समीक्षा : मनोवैज्ञानिक साहित्यस्रष्टा : पोषण पाण्डे

~डा. नारायण चालिसे~

हामी अहिले अतीतलाई बिर्सेर वर्तमानमा रमाउने यान्त्रिक समयमा उभिएका छौं । हिजोका गौरवमा भन्दा वर्तमानका सुगन्धहीन फूलका रमझममा आफूलाई हराउँदै लैजाने आत्मघाती यात्रामा छौं कि झैँ पनि लाग्छ घरि घरि । निश्चय पनि हिजोको भरमा मात्र उभिएर वर्तमानमा अडिन नसकिएला तर अतीतले दिएको आड र भरोसा नै हाम्रो सम्बल पनि हो । एकजना साहित्यस्रष्टा बन्न धेरै समय लाग्छ । व्यक्तिको लगन, अध्ययन, अनुभव, घरपरिवार, भित्री बाहिरी परिवेश, समाज, समय र परिस्थिति इत्यादि धेरै मिलेर एकजना स्रष्टा जन्मिन्छ । समाजका राम्रा आँखा, नराम्रा आँखा, इष्र्या र द्वेष, घृणा, तिरस्कार वा मान सम्मान इत्यादि पनि एकजना स्रष्टाका परिपोषक तत्व हुन् । परिवार र समाजको लगानीबाट जन्मिएको स्रष्टासँग उसको व्यक्तिगत रहर, इच्छाका अतिरिक्त उत्तिकै सामाजिक दायित्व पनि हुने भएकाले नै साहित्यकार सार्वजनिक सम्पत्ति हो, ऊ समाजको हो र राष्ट्रको हो । ऊप्रति राष्ट्रिय दायित्व पनि हुन्छ । समाजले लगाएको लगानीको प्रतिफल स्रष्टाले समाजलाई स्वस्थ सिर्जना दिएर मूल्य तिर्छ पनि । तर, विडम्बना के पनि छ भने त्यो स्रष्टाप्रतिको आफ्नो दायित्वलाई राम्ररी बुझिदिने चेतना वा पहल समाज वा राष्ट्रसँग हुन नसक्दा कतिपय स्रष्टाहरू बिराना बन्दै गएका, जीवित छँदा प्रशंसा गरेर नथाक्ने हाम्रो समाज उसको अवसानको दुई दिनपछि नै अति कृतघ्न बनेका तमाम दृष्टान्तहरू हामीसँग छन् ।

काठमाडौंको मध्यम वर्गीय परिवारमा जन्मिएका पोषण पाण्डे (१९८९–२०४९) नेपाली साहित्यका बिर्सिन नहुने श्रष्टा हुन् । कथाकार विश्वेश्वरप्रसाद कोइरालाबाट थालिएको मनोवैज्ञानिक यथार्थवादी कथा धारामा केन्द्रित रहेर भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल सँगसँगै सुन्दर मनोविश्लेषणात्मक कथा सिर्जना गर्न सफल पाण्डेको योगदान कथा साहित्यको इतिहासमा अग्रणी रहेको छ । स्रष्टाको चरित्र, स्वभाव र उसको सृजनाका बीचको सम्बन्धका बारेमा यसै भन्न सकिँदैन । कसैले भन्छन् प्रायः स्रष्टाको वैचारिक प्रतिबिम्ब उसको सिर्जना हो ।

अर्थात् विचारमा बाँच्ने स्रष्टाले सिर्जनामा विचारको खेती गर्छ । जीवनलाई आफ्नै आदर्श र मूल्यमा चलाउन चाहने साहित्यकार पाण्डे त्यस्तै मौलिक विचारका धनी स्रष्टा हुन् । नयाँ सोच र शैलीमा सिर्जना गर्न रुचाउने उनले त्यसैले पनि व्यक्ति मनोलोकलाई निहार्ने अन्तर्मुखी चरित्रको मनोवैज्ञानिक लेखनलाई रोजे होलान् भन्ने लाग्छ । जीवनमा कहिल्यै आफ्नो बारेमा आफैं प्रचार गर्न अघि नसर्ने भद्र एवं शालीन व्यक्तित्व पाण्डे प्रचारमा नभई कर्ममा विश्वास गर्ने स्रष्टा हुन् । कर्ममा सामथ्र्य भए प्रचारको पछि दौडिनै पर्दैन भनेर मान्ने उनले इतिहासमा एकचोटि कसैको पनि नाम अंकित भइसकेको छ भने त्यसपछि कसैले चाहेर पनि मेटाउन सक्तैन भन्ने धारणा राख्दथे ।

तत्कालीन राजनीतिमा चाकडी गरेकै भरमा पुस्ता दरपुस्तालाई सम्पत्ति जोड्ने समयमा दरबारबाट ‘तिमीलाई के चाहिन्छ ?’ भनेर सोद्धा ‘सबै थोक छ सरकार’ भनेर उत्तर दिन सक्ने उनी त्यसैले स्वाभिमानी स्रष्टा पनि थिए भन्न सकिन्छ । आदर्श विचारका धनी स्रष्टा पाण्डे आफू त आदर्शमै बाँचे र गए तर समाजको चरित्रलाई नबुझेका उनले कर्मले अग्लिएको मानिसलाई पनि कुनै दिन मानिसको स्वार्थले बिर्साइदिन्छ भन्ने कुरा भने बुझ्न पाएनन् । यसरी नै समाज र जीवनका अनेक रूपका सिकार बनेर पनि हामीले आफ्नो कर्तव्य नभुलेरै जानु हाम्रो अर्को विजय हो भन्ने कुरा साहित्यकार पाण्डेको जीवन र उनको अवसानपछिको शिक्षा हो ।

बिएसम्मको औपचारिक शिक्षा आर्जन गरेका मनोवैज्ञानिक कथाकार पाण्डे अंग्रेजी साहित्यका पनि गहन अध्येता थिए । नेपाली साहित्यमा प्रयुक्त मनोवैज्ञानिक यथार्थको थालनी पनि पश्चिमा साहित्यकै देन रहेको परिपे्रक्ष्यमा एकजना पश्चिमा साहित्यको गहन अध्येताले मात्र त्यसप्रति न्याय गर्न सक्थ्यो, सो क्षमता पाण्डेमा थियो । पाण्डेले लामो समयसम्म नेपाल राष्ट्र बैंक र शाही नेपाल वायुसेवा निगममा जागिरे जीवन बिताएका थिए । तत्कालीन नेराप्रप्रका सहसदस्यसमेत बनेर काम गरेका पाण्डेका साहित्यका कथा र कविता विधामा पुस्तकहरू प्रकाशित छन् । सत्र अठार वर्षको उमेरदेखि सिर्जनामा लागेका पाण्डेको पहिलो सार्वजनिक कथा चोर (२०११) हो ।

यसपछि उनका फुटकर र संगृहीत रूपमा सिर्जनाहरू प्रकाशमा आएका छन् । आँखीझ्याल, मानस, हिउँमा परेका डोबहरू, बटवृक्षको उद्घाटन, उनका प्रसिद्ध प्रकाशित कृतिहरू हुन् । पाण्डेको साहित्यकारिताको कदर गर्दै उनलाई एकेडेमी पदक, रत्नश्री पदक, गोरखा दक्षिणबाहु, युगकवि सिद्धिचरण पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार आदिबाट सम्मातिन गरिएको थियो ।

नेपाली साहित्यको एउटा समय थियो जतिखेर श्रीमतीकी बहिनीलाई देख्यो भने ‘भिनाजूको स्वीटर’ भन्ने कथा याद आउँथ्यो । सालीले बुनेको स्वीटर लाउने भिनाजूको अभिलाशामा कतिका जीवन दिबाना बनेर बिते होलान् हेक्का भएन । सायद प्रेम गर्न नजानेकाहरूले पनि भिनाजुको स्वीटर कथा पढेर प्रेमको अभियानमा लागे होलान् । साथै सालीमाथि प्रेमको अधिकारको दाबी गर्ने भ्रममा कतिपय भिनाजुका घरबार पनि बिग्रिए होलान् । र, कति दिदीले आफ्ना बहिनीलाई अनाहकमा शांकाका गहिरा आँखाले हेरे होलान् । कति बहिनीले दिदीलाई आफ्नो प्रेमको बाटोका काँढा पनि सम्झिए होलान् । र भिनाजूको स्वीटरसरी कतिका आशंका र सपना अप्रत्यासित धररर… उध्रिए पनि होलान् ।

अनौठो छ संसारको रीत, आज तिनै विशिष्ट कथाकार पोषण पाण्डेलाई सम्झिने फुर्सद सायद धेरैलाई छैन । पछिल्लो पुस्तालाई त उनी को हुन् भन्ने पनि जानकारी नहुन सक्छ । देवकोटाले सयौं कृति लेखे तर ‘मुनामदनको’ लोकप्रियता अरूले लिन नसकेकैले वा जनताको साहित्य नभएकैले अन्त्यमा देवकोटाले ‘मेरा जम्मै कृति जलाइदिए पनि हुन्छ मुनामदन बाहेक’ भनेर गए भनिन्छ । रिमालले धेरै कृति लेखे तर ‘आमाको सपना’ ले उनलाई अमर बनायो । माधव घिमिरेका अनेकौं कृतिमध्ये ‘गौरी’ ले लिएको उचाइ सायदै अरूले लिएका होलान् ।

त्यस्तै एकजना स्रष्टालाई एउटैमात्र रचनाले पनि अमर बनाएका धेरै दृष्टान्तहरू छन् । मलाई लाग्छ नेपाली साहित्यमा अपेक्षाकृत थोरैमात्र लेखिएको मनोवैज्ञानिक साहित्य र थोरैमात्र स्रष्टामध्येमा परेका पोषण पाण्डेलाई ‘भिनाजूको स्वीटर’ ले बढी नै चर्चित बनाएको हो कि भन्ने पनि लाग्छ । यद्यपि पाण्डेका सबै कृति सशक्त छन् । वटवृक्षको उद्घाटन उनको त्यस्तै विशिष्ट कविता संग्रह हो तापनि ‘भिनाजूको स्वीट’ को जस्तो लोकप्रिय उचाइ कमै रचनाले पाएको हुनुपर्दछ ।

माथि संकेत गरिएजस्तै साहित्यकार, विशेषतः कथाकार पोषण पाण्डेको निर्माणमा पनि अनगिन्ती दायित्वहरू समाज र जीवनले बेहोरे होलान् । त्यसमध्ये उनको साहित्यकार व्यक्तित्वका पछाडि उनको परिवार र विशेषतः उनकी आमा भगवतकुमारी पाण्डेको योगदान थियो भन्ने कुरामा धेरैको ध्यान नगएकै पनि हुनसक्छ । पाण्डेकी आमा त्यो समयकी साहित्यकार हुन् जुन समयमा नेपाली महिलाले कविता लेख्नु भनेको घरपरिवार समाज पनि बिग्रिनु हो भन्ने हाम्रो समाजको धारणा थियो । छोरीबुहारीले घरको चारदिवारीबाट बाहिर आँखा लगाउनु, साहित्य लेख्नु वा अरू कुनै सामाजिक दायित्व बहन गर्न खोज्नु भनेको घरपरिवारको नाक काट्नु हो भन्ने त्यो बेलामै पाण्डे साहित्यकारको रूपमा परिचित रहेकी थिइन् । उनका दुईवटा साहित्यकृतिहरू प्रकाशित रहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव साहित्यकार पोषण पाण्डेमा पर्नुलाई परिवारिक विरासत नै मान्न सकिन्छ । तापनि व्यक्तिभित्रको प्रतिभा र क्षमता नहुने हो भने कसैको बलमा कोही व्यक्ति समाजमा स्थापित हुन सक्ने कुरा भएन । पारिवारिक पृष्ठभूमिबाट संस्कारको रूपमा चेतना र जागरणलाई लिएर आएका पाण्डेले आफ्नो अध्ययन र अभ्यासपछि आफूलाई समाजका सामु साहित्यकारको रूपमा उभ्याएर सशक्त मनोवैज्ञानिक कथाहरू दिएर गए ।

हामी अहिलेको सुविधासम्पन्न समयमा उभिएका छौं । आफूलाई आफ्नै समय र कर्म महŒवपूर्ण लाग्नु स्वाभाविक पनि हो । तर सबैको आफ्नो समय एकपटक आएको कुरा र ऊ आफ्नो समयमा निखरा बन्न गरेको प्रयत्नको पनि उत्तिकै मूल्य छ । र, त्यसलाई त्यही समयका आँखाले हेरिनु आवश्यक छ । हामीले देखेका छौं कतिपय विशिष्ट स्रष्टाहरूको अवसानपछि उनीहरूका उत्तराधिकारी सोही विषयक्षेत्रमा आएको अवस्था छैन तर पाण्डेको अवसानपछि उनकी छोरी डा. ज्ञानु पाण्डेले त्यो विरासत समालेकी छन् । साहित्यका विभिन्न विधामा कलम चलाएकी पाण्डे प्रसिद्ध समालोचक हुन् ।

तर पनि उनले आफ्ना पिताजीको साहित्यिक योगदानलाई आफूले भजाउने चेष्टा गरेको कहीँ कतै संकेतसम्म पाइँदैन । त्यो मात्र होइन उनी एकजना स्रष्टा समाजको व्यक्ति हो भने स्रष्टालाई समाज वा राष्ट्रले नै उसलाई सम्झिनुपर्छ । परिवारका सदस्यले चिनाउने, प्रचार गर्ने अवस्था आउनुलाई दुःखपूर्ण मान्दछिन् । साहित्यकार पिताजीका विषयमा धेरैका भन्दा भिन्न उनको आफ्नो मौलिक दृष्टिकोण छ ।

तपाइँको पिताजी त यो मुलुकको प्रसिद्ध साहित्यस्रष्टा हुनुहुन्छ उहाँको साहित्यिक योगदानबारे किन केही लेख्नुहुन्न ? भनेर कसैकसैले अलि खरो प्रश्न पनि उनलाई गर्ने गरेका छन् । यस्तो बेला उत्तिकै चोटिलो उत्तर पनि छ उनीसँग ‘हो पिताजीको नाम यतिबेला बिर्सिएसरी भइरहेको छ तर के यत्ति प्रश्न गरिदिँदैमा राष्ट्रको स्थापित स्रष्टाप्रतिको उनीहरूको दयित्व पूरा भयो त ? सार्वजनिक व्यक्तित्वसहितको जीवन बाँचेका आफ्ना माता पिताका योगदानबारेमा सन्तानले नै भनिदिनु पर्ने ?

आफ्नै सन्तानले प्रचार गर्नुपर्ने र त्यसरी नै एकजना विशिष्ट स्रष्टालाई परिवारजनले बँचाइरहनुपर्ने ? राष्ट्र वा समाजको कुनै जिम्मेवारी नहुने खण्ड आइपर्नु भनेको ठूलो विडम्बना हो । कुनै पनि स्रष्टालाई मातापिताका विषयमा प्रचार गर्नुपर्ने दिन आइनपरोस् (ज्ञानु पाण्डे, ‘अरूका लागि साहित्यकार पोषण पाण्डे मात्र तर मेरा लागि त जीवनकै प्रेरणापुञ्ज उहाँ’)’ भन्ने ज्यादै गम्भीर विचार डाक्टर पाण्डेको रहेको छ । यस्तै साहित्यकारका परिवारजनले स्रष्टाको नाममा अमूक साहित्यिक संस्था खोल्ने, आत्मप्रशंसामा रमाउने र आफ्नो स्रष्टालाई बँचाइरहन्छौं भन्ने प्रयत्न पनि यसै प्रकृतिको विडम्बना नै हो ।

यी प्रसंग यहाँ यस कारणले मननीय छन् कि एकजना स्रष्टा सधैं राष्ट्रको हो । उसले आफ्नो समयमा दिएको योगदान युगयुगसम्म राष्ट्रको हो । त्यसो हो भने हाम्रो पनि केही दायित्व होला जसलाई हामीले पूरा गर्दै जानु छ । निश्चय पनि ज्ञानु पाण्डेले भनेजस्तै वा ठानेजस्तै एकजना विशिष्ट साहित्यस्रष्टाका विषयमा राष्ट्रले नै सोच्नुपर्छ वा स्रष्टा आफ्नो योगदानले बाँच्नुपर्छ । यदि बाँच्न सक्ने सामथ्र्य राख्दैन, समाज वा राष्ट्रले बँचाउँदैन भने परिवारले बँचाउन खोजेर पनि बाँच्न सक्दैन । त्यसमाथि स्रष्टा व्यक्ति समाजको सम्पत्ति हो । उसप्रति समाजकै दायित्व हुनुपर्दछ ।

त्यतिमात्र होइन पिताजीको उत्तराधिकार लिएर पनि पाण्डेको आफ्नै मौलिक मान्यता, दर्शन र दृष्टिकोण छ । ज्ञानु पाण्डे थप्छिन् ‘आआफ्नो तरिका हो त्यो आफ्नाप्रति श्रद्धा अर्पण गर्ने तर मलाई त्यो तरिका कहिल्यै स्वीकार्य भएन । मैले त्यस्तो तरिका समाइनँ । के गर्नु मलाई संस्कार नै त्यस्तै मिल्यो ‘नानी आफ्नो बारेमा आफैं प्रचार गर्न जीवनमा कहिल्यै अघि नसर्नू’ आबुबा भन्नुहुन्थ्यो सधैं मलाई ( पाण्डे, पूर्ववत्)’ हो यसरी पनि आस्था र श्रद्धा गर्न सकिन्छ । सायद यसरी नै श्रद्धा गर्नु उचित पनि हो पिताजीलाई ।

साहित्यकार पोषण पाण्डे सामाजिक परिवर्तनका पक्षधर थिए । प्रगतिउन्मुख चेतना, मनोविश्लेषणात्मकता, अस्तित्ववादी, विसंगतिवादी जीवनदृष्टि, प्रयोगवशीलता पाण्डेका साहित्यगत पहिचानहरू हुन् । उनी अमेरिकी कथाकार ओ हेनरिकको कथाकारिताबाट प्रभावित थिए पनि भनिन्छ ।

। यौनकेन्द्रित कथा लेखेर पनि श्लीलता बचाइराख्नु, प्रगतिवादी चेतना जगाएर निम्न र पिछडिएको वर्गप्रति सहानुभूति प्रकट गर्नु, प्रयोगवादी लेखनमार्फत् अकथात्मकता, बिम्ब र प्रतीकात्मक कथाको प्रस्तुति, प्रयोगधर्मिता जस्ता युगीन रूपलाई सार्वजनिक गर्नु उनको मूल विशेषता रहेको छ ।

बीसको दशकपछि उनका कथामा प्रयोगवादी लेखनको गहिरो प्रभाव परेको छ । यस अवधिका यिनका कथामा अस्तित्ववादी र विसंगतिवादी जीवनदृष्टि पाइन्छ । व्यक्ति जीवनका भोगाइ र अनुभूतिहरू, संगति र सारहीन जीवन, अनपेक्षित जीवनजन्य दुर्घटना र विषमता जस्ता जटिलतालाई कथामा व्यक्त्याउने इच्छा उनका कथामा पाइन्छ । यिनका कथामा विभिन्न खाले शैलीको प्रयोग पाइन्छ । घटना प्रधान सामाजिक कथा तथा चरित्र प्रधान मनावैज्ञानिक कथा, परिवेश प्रधान अकथात्मक कथा, नवीन र प्रयोगशील कथा लेखन, शहरी जीवनका विभिन्न समस्याहरूको वर्णन, मानसिक आघात र प्रतिक्रियाको कलात्मक प्रस्तुति आदि कथाकार पाण्डेका सारभूत विशेषता हुन् ।

यी विशिष्ट स्रष्टा जसको तीन पुस्ताले नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर योगदान गर्दै आएको छ त्यसलाई चानेचुने मान्न मिल्दैन । एकातिर हामी यसरी साहित्यका माध्यमले सामाजिक योगदान दिइरहेको पाइरहेका छौं भने अर्कोतिर अमूक साहित्यकार कुन वाद वा विचारको हो ? हाम्रो विचारको हो कि होइन ? भनेर पनि समाजमा साहित्यकारलाई चिन्ने र चिनाउने प्रचलन हाम्रो समाजको सामाजिक रोग नै बनेको अवस्था पनि छ । तर, मेरो विचारमा साहित्यकार हुनु भनेको साहित्यकार हुनु नै हो । साहित्यभन्दा अतिरिक्त लेखेर पनि साहित्यकार भइरहनुपर्ने सामाजिक रोगबाट साहित्यलाई मुक्त नगरेसम्म स्वच्छ साहित्यको विकास हुँदैन जस्तो लाग्छ । अरू नै कुरा लेख्ने र साहित्य भन्ने तर साहित्य र साहित्यकारलाई साहित्य नमान्ने विकृतिको चपेटाबाट साहित्यलाई मुक्त गर्नैपर्छ ।

यस्तो बेला हामीले एकै स्वरमा भन्ने कुरा के हो भनेँ अतीत बिर्सेर वर्तमानमा रमाउने हाम्रो अदूरदर्शी व्यवहार र आचरणले हामी आफ्नो गौरवमय इतिहासमबाट टाढिँदै गइरहेका छौं । धागो चुँडिएको चङ्गासरि उडिएको यो हाम्रो उडानको गन्तव्य सारै अनिश्चित छ । हाम्रो उडानलाई सही गन्तव्यमा लैजाने गरी उडौं । सुरक्षित गन्तव्य र अवतरण रोजौं । अतीतको योगदान, ती विशिष्ट स्रष्टाहरू र तिनका साहित्यिक सन्देशलाई शिरोधार्य गर्दै वर्तमानलाई सुन्दर साहित्य प्रदान गरौं भन्ने नै हो ।

(स्रोत : ईहिमलयटाइम्स डट कम)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.