कथा : मुर्दाहरू जागौं

~राजव~

ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु ।

मेरो खुसी बतासमा छचल्किँदै छ  ।

एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ । न कुनै झगडा, न कुनै भनाभन । केही पनि भएको थिएन । जस्तो अरू बेलामा हुन्थ्यो त्यस्तै आनन्दमय थियो बार, त्यस्तै  शान्त थिएँ म । बियर सुर्कंदै बिलकुल मग्न बसेको थिएँ । तर, परिणाममा मृत्यु भोग्नु पर्‍यो  ।

अमेरिकी सुप्रिम कोर्टको जज ब्रेट काभनाह झैँ म पनि एक उम्दा बियर प्रेमी व्यक्ति हुँ । उसले सिनेटरहरू सामुन्ने ‘आइ लाइक बियर’भनेको म बारबार सम्झिरहन्छु । विचारले सोसियल कन्जरभेटिभ अर्थात् सामाजिक पूरातनपन्थी ब्रेट काभनाहलाई राष्ट्रपति ट्रम्पले सुप्रिम कोर्टको जज मनोनित गरेको थियो ।यसको लागि सदनको अनुमोदन आवश्यक थियो । त्यसकारण सिनेटमा उसको योग्यताको सुनवाइ चल्दै थियो । सिनेटको सुनुवाइको यै गर्मागर्मीबीच उसलाई उसको पद, प्रतिष्ठा उडाउन सक्ने एउटा आपदको आरोप आइलाग्यो । यो आरोप आपराधिक मामलाको संगिन थियो- काभनाहको जीवन धुलिसात पार्ने सम्भावनाको ।

काभनाहमाथि लागेको आरोप देशभरका अखबारहरूको सनसनीपूर्ण हेडलाइन बनिरहेका थिए  । आरोपको सन्दर्भ ३६ वर्ष अगाडिको थियो । आरोप यौन आक्रमणको थियो । यो जघन्य आक्रमणको आरोपकर्ता थिई प्रोफेसर क्रिस्टिन ब्लाजि फोर्ड । कुरो उनीहरू हाइस्कुल पढ्दाको बेलाको थियो  । त्यस बेला क्रिस्टिन १५ वर्षकी  थिई । ऊ कुनै साथीको घरमा आयोजना भएको पार्टीमा सामेल भएकी थिई ।

त्यस पार्टीमा कुनै अर्को हाइस्कुलमा पढ्ने काभनाह पनि सामेल थियो । घटनाको  प्रारम्भ क्रिस्टिन वाथरुम जान लाग्दा भएको थियो । क्रिस्टिनको भनाइअनुसार ऊ वाथरुम पुग्न नपाउँदै उसलाई पछ्याउँदै  पुगेको काभनाहले उसलाई सँगैको बेड रुमभित्र जोडले धकेल्यो  । बेडमा लडायो ।  उत्तानो पार्‍यो । ऊ माथि चढ्यो  । उसलाई जोडले थिच्दै उसका अंगहरू टोक्न, लुछ्न थाल्यो, आदिआदि । बियरले लट्ठिएको काभनाह त्यसो गर्दै क्रिस्टिन ब्लाजि फोर्डको पेन्टी खोल्ने कोसिसमा थियो  । विशेषत: काभनाह  क्रिस्टिनको पेन्टीको इलास्टिक तान्दै थियो । ऊमुनि थिचिएकी क्रिस्टिन काभनाहको पासोबाट उम्कने जोडको संघर्षमा थिई । काभनाह उसलाई थिच्दै उसको पेन्टीको इलास्टिक तानिरहेको थियो ।अन्तत: क्रिस्टिन काभनाहलाई आफ्नो शरीरबाट हुत्याउन सफल भई । काभनाह हुत्तिनासाथ ऊ कोठा बाहिर भागी । नत्र बलात्कृत हुन्थी, जोगिई । तर, यो घटना उसको मनमा भयानकसँग गाडियो  ।

त्यस घटनाले दिएको मानसिक आघातले उसलाई लगातार सताइरह्यो भन्ने कुरो उसले आफ्नो स्टेटमेन्टमा अनेक खुलासा दिँदै भनेकी छ । उल्टै प्रश्नैप्रश्नको सामना गर्नु पर्ला भन्ने डरले यो घटना उसले आफ्ना बाउआमालाई पनि सुनाउने साहस गरिनन् । निकास नपाएर यो आघातको ज्वाला ऊभित्र वर्षौं दन्किरह्यो । ऊ भित्रभित्र पिल्सिरही, पिल्सिरही  । यसको गुम्फनबाट बाहिरिने कोसिसमा उसले  सन् २०१२ मा आफ्नो लोग्नेलाई त्यो रातको सारा वृतान्त सुनाएकी थिई । त्यसपूर्व यसबारे उसले कतै, कसैलाई केही भनेकी थिइनन्  । काभनाह सुप्रिम कोर्टको जज मनोनित भएको सुनेपछि त्यस घातको घाउ ऊभित्र फेरि बल्झियो । यस्तो बलात्कारीलाई सर्वोच्च अदालतको न्यायाधीश हुन् दिनु भनेको जीवनभर मैले अपमानित भइरहनु हो । जानाजान यस्तालाई  देशको सबभन्दा सम्मानित संस्था सर्वोच्च अदालतको  फैसलाकार भएको कसरी हेर्नु ? यसले म मात्र हैन सम्पूर्ण न्यायव्यवस्था नै अपमानित हुन्छ । यी नै तर्कमा खेल्दै  ऊ काभनाहलाई जज हुनबाट रोक्नु पर्ने  ठम्याइमा पुगी । र, काभनाहले आफूमाथिको त्यो आपराधिक कर्तूत साहसपूर्वक उद्घाटित गर्ने निर्णय गरिन्  । यसको लागि उसले  आफ्नो राज्य क्यालिफोर्नियाको जनप्रतिनिधिको आधार लिन पुगी  ।

प्रोफेसर क्रिस्टिन ब्लाजि फोर्डको यो आरोपले काभानाहलाई सुप्रिमकोर्टको जज हुनबाट रोक्दै थियो । यसको सत्यताबारे एफबिआइले पनि र्‍यापिड जाँच गरेको थियो । छिनोफानोको लागि सिनेटको न्यायिक समितिसमेतको पहलमा क्रिस्टिन ब्लाजि फोर्ड र काभनाहा दुबैको सुनुवाइ गर्दै थियो । यै क्रममा न्यायिक समिति सामुन्ने आफ्नो सफाइमा बोल्दा  काभनाहले  भनेको थियो- ‘जरुर म बियर पिउने व्यक्ति हुँ, तर आजसम्म मैले कसैमाथि बियर पिएर त्यस्तो आपराधिक आक्रमण वा ज्यादती गरेको छैन, अचेल पनि म बियर पिउँछु, पहिले पनि पिउँथें, आइ लाइक बियर । ‘न्यायिक समितिको सामुन्ने उसले नहिच्किचाई यस्तै भनेको थियो । बियर पिउने आफ्नो आदतबारे बोल्दा काभनाह निकै उत्साहित देखिन्थ्यो । उसले सुनवाइ गरिरहेको सिनेटरलाई समेत सोधेको थियो,’सिनेटर डु यु लाइक बियर ?’सिनेटरको मुखबाट यस वा नो केही निस्केन  । तर, काभनाहले फेरि सिनेटरलाई आफ्नो बियर प्रेमबारे  सुनाएको थियो,’आइ लाइक बियर ।’

देशको सर्वोच्च अदालतमा बियरप्रेमी न्यायाधीश विराजित हुनु मेरो लागि आनन्ददायक कुरो थियो ।किनभने म पनि उस्तै बियर प्रेमी थिएँ  । त्यसकारण जज काभनाह झैँ म पनि सगर्व भन्ने गर्थें, ‘आइ लाइक बियर, आइ लभ बियर ।’

तर, यै दुई शब्द लाइक र लभले गर्दा  मध्यबैँसमै मेरो जीवन फेरि बियर पिउन नपाउने गरी सकियो ।

जज काभनाह कुन बियर पिउँथ्यो मलाई थाहा छैन । सिनेट हियरिंगमा उसले’आइ ड्रिंक बियर, आई लाइक बियर ।’ भनेको सुनेपछि कुनै सिनेटरले उसलाई’कुन बियर पिउँछौ त जज ? भनेर सोधेको भए काभनाहले अवश्य आफ्नो ब्राण्ड भन्थ्यो होला । तर, त्यस सिनेटरबाट यो महत्वाकांक्षी प्रश्न आएन  । नत्र काभनाहले पिउने बियर र ब्राण्डबारे पनि जान्न पाइन्थ्यो । मेरो कुरो गर्ने हो भने म  घरमा हुँदा कुनै पनि आइपिए बियर पिउँथें  । लागर बियर म त्यत्ति रुचाउन्नथें  । बारमा पस्दा म क्राफ्ट बियर पिउँथें  । यो सस्तो पनि हुन्छ, मीठो र लाग्ने पनि । त्यसकारण बारमा पसेपछि म क्राफ्ट बियर नै माग्थें ।

बियरको आनन्द म घरमै बसेर पनि लिन्थें । मेरो रेफ्रिजीरेटरमा मेरो चाहका आइपिए बियरका प्रचलित ब्राण्डका बोतलहरू हमेसा चिस्सिएर बसेका हुन्थे । तर, प्राय: म साझँ, साँझ बारमै पस्न रुचाउँथें  । वास्तवमा बार मेरो लत भइसकेको थियो । बारमा पिउनुको आनन्द सामूहिक हुन्छ । मलाई नसामा डुब्ने यस्तो सामूहिकता धेरै मनपर्छ । बारमा थरी थरीको अनुहार, थरीथरीको आवाज र निश्चल नसालु दृष्टिको उत्सव हुन्छ । बारमा पसेपछि मलाई यस्तै उत्सवमा उपस्थित भएको महसुस हुन्थ्यो । त्यसकारण कामबाट निस्केपछिको मेरो साँझ  प्राय: बारमै बितेको  हुन्थ्यो  ।

शनिबार र आइतबारबाहेक मेरो सान्ध्यचर्या यै हुन्थ्यो । सप्ताहान्तका दिनहरू कतै जानु वा निम्तिनु परेको छैन भने म घरमै आइपिएकै बोतलहरू खोलेर बसेको हुन्थें  । सोमबारदेखि शुक्रबारसम्मको साँझ थकाइ मार्ने र बियर पिउने मेरो थलो बार नै हुन्थ्यो  ।

म गैरहने बारमा नियमित आउने थुप्रैसँग मेरो सामिप्यता थियो । तीमध्ये मलाई एकदम रुचिको लाग्ने केन्ट जेन्किन्सन हो  । केन्ट जेन्किन्सन कवि थियो । ऊ पनि जज काभनाहकै ढंगमा ‘आइ लभ बियर ।’ भन्ने प्राणी थियो । धेरै साँझ मैले ऊसँग मुखातिव भएर बियर सुर्केको छु । एक मग बियरले पेट भिजाएपछि  उसको आँखा र दृष्टि पुरै काव्यमय हुन्थ्यो । उसको वाणी तरल हुन थाल्थ्यो । उसको मनमा भरिन थाल्ने कविता उसको आँखामा झल्किन्थे । ऊ पुरै काव्यमय वाक्य बोल्न सुरु गर्थ्यो । उसको गफ प्राय: काव्य जगत, पुस्तक र कविहरूकै बारेमा  हुन्थे । विलियम कलेजमा ऊ कविता नै पढाउँथ्यो । एक साँझ हामी बियरका प्रकार, तिनको उत्पादन प्रक्रिया, तिनको स्वाद र किकको घनत्वबारे चुस्कीकासाथ गफ गर्दै थियौँ । यै सिलसिलामा  उसले मलाई कुनै कविले बियरको बारेमा मात्र थुप्रै कविता लेखेर तिनको संग्रह पनि निकालेको छ भन्ने चाखिलो गफ सुनाएको थियो । त्यस कविको नाम सम्झन खोज्दै उसले भनेको थियो, ‘त्यो हो साम वाग्नर ।’

मेरो मुखबाट त्यत्तिकै निस्केको थियो,

‘ओ !’

त्यसकारण आश्चर्यले उसले मलाई सोधेको थियो,

‘डु यु नो हिम ?’

‘आर यु किडिंग मी ? नो’ मैले भनेको थिएँ ।

साम वाग्नरको नाम पछि उसले वाग्नरको कविता संग्रहको नाम भनेको थियो,

‘दि पोइट्री अफ बियर ।’

आदत मुताविक मैले भनेको थिएँ,

‘लभ्ली नेम ।’

‘यस इट  इज ।’ भन्दै उसले भनेको थियो,

‘यसमा बियरबारे धेरै कमेडिक कविताहरू  छन् ।’

‘ओ !’

‘वाग्नारले यसका कविताहरू बियरको ब्रुवरीदेखि, प्रकार, स्तर त्यसमा हुनु पर्ने अलकोहलको मात्रा आदि धेरै कुराको अनुसन्धान गरेर लेखेको हो, बियर जगतको लागि यो प्रेजवर्दी काम हो ।’

‘कस्तो जाँगर !’

‘हो नि ।’ भन्दै उसले आफ्नो मग उचालेर बियर सुर्क्यो र मग टेबुलमा बिसाउँदै भन्यो,

‘त्यसो त बियर मान्छेको थर पनि हुन्छ, बियर थर भएकै एक  प्रख्यात कवि छ जोन्ह बियर, उसको कवितासंग्रह वेस्ट ल्याण्ड एण्ड अदर पोएम्स एकदम चर्चित छ ।’

मैले त्यत्तिकै भन्दिएँ,

‘इन्ट्रेस्टिंग ।’

वास्तवमा बियरको दोस्रो, तेस्रो मगको हरेक सुर्कोसँगै ऊ कविताका हरफ र तिनका लेखकहरूको बखान सुनाइरहन्थ्यो । र, म उसको विद्यार्थी झैं अनुशासित मुद्रामा उसलाई सुनिरहन्थें ।

जेन्किन्सन अमेरिकी कवि चार्ल्स बुकोवस्की र फ्रेन्च कवि चार्ल्स बोदलियरबारे अक्सर उल्लेख गरिरहन्थ्यो । ‘इट इज टाइम टु बी ड्रंक, बी कन्टिनिउटली  ड्रंक अन वाइन, अन पोएट्री ‘ चार्ल्स बोदलियरको बी ड्रंक शीर्षकको कविताको यो टुटफुट पंक्ति ऊ थप बियर माग्दै भट्याइरहन्थ्यो ।

पौल भेलेरी, बोदलियर, ह्विटम्यान, विलियम्स कार्लोस, अडेन, आसबेरी, ओडिनिश, चेस्लाव मिलोज, डोनाल्ड हल, के रेन, लुइस ग्लिक, जोय हर्जो,  र पूरानो कवि रोबर्ट फस्टका पंक्तिहरू ऊ खुब सुनाउँथ्यो । तिनलाई  सुनाउँदा सुनाउँदै  ऊ आफ्ना कविताहरू पनि सुनाउन उद्यत हुन्थ्यो  ।यै बेला मलाई बोर लाग्थ्यो । किनभने उसका कविताहरू रुचीकर शैली र  विषयका हुँदैनथे, न स्पष्ट नै हुन्थे  । म उसका कविताहरू ध्यानले सुनिरहन सक्दिनथें ।

विशेषत: उसले आफ्नो भनेर सुनाउने  सबै कविता कान टट्याउने खालका नै हुन्थे ।सुनाइसकेपछि ऊ सोध्थ्योपनि,

‘कस्तो लाग्यो ?’

मैले ढाँट्नु पर्थ्यो । किनभने मेरो कमेन्ट हुन्थ्यो,

‘गुड ।’

प्रेटी, नाइस, गुड, वाउ जस्ता शब्दहरू बूढी आइमाईहरू, नयाँ कविहरू र फेसबुके मिलेनियल अनुहारहरूलाई  मन पर्ने शब्द हुन्  । मैले जिउँदो हुँदा  केन्ट जेन्किन्सनलाई धेरै पटक ढाँटका यस्ता गुड, नाइस दिएर खुसी पारेको छु । र, उसको प्रफुल्ल कविचित्तबाट थुप्रै सच्चा  ‘थ्याङ्क्यु’ प्राप्त गरेको छु ।

अब केन्ट जेन्किन्सन कहाँ छ, कुन गतिमा छ मलाई थाहा छैन । सम्भवत: ऊ पनि म झैं मर्‍यो होला । वा सहरको अर्को कुनै अस्पतालको  कोभिड १९ कक्षमा मृत्यु कुरिरहेको होला वा नहोला पनि । यो मेरो अन्दाज हो । अन्तिम पटक म बारमा पुगेको  शुक्रबारको साँझ ऊ पनि  थियो । त्यो मार्च बीसको साँझ थियो । अरु साझँ छुटे पनि शुक्रबारको साँझ ऊ प्राय: ढिलोचाँडो बारमा पुगेकै हुन्थ्यो  । त्यस साँझ पनि ऊ बारमा थियो । तर, ऊ मभन्दा ढिलो आएको थियो । मसँगको टेबुलमा अरु नै थिए । खाली कुर्सी भएको भए ऊ मसंगै आएर बस्थ्यो । मलाई मग तानिरहेको देख्नासाथ उसले सोधेको थियो-

‘हाउ आर यु म्यान ?’

‘आइ एम फाइन एण्ड यु पोएट?’

उसले आफ्नो थेगोमा भनेको थियो,

‘ह्यागिंग इन देर ।’

त्यसपछि ‘यहाँ यी छन् नत्र सँगै बस्नु हुन्थ्यो’ भन्ने  पेन्टो माइम शैलीमा हात र टाउको हल्लाएर मैले उसलाई संकेत दिएको थिएँ  । जवाफमा ऊ बोलेको  थियो,

‘नो प्रोब्लेम, नेक्स टाइम ।’

‘ओके ।’

यसपछि ऊ पर देखिएको टेबुलमा पुगेको थियो । त्यसका चार कुर्सीमध्ये एउटा खाली थियो । ऊ त्यसैमा बसेको थियो ।

कवि केन्ट जेन्किन्सनसँगको मेरो अन्तिम सम्पर्क यै थियो ।

त्यस रात लगभग सवा एघार बजे म बारबाट निस्किएको थिएँ । मैले उबरको कार मगाएको थिएँ । मलाई त्यसको ड्राइभरले बारको ढोका बाहिरबाट टिपेको थियो । म अगाडिको पेसेन्जर सिटमै थिएँ । ड्राइभरले म कुन उचाइमा लट्ठिएको छु भन्ने भेउ पाइसकेको थियो । यस मामलामा  रातिका उबर ड्राइभरहरू चनाखा हुन्छन्  ।

आफ्नो अन्दाज तौलन उसले मसँग सोधेको थियो-

‘हाउ आर यु सर दिस नाइट ?’

मेरो सिधा जवाफ थियो,

‘गुड, गुड ।’

‘नाइस टु हियर सर ।’

‘थ्याङ्क्यु ।’

‘डु यु लाइक टु लिसन एनी म्युजिक, न्युज इन रेडियो सर ?’

उबर कम्पनीले ड्राइभरहरूलाई पेसेन्जरहरूको यस्तो चाह सोध्न सुझाएका हुन्छन् । ऊ त्यही निर्देशन पालन गर्दै थियो । मैले भने,

‘नो आइ एम फाइन, थ्याङ्क्यु ।’

‘काइन्डली वेलकम सर ।’

म उसको अनुहार घुर्दै सोध्न पुगें,

‘तिमी इन्डियनजस्तो छौ, एम आइ राइट ?’

‘हैन सर म पाकिस्तानी हुँ  ।’

मैले ऊसँग त्यसरी सोध्न हुने थिएन । सिधा ‘ह्वेर यु फ्रम? ‘भनेर सोधेको भए भैहाल्थ्यो । क्षमाको लागि बियरले लट्ठिएको जिब्रो फट्कार्दै मैले भनें,

‘आइ एम सरी म्यान ।’

‘नो प्रेब्लेम सर ।’

अर्फाज अहमद थियो उसको नाम । उसले आफ्नो होम टाउन रावलपिन्डी भनेको थियो ।मैले उसको देश र नामपछि उसको उमेर पनि सोधेको थिएँ । उसले भनेको थियो-

‘बयालीस वर्षको भएँ सर ।’

‘गाडी कत्ति बेर चलाउँछौ ?’

‘बारहरू खुलुञ्जेल सर ।’

‘एक बजेसम्म ?’

‘हो सर ।’

‘अनि दिनमा ?’

‘म दुई  बजेबाट सुरु गर्छु सर ।’

‘लंग आवर ?’

‘हो सर, परिवार चलाउन गर्नै पर्छ सर, यहाँ बोस्टनमा घरभाडादेखि सब चीज महगो छ सर  ।’

‘परिवारमा को को छन् नि ?’

‘मेरी श्रीमती र तीन वटी छोरी छन् सर  ।’

‘लकी म्यान ।’

‘थ्याङ्क्यु सर ।’

‘छोरीहरू कत्ति उमेरका छन् ?’

‘आठ, दश र तेह्र ।’

‘ग्रोइङ्ग अप ।’

‘यस सर, तिनीहरूलाई डाक्टर बनाउने सोचमा छु  सर ।’

‘भेरी गुड ।’

‘तर सर यो कोभिडले गर्दा बाँच्न पो सकिन्न भन्ने हुन् थाल्यो सर, घर बस्न सकिन्न काममा निस्कनै पर्‍यो ।’

‘भाइरसभन्दा हल्ला धेरै छ, डन्ट वरी ।’

‘हैन सर रेडियोमा खराब समाचार सुनिरहेको छु । ‘

‘के  सुन्यौ ?’

‘न्युयोर्क, कनेटिकट, रोड आइजल्याण्ड, पेन्सिलभानियामा संक्रमितहरू धेरै बढेका छन् भन्ने, अझ न्युयोर्कमा थुप्रै मरेछन्  ।’

‘ओ ! ब्याड न्युज ।’

‘यहाँ हाम्रो बोस्टनमा पनि संक्रमितहरू ………।  ‘ऊ भन्दै थियो मलाई हठात छिउँ लाग्यो ।

‘हाछिउँ ।’

उसले भन्यो,

‘ब्लेस्ड यु सर ।’

‘थ्याङ्क्यु ।’

‘धेरै फास्ट फैलने रोग रहेछ सर ।’

‘भाइरस  यस्तै हो ।’

‘…….…… ।  ‘

गफको यो सिलसिला अगाडि बढेन । मेरो कन्चटमा बियरको नसाको भार बढिरहेको थियो । म आनन्दमा त थिए नै ,  उम्न पनि थालेछु । धेरै पनि हैन, त्यस्तै पाँच, सात मीनेट उमे हुँला म । त्यस्तैमा उसले ‘आइपुग्यो सर ।’ भनेपछि म बिउँझिएको थिएँ । उसले कार मेरो अपार्टमेन्ट बिल्डिंगको ढोकै सामुन्ने रोकेको थियो । पाँच डलरको नोट ऊतिर देखाउँदै मैले भनेको थिएँ,

‘हेर यु गो ।’

यो मैले उसलाई दिएको टिप्स थियो । नोट लिँदै उसले हर्षित स्वरमा भनेको थियो ,

‘थ्याङ्क्यु सर, ह्याभ अ गुड नाइट  ।’

उसले यसो भन्दा म कारबाट बाहिर निस्किसकेको थिएँ । सम्भवत: मैले पनि उसलाई भने हुँला,

‘यु टू ।’

म आफ्नो अपार्टमेन्ट बिल्डिंग माथि उक्लन थाल्दा पौने बाह्र बजिसकेको थियो ।

कोठामा म एक्लै थिएँ  । सिंगल हुन् थालेको तीन वर्ष भैसकेको थियो  । पहिले गर्लफ्रेन्ड राखेको थिएँ  ।पछि मतभेदका सिलसिला सुरु हुनथालेपछि ऊ निस्की । त्यसदेखि यता म एक्लै थिएँ  ।

बिहान उठ्दा लगभग बाह्र बज्न लागेको थियो । प्राय: शनिबारको दिन मेरो उठाइ यस्तै हुन्थ्यो । म झ्यालतिर गएको थिएँ । पुरै घमाइलो दिन थियो । बाहिर हल्का बतास चल्दै थियो । सडकमा ट्राफिक कम थिए । विकइन्डको  सडक यस्तै शान्त हुन्छ नै । म झ्यालबाहिर हेर्न मग्न भैरहें । लगभग बाह्र मीनेट त्यसरी बिताए हुँला । त्यसपछि सोफामा आएर पसारिएँ । रिमोट सोफामै थियो । टीभी खोलें । एबिसी च्यानल प्रकट भयो । अघिल्लो बिहान यै  च्यानल हेर्दाहेर्दै बन्द गरेको रहेछु । त्यसकारण टिभी अन गर्नासाथ एबिसी च्यानल खुलेको थियो ।

त्यसमा जेफ्री स्विफ्ट कोभिड १९ बारे डरलाग्दो समाचार फुकिरहेको थियो । वाचक जेफ्री सिडिसी अर्थात रोग निवारण तथा नियन्त्रण केन्द्रले जारी गरेको वक्तव्य सुनाइरह्रेको थियो । त्यसमा भनिएको थियो बार, होटेल, थिएटर, सिनेमा हल र  चर्चहरू जस्ता भीडभाड हुने स्थानहरू कोभिड फैलाउने क्लस्टरहरू भएका छन्  । कल्स्टरमा बारको नाम सुन्दा मेरो घाँटीदेखि नाइटोसम्म चिसो वायुजस्तो गति बगेको थियो ।मैले आफैंलाई सल्लाह दिएको थिएँ , ‘अब केही समय बार, पवमा जानु हुन्न ।’

टिभीका सबै च्यानलहरू कोभिडबारेका खतरनाक समाचारहरू फुकिरहेका थिए । ती सब समाचारहरू मन आतंकित र अशान्त पार्ने विवरणहरूले भरिएका थिए । सबभन्दा खराब समाचार न्युयोर्कको थियो । राति उबर ड्राइभर अर्फाज अहमदले रेडियोमा सुनेको हुँ भनेको ठीकै रहेछ । टिभीहरू न्युयोर्कको प्राय: सब अस्पताल कोरोनाका विरामीहरूले भरिन थालेको समाचार सुनाइरहेका थिए  । म भटाभट टिभीका च्यानलहरू फेर्दै समाचार हेरिरहेको थिएँ । न्युयोर्कको हालत नियन्त्रणभन्दा बाहिर पुग्ने डर बढ्दै थियो । टिभीले देखाएका न्युयोर्कका दृश्यहरू स्तब्धकारी, भयानक र सन्न पार्ने थिए । न्युयोर्कका समाचार हेर्दाहेर्दै मन निकै आत्तिन थाल्यो । मैले हठात टिभी बन्द गरेँ । बाथरुमभित्र लागेँ । बाथटबमा पसेर सावर अन गरें । आनन्द दिने मनतातो पानी शरीरमा वर्षन थाल्यो । तर, मन कानमा गुञ्जिरहेको टिभीका कोरोना समाचारहरले काम्दै थिए। समाचारहरूले भनेका कोरोनाको क्लस्टरहरूबारे मेरो दिमाग बाथ रुमको एक्जस्ट  फ्यान झैं फन् फन्  घुमिरहेको थियो । त्यसमध्ये एक क्लस्टर बार र पव मेरो चिन्ताको मियो भएको थियो । रुमालले शरीरको पानी पुछ्दै गर्दा म अर्फाज अहमदले भनेको सम्झँदै थिएँ,

‘सर अब सचेत हुनुपर्छ ।’

सायद त्यसो भनेर ऊ मलाई बारमा यसरी बस्ने बेला छैन भन्ने कुरो बुझाउन खोज्दै थियो कि ?  रुमाल कपालमा रगड्दै चेतावनी जस्तो लाग्ने उसको त्यस भनाइको हुनसक्छको अर्थमा डिकोड गर्दै बाथ रुमबाट निस्केँ । किचेनतिर लस्कें । रेफ्रिजिरेटर खोलें । त्यसभित्र बियरका बोतलहरू मजाले चिस्सिरहेका थिए ।एउटा बोतल निकालें । र, ओपनरले बोतलको घाँटी अँठ्याएर त्यसको मुख थुनेको बिर्को खोलें । चिसो बियर सुर्केर त्रासले पोल्न

थालेको पेटलाई ठण्डा पार्न थालें  ।

एकैछिनमा न्युयोर्कको गभर्नर एन्ड्रु एम कोमो टिभीमा देखापर्‍यो । ऊ न्युयोर्कमा दस बुँदे ‘स्टे अ पजको’घोषणा गर्न देखा परेको थियो । त्यसअन्तर्गत न्युयोर्कमा आवश्यक वस्तुदेखि बाहेक सब कुराहरूको ब्यापार बन्द गरिएको थियो । अत्यावश्यक पर्दाबाहेक घरबाट ननिस्कन सुझाइएको थियो । रेस्टुरेन्ट, पव होटलहरू खोल्न अस्थाई प्रतिबन्ध गरिएको थियो । दस बुँदे ‘स्टे अ पजको’घोषणा मार्च २२ आइतवारको राति आठ बजेबाट लागू हुँदै थियो । गभर्नर कोमोले आफ्नो वक्तव्यमा न्युयोर्कमा संक्रमितको संख्या हजारौँ पुगेको त्यत्तिकै संख्यामा अस्पतालमा भर्ना गरिएको, मर्नेहरू थुप्रै भएको र यो क्रम तीव्ररूपमा बढ्दै छ भन्ने सुनाएर आतंकित पारेको थियो । टिभीका समाचार वाचाकहरू  बोस्टनको हालत पनि राम्रो सुनाइरहेका थिएनन्  । यहाँ पनि संक्रमितहरूको संख्या बाह्र  हजार पुगिसकेको र त्यसमध्ये चार हजारलाई अस्पताल पुय्राइएको रहेछ । यो सुनेपछि राति उबर ड्राइभर अर्फाज अहमदको स्वर किन आत्तिएको थियो भन्ने  बुझ्दै थिएँ म  । झ्वाट्ट मेरो मनमा आयो- यदि साँच्चिकै उबर चलाउँदा चलाउँदै अर्फाजलाई कोरोना लाग्यो भने उसका दूई नाबालक छोरीहरूको सपना के होला ? अथवा उसलाई लाग्ने कोरोना उसका छोरीहरू र श्रीमतीलाई पनि लाग्यो भने के होला ? तीमध्ये को बाँच्लान ? कि सबै मर्लान ?  धत ! यस्ता अनाहकका खतरनाक प्रश्न मेरो मनमा किन खेल्दै छन् ? मैले आफ्नो टाउको झट्कारें । म त्यस्ता खतरनाक दुष्ट तर्कनाहरू मनमा नउठोस् भन्ने उपायहरूमा लागेँ । मैले त्यसरी

टाउको झट्कार्नु  प्रयास नम्बर एक  थियो । दोस्रो  उपायमा मैले फेरि बियरको अर्को बोतल खोलें । तेस्रो उपायको लागि मैले आफ्नो फोनमा भएको कोल्डप्लेको गीतले भरिएको याप खोलें । त्यसबाट डन्ट बी प्यानिक भन्ने गीत सुनिन थाल्यो,

”बोन्स सिन्किंग लाइक स्टोन्स

अल द्याट वी ह्याव फाउट फर

होम प्लेसेस वी ह्याव ग्रोन

अल अफ आर डन फर

‘…. .…… ”

कोल्ड प्लेका अरु चार भावपूर्ण गीत सुनेपछि मैले बियरको चौथो बोतल खोलें । र, एड्रियाना पिजा सपमा फोन गरें । अक्सर सनिवार म लन्चको लागि बाहिर निस्किएर कुनै रेष्टुरेन्टमा पस्ने गर्थें । राति डिनरको लागि मात्र कुनै फास्टफुड सप वा रेष्टुरेन्टको खाने कुरा होम डेलिभरीको लागि अडर गर्थें ।

मेरो रेफ्रिजिरेटरमा बियर प्रयाप्त थिए । त्यसकारण आइतबार पनि म बाहिर निस्किन । मेरो मन बाहिरको हावासँग तर्सिन थालेको थियो । त्यसकारण मैले लन्च र डिनर उबर इट्सबाट मगाएको थिएँ  ।आइतबारको यो रात रेफ्रिजिरेटरभित्र भएको मेरो बियरको स्टक पनि रित्तियो । शनिवारदेखि आइतबारको रातसम्म मैले बाह्र आउन्सका बयालीस बोतल बियर घुट्क्याएको थिएँ । मैले अन्तिम बोतल राति नौ बजे खोलेको थिएँ । त्यसलाई हल्का चुस्की लिँदै साँढे नौबजे रित्याएको थिएँ ।

सवा नौ बजेतिर मलाई भाइको फोन आएको थियो । म बियरको त्यै अन्तिम बोतलको मुखमा थुतुनो घोचेर बसेको थिएँ । बोलें,

‘हेलो ?’

‘हाउ आर यु क्रिस्टोफर ।’

‘हे, गुड गुड , हाउ इज अ गोइंग ?’

उसले सुनायो,

‘कान्ट से ?’

‘किन ?’

‘तँलाई थाहा छैन यहाँको हालत ?’

उसको बसाइ न्युयोर्कको ब्रुकलिनमा थियो । आइतबारसम्ममा न्युयोर्कमा मर्ने र संक्रमितको संख्या सनिवारको भन्दा तेब्बरले बढेको थियो । मैले भनें,

‘आइ नो, बि कियरफुल ब्रदर ।’

ऊ क्लिटन हिलको छेउ वेभरली एभको एउटा बिल्डिङको एक बेडरुमको कोप्चो अपार्टमेन्टमा बस्थ्यो  । उसका अझ कुनै बच्चाबुच्ची भैसकेका थिएनन् । त्यसकारण उनीहरू बूढाबूढीको लागि त्यो अपार्टमेन्ट प्रयाप्त थियो । ऊ जेपी मोरगन चेस एण्ड कम्पनीमा काम गर्थ्यो । उसकी स्वास्नी प्रकाशन संस्था ब्लुम्सबरी  पब्लिसिंगमा

एडिटिंगको  काम गर्थी । उसले फेरि त्यस्तै त्रस्त स्वरमा भन्यो,

‘ बट सिचुएसन आर ओर्सेनिंग  ?’

‘यहाँको हालत पनि त्यस्तै हो  ।’मैले भनें ।

उसले भन्यो,

‘अरु स्टेटको हाल पनि यस्तै हुँदै छ  ।’

‘त्यही त ।’

‘भाइरस आर स्प्रेडिंग अल ओभर दि प्लेसेस ।’ आतंकित हुँदै उसले भन्यो । मैले सोधें,

‘तँ घरबाहिर निस्केको त छैनस नि ?’

‘छैन, तर घरभित्रै पनि डर लाग्दै छ ।’

‘ किन ?’

‘भाइरसहरू शरीरमा पसिसके कि भन्ने ।’

यो उसको डरलाग्दो भनाइ थियो । मेरो यथार्थ पनि यै हो । मलाई पनि आफ्नो नाक, घाँटी कतै भाइरस पसेर इनक्विबेसनमा बसेका छन्  कि भन्ने लागिरहेको थियो । तर, मलाई पनि यस्तै लाग्दै छ भनेर उसलाई सुनाउनु ठीक थिएन । किनभने यसो भन्नु उसलाई अत्याउनु हुन्थ्यो । त्यसकारण मैले भनें,

‘डन्ट वरी ।’

‘तर मलाई शंका लागिरहेछ ।’

‘किन ?’

‘बारहरूमा गइएको छ, काममा जान मेट्रो चढिएको छ ।’

‘त्यो त मैले पनि गरेको छु ।’

‘त्यै भएर मलाई डर लागेको हो ।’

‘लेट्स सी ।’

‘ओके, गुड नाइट ।’

‘गुड नाइट, टक यु टुमरो ।’

म  नर्थ  बैंकमा काम गर्छु । यो बोस्टनको लोकल बैंक हो । यसको म लेन्डिंग डिपार्टमेन्टको काम हेर्छु  । हरेक बिहान उठ्नासाथ म कामबाट आउने इमेलहरू चेक गर्छु । मैले आफ्नो कामको लागि यो गर्नु नै पर्थ्यो  । यो मेरो नियमितता भित्रको कुरो थियो । त्यसकारण सोमबारको त्यो बिहान पनि बाथरुम जानुपहिले मैले आफ्नो इमेल खोलें  । त्यसमा कामको लागि आएका थुप्रै मेलहरू थुप्रिएका रहेछन् । त्यसमध्ये एउटा मेल सुखद थियो । यसलाई खोलेर पढेपछि म आनन्दित भएको थिएँ । मेलमा महामारीको कारण देखाउँदै भनिएको थियो अर्को सूचना जारी नभएसम्म तपाईं घरबाटै काम गर्नुस । निश्चय नै यो मेरो लागि जिउ हल्का पार्ने मेल थियो ।यसले काम जाउँ नजाउँको दोधारमा रहेको मलाई हलुंगो बनाएको थियो ।

नौ बजे मैले आफ्नो ल्यापटपमा कामको लग इन गरेको थिएँ । म काम थाल्दै थिएँ । यसको आधा घन्टापछि टेक्ससबाट केनको फोन आयो । केन पनि पहिले नर्थ  बैंकमै काम गर्थ्यो । टेक्ससको एक कम्पनीको राम्रो अफर पाएर ऊ त्यता लागेको धेरै भएको छैन । लगभग डेढ वर्ष भयो होला  । बेला बेला हामी फोनमा गफ्फिन्थ्यौं ।

‘गुड मर्निंग क्रिस्टोफर ।’

‘हे गुड मार्निंग केन, हाउ इज अ गोइंग ?’

‘अल राइट, काहाँ छौ ?  ‘

‘घरमै छु, अफिसको काम गर्दै छु ।’

‘बोस्टनमा लकडाउनको घोषणा हुँदै छ रे नि ?’

‘हो, दूई बजे गभर्नरको त्यसबारे ब्रिफिंग छ ।’

‘भेरी स्याड ।’

‘याह !’

‘बि सेफ ।’

‘आइ विल, थ्यांक्यु म्यान ।’

‘बाइ ।’

उसको फोनले फेरि मेरो मुटुको गति बढ्न थाल्यो  । तथापि काममा केन्द्रित हुन् पूर्ववत ल्यापटपमा घोरिन थालें ।

मध्यान्ह गभर्नर चार्ली बेकरले लकडाउनसहित राज्यव्यापि संकटकालीन घोषणा गरेको थियो । टिभीहरूले यसलाई सनसनीकोरुपमा प्रशारण गर्दै थिए । लकडाउनको यो घोषणा मार्च चौबीसको बिहानपश्चात दुई हप्ताको लागि लागू गरिएको थियो । जनसाधारणलाई अत्यावश्यक कुरोको लागि बाहेक फाल्तुको कामको लागि घरबाट ननिस्कन अनुरोध गरिएको थियो । टेक्निकल हिसाबले यो सरकारको होम स्टे अडर थियो ।कार्यालयहरू, रेष्टुरेन्टहरू,बारहरू, थिएटर, सिनेमा हल बन्द गरिएका थिए । ग्रोसरी स्टोरहरू, खाद्य सामाग्रीका मार्केट, फार्मेसीहरूजस्ता अत्यावश्यक वस्तुहरूको स्टोरहरू र  केन्द्रहरू खोल्न भनिएको थियो  ।

कम्प्युटरमा कामबाट लगफ गरेपछि म आफ्नो अत्यावश्यक बस्तु बियर लिन बाहिर निस्केको थिएँ ।लिकर स्टोर अपार्टमेन्टबाट एक ब्लकमात्र पर छ । मजाको कुरा लिकर स्टोरहरूलाई लकडाउन लागू भएको थिएन । किनभने मजस्ता अम्मलीहरूको ख्याल गरेर बियर, वाइन, ह्विस्की, भोड्का, जिन, रम आदि सब मदिरालाई अत्यावश्यक बस्तुमा राखिएको थियो । सहरका सब लिकर स्टोरहरू खुलेका थिए ।

होम स्टे अडरलाई म त्रास भगाउने उत्सवको रुपमा मनाउने सोचमा थिएँ । यसको लागि बाह्र आउन्सको चौबीस प्याक आइपिए बिएरको तीन वटा कोरुगेटेड बाकस किनेर म घर फर्किएको थिएँ । यी बियर मेरो लागि चार दिनलाई पुग्ने थिए । सकिएपछि फेरि किन्न पाइन्थ्यो नै । बियर सिद्धिए नपाइएला भन्ने चिन्ता भएन । त्यसकारण त्यस त्रासद साँझ म  ढुक्कले पिउन थालेको थिएँ । गणनामा अरु साँझहरूको भन्दा चार बोटल बढी पिइएछ   ।

मंगलबारको बिहानको दृश्य एकदम भिन्न थियो । स्थिति शान्त देखिन्थ्यो, तर आतंकपूर्ण । सडकमा पुलिसको पेट्रोलिंग गाडीबाहेक अरु गाडी नगन्य देखिन्थे  । हरेक बिहानको यस्तो बेला साइडवाकमा जगिंग गर्ने, ब्रिस्किंग गर्नेहरू निकै हुन्थे  । दृश्य एकदम रमाइलो र मोहक हलचलको देखिन्थ्यो । मेरो  पनि जगिंगमा निस्कने बेला यै हुन्थ्यो । तीन माइलको छोटो जगिंग गरेर म घर फर्किन्थें । तर, त्यस बिहानको साइडवाकमा यस्ता सनातन दृश्य थिएनन्  । साइडवाक बिलकुल सुन्य परिदृश्यमा  थियो । अंग्रेजीमा एउटा शब्द छ डेजर्टेड । बस त्यस्तै डेजर्टेड  थियो सडक र त्यसको समानान्तर बनेको साइडवाक । दिनभरको हाल यस्तै थियो ।

त्रासद सहरवासीहरूले सरकारको होम स्टे अडरलाई पुरै मानेका थिए । त्यसको एक त्रस्त नागरिक उदाहरणमा म पनि थिएँ ।

न्युयोर्कको स्थिति भयावह हुँदै थियो ।अपरान्ह गभर्नर कोमोको प्रेस ब्रिफिंग थियो । ऊ हरेक दिन प्रेस ब्रिफिंग गर्थ्यो । त्यस क्षण  उसले दिएको आंकड़ा अझ आतंकित पार्ने थियो । भन्दै थियो बाह्र हजार बितिसके । पोजिटिभ केस दूई लाख पुग्यो । यो सात दिनभित्रको आँकडा थियो,  यो बढ्ने क्रममा छ । गभर्नर कोमु अगाडि भन्दै थियो, अस्पतालमा बेड खाली छैन, पार्कहरूमा सैयौं बेडको अस्थायी अस्पताल बनाइरहेका छौँ, यसको लागि सेना लागि पर्दै छन् । हामी युद्धको प्रतीरक्षा पंक्तिमा छौं । यो सत्रुलाई हामी सब मिलेर पराजित गर्नु छ ।’

‘बुलशिट ।’ कोमोको कोरोना  पराजित गर्ने यस्तो  कुरोमा राति टम अर्थात मेरो भाई यसरी आक्रोशित भएको थियो । त्यसपछिको उसको कुरो यस्तो थियो- ‘जनवरीमा यहाँ  एउटा केस देखिएको थियो । त्यसै बेला सचेत भएको भए अहिले यो आतंक देख्न पर्ने थिएन, फकिंग मास मडररहरू ।’

‘द्याट वाज वार्निग कल ।’

‘एब्सुलुटली  ।’

भाइसँग यत्ति कुरा भैरहँदा मेरो टाउको हल्का दुख्न सुरु भएको थियो । ऊ पनि भन्दै थियो,

‘म पनि बिहानै देखि अनइजी फिल गर्दै छु, जिउ भारी छ, टेस्ट गर्न  पनि झमेला छ, पूरा लक्षण नदेखी डाक्दैनन्, युद्धको प्रतीरक्षामा छौँ भन्नेहरू गफ मै छन् ।’

‘यै हो समस्या, चाहेर पनि टेस्ट गर्न नपाइने स्थिति छ ।’

‘फकिंग पोलिटिसियन आर प्लेइंग विथ अस ।’

बिहान मेरो अवस्था एकाएक असामान्य भएको थियो । ओछ्यान छोड्नासाथ मेरो जिउ भयानक जाडोले कामेको थियो । मैले हत्तपत्त ज्याकेट लगाएँ । टाउजर लगाएँ । रुम हिट अन गरें । मार्चको अन्तिम साता भैसकेको थियो । कोठामा हिट अन गर्नु पर्दैन थियो । तर, त्यो बिहान मेरो जिउ न्यानो खोज्दै उग्र काम्न थालेको थियो । मलाई ज्याकेटमाथि ओढ्ने पनि ओढौँ, ओढौँ  भएको थियो । तर, म काम्दै जेनतेन बाथभित्र पसेको थिएँ । कमोडमा पनि काम्दै बसेको थिएँ ।

हतपत निवृत भएर म उस्तै काम्दै  बाहिर निस्कें । सिधा ओछ्यानमा गएर पल्टिएँ । भएका सबै कम्मल खापेर कुप्रिएँ । तर, न्यानो बिलकुल भएको थिएन । कम्मलभित्र कामिनैरहेको थिएँ । कसैले बढे ढुंगाले थिचिरहे झैं छाति भारी  लाग्न थालेको थियो । एकदम अत्यासिँदो थिएँ । यै हालतमा मैले आफ्नो प्राइमरी केयेर डाक्टरलाई काम्दै फोन गरें । उसले मलाई दोधारमा पार्‍यो । किनभने उसले मलाई कोरोना हुन् पनि सक्छ नहुन पनि सक्छ भन्यो । उसले सोधेको थियो,

‘फ्लुको भ्याक्सिन लिएको छ कि छैन ?’

मैले भनें,

‘नो ।’

‘त्यसो भए फ्लु पनि हुनसक्छ, एक दिन वेट गर ।’

‘तर मलाई त काम छुटेको छ, जिउ निकै तातेको छ ।’

‘पाँच सय एमजीको टाइनानोल ६/६ घन्टामा खाउ ।’

तर डाक्टरको सिफारिसका यी ट्याब्लेटले मेरो पीडा कम गरेन ।टाइनानोलको विश्वासमा मैले त्यो दिन,रातभार असह्य पीडामा बिताएँ ।

बुधबारको बिहान नाइन वान वान ( आकस्मिक सहयोग माग्ने फोन नम्बर ) लाई फोन गरेँ । डिस्प्याचारसँग आफ्नो हाल बताइरहँदा मेरो जिउमात्र हैन बोली पनि कामिरहेको थियो । म उग्र स्वाँस्वाँ गरिरहेको थिएँ  । डिस्प्याचारको आश्वासन थियो- ‘प्रतीक्षा गर एम्बुलेन्स आउँछ ।’

इकार, आकारको टेको लागेको तीन अक्षरको यो प्रतीक्षा शब्द मेरो लागि निकै भारीको थियो । किनभने एम्बुलेन्सको लागि मैले घन्टौं कुर्नु परेको थियो ।

अस्पतालमा मेरो स्वाब लिइयो । यसको ल्याब टेस्टले मलाई कोरोना लागेको ठहर गरिएको थियो । मेरो छातीको एक्सरे गरियो । हजारौँ भाइरसले मेरो फोक्सोमा रजगज थालिसकेका रहेछन । मलाई कोभिडको निमोनिया भैसकेको थियो  । तर, बेडको अभावमा कोरोना कक्षमा पुग्न जत्ति छटपटिए  पनि मैले पाइन्  ।तर, कोरोना कक्षमा लागिँदा पनि भेन्टिलेटर नपाएर दुई दिनसम्म मैले असरहीन ट्याब्लेट र क्याप्सुलको भरमै बेचैन हुन् पर्‍यो । तेस्रो दिनको साँझमात्र मैले भेन्टिलेटरको सहारा पाएको थिएँ ।

तर, अस्पतालमा म बाँच्ने हैन मर्ने प्रतीक्षामा थिएँ । डाक्टरहरू मलाई बचाउन लागिपरेका थिए । तर, कोभिड मलाई सिध्याउने यत्नमा थियो । भाइरसहरू मेरो कलेजो र मृगौलातिर बढिरहेका थिए । मलाई मर्न पूरा तीन महिना लाग्यो । यो अवधिभित्र मेरो फोक्सो, कलेजो र मिर्गौला छ्यालब्याल भैसकेको थियो । यस्तो स्थितिमा म आज मरेको हुँ । खुसी छु । किनभने मेरो प्रतीक्षा सकियो । आजबाट म ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा भाग लिन पाउँदैछु । यसकारण मरेर पनि म हर्षित भएको हुँ ।

मलाई लासहरू राख्ने चिस्यान घरमा राखिएको छ  । अहिले राति बाह्र बज्न लागेको छ । म आफ्नो लास बेरेको प्लास्टिकको य्रापरबाट निस्केर लिंकन सेन्टरतिर उड्दै छु ।

वासिंगटनका घरहरू, सडकहरू निदाइसकेपछि कोभिड- १९ ले मरेका मृतकहरूको जुलुस सुरू हुन्छ पहिले मृतकहरू  लिंकन सेन्टरमा जम्मा हुन्छन्  ।  त्यसपछि नारा जुलुसका साथ सब मृतकहरू ह्वाइट हाउसतिर बढ्छन् । मे महिनाको पहिलो सातादेखि नै मध्यरात्रिमा मृतकहरूको यस्तो जुलुस चल्न थालेको हो । भाइरस नियन्त्रणमा ट्रम्प सरकारले गरेको लापरबाहीको विरोधमा यो बिरोध भेला हुने गरेको हो । यो लापरवाहीले हामी एक लाखभन्दा बढी जनता मरिसकेका थियौँ । सरकारले समयमै सचेत भएर कोरोना नियन्त्रणको पहल गरेको भए हामी संक्रमित हुने, मर्ने थिएनौँ  ।

लिंकन सेन्टरबाट हिँडेको जुलुस ह्वाइट हाउसको दक्षिण मोहडाको लनअगाडि गएर थुप्रिन्छ ।र, सहभागी कोरोना मृतहरू सब  नारा लगाउँन थाल्छन्-

‘हुतिहारा सरकार ?’

‘मुर्दावाद !’

‘कोभिड पीडित मृतहरू  ?’

‘एक हौँ ।’

‘ट्रम्प प्रशासन ।’

‘हाय, हाय ।’

‘कोरोना टेस्ट ?’

‘शुलभ गर ।’

‘शुलभ गर ?’

‘शुलभ गर ।’

‘जनता मार्न पाइन्न  ।’

‘ट्रंप प्रशासन चाहिन्न ।’

‘ बाँच्नेहरू ?’

‘बचाऔँ ।’

‘हत्यारा सरकार ?’

‘हटाऔँ ।’

जिउँदाहरू बचाउने अभियानमा मुर्दाहरूले चलाएको यो विश्वको पहिलो आन्दोलन हो । अहिले म लिंकन सेन्टरबाट ह्वाइट हाउसतिर बढ्न थालेको जुलुसमा मिस्सिसकेको छु । साथी मुर्दाहरू नारा लाउँदै छन्,

‘जिउँदाहरूको लागि ?’

‘मुर्दाहरू जागौं ।’

‘जिउँदाहरूको लागि ?

‘मुर्दाहरू जागौं ।’

‘मुर्दा, मुर्दा ?’

‘एक  हौँ ।’

‘हत्यारा कोभिड ?’

‘मरिजा ।’

‘लापर्वाह सरकार ?’

‘चाहिन्न ।’

‘उपचारमा विभेद ।’

‘हाय, हाय ।’

अस्पतालको बेडमा म एक्लो थिएँ । तर, यहाँ म जीवितहरूलाई मर्न जोगाउन लागेका हजारौं मुर्दाहरूसँग छु । खुसी  छु ।

(स्रोत : शिलापत्र डट कम )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.