कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~

अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी खासै मेकअप गरिनन् कहिल्यै ।

पैंतालीस बर्षको उमेरसम्म पनि प्रशंसकहरू र ऐनाले उनका सौन्दर्यमा कुनै कमी देखाउन सकेनन् । तर केही दिन यता जब उनले ऐना हेर्थिन , घाँटी र गालामा केही रिंकल देख्न थालिन् । हैरान पार्यो र त उनलेे ब्युटी टिप्ससँग संबंधित युटुवहरू हेरिन् । केही च्यानलले सुझाए जस्तै केही घरेलु उपायहरू अपनाईन तर खासै सुधार भएन । अब उनी ढुक्क भइन् अब बुढौंलीले समात्यो।

केही दिनपछि नै एक हुल किशोरकिशोरीहरू एकजना सिनियर ब्युटीसियनको नेतृत्वमा क्युट केयर हर्वल कंपनीबाट मार्केटिङका लागि त्यहीँ आएर गेस्ट हाउसमा बसे । अम्बिकाले चासो राखिन् । उनलाई सिनियर ब्युटीसियनसँग नै भेट गराइयो । ” यी प्रोडक्टहरू लेडी डायनाको ब्युटी एडभाइजरको सुत्रमा नेपालकै हिमाली जडिबुटीहरूबाट बनेका हुन् । हजुरले एन्टी-एजिङ् केयर प्याकको प्रयोग गर्नुपर्छ । यो एकमहिना मात्रै प्रयोग गर्नु हजुर यो रोजी जत्तिकै क्युट देखिनुभएन भने म पूरै पैसा फिर्ता गर्छु,” एक किशोरीलाई तान्दै भनिन् ।

“होला र ?” रोजीलाई हेर्दै प्रश्न गरिन् अम्बिकाले ।

“हामी भागेर जाने हो र ,? एक महिना यतै बस्छौ । परिवर्तनलाई देखाउदै प्रयोग गर्दै , सल्लाह लिदै जानु न , हामी यी प्रोडक्टका सकारात्मक प्रभावहरू हेरेर र हजुरहरूको फिडब्याक लिएर मात्रै जाने हो ।”

अम्बिकाले किनिन् र प्रयोग गरिन् । दोस्रो दिन लगाउँदासम्म खासै केही देखिएन । तर तेस्रो दिनमा एक्कासि अनुहारभरी सस्याना घमौरा जस्ता विविराहरू देखा परे । उनी आत्तिइन् र फ़ेरि ब्युटीसियनकोमा गईन् र गुनासो गरिन्, “ल म त खत्तम भएँ, हेर्नुस् त मेरो अनुहार बिमिरै बिमिरा आए” ।

शुरूमा ब्युटीसियन तर्सिईन्, तर उत्तिबेरै आफूलाई सम्हालिन् र भनिन्, “ल बधाई छ, मैले भनेथें नि फ़ेरि जवानी आउँछ भनेर । यो त जवानीको निशानी डण्डीफोर हो त । अब हजुरले भरखरै मात्रै आएको यो इभर क्युट क्रीम लिनुस् । यस्ले ३,४ वटा मात्रै डंडीफोर बाँकी राखेर अरु सबै मेटाइदिन्छ । त्यसपछि मात्रै हजुरको अनुहारमा ग्लामर देखिने छ । आईरहन गाह्रो भए फोनबाट सल्लाह लिनुहोला” ।

अम्बिकाले त्यो पनि लगिन् र प्रयोग गरिन् । लगाएकै साँझ अनुहारभरि पोल्यो । श्रीमानलाई छलेर साँझ नै फोन गरेर गुनासो गरिन् । तर उताबाट जवाफ आयो ,”ल बधाई छ , त्यो प्याकले राम्रो काम गरेको संकेत हो । लगातार अझै ५ दिन लगाउनुस् र त्यो प्रोडक्टको कमाल हेर्नुस् ।”
अम्बिकाले अर्को दिन पनि लगाईन् । अब त पूरै चाला उठे अनुहारभरि । अर्कोदिन त ती चालाहरू काला देखिए , अर्को दिन काला चालामाथि फोकाहरू आए ।

केही दिनदेखि उनको श्रीमानले उनको अनुहार र त्यसमा आएका परिवर्तनलाई हेरिरहेका थिए । आज त केरकार नै गरे । उनले सबै कुरा बताउन बाध्य भइन् । भोलिपल्ट दुईजना भएर गए त्यहीँ गेष्ट हाउस र खोजी गरें त्यहीँ ब्युटिसियनको । ऊ त अस्ति नै हिडिसकेकी रहेछ । अम्बिकाले त्यो महिलाको अनुहार सम्झन खोजिन् । त्यो छ्याकटे अनुहार जस्ले कति कन्फिडेन्टका साथ उसलाई ठगी । थुक्क थुकिन उसको अनुहारमा मनमनै । एकछिनपछि आफनै गालामा एक झापड हानिन् खासमा नै । आफैलाई झपारिन्, ” मूर्ख , यदि उसले भनेजस्तै त्यो क्रीमले काम गर्ने भए ऊ आफैले किन दल्दैनथी आफ्नो छ्याकटे अनुहारमा ।”

सन्धिखर्क-०१, अर्घाखाँची ।

(स्रोत : सुगमपोस्ट डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.