~दिवाकर भट्टराई~
पात्रहरू।
१) धुर्बे ( एक युवा)।
२) मङ्गली।(धुर्बेको आमा)
३) साने।(धुर्बेको साथी)
४) सान्नानी।(गाउँकी चेली, )
५) धतुरे।(जँड्याहा , गजेडी)
६) वीरबहादुर।(भु पु सिपाही)
७) बूढी बज्यै।(गाउँले मुखिनी)
दृश्य – १
बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको छु ।
धुर्बे : पछि आउँछु बज्यै, हुन दिनुस् ।
बूढी बज्यै: आमैले भनेको के मान्थिस् र !(झोक्किँदै)
धुर्बे: त्यस्तो त होइन आएँ, बा जङ्गलमा घाँस काट्न गा.. का..!
(मिस्री भएको प्लास्टिकको पोको फुकाउँदै धुर्बेतिर इसारा गर्दै )
बूढी बज्यै: नानी ! घरमा पानी छैन,विपतै पर्यो !
धुर्बे: म छु नि त्यति त गरिहाल्छु नि?
बूढी बज्यै: नानीको यो भलो मैले कसरी तिर्ने होला। अलि टाढा छ अलि राम्ररी है..!
( मुसुक्क हाँस्तै धुर्बे गाग्रो बोकेर पानी भर्न कुवातर्फ लाग्यो।)
दृश्य :२
धतुरे: सान्नानी तिमीलाई…हिर्कौँला लौरीले ,…(गीत गाउँदै आफ्नो गतिमा) सान्नानी पनि कति छिटो तरुनी भइसकेकी । (सान्नानीतर्फ हेर्दै।)
सान्नानी: (छुच्चो स्वरमा!)हो त, म तरुनी हुने , हजुर बुढो हुने त हो नि!
धतुरे:( हाँस्तै) कति छिटै स्विकारेकी हो सान्नानीले त!
सान्नानी:( रिसाउँदै) बुढेसकालमा पनि कति पात्तेका हुन्, यी जाँडका खन्ती!
धतुरे: के पिर लिन्छेस्, कान्छी बनाउँछु!
वीरबहादुर: (यत्तिकैमा) कसलाई कान्छी बनाउँछु भन्छ यो जँड्या।
सान्नानी: वीरबहादुर काका पनि! यस्ताका कुरामा के विश्वास गरेको होला।
वीरबहादुर : कि जान्छेस् सान्नानी?भन् है..!(लामो हाँसो हाँस्तै)
सान्नानी: मूर्ख छु र!
दृश्य ३
मङ्गली:(सान्नानीतर्फ इसारा गर्दै) सान्नानी! धुर्बेलाई देखिस्?
सान्नानी: गाग्रो बोकेर ओरालो झर्दै थियो। मसँग बोल्दा पनि बोलेन।
मङ्गली: किन बोल्नु तँसँग! बालाई सघाउन जङ्गल जान्छु भन्थो । कता गा होला!
साने: ( टुप्लुक्क आइपुग्छ।) आमा ! सान्नानी, धुर्बे भनेपछि हुरुक्कै हुन्छे विचार गर्नुस् है!
मङ्गली: सान्नानीलाई त मैले आजै भित्र्याउँथे, धुबेले मान्दैन र पो ?
सान्नानी: आमा त सधैँ मेरो पक्षमा त हो नि।
साने: (हाँस्तै) आमाले बिहे गर्नुहुन्न, कि जान्छेस् मसँग?
सान्नानी: त्यति बाँकी छ। (बाटो लाग्छन्)
दृश्य ४
बूढी बज्यै: छोरो आइपुग्यो मङ्गली?(मङ्गलीतर्फ इसारा गर्दै)
मङ्गली: कता गयो कता ..!
बूढी बज्यै: पानी ल्याइदिन्छु भन्दै गाको । अझै आएन बरै, के गर्ने होला!
मङ्गली: गाउँभरिको गोठालो बनाए मेरो छोरालाई।
(काँधमा गाग्री बोक्तै तलतिरबाट धुर्बे आउँदै गरेको दृश्य मङ्गली र बज्यैले देख्छन् । पसिना पसिना हुँदै धुर्बे घरछेउ आइपुग्छ । बुढी बज्यैले गाग्री समाउन खोज्दा ,काँधबाट अकस्मात् खस्छ र कुच्चिन्छ ।)
बूढी बज्यै: लौ न.. गाग्री कुच्चाइदियो । अब के गर्ने!(आत्तिँदै,गाली गर्दै)
धुर्बे : मैले जानेर होइन, माफ गर्नू।
मङ्गली: यसलाई किन जानुपर्ने पानी लिन।
बूढी बज्यै: कस्तो दिनमा काम अह्राएछु । थुक्क!!
(यत्तिकैमा गुहार..! गुहार..!! को आवाज आउँछ परतिरबाट)
मङ्गली: वीरबहादुर दाइ…कसलाई के भो?
वीरबहादुर: धुर्बेको बा !( रुँदै रुँदै..)
मङ्गली: के भो लौन नि।
वीरबहादुर: रुख काट्ता बन्चराले खुट्टामा हानेछन् । रगत बेगिरहेको छ । लौन गाउँलेहरू भेला पारौँ ?
धुर्बे: ( आमातर्फ सम्झाउँदै ) नरुनू आमा!
मङ्गली : के अशुभ हुन लाग्यो । मेरो बुबा बित्ने बेलामा मैले गाग्री कुच्चाएकी थिएँ। मलाई डर लागेको छ ।(मूर्च्छा परेर रुँदै कराउँदै)
(चारतिरबाट गाउँलेहरू भेला हुन्छन् र जङ्गलतर्फ जान्छन् । जङ्गलमा पुग्दा अत्यधिक रक्तस्रावले धुर्बेको बुबाको मृत्यु हुन्छ।)
(सामान्य गाउँठाउँमा हुने आलोपालो, पर्म, ज्यालादारीमा काम गर्नु, वार्षिक माना भरेर कसैको घरमा जीवन निर्वाह गर्नु, आदि कुराहरूलाई यस नाटकमा समेटिएको छैन तथापि नाटकबाट व्यक्ति भित्रको मानवीय संवेदनालाई उजागर गर्न खोजिएको छ । धन पैसालाई नै मुख्य मान्ने गाउँले बुढी बज्यैले जीवनको उत्तरार्धमा आइपुग्दा पनि यथार्थ जीवनबोध गर्न सकेको देखिँदैन। यस नाटकमा धुर्बे नितान्त मानवीय संवेदनालाई बुझेर अप्ठेरोमा परेका हरेक व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको छ। धुर्बे कुनै पैसा र पदको पछाडि नलागी,घमण्ड नगरी सिधासाधा हिसाबले जीवन निर्वाह गर्दै आइरहेको एक सामान्य किसानको सन्तान हो । विशेषतः सामाजिक कथावस्तुमा आधारित यस नाटक ‘कुच्चिएको गाग्रो’ भाग्य, परिस्थिति, समयबाट पछाडि परे तापनि यथार्थ जीवनबोध गर्न सक्ने हरेक व्यक्तिको सोचप्रति सदा समर्पित छ।)
– तनहुँ।
(स्रोत : साहित्यपोस्ट डट कम)