नाटक : कालो पर्दा

~मोहनप्रकाश~

पृष्ठभूमि

स्थानः एउटा पुरानो घरको कोठा, छेउमा पुरानै डिजाइनको पलङ, पलङमाथि सिरक, तन्दा, सिरानी र केही लुगाहरू अस्तव्यस्त देखिन्छन् । पलङको देब्रेतिरको भित्तामाथि परिवारको श्यामश्वेत फोटोफ्रेम झुण्डिएको छ ।

फोटोमा श्रीमान्, श्रीमती सहित ६/७ वर्षकी लाग्ने एउटी छोरी र २/३ वर्षको लाग्ने एउटा छोरोसहित चार जना छन् । कोठा अस्तव्यस्त देखिन्छ । कुनै सामानको ठाउँ ठेगान छैन । ढोका छेवैमा सानो किचन र्‍याक र त्यसको वरिपरि भाँडाकुँडाहरू छरपष्ट छरिएका देखिन्छन् । भर्खरै भात खाएर फिँजिएका चारओटा थाल र थालमा खाँदाखाँदै छोडेको केही भात तरकारी देखिन्छ । भुँइमा जुठो छरिएको छ । ढोका पछाडिको ह्याङ्गरमा केही लुगाहरू झुण्डिएका छन् । कोठाको पश्चिमतिर एउटा मात्र झ्याल भएकाले कोठा अलि अँध्यारो देखिन्छ । पलङको तल एउटा कालो कपडा देखिन्छ । त्यो फैलिएको कालो कपडाभित्र केही मानव आकृतिजस्तो देखिन्छन् । त्यही पलङको सिरानमा एउटा टेबलमाथि सानो टिभी छ । टिभीमा समाचार आइरहेको छ–

                      दृश्य– १

टिभी– नमस्कार ! बिहानीको ताजा अपडेटमा यहाँहरूलाई स्वागत छ । सर्वप्रथम मुख्य अपडेट ।

– आज बिहान काठमाडौंको सुकेधारामा डेरा गरी बस्ने एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

– हिजो एकैदिन कोरोना संक्रमणको संख्या एक हजार नाघेको छ । हिजो नै कोरोना संक्रमणबाट नौको मृत्यु ।

– एक हजार घुस खाएको आरोपमा एक कर्मचारीलाई हिजो अख्तियारले समात्यो ।

अब पूरा समाचार सुन्नुहोस्–

काठमाडौंको सुकेधारास्थित एउटा पुरानो घरमा भाडामा बस्दै आएका एकै परिवारका चारजना मृत अवस्थामा फेला परेका छन् । धादिङ स्थायी घर भएको यो परिवार विगत एक्काइस वर्षदेखि काठमाडौंमा बस्दै आएको बुझिएको छ । परिवारमा श्रीमान्, श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् । कक्षा १० मा पढ्दै गरेका छोरा, उनकी १९ वर्षीया दिदी, ४४ वर्षीया बाबु र ४१ वर्षीय आमा छन् । अघिल्लो दिनसम्म परिवारका सबै ठीकै रहेका तर बिहान अबेरसम्म पनि कुनै चहलपहल नदेखिएको र बोलाउँदा कुनै प्रतिउत्तर नआएपछि घरबेटी प्रेमलाल महर्जनले झ्यालबाट हेरेर शंका लागी प्रहरीलाई खबर गरेको बताए । उनीहरूको मृत्युको कारण आफूलाई केही पनि थाहा नभएको उनले बताएका छन् । श्रीमान् विभिन्न रोगले थलिएका र श्रीमती भने फुटपाथमा सामान्य कपडा बेच्दै आएको कुरा बुझिएको छ । प्रहरी भर्खरै मात्र घटनास्थल पुगेकाले मृत्युको कारण भने खुलिसकेको छैन । चाँडै सत्यतथ्य प्रकाशमा ल्यााउने कुरा महानगरीय प्रहरी प्रभाग काठमाडौंका प्रहरी नायब उपरीक्षक उपेन्द्रप्रसाद अर्यालले बताएका छन् । (समाचार बिस्तारै पृष्ठभूमिमा बजिरहेकै हुन्छ)

           दृश्य–२

उही कोठाको ढोकाअगाडि प्रहरी निरीक्षकसहित एक हवल्दार र एक प्रहरी जवान पछिपछि हुन्छन् । भित्रबाट चुकुल लगाइएको ढोका ड्याम्म खोल्दा दुवै प्रहरी कोठाभित्र लड्न खोज्दै भित्र छिर्छन् ।

प्रहरी निरीक्षक– ए..ए..बिस्तारै ! अलिक होसियारी ! (सबै प्रहरीले मास्क र सेता पन्जा लाउँछन् । दुई प्रहरी ढोकाको छेउतिरै उभिन्छन् । प्रहरी निरीक्षक कोठाको चारैतिर निहाल्छ । र, छेवैको बत्तीको स्विच अन गर्छ । उक्त कोठाको टिभी चलिनैरहेको हुन्छ । निरीक्षकको आँखा टिभीमा पर्छ)

टिभी– कोरोनाको कारण मछिन्द्रनाथको रथ यात्रा स्थगित, स्थानीय बासिन्दा आक्रोशित…। (स्थानीय बाजागाजासहित लाखे नाचको चहलपहल देखिन्छ । निरीक्षकले बत्तीको स्वीच तल जोडिएको टिभीको लाइन फुत्त झिकिदिन्छ । टिभी अफ हुन्छ । प्रहरी जवानले कोठाको दुई कोणबाट २/३ स्न्याप फोटो खिच्छ । प्रहरी हवल्दारको हातमा टिपोटका लागि डायरी र कलम हुन्छ । बेलाबेला ऊ डायरीमा टिपोट गर्छ । प्रहरी निरीक्षकले बिस्तारै भुइँमा फैलिएको कालो कपडा आफूतिर तान्छ । चारओटा लास त्यहाँ आ–आफ्नै ढंगले लडेका हुन्छन् । निरीक्षकले लासका अनुहार निहाल्छ । र, केटोको छेउमा पुग्छ । पन्जा लाएको हातले उसको आँखाको परेला खोल्छ । केटो बिस्तारै चल्मलाउँछ । अलि असामान्य लाग्ने क्यामेरा बोकेको प्रहरी जवान डराउँदै बोल्छ)

प्रहरी जवान– सर के हो ? यो त जिउँदै छ त !

प्रहरी निरीक्षक– चुप लाग् । देखिनस् मेरो हातले हल्लाएको । (प्रहरी जवान एटेन्सन्मा रहन्छ) हल्दार साब यो लासको ब्रिफिङ दिनुस् त !

प्रहरी हवल्दार– हस् सर ! (ऊ एटेन्सन् हुँदै डायरी हेर्दै बोल्छ)

नामः विक्रम ठकुरी

उमेरः १६ वर्ष
दश कक्षामा पढ्दै गरेको । चुरोट र गाँजा पनि खान्थ्यो रे सर !

प्रहरी निरीक्षक– यसको साथी सर्कलबारे पनि अनुसन्धान बढाउनु होला ।

प्रहरी हवल्दार– हस् सर ।

प्रहरी निरीक्षक– (आँखा र अनुहारको भाव बिगार्दै, लासलाई बिस्तारै उत्तानो लडाउँछ । लास पुनः चलमलाउँछ । र, बिस्तारै उठ्छ । प्रहरी जवान आत्तिएर भाग्न खोज्छ तर निरीक्षकको आँखाको भाव देखेर सतर्क हुन्छ । एकछिन अगाडिको लास अर्थात् विक्रम ठकुरी बिस्तारै ढल्मलिंदै एकछिन् गमेजस्तो गर्छ र उठेर बोल्न थाल्छ ।)

विक्रम ठकुरी– म मेरो बुवाआमाको आज्ञाकारी छोरो हुन चाहन्थेँ । पढेर डाक्टर बन्न चाहन्थेँ । मैले पढाइमा मिहिनेत नगरेको नि होइन । कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा मैले जिल्ला टप गरेको हुँ । नौ कक्षामा पुगेपछि साथीहरूको सङ्गतमा फसेँ र चुरोट, गाँजा खान थालेँ । बुवा पनि अत्यधिक चुरोट खानु हुन्थ्यो । बुवालाई बिस्तारै रोगले गाँज्दै लग्यो । उहाँलाई क्यान्सर लाग्यो । त्यसै निहुँमा साहुले बुवालाई जागिरबाट निकाल्यो । अनि हाम्रा दुर्दिनहरू सुरु भए । बुवाले राम्रो उपचार पाउनु भएन । उहाँको औषधी जुटाउन नै हामीलाई धौ–धौ हुन थाल्यो । हामीले दैनिक गुजारा चलाउन फुटपाथमा कपडा बेच्न थाल्यौँ । सुख–दुःख गुजारा त चल्दै थियो । तर पनि त्यो कमाईले औषधी, कोठाबाल, दालचामल, स्कूल फी तिर्नै धौ–धौ हुन्थ्यो । अलि–अलि दिदीको जागिरबाट पनि धानेको थियो तर कोरोनाले त्यो पनि बन्द भयो । तीन महिनाको कोठाबाल तिर्न बाँकी भएपछि घरबेटीले नि कोठा खाली गर भन्न थाल्यो । अब हामी कहाँ जाने ? गाउँमा पनि हाम्रो जायजेथा र आफन्त भन्ने कोही थिएनन् । (ऊ बिस्तारै सुकसुकाउन थाल्छ । पेन्टको खल्तीबाट एउटा भाँच्चिन लागेको चुरोट झिकेर सल्काउँछ । आकासतिर धुवाँ उडाउँदै केही क्षण त्यही उडेको धुवाँ निहाल्छ । आँखामा टिल्पिलाउन लागेको आँशु पुछ्दै कोठाको एउटा कुनामा गएर निहुरिएर टुक्रुक्क बस्छ।)

प्रहरी निरीक्षक– (बिस्तारै केटीको लासतिर बढ्छ । ढल्केको लासलाई उत्तानो पार्छ । र, हवल्दारसँग ब्रिफिङको संकेत गर्छ)

प्रहरी हवल्दार– सर ! (भन्दै एटेन्सन हुन्छ)

नामः अन्जली ठकुरी

उमेरः १९ वर्ष

सर, यसले त कसैको भुँडी बोकेकी छे भन्ने हल्ला छ । (यत्तिकैमा अन्जली जुरुक्क उठ्छे । प्रहरी जवान डरले थर्रर..काँप्छ । पुनः निरीक्षकलाई हेरेर सतर्क हुन्छ।)

अन्जली– (ऊ कोठाको चारैतिर नियाल्छे र बोल्छे) मैले मेरो रहरले भुँडी बोकेकी होइन । जबरजस्ती बोकाइएको हो । महिलाहरूलाई यस्तो अपशब्द प्रयोग गरेर सधैँ होच्याउने प्रयत्न नगरियोस् । के कुनै महिलाले भुँडी बोक्नु भनेको महिलाको मात्र गल्ती हो ? महिलालाई जबरजस्ती भुँडी बोक्न बाध्य बनाउने पुरुषको यहाँ कुनै दोष या गल्ती हुन्न ? तिनै पुरुषलाई नौ महिना गर्भमा राखेर जन्माउने यो पेटको दोष हो, या प्रकृतिको नियम ? के यहाँ देखिने कुरा मात्र सत्य र पर्दा पछाडि लुकेका षडयन्त्रहरू सबै भ्रम हुन्छन् ? महिलाको पेट बाहिर देखिन्छ, यसको मतलब ऊ दोषी हो ? जबरजस्ती पेट बोकाउनेहरू बाहिर देखिँदैनन् तर यही समाजमा उनीहरू खुलेआम हिँडिरहेका हुन्छन् । तर पनि उनीहरू निर्दोष ? कुनै केटीले त्यो पेट बोक्दाका पीडा, असहजता र दैनिक जीवनको संघर्षका बाबजुद पेटमा बच्चा हुर्काउनु, सिर्फ एउटा खेलाँची गर्नु हो ? र, मिनेटभरको यौनिक आनन्दको स्खलनमा रमाउने पुरुषचाहिँ महान् ?

रह्यो मेरो पेटको कुरा । सुन्न चाहनुहुन्छ मेरो पेटमा कसरी गर्भ रह्यो ? (ऊ एकछिन् गम्भीर बन्छे र पुनः कोठाको चारैतिर निहाल्छे । उसका आँखाबाट आँशु झर्छन् । र, आँशु पुच्छ्दै बिस्तारै बोल्न थाल्छे) कुरा एक वर्ष अगाडिको हो । हाम्रो परिवारको आर्थिक दुरावस्था देखेर एकजना चिनेका मान्छेले मलाई एउटा म्यानपावर कम्पनीमा काम लगाइदिए । त्यहाँ मेरो काम सरसफाई गर्ने थियो । मैले आफ्नो जिम्माको काम निरन्तर गर्दै गएँ । काम त ठूलो सानो भन्ने के हुन्छ र ! त्यसमा पनि मेरा लागि त काम पाउनु नै ठूलो कुरा थियो । अफिसका मेनेजर मलाई कहिलेकाहीं जिस्क्याई रहन्थे । म आफ्नै हैसियतमा बसेर उनलाई जवाफ फर्काउँथेँ । काम गरेको करिबन दुई महिना बितेपछि एक दिन बेलुका मेनेजरले मलाई अलि ढिलासम्म बस्न भने । सबै स्टाफहरू घर गैसकेका थिए । अनि उनले मलाई आफ्नो कोठामा बोलाए । र, मलाई जबरजस्ती गरे । मैले उनलाई रोक्न अनेक प्रयास गरेँ । मलाई धम्क्याए, तर्साए । उनका अगाडि म लाचार भएँ । उनले यही कार्य बारम्बार दाहोर्‍याइरहे । काम छोडौं घरको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गइरहेको थियो । थोरै भए पनि मेरै तलबले भरथेग गरेको थियो । त्यसपछि कोरोनाको कारण सबै अफिसहरू बन्द भए । दिन प्रतिदिन मलाई मेरो पेटको बोझ बढ्दै गएझैं लाग्न थाल्यो । अफिस बन्द भए पनि मैले मेनेजरलाई २/३ पटक फोन पनि गरेँ । तर उनको फोन सधैं सुइचअफ मात्र भनिरह्यो । मलाई धेरै डर पनि लागिरहेको थियो । जेसुकै होस् भनेर एक दिन मैले सबै कुरा आमालाई सुनाएँ । हामी दुवैजना धेरैबेर रोह्यौँ । तर.., यो कुरा हामीले अन्य कसैलाई सुनाउने हिम्मत पनि गरेनौँ । समाजको चरित्र यही त हो बाहिरबाट बढो आदर्श देखिन्छ तर भित्री रूप अर्कै छ । समाजले साथ सहयोग दिनुको सट्टा हामीलाई नै थुक्नेवाला थियो । बिरामी बुवा र भाइले झन् त्यो कुरा सुने भने के अवस्था हुन्थ्यो होला ? (सुक्सुकाउँदै बिस्तारै चक्कर लागे झैं हुन्छे । पुरै बेहोस र बहुलाई जस्तै देखिन्छे अनि कोठाको अर्को कुनामा गएर टाउको निहुर्‍याएर बस्छे । प्रहरी निरीक्षक र अन्य प्रहरी गम्भीर देखिन्छन् ।

प्रहरी हवल्दार– (एटेन्सन् हुँदै) सर मेनपावरको नि अनुसन्धान बढाऊँ ?

प्रहरी हवल्दार– सर ! (एटेन्सन् हुँदै बोल्छ)

नामः रामबहादुर ठकुरी

उमेरः ४४ वर्ष

दम, खोकी र क्यान्सरको बिरामी । चुरोट अत्यधिक खाने । केही समयअगि मात्र चुरोट छोडेको भन्ने जानकारी छ सर ।

रामबहादुर– (कमजोर शरीर, लामो कपाल र दारीजुँगा पालेको, झुत्रेझाम्रे लुगामा देखिन्छ । बिस्तारै उठेर बीच–बीचमा खोक्दै बोल्छ ।) गरिब हुनु भनेको सबैबाट हेपिनु पनि रहेछ । आखिर त्यही धुवाँ त रहेछ जिन्दगी । आकाशमा बिस्तारै उडेर हराउने ।(खोक्छ..) बादलजस्तो आकृतिहीन । मरुभूमिजस्तो सुख्खा । निस्सार । प्रत्येक मानिसका आ–आफ्नै सपना त हुन्छन् नै । मेरो पनि सपना थियो । नदी जस्तै बनूँ । भेटे जति जमीनलाई सिञ्चित गर्दै अघि बढौं । र, अनन्त महासागरमा एकाकार बनौं । तर भनेजस्तो, सोचेजस्तो कहाँ हुँदोरहेछ र ? (बिस्तारै काम्दै कोठाको अर्को कुनामा गएर मूर्तिवत् टुक्रुक्क बस्छ । प्रहरी निरीक्षक लामो सास फेर्छ र दुवै प्रहरीका अनुहारमा हेर्छ ।)

प्रहरी हवल्दार– (निरीक्षकसँग आँखा जुधेपछि एटेन्सन् हुँदै बोल्छ) अर्को ब्रिफिङ गरौं सर ? उसको वाक्य टुङ्गिन नपाउँदै महिलाको लास बिस्तारै चल्मलाउन थाल्छ र उठ्छ । कपाल पुरै छरिएको हुन्छ । लुगा लगाई पनि अस्तव्यस्त जस्तो देखिन्छ । उनी पुरै बेढङ्गकी देखिन्छिन् । आँखा, ओठ, मुखाकृति पुरै सुख्खा र निरास देखिन्छ । आफ्ना ओठ बिस्तारै खोल्दै बोल्छिन् ।)

मेरो नामः पवित्रा

माइतीको थरः विक

अन्तरजातीय भागी विवाह गरेर हामी काठमाडौं आयौं । त्यसपछि न त मलाई माइतीले खोज्यो न घरका आफन्तले । सबैले हाम्रो कुरा मात्र काटेको सुनिन्थ्यो । कुनै पनि आपतविपतमा साथ पाउनुको सट्टा तिरस्कार मात्र मिल्यो । यतिसम्म कि कहीँ आकस्मात कोही आफन्त भेटिए केही मागी हाल्छन् कि भनेर हामीबाट तर्किन्थे । तर पनि दुःख–सुख गुजरा चलेकै थियो । मलाई छोरीको भविष्य देखेर डर र चिन्ताले सताउन थाल्यो । बाँच्नै मन लाग्न छोड्यो । आफन्त र इष्टमित्रको साथ नभएपछि कहीँ गएर कुरा राख्न पनि हिम्मत नआउने रहेछ । गरिखाने सानोतिनो व्यवसाय पनि कोरोनाले खाइदियो । अभावै–अभावमा कतितिर हात फैलाउने ? हामीले हार खायौं जिन्दगीदेखि । त्यसपछि म नै आत्महत्या गर्ने निधोमा पुगेँ । र, एकदिन बेलुका कसैलाई थाहै नदिई सुटुक्क खानामा विष हालेँ । (यत्तिकैमा अन्जली पुनः बौरिन्छे र पलङको सिरानीलाई बच्चाजस्तै च्याप्दै कोठाको चारैतिर आफ्नै ढंगले घुम्न थाल्छे ।)

अन्जली– लु…लु…,मेरो बाबू, बुबु खाऊ

तिमी ठूलो भएपछि मेनेजर बन्नुपर्छ

अनि मामालाई विदेश पठाउनु पर्छ है

चु..चु.,.हेर हाँसेको मेरो पोक्चु

म्यानपावरको मेनेजर भएछि धेरै पैसा कमाइन्छ
अनि हजुरीलाई ठूलो अस्पतालमा लगेर जचाउनु पर्छ

लौ भन तिम्रो ममुको माया लाग्छ कि लाग्दैन

मेरो सानु भुन्टु…कति राम्रो भोटो,

लिखुरे भुन्टुको भोटो छोटो–छोटो..(गुनगुनाउँदै कोठाकै वरिपरि घुमिरहन्छे।)

दृश्य– ३

(पाश्र्ववर्ती दृष्य)चारै जना भात खान बसेका छन् । केही गाँस भात खाएपछि । खाक्खाक्–खुक्खुक् सुरु हुन्छ । एकपछि अर्को खोक्दै चक्कराउँदै तीन जना ढल्छन् । एकछिन छटपटाउँछन् । र, चल्मलाउन छाडेपछि आमाले सबैलाई झ्यालको कालो पर्दा झिकेर छोपिदिन्छिन् र आफू पनि खाना खान्छिन् । बिस्तारै चक्कर लाग्न थालेपछि बत्ति निभाउँछिन् र आफू पनि पर्दाभित्र छिर्छिन् । एकछिन् छटपटाएपछि कोठा पूरै शान्त हुन्छ । टिभी भने खुल्लै रहन्छ ।

अन्तिम दृश्य

(पाश्र्ववर्ती दृष्य र निरन्तर दृश्यको योग)

प्रहरी निरीक्षक– हल्दार साब, शवको कोरोना परीक्षणका लागि रोग नियन्त्रण शाखामा पठाउनुस् ।

प्रहरी हवल्दार– हस् सर । (ऊ बाहिर निस्किन्छ । प्रहरी निरीक्षक टिभीको लाइन जोड्छ । टिभी झ्यार्र गर्दै खुल्छ ।)

टिभी– नमस्कार ! भर्खरै प्राप्त जानकारीअनुसार काठमाडौंको सुकेधारास्थित एउटै घरको कोठामा सामूहिक मृत अवस्थामा फेला परेका एकै घरका चारै जनाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरूको लासलाई आजै अन्त्यष्टि गरिने स्रोतले जनाएको छ । (बिस्तारै समाचारको आवाज मधुर हुँदै जान्छ । पृष्ठभूमिमा सङ्गीतसहित गीत सुनिन्छ…)

आकाशैमा उडी गयो बादलुको चरी
सुकीजाने शीत झैँ कर्कलाको पानी ।

एकबारको जिन्दगीमा षडयन्त्रको जालो
गरिबको पसिनामा किन दल्छन् कालो ?

त्यो निर्दोष गर्भभित्र कति थिए आस
उमङ्गले फेर्नै पाएन जिन्दगीको सास ।

आजभोली भन्दा भन्दै सधैं आसै आस
नदीको त्यो किनारैमा रैछ राजै वास ।

आकाशैमा उडी गयो बादलुको चरी
सुकीजाने शीत झैँ कर्कलाको पानी…।

समाप्त

(स्रोत : साहित्यपोस्ट डट कम)

This entry was posted in नाटक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.