कथा : दोधार

~माधव सयपत्री~Madhab Sayapatri

म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के गरूँ के नगरूँ भएको छ । यहाँ मलाई अपरिचित त्यो मान्छेले छाडेर गएको चिठी जस्ताकोतस्तै राख्न मन लाग्यो ।

– – – – – – – – – – – – – – –

‘मेरी विगतकी आत्मीय मित्र प्रतिभा ! म तिम्रो सहरमा सडकपेटीमा भ्रान्त पथिकझैँ डुलिरहेछु ।

यस्तै करिब पच्चीस वर्षअघि तिमी र म यो सहरबाट छुटेका थियौँ । दुई वर्षपछि मेरो बिहेको तयारी हुँदै थियो । म गाउँबाट विवाहको सामान किन्न सहर आएको थिएँ । बाटोमा हिँड्दा-हिँड्दै तिम्रो स्यान्डिलको फिता खुस्किएछ । तिमी जुत्ता सिउने ठाउँमा आएकी थियौ । त्यो पसलको साथी पनि हामीसंगै पढ्थ्यो । ऊ मेरो अत्यन्त प्रिय मित्र थियो ।

म ऊसित सुखदुःखका कुरा गर्दै थिएँ । तिमीलाई मैले चिनिहालेँ । निकैबेर तिमीले मलाई हेर्‍यौ । नजिकै आएर आत्मीयता देखायौ । त्यही भेट नै अन्तिम भेट थियो हाम्रो ।

प्रतिभा ! यस्तै रहेछ जिन्दगी । को कहाँ ! को कता ∕ हाम्रो मित्रवत् आत्मीयता अझै मेरो मनमानसमा जीवितै छ । तर तिमीले आफ्नो मनबाट मेरो सम्झना हटाइसकेकी हौली । ठिकै छ, सबैलाई सधैँ सम्झेर साध्ये हुँदैन । र, त्यो सम्भव पनि छैन । तिम्रो त सहरमा घर थियो । तर म अर्काको घरमा बसेको थिएँ । सधैँ अर्काको टोकसो सहन सकिनँ । त्यो घरबाट निस्किएर गाउँतिर लागेँ ।

घरमा अभावैअभाव । मेरो पढाइ त्यत्तिकै रोकियो । तिमीले इन्जिनियर बन्ने इच्छा राखेकी थियौ । मेरो अटोकपीमा तिमीले आफ्नो लक्ष्य लेखेकी छ्यौ, ‘टु बी एन इन्जिनियर’ भनेर । त्यो अटोकपी मैले मायाले राखेको छु । सुन्दर बान्कीका तिम्रा शब्दहरूले मलाई बेलाबेलामा तिमीलाई सम्झाइरहन्छ । कहिले त दिग्भ्रमित हुन्छु । गहिरो गरी सोच्छु । सोच्दासोच्दै मन नफर्की एकोहोरो हुन्छ ।

प्रतिभा ! आज म यही महाराजगञ्ज बजार सेरोफेरोमा तिमीलाई खोजिरहेको छु । तिमीलाई देखेपनि पच्चीस वर्षमा समयले तिम्रो अनुहारमा अर्कै छाप छाडेको होला । म तिमीलाई चिन्दिनँ होला । तिमी मलाई चिन्दिन हौली ।

तिम्री दिदीको ‘इशा’ ब्युटिपार्लरमा म तिमीलाई देख्थेँ । आज पनि तिमी यतै देखिन्छ्यौ कि जस्तो लाग्छ । तर मेरो अड्कल मात्र हो यो । पक्कै पनि ब्युटिपार्लर सामुन्नेको तिम्रो घर अहिले माइती बनिसकेको छ ।

हामी छुट्टिएको तीन चारवर्षपछि मैले अपुष्ट खबर पाएको थिएँ, तिमी राम्रो कलेजमा इन्जिनियरिङ पढ्दैछ्यौ भन्ने । त्यतिबेला तिमीलाई भेट्न जान पनि सकिनँ । घरमा तिमीबारे बुझ्न जान पनि सकिनँ । डरडर लाग्यो । संकोच पनि लाग्यो ।

तिम्रो नामजस्तै तिमी निक्कै प्रतिभाशाली थियौ । पढाइ राम्रो थियो । एसएलसीमा मलाई तिमीले पाँच प्रतिशतले जितेकी थियौ । त्यो साल हामीसमेत चारजनाले प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका थियौँ । मेरो पनि साइन्स पढ्न स्कोर पुगेको थियो । साइन्समै तीन चारवटा क्याम्पसमा अप्लाई गरेको थिएँ । नाम निस्किए पनि मेरो गरिबी मेरो पढाइको बाधक बन्यो ।

के गर्नु ? तिम्रो सहर सुन्दर भएपनि त्यो सुन्दरताभित्र कुरूपता बोकेर बाँचेको छ । प्रतिभा, मैले तिम्रो सहरमा टेक्ने र अड्ने ठाउँ कतै पाइनँ । कसैले मप्रति दया देखाएन । म सहरमा एक हप्तासम्म काम खोज्दै भोकभोकै हिँडे । विवेक गुमाएका सहरबासीले मेरो के वास्ता गर्थे !

एउटा होटलमा एक महिनासम्म भाँडा माझे । अन्त कतै राम्रै काम पाइने आशा मनभरि उमारेर बसेँ । काम पाइनँ । होटलमा भाँडा माझेर बस्न मन लागेन । गाउँ फर्किएँ ।

अहिले म तिमीलाई भेट्नसक्छु कि भन्ने आशा लिएर तिम्री दिदीको ब्युटिपार्लरछेउ उभिएको छु । मलाई थाहा छ, तिमी ब्यूटिपार्लरमा छैनौ । तिम्रो घरमा पनि छैनौ । किनभने त्यो तिम्रो माइती भइसक्यो । तिमी सम्पन्नतामा चुलिएर बसेकी छ्यौ । तिम्रा सन्तान राम्रो स्कुलक्याम्पसमा पढ्दै होलान् । या विदेश गैसकेका पनि हुनसक्छन् । केके भएको छ, म ठोकेर त भन्न सक्दिनँ । यो मेरो अड्कल मात्र हो ।

महाराजगञ्जको व्यस्त सडकमा म यता र उता हिँडिरहेको छु । तिमी देखा पर्ने झिनो आशा लिँदै हल्लिएर हिँडिरहेको छु । म पागलजस्तै भएको छु । प्रतिभा ! तिमी कहाँ छ्यौ ? हाम्रो त्यो पूरानो निश्चल मित्रताको टुटेको क्रम जोड्न आऊ । म मित्रताको हात पसारेर उभिरहेको छु ।

हाम्रो मित्रता कति गाढा थियो हगि ! तिमीले मलाई कहिल्यै घरायसी नोकर ठानिनौ । मेरो अटोकपीमा तिमीले ममा धेरै सम्भावना भएको कुरा लेखेकी छ्यौ । म साहित्यमा अनुराग राख्थे“ । मेरा कविता पढ्न तिमी निकै हतारिन्थ्यौ । मलाई‘ ‘भविष्यमा राम्रो कवि बन्छौ’ भन्थ्यौ ।

प्रतिभा ! म कवि त भएँ तर आफ्नो लागि मात्र । मेरा कवितालाई कसैले कविता भन्दैन । मेरो पहुँच छैन । कसैले मेरा कविता छापिदिँदैनन् । तिमीलाई भेट्न पाए म कति कविता सुनाउँथे होला ! ममा गुम्सिएको हीनग्रन्थी सबै फुकाएर तिमीलाई देखाइदिन्थे । कसैले नछापेपनि मेरा कविता म तिम्रो मनमा छपाएर जान्थे ।

तिमी यतातिर छैनौ भन्ने थाहा हुँदाहुँदै पनि म तिमीलाई खोज्दै भौतारिइरहेको छु । म अब धेरै समय बाँच्दिन प्रतिभा ! बाँच्न पनि चाहन्नँ । बाँचेर तमासा देखाउन पनि चाहन्नँ । मलाई मुटुरोगले गाल्दै लगेको छ ।

यो पच्चीस वर्षको अन्तरालमा देशमा धेरै परिवर्तन भइसकेको छ । तिमी हामी छुट्दा देशमा निर्दलीय व्यवस्था थियो । लगत्तै बहुदलीय व्यवस्था आयो । समाज परिवर्तनको लागि एउटा पक्षले हतियार उठायो । सरकारी र विद्रोही पक्षबाट पन्ध्रहजारभन्दा बढीले ज्यान गुमाए । आज देशमा गणतन्त्र आएको छ । यो राजनीतिक फेरबदलले देशबासीको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । व्यवस्था बदलिएर के गर्नु ? मानिसको चरित्र र व्यवहार बदलिएको छैन । भो प्रतिभा ! यो राजनैतिक पाखण्डीपनको धेरै कुरा लेख्दिनँ । त्यो तिमीलाई पनि थाहै भएको कुरा हो ।

म केही सन्दर्भहरू कहिल्यै बिर्सन सक्दिनँ प्रतिभा ! तिमीले त बिर्सिसकेकी हौली । कि याद छ ? म सम्झाउँछु है ! हामी एउटै कोठामा ट्युसन पढ्थ्यौँ । तर हाम्रो पढ्ने समय फरक थियो । ट्युसन कक्षामा अनुशिला मिसले टेबुलमा तिम्रो र मेरो नामको बीचमा जोडचिन्ह (+) लेखेको देख्नुभयो । त्यतिबेला मिस मुस्कुराउनुभयो ।

खै, के सोच्नुभयो मिसले । तिम्रो र मेरो बीच कुनै हिसाबले पनि ‘लेवल’ मिल्दैनथ्यो । तर मिस खुसी हुनुभएको थियो । म घरायसी नोकर थिएँ । तिमी घरवालाकी छोरी थियौ । त्यो कुरा अनुशिला मिसलाई पनि थाहा थियो ।

अर्को अविस्मरणीय क्षण पनि छ । तिमी तिम्रो चुँडिएको स्याण्डल सिउँन जुत्ता सिउँने पसलमा पस्यौ । मैले ‘मेरो विवाह हुँदैछ’ भन्दा तिम्रो चेहरामा अनौठो बदलाव आएको थियो । मैले प्रष्टै देखेँ । तिमी अव्यक्त पीडाले पीडित भएजस्तो लागेको थियो । त्यो मेरो अड्कल गलत पनि हुन सक्थ्यो । तिमीले भन्यौ, ‘कङ्ग्य्राचुलेसन फर योर सक्सेसफुल लाइफ एण्ड फ्युचर ।’

मलाई बधाई दिँदा तिम्रो मुखमण्डल पीडास्पद चस्काले पीडित भएजस्तो लागेको थियो । हुन त हाम्रो सम्बन्ध असल एउटा साथी र अर्को साथीबीच कति हुन्छ, त्यही सीमाको बीचमा थियो । हामीले साथीको सीमा नाघेका थिएनौ“ ।

प्रतिभा ∕ अब यो सडकमा म धेरैबेर रहन सक्दिन । मानिसहरूले मलाई पाकेटमार, अपहरणकारी वा चोर मान्न सक्छन् । मलाई समातेर गोद्न सक्छन् । त्यसैले म यहाँ बसिरहन्न । तिमीले मेरो कापीमा पच्चीस वर्षअघि लेखिदिएको शब्दपुष्प तिम्रै दिदीको ब्युटिपार्लरको छेउछाउ फालेर हिँडेको छु । तिम्रा सुन्दर शब्दपुष्प अब म राख्न चाहन्न । यसले मलाई बेलाबेलामा पीडा दिने गरेको छ ।

कुनै दिन तिमी तिम्री दिदीको पार्लरमा तिमी आउँछ्यौ होला । तिम्री दिदीले तिम्रा शब्दपुष्प र यो पत्र भेटिन् भने अवश्य तिमीलाई देखाउलिन् । तिमीले पायौ भने मलाई चिनेर मात्र यसलाई च्यात्नू ल !

ल त प्रतिभा, म जान्छु । दिउँसो मलाई अस्पताल जानुछ । पेइङ्ग क्लिनिकमा कार्डियोलजिस्टलाई मेरो मुटु जचाउन मैले टिकट लिइसकेको छु । डाक्टरले ‘आज तिम्रो मुटुको फाइनल परीक्षण हुन्छ’ भनेका छन् । रिपोर्ट राम्रै आउँछ कि, झिनो आशा मात्र छ । एकपटक तिम्रो अनुहार हेरेर मर्ने इच्छा छ ।

तिम्रो विगतको उही साथी

‘सागर’

– – – – – – – – – – – – – – –

अहो ! पूरानो कापीमा बैनीका अक्षर देखेर म छक्क परेँ । के गरूँ के नगरूँ, मलाई दोधार भयो । को मान्छे होला यस्तो पत्र छाडेर जाने ? यस्तो चिठी मेरा बैनीज्वाँइले देख्नुभयो भने के सोच्नु होला ! यो बेला म ज्यादै अन्यौलमा छु । के म उसले लेखेको यो चिठी र बैनीले उसको कापीमा पच्चीस वर्षअघि लेखिदिएको शब्दपुष्प म मेरी बैनीलाई दिन सक्छु ?

दिऊँ ? नदिऊँ । नदिऊँ ? दिऊँ । म के गरूँ ?

(स्रोत : ब्दसोपान डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.