~सङ्कलक: इमानसिंह चेम्जोङ~
‘फिरु लाप्चा’को कथनअनुसार सिक्किमस्थित एउटा पहाड एकताका संसारको सबभन्दा अग्लो पहाड थियो । यसको कथा यस प्रकार छ –
आजकाल सिक्किम नामले प्रसिद्ध देशको नाम उहिले मयेल नेल्याङ थियो । पल्लो किरातमा पर्ने यस प्रदेशमा दुईवटा पहाडहरू छन्, जसलाई मानिसहरू दिदी र भाइ भन्छन् । दिदीको नाम मनोम र भाइ चाहिँको तन्डोङ हो ।
एक समय यी दिदीभाइका बीच आपसमा को बढ्ता अग्लो हुन सक्छ भन्ने प्रतियोगिता चल्यो । दुवै जना सकेसम्म तन्किन थाले । घरी दिदी आग्लो, घरी भाई अग्लो हुँदै गए । मनोमले भनी – ‘म कञ्चनजङ्गाभन्दा पनि अग्लो हुन सक्छु । ’
त्यस्तै तन्डोङले भन्यो –‘ सारा जगत्लाई पानीले डुबाउँदा पनि नडुब्ने सबभन्दा ठूलो बन्न सक्नुपर्छ, त्यसो हुन म सक्छु । ’
यसरी ती दुवै दिदीभाइका बीच एक जोडदार तँछाडमछाड चल्दै गयो ।
एकातिर संसारमा सबभन्दा अग्लो बन्ने प्रतिस्पर्धा चल्दै थियो, अर्कोतिर दक्षिण समुद्र बढ्दै आयो । नदीहरू सबका सब उल्टो शिर गरी बग्न थाले ।
तन्डोङ दक्षिणपट्टि थियो – तेर्सो रूपमा । मनोम थिई – उत्तरपट्टि ।
दुवै जना अंँगालिँदै गइरहेका थिए । समुद्रको पानी बढ्दैबढ्दै ससाना पहाडलाई डुबाउँदै लैजान थाल्यो । बिस्तार–बिस्तार ठूलठूला पहाडहरू पनि त्यस पानीमा डुब्दै जान थाले । केवल कञ्चनजङ्गा, मनोम र तन्डोङ डुबिसकेका थिएनन् । मनोम विशेष रुपले निस्फिक्री अग्ँिलदै गइरहेकी थिई । हेर्दाहेर्दै समुद्रको अपार जलराशिमा बिचरो कञ्चनजङ्गा पनि डुब्यो । मनोम र तन्डोङका बीचमा झन् हानाहान चल्न थाल्यो । समुद्रको पानी पनि झन्झन् विकराल रुपले बढ्दै आयो । आखिरमा ती दुई दिदीभाइमध्ये त्यस प्रलयकारी समुद्रको पहिलो सिकार बिचरी मनोम बनी ।
भाइ तन्डोङ डुब्न बाँकी नै थियो, तर यतिकैमा समुद्रको पानी बढ्न छोडयो । समुद्रको त्यस भीषण आक्रोशमा परेर अनेक जीवजन्तुहरूको सत्यनाश भएको थियो । तर जुनजुन प्राणी तन्डोङका शरणमा थिए ती भने बच्न सके ।
यसरी सिक्किमको तन्डोङ पहाड एकताका संसारमा सबभन्दा अग्लो भएर प्राणीहरूको रक्षक बन्यो ।
इमानसिंह चेम्जोङ (१९६१-२०३३) इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद हुन् । आजीवन किराँत भाषा, संस्कृति, साहित्य, कला, दर्शनको उत्थानमा समर्पित चेम्जोङ युगपुरुष मानिन्छन् ।
(स्रोत : शब्दसोपान डट कम)