समीक्षा : गीतमा युगकवि मेरो प्यारो ओखलढुङ्गा

~दीपक विहीन~

कविहरुको भीडमा गीतकारहरु हेपिने समय थियो, त्यो बेला । आफू ठूलो देखिन अरुलाई होच्याउने संस्कार ‘राल्फा’ आन्दोलनमा लागेहरुलाई पचेन । त्यसैले पनि उनीहरुले थालेका थिए, कवितालाई नै गीत बनाउने अभियान । यद्यपि, राल्फाले खासै अर्थ नदिने अमूर्त शब्दहरुमा पनि गीत गाउँदै थिए । इतिहासको बिद्रोही साङ्गीतिक समूह ‘राल्फा’ का नायक रामेश भन्छन्-“हो, त्यही क्रममा कवितालाई गीत बनाउन थाल्यौं । अनि जन्मियो सङ्गीतमा, मेरो प्यारो ओखलढुङ्गा….।”

राल्फालीहरुले युगकवि सिद्धिचरण श्रेष्ठ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, गोपालप्रसाद रिमाललगायतका कवितामा सङ्गीत र स्वर भर्न थाले । नेपाली सङ्गीतमा एउटा नयाँ तरङ्ग र उभार जन्माए ।

रामेशले २०२५ सालतिर मेरो प्यारो ओखलढुङ्गा… मा सङ्गीत भरे । सहरदेखि गाउँगाउँसम्म गाउँदै हिँडे । जनताले औधी मन पनि पराए । तर, त्यसको ६ वर्षपछि २०३१ सालतिर रेडियो नेपालमा रेकर्ड भयो । गीत रेकर्ड भएपछि युगकवि सिद्धिचरणबाट रामेशलाई बोलावट भयो । ओमबहालस्थित युगकविको घरमा हार्मोनियम, तबला बोकेर गीत सुनाउन गएको क्षण सम्झदै रामेश भन्छन्-“पहिला गीत सुन्नुभयो, त्यसपछि कविताभन्दा मीठो भएको प्रतिक्रिया दिनुभयो ।”

मेरो प्यारो ओखलढुङ्गा…गीतलाई पछि केही साङ्गीतिक पक्षमा परिवर्तन गरी नारायणगोपालको स्वरमा पनि रेकर्ड गरियो । रेडियोले रामेशको गीत बजाउन छाड्यो । तर, त्यो गीतप्रति रामेशको प्रेम अहिले पनि उत्तिकै झाँगिएको छ । त्यसैले त नयाँ सङ्गीत संयोजनसाथ मेरो प्यारो ओखलढुङ्गा…रेकर्ड गराएका छन् । चाँडैनै स्रोताबीच ल्याउन लागिएको एल्वमको नामै ‘मेरो प्यारो ओखलढुङ्गा’ राखेका छन् ।

रामेशले युगकविका आठ/नौं वटा गीत गाउनुभएको छ । हिमगिरी मण्डित सुगन्ध शोभित…, संकट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ ?…, बा आउनु भएन…लगायत गीत गाउनुभएको छ । युगकविको खण्डकाब्य ‘मङ्गलमान’ पढेर त्यसको सारको रुपमा ‘मङ्गलमान…’ गीतसमेत लेख्नुभएको छ । युगकविको गीतिबिम्ब र प्रवृत्तिबारे रामेश भन्छन्-“युगकविका गीतहरुमा राष्ट्रप्रेम, प्रकृतिप्रेम, श्रमशीप्रतिको माया र ढोंगी, पाखण्डप्रति बिद्रोह नै झल्कन्छ ।”

सङ्कट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ
असिना आई फूलबारीमा फूलहरु पहिले झार्छ

माथिका गीति पङ्गतीहरुलाई रामेशले २०४४ सालतिर सङ्गीतबद्ध गरेका हुन् । गीतको पृष्ठभूमि कोट्याउँदै रामेश भन्छन्-“महाकवि लक्ष्मीप्रसाद देवकोटा पुत्रवियोगमा रहेका बेला युगकवि भेट गर्न जानुभएछ । त्यहीबेला महाकविको विलौना सुनेपछि युगकविले रचना गर्नुभएको गीतलाई गाएका हौं ।”

युगकविका गीतलाई म्युजिक नेपालले ‘घामपानी जिन्दगानी’ शीर्षकमा एल्वमसमेत प्रकाशित गरेको छ । जसमा आठ गीत रहेका छन् । उहाँका गीतलाई नारायणगोपाल, अम्बर गुरुङ, भक्तराज आचार्य, तारा थापा, योगेश्वर अमात्य, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, कुन्ती मोक्तान, किरण प्रधानले गाएका छन् । गायिका निशा देसारले पनि मेरो प्यारो ओखलढुङ्गा… गाएकी छन् ।

यो देशको निमित्त
म नाचूँ कि गाऔं
कि गला मिलाऔं…

योगेश्वर अमात्यले रकपप शैलीमा गाएको माथिल्ला गीत होस् वा दीप श्रेष्ठले गाएको आमा म बहुला होइन…स्रोताका लागि कर्णपि्रय रहेका छन् । युगकविको सतवाषिर्की वर्षका लागि जनकवि दुर्गालाल श्रेष्ठले लेखेको गीतमा रामकृष्ण दुवालले स्वर र सङ्गीत दिएका छन् । युगकविका कविता वाचन र त्यसैमाथि ४८ जना कलाकारले चित्र बनाउने कार्य पनि सम्पन्न भइसकेको छ । युगकविका छोरा रविचरण श्रेष्ठका अनुसार ती चित्रकलालाई पनि यसै वर्ष सार्वजनिक प्रदर्शन गरिने छ । युगकविका गीतहरुलाई सङ्कलन गरेर एल्वम प्रकाशन गर्ने पनि तयारी भइरहेको छ ।

(स्रोत : सिद्धिचरण शतबार्षिकी विशेष – ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार )

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.