~राजेन्द्र पराजुली~
अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित । नाक कहिले थेप्चो प्रतित हुन्थ्यो भने कहिले लाम्चो । अनुहारको रङ्ग पनि कहिले गोरो, कहिले कालो त कहिले गहुँगोरो देखिन्थ्यो ।
मार्बलमा खसेको उनको चस्मा टुक्राटुक्रा भयो । सडकबीच चोकमा राखिएको दशकौँ पुरानो त्यो सालिक निश्चल उभिरहेको थियो । एक्ला शुक्रराजको सालिकमा कुनै परिवर्तन आएको थिएन । हरेक सालको फागुन ७ को छेउछाउमा एक हुल मान्छे जम्मा हुने र बासी भाषण गर्ने क्रम भने जारी थियो । फागुनको पहिलो साता राजनीतिक दलका केही नेताहरु आउँथे र शुक्रराजको सालिक वरिपरि झुम्मिन्थे ।
फूलका माला लगाइदिन्थे, महँगो धूपको बास्ना चलाइदिन्थे । भाषण गर्थे, उही पुरानो कुरा जोडजाड गर्दै नमिलेको शैलीमा । नेताहरुले त्यसो गर्नुभन्दा केही घन्टाअघि नगरपालिकाको एक जना कर्मचारी आउँथ्यो र ठूलो एक बाल्टिन पानीले शुक्रराजको सालिक मज्जाले धुन्थ्यो, सर्फ लगाएर ।
वर्षभरिको धूलोमैलो पखाल्थ्यो । सम्भवतः सबैभन्दा लामो समय ती सहिदको सालिक स्पर्श गर्ने ऊ नै थियो ।
एकाबिहानै सालिकछेउ लास देखेपछि टोलमा हल्लीखल्ली मच्चिएको थियो । सुरुमा १० बजेतिर प्रहरी आएको थियो । सहिद शुक्रराजको सालिकछेउ ढलेको लास कसको हो, कसैले ठम्याउन सकेको थिएन । एक हूल युवादस्ताले उक्त लास घेरेर राखेको थियो । उनीहरुभन्दा पछिल्तिर प्रहरीहरु थिए । युवामध्ये एउटा बोल्यो, ‘गृहमन्त्री कि त राजिनामा दे कि त हत्यारा पत्ता लगा ।’ सोही समुहको अर्को बोल्यो, ‘पीडित परिवारलाई राहत दे, मृतकलाई सहिद घोषणा गर ।’ उक्त लासलाई आफ्नो पार्टीको मान्छे बनाउन साना-ठूला, नयाँ-पुराना सबै दल तँछाड मछाड गरिरहेका थिए ।
त्यो वर्ष तराईमा शीतलहर निकै लामो समयसम्म चलेको थियो । मङ्सिरको पहिलो साता सुरु भएको शितलहर माघको प्रथम सप्ताहन्तको कुनै एक दिन घाम झुल्किएपछि टुङ्गिएको थियो । झन्डै ९ साताको शीतलहरबाट मर्नेको सङ्ख्या ७५ पुगेको सरकारी सञ्चारमाध्यमहरुले घोषणा गरेका थिए ।
मृतकलाई सरकारका तर्फबाट गरिनु पर्ने सहयोगबारे पनि संसद्मा निकै दिन बहस चलेको थियो । सत्ताले एउटा भाउ तोक्थ्यो, प्रतिपक्षले भाउ कम भएको भन्दै संसद् अवरुद्ध गथ्र्यो । यस्तो क्रम झण्डे १० दिन चलेको थियो । तराईवादी भनिएका पार्टीहरु पहाडे भनिएका पार्टीलाई तारो बनाउँथे र भन्थे, ‘तिमेर्को पहाडमा बाढी-पहिरो आएका बेला हाम्ले पनि जानेका छौं ।’
हुलबाट निस्किएको मृतकलाई ‘सहिद’ घोषणा गर्नुपर्ने शब्दले शुक्रराजको सालिक केही हल्लिएजस्तो भयो । केहीबेरमै ‘बेनाम लास’ माथि कुनै एउटा पार्टीको झण्डा ओढाइयो । झण्डा ओढाउन आतुर अरु पनि थिए ।
तर जुन पार्टीको मान्छे बलिया थिए र उपस्थितिको सङ्ख्या बढी थियो उसैले सफलता पायो झण्डा ओढाउन । अब बेनाम लासमा एउटा पार्टीको हक-अधिकार लागिसकेको थियो । उसको मृत शरीरमा कुनै रङ्गले बाहुल्य जमाइसकेको थियो । हूल जम्मा भएको करिव पाँच घन्टाको अवधिमा बेनाम लासले एउटा पार्टीको मान्छे बन्ने अवसर पाइसकेको थियो ।
त्यो पार्टी भर्खरै खुलेको थियो, जसले कुनै पनि खालका चुनावमा भाग लिन पाएको थिएन, तर ३ पटक फुटिसकेको थियो । सुरुमा गैरसरकारी संस्थाको हैसियत बोकेको सो पार्टीले राजनीतिक रुप धारण गर्दै राजधानीमा समेत ठूलै प्रभुत्व जमाइसकेको थियो । त्यो पार्टीले एक वर्षको अवधिमा ६० पटक जिल्ला बन्द र ६ पटक नेपाल बन्दमा सफलता प्राप्त गरिसकेको थियो ।
यसकारण नयाँ-पुराना, साना-ठूला, सत्तामा रहेका वा प्रतिपक्षमा रहेका सबै पार्टी त्यो नवस्थापित पार्टीसँग सशङ्कित हुन्थे । हत्तपत्त विरोध गर्ने हिम्मत गर्दैनथे ।
लासमा पार्टीको झण्डा ओढाउने क्रमसँगै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सोही पार्टीको जिल्ला नेताहरु घटनास्थलमा जम्मा हुन थालेका थिए । भाषण पनि चल्यो केहीबेर । लास बोकेर सहर परिक्रमा गर्ने योजना बन्यो । लासमाथि फूल पनि चढ्न थालिसकेको थियो ।
प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरुले मृतकको नाम सोधे । नाम कसैलाई थाहा थिएन । जन्मस्थान सोधे, त्यो पनि थाहा थिएन । उसका बाबु, आमा, नातागोता कसैका बारेमा पनि थाहा हुने कोही पनि त्यहाँ थिएनन् ।
लासमाथि झण्डा ओढाउने काम भइसकेकाले हकवाला पार्टीसँग मृतकको परिचय मागियो । उत्तर कतैबाट पनि आएन । जिल्लाको ठूलो नेताले स्थानीय नेताहरुसँग मृतकको नाम सोध्यो, कसैले भन्न सकेनन् । जिल्लानेता केही बेर भीडभित्रै हरायो । र, पुनः अर्को दिशाबाट प्रकट हुँदै कड्क्यो परिचय सोध्नेहरुसँग, ‘नाम जे भए पनि, घर जहाँ भए पनि उहाँ हाम्रो पार्टीका कर्मठ कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले क्षेत्रीय तथा जातीय र सङ्घीयताका लागि लड्दालड्दै सहादत प्राप्त गर्नुभयो । त्यसैले छिट्टै अनुसन्धान कमिटी बनाउनुस्, हत्यारा उम्कन नपाओस् ।’
नेताले माग तेर्साएपछि शुक्रराजको सालिक फेरि केही हल्लिएजस्तो भयो । चस्मा खसेको उनको सालिक अलि मैलिएजस्तो देखियो । उनको चस्माहीन आँखा केही चल्मलाएजस्तो महसुस भयो ।
अघिल्लो साँझ भीडन्तमा बन्दुक वा पेस्तोल नभए पनि धारिला हतियार, रड, लठ्ठी प्रयोग भएको देख्नेहरुको भनाइलाई प्रहरीहरु टिपोट गर्दै थिए । राति अबेरसम्म चलेको भिडन्तमा सीमापारिका सुरक्षाकर्मी पनि आएका थिए । तिनले केही मान्छे भ्यानमा हालेर पारीतिरै लगे ।
भीडलाई तितरवितर पार्ने प्रयत्न पनि गरे, हवाई फायर गरे । त्यतिखेरै सालिकछेउ देखिएको उक्त लास हेरेर कुनै प्रतिक्रिया नजनाइ तिनीहरु फर्किएका थिए । भारतको सीमासँग जोडिएको उक्त सहरमा थुप्रै व्यापारीहरु बस्थे । तिनले कमाएको नाफाको निश्चित प्रतिशत ६ महिनामा एक समुहलाई र ६ महिना अर्को समुहलाई बुझाउने गर्थे । अघोषित नियम थियो त्यो व्यापारीहरुले पालना गर्नुपर्ने ।
केही वर्षअघिसम्म त्यसरी व्यापारीसँग पैसा असुल्ने समुह एउटामात्रै थियो । पछि २ वटा भए । केही महिनाअघि अर्को पनि त्यस्तै समुह जन्मिएको थियो, तर त्यसले आफ्नो अस्तित्व देखाउन सकेन, ती समुहका सदस्य अर्को समुहमा विलय भए । एउटा समुहले आफूले ६ महिनाको सट्टा ९ महिना दस्तुरी पाउनु पर्ने दाबी गरेपछि झगडा चर्केको प्रहरीको भनाइ थियो ।
लास वरिपरि बिहान ८ बजेदेखि पार्टीका कार्यकर्ता झुम्मिन आइपुग्थे । ३ बजेतिर जिल्ला नेता आइपुग्थे र सरकारलाई बेस्सरी गाली गर्थे, सत्ता छाड्न दबाब दिन्थे । जाडो याम, दिन छोटो भएकाले ६ बजेतिर लासलाई शुक्रराजको सालिकछेउमै राखेर पार्टी कार्यकर्ता घरतिर लाग्थे । त्यसपछि लास कुर्ने पालो आउँथ्यो प्रहरीको । ३ दिनसम्म यस्तै क्रम चलिरहृयो ।
चौथो दिन त्यस स्थानमा एक जना वृद्ध देखापरे । त्यो नयाँ अनुहार त्यसअघि घटनास्थलमा कहिल्यै देखिएको थिएन । जादु गरेजसरी ती वृद्ध त्यहाँ टप्किए । वृद्धले लास हेरे, लासमाथि चुलिएको फूलको थुप्रो हटाउँदै । फूलबाट नमीठो गन्ध आयो, फूलको दर्दनाक दुर्गन्ध उनले जीवनमा पहिलो पटक अनुभव गरेका थिए । वृद्धले नाक खुम्चाए । तिनको अनुहार अचानक बेग्लै देखियो । यस्तो लाग्थ्यो, उनको शरीरबाट आत्मा केहीबेरका लागि बाहिर निस्कियो र पुनः शरीरमा प्रवेश गर्यो । छोटो समय शिथिल भएका उनी तुरुन्तै तन्दुरुस्त देखिएका थिए ।
घटनाको चौथो दिन एकाबिहानै कसैले वृद्ध भजन शर्मालाई ‘त्यो तिम्रो छोराजस्तो छ’ भनेर सुनाइदिएको थियो । सुरुमा भजनलाई लास भएको स्थानमा जान मन लागेको थिएन, न त त्यो खबरले कुनै दुःख नै लागेको थियो । सहयोगी र सकारात्मक सोचको भजन आफू गइदिँदा घटना किनारा लाग्ने र सर्वसाधारणले बन्द वा त्यस्तैखाले अनावश्यक झमेला बेहोर्न नपर्ने सोचेर घटनास्थल गएका थिए ।
उनले नाक देख्नासाथ छोरो चिनेका थिए । त्यसपछि लासमा झण्डा ओढाउने पार्टीका कार्यकर्ताले वृद्धलाई पनि त्यस्तै झण्डा ओढाइहाले । वृद्धले त्यो झण्डा निकालेर पर मिल्काइदिए । कार्यकर्ताले भजनलाई अगाडि सार्दै केही बोल्न भने । भजनले लामो स्वास ताने र बोल्न थाले ।
‘जहिले यसको जन्म भयो, म त्यही दिनदेखि दुःखी छु । यसको जन्मसँगे मैले मेरी जीवनसाथी गुमाएँ । जबजब यसको उमेर बढ्दै गयो, मेरा दुःख पनि उसैगरी बढ्दै गए । यसले मेरो लुगा, जुत्ता, घडी तथा भात पकाएर खाउँला भनी राखेको चामल पनि चोर्न बाँकी राखेन । म आमबाबुले जस्तै यसले पढेर ठूलो मान्छे भएको देख्न चाहन्थें । यसले १२ वर्षको उमेरमा ३ कक्षामा पढ्दै गर्दा शिक्षक पिटेको थियो । त्यसपछि स्कुल जान बन्द । मेरो सानो सरकारी नोकरीले म एक्लोलाई बाँच्न कुनै गाह्रो थिएन । तर यसले पैसा चोरेर हैरान पाथ्र्याे । अनि बिहान-बेलुका खानकै लागि पनि सापटी खोज्नुपथ्र्यो । त्यसैले मैले यसको नाम ‘सैतान’ राखिदिएको थिएँ । शिक्षकहरुले त्यो नामलाई फेरेर ‘चेतन’ बनाइदिएका हुन् ।
६ वर्षअघि यो सैतान एकाएक बेपत्ता भयो । त्यसपछि मेरा सजिला दिन सुरु भए । मैले कसैकसैबाट सुनेको थिएँ, सैतान गुन्डाहरुको समुहको सदस्य भएको छ भन्ने । स्थानीय व्यापारीहरुबाट हप्ता-महिना उठाउने काम गर्छ भन्ने पनि सुनेको थिएँ । तर यसबारे मलाई कुनै चासो थिएन । कसैले सुनाएकाले मैले सुन्दिएको मात्रै हो । घरबाट यसको अचानक बहिर्गमनले जसरी मेरा सजिला दिन सुरु भएका थिए, अब यसको मृत्युले सहरका सारा मान्छेका सजिला दिन सुरु हुनेछ भन्ने मलाई लागेको छ ।’
वृद्धको बोल्ने क्रम रोकिको थिएन, उनी अरु पनि बोल्न चाहन्थे । भीडभित्रका केही मान्छे कसरी वृद्धको बोली रोक्ने भन्नेबारे उपाय खोज्दै थिए । झण्डा ओढाउने पार्टीको जिल्ला अध्यक्षले वृद्धलाई पहिला हातमा समातेर अलि पर लग्यो, त्यसपछि घाँटी अँठ्याउँदै कानमा बिस्तारै भन्न थाल्यो- ‘मुर्ख बुढा ! तिम्रो छोरा पनि सहिदमा परेपछि १० लाख रुपैयाँ आउँछ । चुप लाग । हाम्रो पार्टीलाई आधा पैसा दिए पनि तिम्रो भागमा ५ लाख रुपैयाँ त आउँछ ।’
शुक्रराजको सालिक बेस्सरी काँप्यो । उनको आँखाको ढकनी बन्द भयो ।
मृत्युको घटनाले पूरै राजनीतिक रङ्ग लिइसकेको थियो । राजधानीमा पनि यस विषयले महत्व पाउन थालेको थियो । पार्टी केन्द्रले सुरुमा चक्का जाम, त्यसपछि बजार बन्द, जिल्ला बन्द गर्न कार्यकर्तालाई निर्देशन दियो । यता जिल्लामा भने द्वीपक्षीय र त्रिपक्षीय बैठक चलिरहेको थियो । सरकार मृतकका परिवारलाई एक लाख दिएर समस्या सुल्झाउन चाहन्थ्यो । तर आन्दोलनकारी युवा मानिरहेका थिएनन् । सहिद घोषणा र १० लाखको अडान तिनले छाडेनन् । कुरो नमिलेपछि पार्टी केन्द्रले मितिसहित नेपाल बन्दको घोषणा गर्यो ।
सरकार बाध्य भयो, देशका सयौं सहिदका सूचीमा ‘चेतन’ नामको नयाँ सहिदको नाम थप्न । संसद् तथा मन्त्रिपरिषद्को सहमतिमा पैसा निकासा गर्ने मन्त्रालयमा टिप्पणी उठ्यो र तत्कालै सदर पनि भयो । आन्दोलनका सबै कार्यक्रम फिर्ता भए ।
शुक्रराजको सालिक गल्र्याम्मै ढल्यो ।
मध्य जाडोको त्यो मौसममा हावाहुरीसहितको पानी पर्न थाल्यो । प्रकृति नै विपरित भएर प्रस्तुत भएको थियो ।
सहिद शब्द र त्यसको अर्थबारे ठूलो चर्चा चल्न थाल्यो, सडकदेखि सदनसम्म नै । नेपाली वृहत शब्दकोशमा लेखिएको सहिद शब्दको अर्थ परिवर्तित परिपे्रक्ष्यमा नमिल्ने ठहर गर्दै संसद्ले शब्दकोशको नयाँ संस्करण सच्याउन नेपाल प्रज्ञा-प्रतिष्ठानलाई आदेश दिने निर्णय गर्यो । संविधानमै पनि कस्तालाई सहिदको दर्जा दिने भन्नेबारे संसद्मा दलहरुबीच सहमति हुन पुग्यो ।
झण्डै दुई महिनापछि उक्त चोकमा दुई वटा सालिक देखिए, समान उचाई र मोटाइमा । एउटा शुक्रराजको नयाँ सालिक र अर्को चेतन नामको नवसहिदको । तर शुक्रराजलाई सालिक बनाउने कलाकारले चस्मा लगाइदिएको थिएन । किन कलाकारले त्यसो गर्यो ? बिर्सेर या जानाजानी ! कसैले पनि कुनै सोधखोज गरेन । कलाकारले शुक्रराजको जस्तै चस्मा नवसहिद चेतनलाई लगाइदिएको थियो । झट्ट हेर्दा चेतन शुक्रराजजस्तो देखिएको थियो ।