अनूदित कथा : नवदुलहीको पलङ

~खलिल जिब्रान~
अनुवादः अच्युत कोइराला

दुलाहा-दुलही मन्दिरबाट निस्किए । उनीहरूका पछाडि बधाई दिनेहरूको ताँती थियो र ताँती प्रशन्न अनि आनन्दित थियो । अगाडि ठूलाठूला मैनबत्ती र फानूस थिए । नवयुवकहरू खुसीका गीत गाइरहेका थिए, कुमारीहरू मंगलगान गाइरहेका थिए ।

यो जुलुस दुलाहाको मूल्यवान् गलैँचा र भड्किला सामानले सजाइएको घरमा पुग्यो । चारैतिर सुगन्ध मगमगाइरहेको थियो । दुलाहा-दुलही एउटा उँचो उठाइएको सिंहासनमा बसे । पाहुनाहरू रेशमी सोफा र मखमली कुर्सीमा विराजमान भए । विशाल हल पाहुनाले एकै छिनमा भरियो ।

नोकरहरूले सोमरसका सुराही ल्याए र सोमरस लिने क्रम शुरू भयो । प्यालाको झन्कार र आनन्दको स्वरले मस्तीको एउटा बेग्लै संसार निर्माण हुन थाल्यो । यसपछि गाइनेहरूको पालो आयो र उनीहरूले जादूले भरिएको संगीतबाट त्यहाँ भेला भएका जन्तीलाई मुग्ध गर्न थाले । उनीहरूको मीठो सुर र सारंगीको रसिलो आवाजले भेला भएका जन्तीका हृदयमा खुसीको लहर छचल्किन थाल्यो । तबलाको थाप र श्रोताको वाहवाहीले बेग्लै किसिमको बहार ल्यायो ।

यसपछि नृत्यांगनाहरूको पालो आयो । उनीहरू उठे र आफ्नो नृत्य र संगीत सुन्नेहरूलाई अलमस्त बनाउन थाले । सुगन्धित वायुको झोँकाबाट वृक्षका नरम हाँगा झुमिरहेजस्तै तिनको लचकदार शरीर हल्लिरहेका थिए । श्वेत बादल चन्द्रमाका किरणहरूसँग खेलिरहेझैँ उनीहरूको कपडा यसरी उडिरहेका थिए । आँखाहरूले तिनलाई एक टक घुरेर हेरिरहेका थिए, निधारहरू तिनलाई सलाम गरिरहेका थिए, युवकहरूका आत्मा उनीहरूलाई अँगालो हालिरहेका थिए र बूढापाका तिनको रूप र सौन्दर्यबाट आल्हादित भइरहेका थिए ।

सोमरसको क्रम अझै अघि बढिरह्यो र पाहुनाहरू आफूलाई इच्छा लागेको रसको स्वादमा डुबाउन थाले । गति र हलचल अझ बढ्न थाल्यो, आवाज चर्को हुँदै जान थाल्यो । चारैतिर मानमानी बढ्न थाल्यो, मस्तिष्क विचलित हुन लाग्यो । इन्द्रियहरूमा उष्णता महसुस हुन थाल्यो । मुटुहरू बेचैन हुन थाल्यो । सारंगीका सबैसबै तार चुँडिएझैँ हुन थाल्यो र मानौँ कुनै पागललाई सारंगी थमाएझैँ र त्यो पागलले जबरजस्ती संगीत उत्पन्न गर्ने प्रयास गरिरहेझैँको माहोल बन्न थाल्यो ।

यही विवाह उत्सवमा एउटा नवयुवक आएको थियो, जो आफ्नी प्रेयसीको प्रेममा चुर्लुम्म डुबेको छ । ऊ एउटा कुनामा बसिरहेको छ र सौन्दर्य र प्रीतिको कथा सुनाइरहेको छ। एकातर्फ एउटा बूढो एकपछि अर्को सोमरस थप्दै गाइरहेका स्त्रीहरूसँग गजल अनुरोध गरिरहेको छ । त्यसका कारण उसलाई आफ्नो जवानीका दिन तरोताजा भइरहेको छ। त्यहीँ छेउमा एउटी कपाल फुल्न थालेकी स्त्री बसेकी छ र उसलाई एक पुरूषले प्रणय प्रार्थनाका दृष्टिले हेरिरहेको छ । एक जना चाहिँ पाहुना लागिरहेका युवतीहरूमा आफ्नो छोरोका लागि सम्भावित दुलही खोजरहेको छ । त्यो झ्यालछेउ एक विवाहित स्त्री बसिरहेकी छ, उसको लोग्ने रक्सीमा मस्त रहेका कारण यतिबेला आफ्ना परिचितहरूसँग कुराकानी गर्न फुर्सद पाएकी छ । माहोल यति मस्तिपूर्ण छ कि बितेका दुःख र आउने चिन्ताबाट हरकोही बेपरवाह वर्तमानको आनन्दमा हराइरहेका छन् ।

यो सिलसिला जारी छ र सुन्दर नववधु यस दृश्यलाई आफ्नो ठूलाठूला आँखाले यसरी हेरिरहेकी छ, मानौँ कुनै निराश कैदी जेलको कालो भित्तामा एकटक हेरिरहन्छ । उसका आँखा पटक-पटक हलको एउटा अलग्गै कुनामा गइरहेको छ, जहाँ एउटा बीस वर्षको युवक आनन्दित पाहुनाहरूको भिडमा यसरी एक्लो उभिएको छ मानौँ कुनै पक्षीको झु्ण्डबाट उछिट्टिएको कुनै घाइते चरो एक्लै परेको होस् । युवकले आफ्नो हात छातिमा राखेको छ र यसरी राखेको छ मानौँ उसको मुटु उछिट्टिएर बाहिर निस्कुँलाजस्तो भएको होस् । युवकका लागि हलको वातावरण र वायुमण्डल कुनै अप्रिय वस्तुले घेरिएकोझैँ महसुस गरिरहेको भान हुन्थ्यो । यस्तो लागिरहेको थियो, उसको आत्मा उसको शरीरबाट अलग भइसकेको छ र अँध्यारोमा बिस्तारै छुट्टिदै उडिरहेको छ।

आधा रात बित्यो र भिडमा खुसीको सित्कार बढ्दै जान थाल्यो । कतिसम्म भने, गडबडी नै मच्चिन थाल्यो । सबै जना रक्सीको नशामा चूर भएका छन् । उनीहरूको बोली लटपटिन थालिसकेको छ । अनुहारको कुरूप दुलाहा आफ्नो ठाउँबाट उठेर पाहुनाहरूका बीचमा हल्लिन थाल्यो । ऊ पनि नशाको चंगुलमा थियो ।

यसै क्षण दुलहीले एउटी केटीलाई इशारा गरी र बोलाई । केटी छेउमा बस्दै गर्दा दुलहीले यताउता नजर दौडाई, मानौँ त्यो केटीलाई ऊ केही रहस्यका कुरा बताउन चाहिरहेकी होस् । यसपछि उसले काँप्दो आवाजमा केटीसँग खुसपुसाई, ‘ए मेरी प्यारी बहिनी, म तिमीलाई मेरा र तिमीबीचको बालापनदेखिको प्रीतिको कसम खाएर भन्छु । म तिमीलाई यो संसारकै प्यारो चिजको कसम खाएर भन्छु । तिम्रो हृदयको रहस्यहरूको कसम छ, म तिमीलाई त्यस प्रेमको कसम खाएर भन्छु, त्यही प्रेम जुन प्रेमले हाम्रो आत्मा बाँधिएको छ र किरण पैदा गरिरहेको छ । म तिम्रो मनको खुसी र आफ्नो मनको पीडाको कसम खुवाउँदै प्रार्थना गर्छु, तिमी तुरून्त सलीमकहाँ जाऊ । उसलाई भन, लुकिछिपी ऊ बगैँचामा पुगोस् र चिनारको रूखका मुन्तिर म आउने प्रतीक्षा गरोस् । ए, सोसन, मेरातर्फबाट तिमी उसलाई अनुरोध गर र कुनै तरिकाले उसलाई मनाऊ । उसलाई ती दिनहरू सम्झाऊ, उसलाई प्रीतिको कसम दिलाऊ र भन- विचरी म रूँदारूँदा अन्धी हुन लागिसकेँ । भन, उसलाई तिम्रातर्फबाट भनिदेऊ- ऊ चाहन्छे, अनन्त अँधेरोमा बिलाउनुअघि ऊ आफ्ना हृदय खोलेर तिम्रो आँखाको उज्यालो बढाउन चाहन्छे । ऊ अपराधी हो र आफ्ना सारा अपराधलाई स्वीकार गर्दै तिमीसँग क्षमा माग्न चाहन्छे भनी सुनाइदेऊ । चाँडो गर मेरी बहिनी । मेरातर्फबाट उसका अघिल्तिर रोएर उसलाई प्रार्थना गर । यी जंगली सुँगुरका आँखाबाट नडराऊ किनभने यी सबै रक्सीको नशामा चूर छन् र यिनका कान र आँखा यतिबेला बन्द भइसकेका छन् ।’

सोसन दुलहीका छेउबाट उठी र सलीमको छेउमा गएर बसी । ऊ एक्लै बसेको थियो । ऊ उसको कानमा प्रेमपूर्ण तरिकाले कुरा गर्न थाली, जुन उसको अनुहारबाट तप्पतप्प चुहिरहेको थियो । सलीम शिर झुकाएर उसको कुरा सुनिरहेको थियो । जब सोसनको कुरा सकियो, सलीमले उसका तर्फ दुःखी अनुहारले हेर्यो र भन्यो, ‘धेरै राम्रो, म चिनारको रूखमुनि प्रतीक्षा गर्नेछु ।’

यति भनेर ऊ आफ्नो ठाउँबाट उठ्यो र बगैँचातर्फ लाग्यो । केही मिनेटपछि दुलही पनि उठी र पाहुनाहरूका नजरबाट जोगिदै अँध्यरोको पर्दामा बाहिर निस्किई । ऊ फर्कीफर्की पछाडि हेर्दै जाँदैथिई । ऊ त्यो हरिणजस्तै दौडिरहेकी थिई जुन हुँडारको झुण्डबाट बचेर दौडरहेकी होस् । अन्ततः ऊ चिनारको रूखमुनि पुगी, जहाँ सलीम, त्यो नवयुवक उभिइरहेको थियो । जब उसले नवदुलहीले उसलाई देखी, युवकलाई अँगालो हाली र उसको आँखामा आँखा जुधाएर दुःखले भरिएको आवाजमा भनी, ‘सुन, ए मेरा प्यारा, ध्यानपूर्वक सुन, म आफ्नो मूर्खता र हतारोका कारण ज्यादै लज्जित छु । ए सलीम, शरमले मेरो हृदय छियाछिया भएको छ । म तिमीलाई मुहब्बत गर्छु, तिमीबाहेक म कसैप्रति पनि आशक्त छैन । यो हृदयको अन्तिम धडकनसम्म तिमीबिना अरू कसैलाई म मुहब्बत गर्नसक्ने छैन । मानिसहरूले मलाई भने, तिमीले मलाई बिर्सिइसक्यौ, तिमीले मलाई भुलिसक्यौ । कुनै अर्कै केटीले मलाई यो कुरा सुनाई । मेरो हृदय तिक्तताले भरियो । उनीहरूले मेरो हृदयमा आगो लगाए र झूटा कुराले मलाई परेशान गराए । उनीहरूले मलाई त्यस युवतीका बारेमा सबै बताइदिए, जसको प्रेममा तिमी परेपछि मलाई घृणा गर्दै मलाई त्यागेका थियौ । त्यस बोक्सीले ममाथि जुलुम गरी, मेरो प्रेम, मेरो मुहब्बतलाई तहसनहस पारिदिई र त्यसपछि मात्र म एक जना मानिसलाई मेरो पति बनाउन तयार भएँ । तर ए सलीम, मेरो पति तिमीबाहेक अरू कोही हुँदैन, हुनै सक्दैन र अब … यतिबेला… ठीक यतिबेला मेरो आँखाबाट त्यो पर्दा हटिसकेको छ । मैले गर्न लागिरहेको घनघोर पापले मलाई पोल्न लाग्दैछ । त्यसैले म तिमीछेउ आइपुगेकी छु । ताकि म तिम्रो अँगालोमा आफूलाई छाडिदिऊँ, संसारको कुनै शक्तिले मलाई त्यस मानिसको अँगालोमा लैजान नसकोस्, जसको कब्जामा मलाई जबरजस्ती पुर्याइएको छ, उसकहाँ म पुग्न नसकूँ । तिमीलाई देखाइदिन भनेर मैले त्यस मानिसलाई मैले झूटो पति बनाएँ, ती फूलहरू जुन मलाई मौलवीले दिएका थिए, त्यो शरियत, जसलाई मैले रूढीका बन्धनबाट लाचार भएर मञ्जुर गरेकी थिएँ र अन्य सबै कुराहरूलाई मैले त्यही घरमा छाडेर आएकी छु, ती रक्स्याहाहरूको घरमा छोडेर आएकी छु । म तिमीसामु आएकी छु ताकि तिमीसँग कुनै अर्को देश भाग्न सकूँ । हामी संसारको कुनै अर्कै भागमा जाऔँ, भूतको बस्तीमा पुगौँ, मृत्युको कब्जामा परौँ वा जे सुकै भोगौँ तर मेरो प्यारो सलीम, चाँडो गरौँ । रात्रिको यो अँधेरोको पर्दामा हामी यो घरबाट निस्कौँ । समुद्र किनारमा जाऔँ र जहाजमा चढेर दूरको कुनै उजाड र अन्जान शहरमा पुगौँ । आऊ, अहिल्यै जाऔँ ! बिहान हुनुभन्दा अघि नै हामी दुश्मनको चंगुलबाट निक्लेर भागौँ । हेर त हेर, यी मेरा सुनका चुरा हेर त ! यो हार हेर, यो औँठी र यी जवाहरात हेर, यी सबै कुरा हाम्रा आगामी दिन बिताउनका लागि काफी हुनेछन् र हामी धनीझैँ जीवन बिताउन सक्नेछौँ… । अरे ! तिमी किन बोल्दैनौ सलीम ? मतिर किन हेर्दैनौ ? मलाई किन चुम्दैनौ ? के तिमीले मेरो हृदयको विलाप सुनिरहेका छैनौ ? मेरा आँशु देखिरहेका छैनौ ? कि तिमीलाई मप्रति विश्वास छैन ? मैले मेरा दुलाहा र आमा-बालाई छाडेर दुलहीकै पहिरनमा भाग्न तयार भएकी मेरो विश्वास छैन तिमीलाई ? भन न भन, यो क्षण हिराका कणभन्दा पनि अनमोल छ, कुनै बादशाहको ताज भन्दा पनि अहम् छ । तिमी किन बोल्दैनौ ?’

दुलही छिटोछिटो कुरा गरिरहेकी थिई । उसको आवाजमा एउटा यस्तो गीत भरिएको थियो, जसमा जिन्दगीका खराबीभन्दा बढी क्लेशले भरिएको, मृत्युको मागभन्दा बढी दर्दनाक र सागरको लहरका ज्वारभन्दा बढी गहिरो थियो । यो गीत उसको आत्माको आशा र निराशा, सुख र दुःख, खुसी र हैरानीका बीच झुलिरहेको थियो ।

नौजवान सलीम उसका कुरा सुनिरहेको थियो । उसको मनमा प्रीति र सज्जनताका बीच संघर्ष चलिरहेको थियो- त्यो प्रीति जुन कठिनाईलाई सहज बनाइदिन्थ्यो र अँधेरोलाई उज्यालोमा परिवर्तन गर्न सक्थ्यो, त्यो सज्जनता, जुन मनुष्यका अगाडि उसको इच्छाहरूलाई रोक्दथ्यो, त्यो प्रीति जसलाई भगवानले हृदयमा उतारेको थियो र त्यो सज्जनता जुन दिमागसँग सम्बन्धित थियो ।

केहीबेरसम्म उसले मौनताका साथ ती अँधेरो दिनहरूझैँ अनुहार बनाइरह्यो, जुन अँधेरा दिन राष्ट्र उत्थान र पतनको बेला हुने संघर्षका बेला देखिन्छ। त्यसपछि उसले शिर उठायो । उसले वासनामाथि सज्जनताले विजय पाइसकेको थियो । उसले त्यस डरपोक र बेचैन युवतीलाई हेर्यो र भन्यो, ‘ए स्त्री, जा तँ आफ्ना पति भएठाउँ जा ! प्रकृतिलाई यही स्वीकार छ । चाँडै तँ आफ्नो खुसीको संसारमा जा, कुनै दुश्मनको नजरले तँलाई पक्डनुअघि नै तँ जा र तँलाई कसैले प्रथम रातमा नै बेइमानी गरेको आरोप लाग्नुअघि नै तँ जा, जसरी उसकी मुरब्बी (प्रेमिका)ले विरहका दिनहरूमा उससँग घात गरेकी थिई, त्यसैगरी तँ फर्की ।’

सलीमको कुरा सुनेर दुलही काँपी र यसरी बेचैन भई, जसरी ओइलाएको फूल हावाको झोँक्काका कारण हल्लिने गर्छ । त्यसपछि पीडायुक्त स्वरमा उसले भनी, ‘जबसम्म ममा अन्तिम श्वास बाँकी रहन्छ, म त्यस घरमा फर्केर पनि जान्नँ, म त्यहाँबाट सधैँका लागि निस्केर आएकी हुँ । मैले उसलाई र त्यहाँको हर चिजलाई त्यसरी नै छाडिदएकी छु, जसरी एउटा कैदी जेलबाट भाग्दा छाड्ने गर्छ । तिमी मलाई आफूबाट टाढा नबनाऊ र मलाई बेइमान हुँ नभन । किनभने त्यो प्रेम, जसले मेरो आत्मालाई तिम्रा आत्मासँग जोडिदिएको छ, त्यो त मौलवीको हातभन्दा बढी कता हो कता शक्तिशाली छ । जसले मेरो शरीर मेरा दुलाहाको कब्जामा पारिदिएका छन् ती ईश्वरका वचनभन्दा तिमीसँगको बन्धन शक्तिशाली छ। मलाई आफ्नो अँगालोमा बेर्न देऊ, जसलाई कुनै शक्तिले पनि छुटाउन नसकोस् । आऊ, हामी यसरी जोडिऔँ, मृत्युले पनि एकअर्कालाई छुटाउन नसकोस् ।’

सलीमले निकै जोड लगाएर उसले हालेको अँगालोलाई छुटाउन खोज्दै भन्यो, ‘तँ मसँग टाढा जा ए स्त्री ! मैले तँलाई छाडिदिएँ, त्यागिदिएँ । मैले तँलाई घृणा गरेर अरू कसैसँग प्रेम गर्न थालिसकेँ । मानिसहरू त्यसै भन्दैनन्, के तैँले त्यो सुनेकी छैनस् र ? मैले तँलाई भुलिसक्ने हदसम्म त्यागिसकेँ । मैले तँलाई यतिसम्म घृणा गरेँ कि मलाई तेरो अनुहारसम्म याद छैन । मबाट तँ परै हट् र मलाई मेरै बाटो जान दे । तँ आफ्नो पतिकै ठाउँमा फर्केर जा र उसको इमान्दार पत्नी बनेर बस् ।’

दुलहीले चिच्याउँदै भनी, ‘नाइँ प्यारा नाइँ ! म तिम्रो कुरा पत्याउन्नँ, पत्याउन सक्दिनँ । तिमी मलाई प्रेम गर्थ्यौ । मैले तिम्रो आँखामा प्रेम देखेकी थिएँ र जब कुनै बेला तिमीले मेरो शरीर छोएका थियौ, तिमीले शरीर होइन त्यो बेला मेरो प्रेम छोएका थियौ । तिमी मलाई प्रेम गर्छौ, प्रेम गर्छौ, प्रेम गर्छौ, जसरी म तिमीलाई प्रेम गर्छु । म यो ठाउँबाट तिमीबिना हट्दै हट्दिनँ र त्यो घरमा म जाँदै जाँदिनँ । मेरो इरादा पक्का छ र म तिमीछेउ भाग्न सकूँ भनेर आएकी हुँ । हामी कुनै अर्कै देश जाऊँ, त्यसैले मेरो अघिल्तिर हिँड, मलाई पछि लगाऊ । त्यसो गर्दैनौ भने मेरो घाँटी दबाइदेऊ र मलाई यहीँ मारिदेऊ ।’

सलीमले पहलेको भन्दा ठूलो स्वरमा भन्यो, ‘ए स्त्री, मलाई छाडिदे, नत्र म ठूलोठूलो स्वरले चिच्याउनेछु र ती पाहुनालाई यहाँ भेला पार्नेछु, जो तेरो बिहेको खुसी मनाउन आएका थिए । त्यसपछि के हुन्छ ? तिनले तेरो फोहोरी व्यवहार देखेर तँलाई भएनभएको फतुर लगाउने छन् । केही त सोच, त्यो स्त्री पनि त तेरा सामु उभिनेछे, तेरो हार र आफ्नो जीतमा कुटिल तरिकाले मुस्काउने छे ।’

यसो भनेर त्यस नौजवानले दुलहीको हात पक्डियो ताकि उसले बेरेको हात फुकाउन सकोस् । हात फुकाउने प्रयास गर्दैगर्दा दुलहीको अनुहारको रङ बद्लियो । उसका आँखा राताराता भएर आए । उसको प्रेम र विवशता रिस र पाषाणतामा बद्लियो । उसले चिच्याउँदै भनी, ‘म पनि हेरूँली, को रहिछ त्यो ? मेरो मृत्युपछि फाइदा उठाउन खोजिरहेकी को रैछ ? मेरो हृदयको साटो कुन चाहिँ त्यो हृदय रहेछ, जसले तिम्रो ओठको चुम्बनमा खुसी महसुस गर्दिरहिछ !’

यसपछि उसले आफ्नो कपडाको गजुल्टोबाट एउटा तिखो छुरी निकाली र बिजुलीगतिमा त्यस सलीमको छातिमा घोपिदिई । सलीम यसरी जमिनमा बजारियो, जसरी आँधिका कारणले रूखको हाँगो भाँचिएर ढल्छ । दुलही सलीम नजिक छुरी लिएर उभिएकी थिई । उसको छुरीबाट रगत चुहिरहेको थियो । नौजवानले आँखा खोल्यो, त्यो आँखा मृत्युको छायाँमा पुग्नै लागेको थियो । उसको ओठ हल्लिन थाल्यो र उसको मुखबाट सुस्त स्वरमा आवाज निस्कन थाल्यो, ‘ए मेरी हृदयकी मालिक्नी, अब म नजिक आऊ । म नजिक आऊ र मलाई छाडेर नजाऊ । जिन्दगी मृत्युभन्दा कमजोर छ र मृत्यु प्रेमभन्दा कमजोर छ । सुन त, आफ्ना जन्तीको ठट्टा सुन ! रक्सीका प्लायाको झन्कार सुन ! तिनको हल्ला, खुसी र झन्कारले दिने पीडाबाट तिमीले मलाई मुक्ति दियौ । तिम्रो हात देऊ, म त्यसलाई चुम्छु, जसले मेरा सारा बन्धनलाई तोडिदियो । तिमीले मेरो ओठ चुम्नू, जसले तिमीसँग झूटा कुरा गरेको थियो र मेरो हृदयको रहस्यलाई लुकाइराखेको थियो । मेरा आँखालाई आफ्ना औँलाले बन्द गरिदिनू, जुन मेरो रगतले रंगिएका छन् र जब मेरो आत्मा शरीरको पिँजडा छाडेर उडेर जानेछ, त्यो बेला यो चक्कु मेरै छेउमा राखिदिनू र मानिसहरूलाई भनिदिनू, यो मानिसले निराशाका कारण आत्महत्या गर्यो । म तिम्रै प्रेमी थिएँ र तिमीबिना कसैसँग मैले जीवनमा प्रेम गरिनँ । तर मेरो हृदयको सज्ज्नता र असलपनाले तिमीलाई भगाउने वा आफैँ भागिजाने स्वीकृति दिएन । ए मेरी प्राण, कसैले मेरो लाश देखेर झुम्मिनुअघि नै तिमी मलाई चुम्बन गर, मलाई चुम ।’

यति भनेर उसले आफ्नो बदनाम हृदयमा हात राख्यो र उसको गर्धन एकातिर ढल्कियो । ठीक त्यही बेला उसको आत्माले जिउ छाड्यो ।

दुलहीले शीर उठाई र घरतिर हेरी । त्यसपछि चिच्याई, ‘अरे, कोही छ ? यता आओ, चाँडो आओ । यो दुलाहा र यो दुलही.. यहाँ चाँडो आओ । ताकि म तिमीहरूलाई नरमनरम ओछ्यान देखाउनेछु । जो सुतिरहेको छ, उसलाई उठाओ र जो बेहोस छ, उसलाई होशमा ल्याओ । सबैसबै जना आओ ताकि म तिमीहरूलाई प्रेम, जिन्दगी र मृत्युको रहस्य खोलेर देखाऊँ ।’

दुलहीको पुकारा सुनेर घरका कुनाकुनाबाट मानिसहरू आए । उनीहरूको मन र शरीरमा अझै घरभित्रको मस्ती बाँकी नै थियो । उनीहरू खुसीमा अझै झुमिरहेका थिए । कानमा रमाइलो गुञ्जिरहेकै थियो । जब उनीहरूले दुलहीको चिच्याहट सुने, उनीहरूको आत्मा काँप्यो । एक क्षण त उनीहरू के भयो भनेर सोच्न पनि भ्याएनन्, कतै उनीहरूको कानले धोका त दिएन ? त्यसपछि उनीहरू घरको ढोकाबाट हतारहतार निस्किए। उनीहरू यताउता नजर लगाउन थाले । चाँडै नै उनीहरूको नजर लाश र दुलहीमा पर्यो । कतिपयका लागि यो दृष्टि भयानक थियो र उनीहरू भाग्न थाले । केहीले यो दृश्य हेर्नै सकेनन् किनभने मृत शरीरको छातीबाट भलभली रगत निस्किरहेको थियो । दुलहीको हातमा रक्ताम्य छुरी चम्किरहेको थियो । उनीहरूको बोली बन्द थियो र शरीरभित्र तिनको आत्मा जम्न पुगेको थियो ।

दुलहीले उनीहरूतिर हेरी । उसको अनुहार दुःख र डरका कारण नीलो भइरहेको थियो । उसले चिच्याउँदै भनी, ‘अगाडि आओ ए डरका पुङ हो ! मृत्युको कल्पनाले नडराओ किनभने यो पवित्र हतियार हो, जसलाई तिमीहरूको फोहोरी शरीर र अँधेरो हृदयले छुन सक्दैन । यो नौजवानलाई हेर, यसले बिहेको पोशाक पहिरिएको छ । यो मेरो मित्र र स्नेही हो । मैले यसलाई यस कारण हत्या गरेँ कि ऊ मेरो स्नेही हो । यो दुलाहा हो र म दुलही । हामीले बाटो खोजिरहेका थियौँ तर फेला पारेनौँ किनभने तिमीहरूको मूढता र बन्धनले हाम्रा सारा बाटो बन्द गरिदिएका थिए । आओ, कायर र कमजोर मानिसहरू हो, हामीलाई हेर ताकि तिमीहरूले हाम्रा अनुहारमा ईश्वरका दूत देख्न सक । सुन, ताकि हाम्रो हृदयबाट तिमीहरूको कानमा प्रार्थना पुगोस् । त्यो बोक्सी कहाँ छे ? जसले मेरो हृदयको मानिसका बारेमा मलाई अनेक फतुर सुनाएकी थिई । उसले मलाई छोडिदिएको र भुलिदिएको सुनाएकी थिई । ऊ अरू नै कसैको प्रेमपाशमा पुगेको सुनाएकी थिई र मलाई छोडेको र बिर्सिदिएको सुनाएकी थिई । जब मौलवीले आफ्नो हात मेरो र मंगेतरको शीरमा उठाएको थियो, त्यो बेला त्यो बदमास स्त्रीलाई आफ्नो विजय भएको भ्रम भयो होला । तर त्यो नर्ककी सर्प अहिले कहाँ छे ? म उसलाई भोज खुवाउँछु । ऊ नजिक आओस् र हेरोस् कि उसले मेरो प्रेमिल मानिसको बिहेमा खुसी मनाउनका लागि कसरी भेला गरेकी थिई– अँ, हो मेरो प्रेमिल मानिसको बिहे र त्यस मानिसको बिहे होइन, जसलाई मैले आफ्नो पति बनाएकी थिएँ ।’

‘तिमीहरू मेरा कुरा बुझ्दैनौ तर तिमीहरूले भोलिपर्सि आफ्ना सन्तानहरूलाई बताउने छौ, एउटी बौलाहीले कसरी आफ्नो बिहेको रात आफ्नै स्नेहिल प्रेमीको हत्या गरेकी थिई । तिमीहरूले मेरोबारेमा बताउने छौ र आफ्ना मनले मलाई नै दोषी ठहर्याउने छौ, भन्नु नभन्नु भन्नेछौ तर तिमीहरूका नातिहरूले मलाई नै बधाई दिनेछन् ।’

‘र, ए मूर्ख, तैँले झूट, ढोंग र झुक्याएर मलाई आफ्नो दासी बनाउन खोजिस् । तँ त्यस जातिको नाश हेर, जुन अत्याचारहरूमा उज्यालो खोज्छ, जसले ढुंगाबाट पानी निस्कने आशा राख्छ र मरूभूमिमा फूल फुलाउने इच्छा राख्छ । तँ ती बस्तीहरूलाई हेर, जो आफैँ अन्धो छ र अर्को अन्धोलाई काँध थापेर मूर्खता देखाइरहेको छ । तँ त्यो शक्तिको पुत्ला होस्, जुन हार र चुराहरूका लागि गर्धन र हात काट्छौ । म तिमीहरूलाई माफ गरिदिन्छु किनभने सुखी आत्मा यो संसारलाई त्याग्नुअघि सबैका अपराधलाई माफी दिने गर्छन् ।’

यति भनेपछि दुलहीले छुरी उठाई र हाँस्दै आफ्नो छातिमा घोपी ।

(“द डेफिनिटिभ खलिल जिब्रान” पुस्तकमा संग्रहित “Bride’s Bed”को नेपाली भावानुवाद । )

(स्रोत : साहित्यपोस्ट डट कम)

This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.