संस्मरण : अऋणी हुन्छ

~कमल दीक्षित~

कविपुत्र रविचरण र मेरो उमेरमा ठूलो अन्तर छ तर त्यसले हाम्रो मित्रतामा कुनै आँच आएको छैन । हामी दुवै साथी-साथी छाँै । रविजीसँग मेरो मित्रता गाँसिएको ५० वर्ष भयो होला- उनी बुबाको बुई चढ्ने उमेरदेखि नै । पिता सिद्धिचरणको फोटो खिच्न म उहाँको घर पुगेको बेला कविजीलाई एउटा फोटोचाहिँ छोरालाई बोक्न लगाएर पनि खिचेको थिएँ । त्यसलाई मैले कविजीकै ‘यो मेरो छोरा’ भन्ने कविताको एक पङ्क्तिको क्याप्सन दिएका थिएँ- ‘महाकालको दुलोमा अनन्तको पुच्छर’ भन्ने त्यही प्रकरण हो रविजी र मेरो मित्रताको शुभारम्भ । त्यही क्षण सम्झन्छु म रविचरणलाई जहिले भेटे पनि ।

त्यस्ता मेरा तन्नेरी मित्रले ‘बुबाको शतवाषिर्कीका लागि तपाईंको एउटा लेख चाहियो भनेपछि नलेखी
भयो ? तर, फसाद के भने मैले कवि सिद्धिचरणबारे भन्ने, भन्नुपर्ने सबै कुरा २०५८ मा लेखेेका एउटै लेखमा भ
निसकेछु । भन्ने बाँकी क्यै छैन । भए पनि रविजीले भनिसकेपछि केही त क्यै भन्नै पर्‍यो । म त्यसै लेखलाई ‘रिमिक्स’ गरेर केही कोर्ने कोसिस गर्दै छु ।

कवि सिद्धिचरणलाई मैले उपाधि चढाएको रहेछु त्यस अन्ठाउन्न सालको लेखमा उहाँ स्वर्गे भएपछि । नेपाली उपाधिभन्दा अङ्ग्रेजीमा ‘एयिथेट’ -उपनाम) हुन् ती मैले दिएका । किनभने गुणवाचक नभएर ती साधारण विशेषणमात्र हुन् । जस्तै मैले भनेछु- सिद्धिचरण अब युगकवि मात्र नरहेर ‘जनैक नेपाली नागरिक’ भएका छन् । त्यो किन रे भने- ‘ऐले ओखलढुङ्गा सिद्धिचरणको पर्यायवाची शब्द हुन पुगेको छ ।’ अनि मन्जुलको ‘सिद्धिचरणहरू’ पछि त उनको आप\mनै नामसमेत भाववाचक नाम हुन पुगेको छ । मैले भनेको- ‘सिद्धिचरण प्रतिष्ठान नै खुलेको छ’ या ‘जीवितभन्दा अग्ला भएका छन् दिवङ्गत सिद्धिचरणैले त्यो स्पष्ट पार्छ । सम्झेर ल्याउँदा, मान्नैपर्छ यो ‘सिद्धिचरण’ माथि लेख्ने परम्परा पनि कविजीले स्वयम् थालेका हुन् । उनैले लेखे २००६ सालमा यस्तो-

हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आˆनै गीत गाँउछ ।’

अझ त्यसभन्दा पनि अघि कविजी आफँैले आफूलाई गिज्याएर लेखेका थिए- म के हुँ र ? ”दुइटा लट्ठी एउटा ढुङ्गा, ढुङ्गामास्तिर एउटा फर्सी” मात्र हुँ ।

कविजीले त्यसरी आफैँलाई हियाएर लेखेको अरू तत्कालीन नेपाली कविहरूलाई पटक्कै मन परेन र उनीहरूले तत्काल त्यसको प्रतिवाद गरेका थिए- ‘तिमी त्यस्ता होइनौ । तिमी त महान् आत्मा हौ भनेर त्यो प्रतिवाद- अभियानका नेता थिए स्वयम् बालकृष्ण सम । भने उनले- सिद्धिचरण ढुङ्गा र फर्सी होइन उनी त ‘दुइटा खम्बा, बलियो भित्तामास्तिर एउटा छानो’ भएको पुस्तकहरूको आलय हो Û समलाई पच्छ्याउँदै अरू
-कममा पनि दुईजना) तन्नेरी कविले त्यस्तै कुरा भनेको फेलापर्छ ‘भारती’मा देवेन्द्रराज उपाध्याय र विष्णुप्रसाद धितालले सिद्धिचरण अब त आफँै नभएर संस्था भइसकेका छन् भनेर उसैबेला लेखेको पनि निरर्थक छैन । उनका बारेमा यति लेखिएका छन्, यति अध्ययन र सोधखोज भइसकेका छन्, अब सिद्धिचरणका विषयमा केही नयाँ कुरा भन्न सकिन्छ जस्तो लाग्दैन । हेरुँ न ऐले मैले लेखमा पनि नयाँ कुरा केही भन्न नसेकेर पुरानै लेखलाई ‘बासीभात’ पकाइराखेको छु । तर, अब अलिकति नयाँ नै क्यै भनुँ भन्ने जमर्को गर्दै छु । पारिवारिक कुरो ।

मदन पुरस्कार गुठीका सदस्य पनि भए कवि सिद्धिचरण । मदन पुरस्कारमाथि ठूलो श्रद्धा थियो उनको । गुठीका संस्थापक रानी जगदम्बामाथि झन् ठूलो सम्मान थियो । महान् नारी हो उहाँ भन्थे मेरा पिताजीसँग । मदन पुरस्कारका मिटिङहरूमा खाजा व्यवस्था मेरो घरमा हुन्थ्यो र त्यसको सबै प्रबन्ध मेरी पत्नीले गर्नुपथ्र्यो । देवीजीले । ‘देवीजी’ भनेकाले उनी पनि ‘देवीजी’ नै भन्थे- अन्जु दीक्षितलाई । देवीजीले लेखेका कथा गोरखापत्रमा छापिएपछि उनी खुब खुसी भएका थिए । त्यसपछि केदारमान व्यथितजस्तै उनले पनि देवीजीलाई ‘बैन्ही’ भन्ने गरेका हुन् । हामी दुई कविजीको घर पुरानो भन्सारटोलमा धेरैपटक गएका छाँै । पछि, उनी थानकोटमा बस्न थालेपछि उनको दर्शन गर्न त्रिभुवन स्मारक परिसरमा पनि तीन-चारपटकै पुगेका छाँै । देवीजीलाई उनी ‘कस्तो कल्चर्ड’ भनेर सह्राउँथे । तर, अलि पछि देवीजीलाई विस्मृति रोग -अल्जाइमर)ले डसेर उनी थला परेपछि कविजी निकै दुःखमनाउ गर्थे ।

कविजी सिद्धिचरणलाई धेरैले ‘काजीदाइ’ भन्थे । तर, कसो भएर हो मैलेचाहिँ उनलाई कैल्यै पनि त्यसरी बोलाउन सकिनँ । सुरुमा मैले ‘कविजी’ भनेर सम्बोधन गरेका हुँ । अनि अन्त्यसम्म उनी मेरा लागि ‘कविजी’ नै रहे । ‘सिद्धिचरण’जी भनेर मैले कैले उनलाई डाकिनँ, त्यसो गर्नु असम्मानजस्तो लाग्थ्यो मलाई । तर, यति भनिसक्दा पनि मैले सम्झन सकिनँ मैले कवि सिद्धिचरणलाई पहिलो बाजी भेटेको कहाँ हो भन्ने “मलाई कवि सिद्धिचरणसँग भेटाइदिने दुईमध्ये एकजना हुुनुपर्छ ः सम्पादक प्रेमराज शर्मा या वासुदेव लुइँटेल । ती दुवै व्यक्ति सिद्धिचरणका भित्री मित्रजस्तो थिए । तीनैजना गोरखापत्रमा कार्यरत थिए । त्यसैले धेरै सम्भव छ मेरो पहिलो भेट कविजीसँग गोरखापत्र अड्डामै भएको हुनुपर्छ । तर, ठ्याक्कै सम्झेर भन्न सक्दिनँ ।

‘शारदा’ कार्यालयमा मेरा कविजीसँग भेट भएको भए मैले कवि सिद्धिचरणलाई सम्बोधन गर्ने नाम, सायद ‘काजीदाइ’ हुन्थ्यो । त्यो किनभने त्यहाँ सबैले उनलाई सम्मानसाथ काजीदाइ नै भन्थे । अनि त्यही सुनेर म पनि ‘काजीदाइ’ भन्न थाल्थेँ हुँला । तर, गोरखापत्रको कार्यालयमा पहिलोपल्ट भेटेका हुनाले मैले ‘कविजी’ भन्न थालेको हुनुपर्छ । गोरखापत्रमा प्रेमराज पौडेल, पूर्णप्रसाद ब्राहृमण, वासुदेव लुइँटेल इत्यादि सबै उनलाई नाम किटेर सिद्धिचरणजी भनेरै बोलाउँथें । म फुच्चेले भने त्यो गर्नु उचित नदेखेर ‘कविजी’ भन्न थालेको हुँला । सबै मेरा अहिलेको अनुमान हुन्, यिनको कुनै अर्थ छैन, महत्त्व पनि छैन । कविको शतवाषिर्कीका उपलक्ष्यमा निस्कने स्मारिकामा आउनुपर्ने कुरा पनि हैनन् यी । तर, कवि सिद्धिचरणबारेमा मैले लेख लेख्नुपर्ने सबै कुरा माथि भनेको २०५८ सालको ‘सिद्धिचरण स्मृति विशेष’ अङ्कमा ‘हिमाल’मा छापिएको लेखमा भनिसकेको हुँदा अहिले पेज भर्नलाई मात्र मैले यति गन्थन गरेको हुँ । तर, यति गरेपछि मलाई मेरा मित्र रविचरणले अराएको कामबाट म मुक्त हुन्छु । म मित्र ऋणबाट अऋणी हुन्छु ।

(स्रोत : सिद्धिचरण शतबार्षिकी विशेष – ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.