याउदा नभ्याउदै मान्छेलाई मक्ख पारिहाल्थ्यो उ। 137याम्मिएपछि जोकोहीले पनि सोध्यो भने “तपाईंले यस्तो नाम किन राखेको कमरेड? तपाईंको नाम र स्वभाव कतै मेल खाँदैन।”

“क्रान्तिमा यस्तै हुनुपर्छ,” दुर्वासा मुसुक्क हाँसेर सम्झाउथ्यो, “शत्रुलाई अलमल्याउन यस्तै गर्नुपर्छ। स्वभाव नमिल्ने, जात र थर नमिल्ने, उमेर नमिल्ने नामहरू राखेर शत्रुलाई झुक्याउनु पर्छ।”

सबैलाई पन्ध्रै मिनेटमा आफ्नो साथी बनाइहाल्ने दुर्वासा रात झाङ्गिदै गएको घडीमा पासाङको चिडचिडोपन देखेर मुसुक्क हाँस्यो। उसको हाँसोले कोठै उज्यालो भयो। दुर्वासाको अनुहारमा आएको परिवर्तन देखेर पासाङले सन्तोषको सास तान्यो।

“मेरो मनमा आँधि आए पनि त्यसको अर्थ के हुन्छ र?” दुर्वासा एकछिन रोकियो। उसले बसेको ठाउँबाट उठेर पासाङको काँधमा हलौं हात राख्दै भन्यो, “वस्तु एउटै हुन्छ, तर त्यसलाई हेर्ने आँखा र त्यसलाई बुझ्ने मनका कारण त्यसको रूप फरक फरक हुन्छ। यही बाहिर दर्किइरहेको पानीलाई हेर्नोस। हाम्रा लागि कति शान्त र शितल छ यो! तर झुप्राहरूका लागि यो शान्त र शितल होइन, हाहाकार भैरहेछ। उही क्षितिजबाट चलेको हुरी हाम्रा लागि मुरलीको तिखो स्वर भएको छ, तर यही हुरीले दर्जनौंंको ज्यान पनि लिइरहेको छ।”

दुर्वासाले पाइलो चाल्यो। पासाङलाई थाहा थियो – गम्भिर मन्थनमा दुर्वासाको मन हेलियो भने यसैगरी उसका पाइलाहरू भुईंमा घिसि्रन थाल्छन्।

“दुइजना साथीको निर्मम हत्याप्रति गाउँलेको निष्पृहताले तपाईंको मन पोल्यो हैन? सत्य हो, तपाईंले महसुस गरेको – त्यो नै अन्तिम सत्य हो। हाम्रा दुबै साथीलाई मारेको हाम्रै बैरीले हो। तर उनीहरूले पोल खुल्ला भनेर गोली चलाएनन्, बोनटले घोची घोची पनि मारेनन्। हत्याको बर्बर रूप अख्तियार गरे। बधशालामा लगेर टाउको एकातिर र शरीर अर्कातिर हुने गरी गिंडे र बोरामा पोको पारेर खोलाको तीरमा गाडिदिए। गाउँलेले मारेको लास होइन त्यो। जनता त्यसरी मान्छे मार्नै सक्दैनन्। गाउँलेले मारेको लास होइन त्यो। जनता त्यसरी मान्छे मार्नै सक्दैनन्। जति रिस उठे पनि छ्याकन काटे जसरी निहत्था र निर्दोषलाई उनीहरू त्यसरी मार्नै सक्दैनन्।”

“मारेनन्। त्यो राम्रै भो – तर हामीलाई मार्नेको बारेमा सूचना त दिनसक्थे, मृत्युका नाममा श्रद्धान्जली दिन नसके सुस्केरा त पोख्न सक्थे।”

“किन? किन कामरेड, किन?” दुर्वासाले शब्दलाई उत्तेजित नतुल्याई पासाङलाई झक्झक्यायो। “आम नागरिक र हाम्रेा युद्धको सम्बन्ध साझा सरोकारको थिएन। अघि साँझमा यता उक्लिइरहंदा हामीतिर सोझ्याइएको तीरले तपाईंको मुटु छेडेन? उज्यालोले हाम्रो हुर्मत लिएको थियो त्यतिबेला। डाँडाको जुन भएको बुढो मान्छे, “मेरी छोरीको सिउंदो पुछ्नेका नाइके यिनै हुन् बाबु,” भन्दा सिताङ्ग भएँ। हामीलाई कसैले उसैगरी छ्याकन बनाएर काटिदिएका भए ह्वालह्वालती बगिरहेको हाम्रो रगतनियाल्दै ती बुढा मान्छे छोरीको सिउंदो पुनः भरिएको अनुभूत गर्थे होलान्।”

“त्यसोभए मान्छे मारेर हामीले गल्ती गरिम्?” प्रश्न सोध्दा सोध्दै पासाङका आँखा फुस्रा भए।

“थाहा छैन,” झ्याल बाहिर विधो हुँदै गएको पानी नियाल्दै दुर्वासाले भन्यो, “तर अल्पकालको युद्धमा हामीले मान्छेभित्रको संवेदनालाई चाहिं जरैसँग उखेलेर फ्याँकिदिएका रहेछौं र मान्छेको मनमा मलजल गरेर त्यसमा प्रतिहिंसाको खेती गरिदिएका रहेछौं।” पानी बसिसकेको थियो – तर हावा चल्न छोडेको थिएन। “अब दुर्वासा खुल्छ,” दुर्वासाको मनले भन्यो। उसका खुट्टाहरू रोकिए। उ शुरू शुरू गएर आफ्नो सुत्ने ओछ्यानमा बस्यो। पासाङ र दुर्वासा अब सामुन्ने भएका थिए। दुर्वासाले एकपल्ट लामो सास तान्यो। पासाङले उसको स्वाँ सुनेन। यसले दुर्वासाको आँखाले ओकलेको आगो मात्र देख्यो।

“आठ हज्जार सहयोद्धा गुमायौं हामीले। आठ हज्जार परिवारको आँशुको ऋण बोक्यौं हामीले। केका लागि? क्रान्तिमा बलिदान चाहिन्थ्यो होला। तर यति धेरै चाहिन्थ्यो र? दुर्वासाबाट हेरिरहेका होलान् तिनका आँखाले हामीलाई … …।

दुर्वासाको मन, आफ्नो भन्दा नराम्ररी घाइते भएको जस्तो लाग्यो पासाङलाई। मायाले पग्लियो उसको मन। कठैबर! मैलेभन्दा ठूलो पीर बोक्या र’छौ नि तिम्ले,” पासाङको मनले दुर्वासाको मनलाई मायालु हातले मुसार्यो। “मृत्युपछि शहीदका आँखाले कसरी हेर्छन् हामीलाई? यो त उही अध्यात्मवादी कुरा भैहाल्यो नि!” कुरालाई बराल्न र वातावरणलाई हलुङ्गो बनाउन पासाङले मान्छे मरेपछि तारा हुन्छ भन्ने अन्धविश्वास माथि पुक्क हिर्कायो।

“धर्तीमै स्वास्नीमान्छे बोक्सी हुन्छे भने शहीदहरू तारा नहुने भन्ने कहाँ हुन्छ र?” दुर्वासाले स्वभाव भन्दा विपरितको कटुता ओकल्दै भन्यो, “हिजो सर पर्दा हाम्रा लागि देवी देउता केही थिएनन्। मुर्तिहरू निर्जिव ढुङ्गा भए, मन्दिरहरू पाइखानामा फेरिए। भयङ्करै नास्तिक भयौं हामी – देशले कल्पनै गर्न नसक्ने नास्तिक! तर आज अर्कातिर सर पार्नुपर्ने हुनाले गरीवका छोरी बुहारी बोक्सी भए हाम्रा लागि।”

बाहिर दुर्वासा उघि्रसकेको थियो र पूर्णिमा टरेपछिको खिइंदै गएको चन्द्रमा पूर्वी क्षितिजको दश खुट्किलो चढिसकेको थियो।

“हेर्नुस् कामरेड पासाङ, राजनीतिको एउटा मर्यादा हुन्छ, त्यसको उल्लंघन गर्नु हुँदैन। अथाह मृत्युहरूले शायद हाम्रो राजनीतिको प्रासङ्गिकतालाई समाप्त पारिदिएका पो हुन् कि ….।”

“तर तपाईंले हिजोको भाषणमा त …।”

“जनता उत्साहित हुनुपर्ने, क्रान्तिकारी आन्दोलनलाई निरन्तरता दिनुपर्ने कुरो गरेको थिएँ भन्न खोज्नु भएको होइन?” दुर्वासाले पासाङको कुरो काटेर भन्यो, “त्यो कुरो हो। बैरीलाई दिएको जवाफ हो। तर अहिले तपाईंले राजनीतिको कुरो सोध्नु भएको छैन, तपाईंले मनको घाउ कोट्याउनु भएको छ। नक्कली कुरोले मनको घाउ दुखाउदैन। तर तपाईंले त अहिले आफ्नो मात्र होइन, मेरो मनलाई समेत घाइते तुल्याउनु भएको छ। साथीहरू मारिए – तर तिनलाई जनताले ज्यानमारा ठोकुवा गर्दिए। हामी न तिनको श्रद्धामा आँशु खसाल्न सक्छौं, न हाम्रा कामरेडलाई शहीद मान भनेर जनतालाई हकार्न सक्छौं।”

“कहाँ चुक्यौं हामी?” पासाङले सोध्यो

“कहाँ चुक्यौं हामी? अहं, थाहा छैन। हामीले जनता भन्दा अघिल्तिर आफूलाई राख्नु हुँदैनथ्यो कि! हामीले आफ्नो निरन्तरता त्याग्नु हुँदैनथ्यो कि! अथवा हामी त्यो बाटोमा हिंड्नै हुंदैनथ्यो कि! अथवा अहिले हामी भाषणको लोभमा यता हामफाल्नु हुँदैनथ्यो कि! जेलाई हामीले जनताको युद्ध भन्यौं त्योसँग जनताको सरोकार नै थिएन कि!

खुर्पे जुन झ्यालबाट फुत्त भित्र छिर्यो र दुर्वासाको ओछ्यानमा घुँडा मारेर पल्टियो। जुनलाई निदाउन सजिलो होस भने झैं गरी दुर्वासा ओछ्यानको खुट्टाको किनारतिर सर्यो।

“तपाईं निराशै भा’ हो?” पासाङलाई लाग्यो यो प्रश्न उसको होइन। के यो प्रश्न कालीगडकीको गहिरो रहमा लुकेको कुनै सिपालु माझीको हो? पासाङको मनले सोधेको प्रश्नको उत्तर कसैले दिएन।

“निराश त भएको छैन म। तर प्रश्नहरूको घेरामा बाँधिएको छु म। हामी जहाँ उभिएका थियौं – त्यहाँबाट दाहिने देब्रे लाग्नु उपयुक्त थियो? कि हामीले पाइला चालेको रक्तरञ्जित यात्रापथ नै अनुपयुक्त थियो? हामीले आफ्नो ठाउँ नछोडेको भए हामी ठोस परिणाममा पुग्ने थियौं। राजनीतिको सार शासन हो – त्यो शासनमा पाइलो हालेपछि हाम्रा लागि बरू सजिलो हुनेथियो। हामी शासक हुने थियौं र यतिबेला हामीलाई सराप्नेहरू शासित हुनेथिए। शासक र शासितको निरन्तर चक्रमा बाँधिने थियौं हामी पनि अरू सत्ताहरूको अवसान भए जसरी हामी निरन्तर समुद्रतिर बगिरहने थियौं …।”

“तर त्यो त जनताप्रतिको अपराध हुन्थ्यो” पासाङले दुर्वासाको माइक बन्द गर्ने कोशिश गर्यो।

“त्यस्तो स्थितिमा हामीले स्वीकार्नु पर्छ – हामीले जे आरम्भ गर्यौं त्यो ठीक थिएन। जनताका नाममा हामीले यत्रो रक्तपातपूर्ण युद्ध संचालन गर्यौं – तिनीहरू नै हाम्रा लागि आफ्ना भैदिएनन्। हामीले शायद बन्दुकलाई मात्रै आफ्नो ठान्यौं, त्यसले बन्दुक बाहिरका सबैले हामीलाई पराइ ठाने।”

“के हामी जनताका लागि लडेनौं त्यसोभए?” पासाङले छक्क परेर आफ्नै मनलाई सोध्यो, “हामी केका लागि लड्यौं त्यसोभए!”

“शायद यसको उत्तर अन्तरिक्षमा खोज्नुपर्छ। बलिदानको चुली उठाउंदा पनि हामी जनताका हुन सकेनौं। किन हामीले जनतालाई आफ्नो बनाउन सकेनौं?” दुर्वासाले पनि प्रश्नै प्रश्नको डङ्गुर उतार्यो।

दुर्वासाको ओछ्यानमा पल्टिएको जुन कतिखेर उठेर बाहिर गैसकेछ। पासाङले हातको घडी हेर्यो। मध्यरात ओर्लिन अझै तीन मिनेट बाँकि नै थियो।

जेठ ०६०
तानसेन, पाल्पा।

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.