~डा. रामदयाल राकेश~
मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ।
जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा त्यति गरिएन, तर यो उपन्यास ‘दुलारी’भन्दा सशक्त उपन्यास रहेछ। यसको भाषाशैली पनि परिमार्जित र विशिष्ट रहेको छ। ‘दुलारी’ उपन्यासको कथावस्तु ऐतिहासिक नभएर सामाजिक भएकाले यसको लोकप्रियता अवश्यमेव बढ्नेछ।
मुना चौधरी नेपाली आलोचकको आँखामा अहिलेसम्म अटाउन नसक्नु अस्वाभाविक लाग्छ। उपन्यासकारका रूपमा उनी एउटा सशक्त हस्ताक्षर हुन्। मिथिलाञ्चलमा मधेसी महिला साहित्यकारमध्ये उपन्यासकारलाई औँलामा गन्न सकिन्छ। यसर्थ एवं सन्दर्भमा मुना चौधरीको अहमियत स्वतःसिद्ध हुनेछ। उनी पेसाले शिक्षिका हुन्। उनको जन्म प्रदेश नं. २ को सिरहा जिल्लामा भएको हो। मैथिली भाषाभाषी भए पनि नेपाली भाषामा उनको पकड प्रशंसनीय मान्न सकिन्छ।
मधेसी दलित महिलाको दयनीय एवं सोचनीय दैनन्दिन जीवनलाई केन्द्रमा राखेर लेखिएको सम्भवतः नेपाली साहित्यमा यो पहिलो उपन्यास हो। लेखिका मुना चौधरीको यस उपन्यासमा आम मधेसी दलितको जर्जर अवस्थालाई उठाएकी छन्।
उनले पिँधमा परेका दलितको गाँस, बास, कपास, शिक्षादीक्षाका लागि आवाज उठाएकी छन्। यो प्रयासमा उनलाई सफल मान्न सकिन्छ। मधेसमा तीनवटा राजनीतिक आन्दोलन भए पनि दलितको समुचित उत्थान हुन सकेन।
मुसहर लोकसंस्कृतिकी ज्ञाता मुना चौधरीले सांस्कृतिक परिवेशमा उनीहरूको यथातथ्य वर्णन गर्न पुगेकी छन्। आञ्चलिक पृष्ठभूमिमा लिखित यस उपन्यासमा मुसहर जातिको संस्कृतिलाई जीवन्तता दिने कोसिस प्रशंसनीय छ। इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेख्ने उनी सफल महिला आख्यानकार हुन्। विभिन्न शीर्षकले उपन्यास पठनीय हुन पुगेको छ।
मुसहरको चुलोचौकी, रोटी भएको घर, गिलटको वर्तन भाँडा, टट्टी आदि शब्द प्रयोग गरिएको छ। जुन नेपाली पाठकलाई नौलो लाग्न सक्छ, तर वास्तविकताको वर्णनबाट यी शब्द आएका छन्।
यस उपन्यासमा उपन्यासकारले जाट–जटिन लेखक गीतको प्रयोग गर्नु प्रशंसनीय भन्न सकिन्छ, किनभने यो मुसहर जातिको लोकप्रिय नाच हो, तर ‘जाट’ नभएर ‘जट’ हुनुपथ्र्यो। जाट भन्नेपछि पन्जाबीजस्तो जाट जातिको बोध हुन्छ।
यस उपन्यासको भाषाशैली सरल, सुबोध, सुगम र संप्रेषणीय भन्न सकिन्छ। यस्तो लाग्छ कि मधेसी पाठक र मुसहर जातिका शिक्षित समुदायलाई लक्षित गरेर नै यस्तो भाषाको प्रयोग गरिएको छ। जयवद्र्धन सलहेसको भाषाशैली शुद्ध साहित्यिक र परिमार्जित छ भने दुलारीको भाषाशैली चलनचल्तीको भाषाशैली भएकाले यसको पठनीयता अवश्यमेव बढ्नेछ।