संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘

~डम्बर थामी ‘अनुपम’~

” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स

उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । कठोर भन्दा कठोर संघर्षको कारणले गर्दा निरंकुश व्यवस्थाहरु पनि जरैदेखि उखेलेर फालिएका इतिहास छन् । फाल्न सकिन्छ । निरन्तर संघर्षले गर्दा वादशाहलाई पनि घोडाबाट भूईंमा खसालिएका छन् । खसाल्न सकिन्छ । र देशमा जनताको सर्वोत्तम स्थिति बसाल्न सकिन्छ । कमरेड मार्क्सकै भनाइमा ” प्रयास गरेको खण्डमा संसारमा असंभव भन्ने चीज केही छैन ।” जस्तैः अन्तरीक्षमा मान्छे पनि चरा जस्तै उड्नु । मंगल ग्रहको अध्ययन गरेर पानी पत्ता लगाउनु । मानव बस्तीको संभावनाको अध्ययन गर्नु । अनन्त तारामण्डलहरुको अध्ययन गर्नु । मरुभूमिमा अन्न फलाउनु । समुद्रमा खेतीपाती गर्नु । अन्तरदेशीय ब्यालेस्टिक मिसाईलहरुको आविष्कार गर्नु । नदीलाई उल्टो दिशातिर बगाउनु । आवाजको गति भन्दा पनि छिटो उड्न सक्ने हाईपरसोनिक प्लेन बनाउनको लागि अनुसन्धान गर्नु । आदि कुराहरू असंभवको बीचबाट नै संभव भएको हो । र ज्ञान बिज्ञानका आश्चर्यजनक चमत्कारिक आविस्कारहरु पनि । यसै प्रसंगमा संस्कृत शिक्षाको एउटा श्लोकमा भनिएको छ : ” नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा: ” अर्थात (सुतिरहेको सिंहको मुखमा शिकारहरु आफैं आएर पस्दैनन ।) भनाइको मतलब अथक परिश्रम, विरोध र विद्रोह नगरी अधिकार पनि कदापि प्राप्त हुन सक्दैनन् ।

” केही चीज पाउनको लागि केही चीज गुमाउनैपर्छ । ” रक्तपात र बलिदान बिना क्रान्ति र विद्रोह असम्भव छ । जहाँ संघर्ष हुन्छ त्यहाँ बलिदान हुन्छ । त्यसैले क्रान्तिमा-संघर्षमा संभव र असंभव बीचको द्वन्दबाट गुज्रनु पर्ने हुन्छ । क्रान्ति, विद्रोह, सत्ता प्राप्ति फेरि विद्रोह । द्वन्दको ग्राफ यसरी नै बढिरहन्छ । जबसम्म सर्वहारावर्गको सत्ता स्थापना हुँदैन यसरी नै द्वन्दको (संघर्षको) ग्राफ अन्त्य हुँदैन । यो वर्तुलाकारमा घुमिरहन्छ । हो ! यसरी नै २०४० साल माघे सक्रान्तिमा सिन्धुपाल्चोक जिल्लाको पिस्कर महादेवस्थानमा जम्मा भएर न्यायप्रेमी जनताले विद्रोहको सशक्त आवाज घन्काउँदा तत्कालीन फासिष्ट पन्चायती व्यवस्थाले क्रूर, बर्बर हमला गरेको थियो । दमन गरेको थियो । सोझासिधा, इमानदार, कर्तव्यनिष्ठ थामी समुदायको बाक्लो बस्ती भएको त्यो इलाकामा तत्कालीन ने.क.पा. (मा-ले) ले आफ्नो संगठन विस्तार गरेको थियो । जनतालाई क्रान्तिको पाठ पढाएको थियो । २०४० साल पौष ३० गते राति नाटक खेल्ने, नाचगान गर्ने (साँस्कृतिक कार्यक्रम गर्ने) र सभा पनि गर्ने कार्यक्रम थियो । कार्यक्रममा तौथली, टेकनपूर, पिस्कर, धुस्कुन, चोकटी, कर्थली, घोर्थालीदेखिका जनताहरु आएका थिए । धेरै जसो जनताहरु ने.क.पा. (मा-ले) को संगठनमा आवद्ध थिए । त्यो कार्यक्रमको बारेमा पन्चायती व्यवस्था विरोधी कार्यक्रम भनेर स्थानीय सामन्तहरु देवीजंग पाण्डे लगायतले थाहा पाईसकेका थिए । ने.क.पा. (मा-ले) का केन्द्रीय नेताहरू समेत उपस्थित भएर पन्चायत विरोधी कार्यक्रम गर्न लागेको कुरा तत्कालीन मन्त्री पशुपति शमसेर राणा समक्ष पुगिसकेको अवस्था थियो । पशुपतिशमशेर राणाले अन्चलाधीश कार्यालयलाई उग्रवादी कम्युनिस्टहरुले आक्रमणको तयारी गरिरहेका भनी त्यसलाई दबाउन निर्देशन दिएका थिए ।

उनले निर्देशन दिएपछि दुई सय भन्दा बढी बर्दीधारी पुलिसहरु केन्द्रबाट खटाएर पिस्कर महादेवस्थानलाई रातारात घेरा हालिएको थियो । र बिहानीपख जब जून अस्तायो । तब पुलिसले चारैतिरबाट आक्रमण गरेको थियो । पिस्कर महादेवस्थानमा चारैतिरबाट गोली वर्षीएपछि जनताहरु तितरबितर भए । अधिकांशले त ढुंगामुढा गर्दै पुलिसको घेरा तोडे । तातो गोलीका विरुद्ध ढुंगामुढा गरेर जनताहरुले सशक्त प्रतिरोध गरे । प्रतिरोधकै क्रममा वीर बहादुर थामी र ईली थामीलाई गोली लागेर ढले । जगत बहादुर बोहरा, पाल्कमाया थामी, सोनाम तामाङ सख्त घाइते भए । उनीहरूलाई घाइते अवस्थामै गिरफ्तार गरियो । साथै अरु दर्जनौं निर्दोष जनताहरुलाई पनि गिरफ्तार गरियो । र विभिन्न जेलमा कोचेर राखियो । त्यो घटनापछि पिस्कर र धुस्कुनमा स्वीप अप्रेसन चलाईयो । गाउँलेहरुलाई आतंकित पारियो । युवाहरू डराएर सबै धूलिखेलतिर गएर लुके । नेताहरु पनि दोलखा, रामेछाप र सिन्धुलीतिर गएर लुके । गाउँ सुनसान भयो । स्थिति अत्यन्तै बिकराल बन्यो । मन्दिरमा लागेको मेलामा पुलिसले दमन गरेर मान्छे मारेको घटना त्यस अघि नेपालमा कहिल्यै भएको थिएन । त्यो पन्चायती व्यवस्थाको क्रूर दमनको एउटा निकृष्ट उदाहरण थियो । शासकहरुको हत्या र दमनको नांगो नाच थियो । पिस्कर हत्याकाण्डपछि वरिष्ठ पत्रकार गोविन्द वियोगी र किशोर नेपाल घटनास्थलमा पुगेर रिपोर्टिङ गरेका थिए । विभिन्न पार्टीका नेताहरूले पनि घटनाको घोर भर्त्सना गरेका थिए । यो हत्याकाण्ड अन्तर्राष्ट्रिय जगतमा पनि फैलिएको कारणले पन्चायती सरकार पछि हटेको थियो ।

यसरी इतिहासको कालखण्डमा पिस्कर हत्याकाण्डले मुख्यतः थामी जातिमा विद्रोहको झिल्का उठायो । अधिकारको लागि संगठित भएर लड्नुपर्दोरहेछ भन्ने भावना जागृत गरायो । थामी जातिहरु गाउँ, टोल, छिमेक, जिल्ला-जिल्लामा संगठित हुन पुगे । २०४२ सालमा हाम्रो गाउँ लापिलाङ (कुराथली) मा जगतमान थामी अध्यक्ष र चुन बहादुर थामी सचीव रहने गरी निको थामी सेवा समिति नामको तदर्थ समिति बनेको थियो । त्यसले थामी समुदायलाई संगठित गर्ने ठूलो काम गर्‍यो । (सायद इतिहासमा थामी जातिको पहिलो राजनीतिक संगठन त्यही नै थियो होला !) । यो संगठनले पनि भूमिगत रुपमा धेरै नै सक्रिय भएर काम गर्‍यो । पिस्कर हत्याकाण्ड भएको छ वर्षपछि २०४६ सालमा जनआन्दोलनको बलले देशमा बहुदल आयो । त्यसपछि वाक स्वतन्त्रता भएपछि निको थामी सेवा समितिको जिल्ला भेलाले फराकिलो दायरा बनाउँदै लग्यो । धेरै ठाउँमा संगठन पनि बनायो । नेपाली कांग्रेस समर्थित निको थामी भूमे संघ पनि बन्यो । जसको अध्यक्ष गोपिलाल थामी थिए । यी जातीय संगठनहरुले राम्रै काम गरे । नेताहरूलाई भोट हालेर जिताएर पठाए । पछि दुबै संगठनहरु कता बिलाए थाहा भएन । त्यत्तिकै हराएर गयो । त्यसपछि २०५२ सालमा जनयुद्ध शुरु भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा थामी समुदायहरु संगठित हुँदै गए । र दर्जनौं थामी जातिहरु मुक्ति या मृत्युको शपथ खाएर जनयुद्धमा लामवद्ध भए । पिस्कर हत्याकाण्डका वीर सहिद वीर बहादुर थामीका छोरा पनि जनयुद्धमा लामबद्ध भए । पुनः २०५६ साल मंसिरमा साबिक लापिलाङ गा.वि.स. वडा नं ८ लेप्टुङमा चुन बहादुर थामीको संयोजकत्वमा थामी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल को तदर्थ समिति गठन भयो । र थामी समुदाय लगायत सिंगो सर्वाहारावर्गको मुक्तिको लागि जनयुद्धमा होमियो । थामी राष्ट्रिय मुक्ति मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन २०५९ साल चैत्र २९ र ३० गते दोलखा जिल्लाको लापिलाङ मा.वि. को प्रांगणमा सम्पन्न भयो । सो राष्ट्रिय सम्मेलनले चुन बहादुर थामी अध्यक्ष, चतुरमान थामी उपाध्यक्ष र महासचिव डम्बर थामी भए । र २१ जनाको केन्द्रीय कार्यसमिति बन्यो । यो समितिले जनयुद्धको पक्षमा व्यापक जनमत सृजना गर्ने काम गर्‍यो । र व्यापक जनपरिचालन पनि गर्‍यो । सयौं थामी जातिहरु जनयुद्धमा लामबद्ध भए । त्यही जनयुद्धकै क्रममा २९ जना थामी जातिको रगत बग्यो ।

माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ साल भदौमा दोलखा जिल्लाकै साबिक सुस्पा क्षमावती गा.वि.स. स्थित जिल्लाकै पूरानो स्कुल क्षमावती उ.मा.वि. को प्रांगणमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले पनि चुन बहादुर थामीको अध्यक्षतामा केशर थामी महासचिव, कृष्ण बहादुर थामी सचीव र लक्ष्मी थामी कोषाध्यक्ष रहने गरी २३ जनाको केन्द्रीय कार्यसमिति बन्यो । र विभिन्न शान्तिपूर्ण आन्दोलनहरुमा सहभागी भयो । जनयुद्ध, जनआन्दोलन र शान्तिपूर्ण आन्दोलनमा योगदान दिएको प्रतिफल स्वरुप २०६४ सालको संविधान सभाको चुनावबाट थामी समुदायको पहिलो प्रतिनिधिस्वरुप चुन बहादुर थामीलाई समानुपातिक सांसदको जिम्मेवारी दियो । यसरी इतिहासमै थामी जातिबाट एक मात्र सांसद सिंहदरबार छिर्न सफल भए । यसरी पिस्कर हत्याकाण्डदेखि जनयुद्ध, जन आन्दोलन र शान्तिपूर्ण आन्दोलनसम्म आउँदा पिस्कर हत्याकाण्डबाट उठेको विद्रोहको झिल्कोको निरन्तरता नै हो । अहिले पनि थामी जातिमा आफ्नो हक, अधिकारको लागि लड्नुपर्ने रहेछ भन्ने उच्च चेतना छ ।

20/03/2020 पराईभूमी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.