समीक्षा : वर्तमान भारतीय नेपाली कविताका स्वरहरू

~डा. राजेन्द्र भण्डारी~

1.लोकलयास्रितता

भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले सम्पादन गरेको ‘गोरखा – वंशावली’ – मा यिनलाई रघुनाथ राई भनेका छन्।

प्राथमिककालीन भारतीय नेपाली कवितामा कोही वर्तमान भारतीय क्षेत्रमा जन्मेका, कोही गढवाल – कुमाऊँ वा तत्कालीन नेपाल वर्तमान भारतमा जन्मिएका र कोही काशीवास गर्न भारत आएका कविहरू पर्दछन्। यीमध्ये कुमाऊँका प्रेमनिधि पन्त, लोकराज वा गुमानी पन्त, वीरशाली पन्त, काशीवासमा आएका शक्तिवल्लभ अर्याल तथा पतञ्जलि अनि भारतलाई कर्मथलो बनाउने सन्त ज्ञानदिल दासलाई खाँटी भारतीय नेपाली कवि मान्न सकिन्छ यद्यपि मोतीराम भट्ट, पहलमानसिंह स्वाँर आदिले पनि भारतभूमिमा धेरै रचनाकर्म गरेका छन्। रघुनाथ भाट, गुमानी पन्त आदिका कविताबाट भारतीय नेपाली कविताको स्रोत वीररस नै रहेको थाहा लाग्दछ। यसै गरी ज्ञानदिल दास र सिङ्गेल कमानका बाबरानी गुरुङ, मणिपुरका तुलाचन आले, शिलाङका धनवीर भण्डारीका लोकलयास्रित कविता हेर्दा भारतीय नेपाली कविता नेपालको झैं शास्त्रीय छन्दमुखी नभएर लोकलयमुखी भएको पाइन्छ।

2. झ्याउरे र सवाई

प्राथमिककालीन भारतीय नेपाली कवितामा झ्याउरे र सवाईको ठूलो महत्व देखिन्छ। डाकमान राईको ’56 सालको पैराको सवाई’, दार्जिलिङको मिलिनगञ्जमा जन्मिएका प्रतिमानसिंह लामाको ‘राजा भरथरीको सवाई’, ज्ञानदिल दासको ‘झ्याउरे भजन’, ‘टुङना भजन’ आदि यस प्रवृत्तिका ज्वलन्त उदाहरण छन्। मणिपुरका तुलाचन आलेको ‘मणिपुरको सवाई’, मणिराज शाहीको ‘चरीको सवाई’ – जस्ता सवाई र बहादुरसिंह बराल तथा मित्रसेन थापाका लोकभाकाका गीतहरूमा भारतीय गोर्खाका सङ्घर्षपूर्ण जीवन र पलटनियाँ जीवनशैलीका उदगार पाइन्छन्। यी प्रवृत्तिहरू अद्यावधि भारतीय नेपाली कवितामा प्रकारान्तरले रहिरहेकै छन्।

3. अस्तित्वबोध, जातीय असुरक्षाबोध

भारतीय नेपाली समाज भन्नाले सिक्किम, दार्जिलिङ, डुवर्स, देहरादून, दिल्ली र देशका विभिन्न ठाउँमा छरिएर बसेका रैथाने भारतीय गोर्खा बुभिन्छ। ‘नेपाली’ शब्द नेपाल राष्ट्रबोधक र नेपालका रैतीबोधक द्विअर्थी शब्द भएकाले आफ्नो भारतीयतालाई निक्खरो बनाउन वा प्रष्ट्याउन दार्जिलिङवासीले आफूलाई गोर्खा भनिन रुचाउँछन् र यसैबाट प्रेरित भई राजनैतिक सुरक्षाका लागि गोर्खाल्याण्ड राज्यको माग पनि राखेका हुन्। भारतीय नेपाली कविताको एउटा ठूलो भङ्गालो यही राजनैतिक आत्मनिर्णयको अधिकारद्वारा प्रेरित छ। दार्जिलिङका जम्मैजसो कविहरूले केही न केही मात्रामा कुनै न कुनै प्रत्यक्षाप्रत्यक्ष रूपमा जातीय चिन्हारीको भावबोधका कविता लेखेका छन्। यीमध्ये अग्रणी हुन् अगमसिंह गिरी, नरेन्द्रप्रसाद कुमाईं आदि। यीबाहेक मदन ओझा, खडगसिंह काँडा, टेकध्वज जिम्बा, नोर्जाङ स्याङ्देन, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, मोहन ठकुरीका कतिपय कवितामा राजनैतिक असुरक्षाबोधका भाव पाइन्छन्। केन्द्रिय प्रशासनमा रहेका उच्चपदस्थ अधिकारी र सर्वोच्च् सत्तामा आसीन व्यक्तिले पनि कहिलेकाहीँ भारतीय गोर्खा समुदायलाई विदेशी भनी लाञ्छित गर्नेगरेका उदहरण पाइएका हुनाले कविहरूको जातीय स्वाभिमान कवितामा मुखरित हुनु स्वाभाविकै हो।

4. आर्थिक विसङ्गति

वर्तमान भारतीय नेपाली कविताको एउटा ठूलो भङ्गालो आर्थिक विसह्गतिजन्य कष्टबोध र असहायपनका अभिव्यक्तिले ओतप्रोत छ। सन् 1920 – को दशकदेखि नै धरणीधर, पारसमणि प्रधान, गोपालसिंह नेपाली, ध्रुव, रामचन्द्र गिरी, हरिप्रसाद गोर्खा राईहरूले यस प्रकारको लेखनको उठान गरेका थिए जो अद्यावथि प्रचलनमा छँदैछ। मणिपुर, मेघालय, नागाल्याण्डमा भएका नेपाली – उच्छेद क्रियाकलाप, दार्जिलिङका चियाकमानहरूको मृतप्राय: स्थिति, बेरोजगारी समस्या, डुवर्सको जातीय उत्पीडन – प्रक्रियाजस्ता समस्याले गोर्खा जाति सधैँभरि गाँस र वासको डोहोडोहोमा पर्नुपरिरहेछ। असमका हरिभक्त कटुवाल, दार्जिलिङका बी. योञ्जन, नरेश खाती, सुरेन्द्र थीङ, दलसिंह अकेला, सकुरा थुलुङ, शरद् छेत्री, नोर्देन रुम्बा आदिले विभिन्न परिस्थितिका चेपारोमा परेका भारतीय नेपाली गोर्खाका दीनदैन्यबारे प्रशस्त कविता लेखेका छन्।

5. युगबोध

भारतीय नेपाली कवितामा युगीन विसङ्गतिको टडकालो चित्रण पनि पाइन्छ। वर्तमान भौतिक प्रवाहमा वेगवान रहेको विश्व, यान्त्रिक जीवन शैली, इलेक्ट्रोनिक प्रसारमाध्यमले ल्याएका चौतर्फी हस्तक्षेप र प्रभावबाट पारस्परिक एकरसयुक्त जीवनशैलीमा आमूलचूल परिवर्तन ल्याएको छ। भारतीय नेपाली साहित्यमा पनि विश्वबजारीकरणका अक्टोपसी हातहरू घुसिसकेका छन्। यौन, भ्रातृत्व, प्रेम, मित्रता, दूरत्वबोध, भावावेगयुक्त जीवनदृष्टि आदि अब नयाँ ढाँचासाँचामा देखिनथालेका छन्। पुराना मूल्यमान्यता धराशायी भइरहेछन्। पवन चामलिङ ‘किरण’, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, केवलचन्द्र लामा, उदय तुलुङ, शोभित राई, सुरेन्द्र थीङ, किशोर छेत्री, कालुसिंह रनपहेंली, राजा पुनियानीहरूले आफ्ना प्रायश: कवितामा युगीन विसङ्गति – परिवर्तनलाई अङ्कित गरेको पाइन्छ।

6. दार्शनिकता र रहस्यात्मकता

दार्जिलिङमा सन् 1960 को प्रथमार्ध दशकमा इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभका संयुक्त प्रयासमा ‘तेस्रो आयाम’ नामक साहित्यिक आन्दोलनको सूत्रपात भयो। यस आन्दोलनले साहित्यमा घनत्व र दार्शनिकताको आह्वान गऱ्यो। यसका अघि र पछि पनि वीरेन्द्र सुब्बा र ओकिउयामा ग्वाइनले गहन दार्शनिक भावभङ्गीका कविता लेखे। यिनीहरूबाट उठान गरिएको मानिसको सम्पूर्णताको खोजी, गुह्य जीवनतत्वको उदघाटन, रहस्यात्मकताको आकर्षण परवर्ती कविहरूमा पनि रह्यो जसको प्रत्यक्षाप्रत्यक्ष प्रभाव राजेन्द्र भण्डारी केवलचन्द्र लामा, नोर्जाङ् ,स्याङ्देन, अविनाश श्रेष्ठ, मनप्रसाद सुब्बाका धेरै कविताहरूमा देख्नपाइन्छ।

7. भारतीय नेपाली कविताको केन्द्रिय रूपक

राजनैतिक – आर्थिक असुरक्षाबोधबाट उत्पन्न सङ्कटापन्न मनोबिम्ब अनि यसको मूर्त्त – अमूर्त्त अभिव्यक्ति नै वर्तमान भारतीय नेपाली कविताको केन्द्रिय रूपक हो भन्न सकिन्छ। भारतीय नेपाली कविता सपाट (वक्तव्यपरक छैन, भएन) बरू रोमान्टिकता – नवरोमान्टिकताका रङ्ग – रोगनमा भने रुमल्लिई नै रह्यो, यसैले, छिन्नमूलता र आर्थिक विकटावस्था विभिन्न वाग्भङ्गिमा र काव्यबिम्बमा अभिव्यक्त छन्। तेस्रो आयाम आन्दोलन नितान्त कलावादी र शुद्ध – कवितावादी आन्दोलन भएकाले यो जनमानसमा भिज्नसकेन यद्यपि यसले छोडेका उच्चसौन्दर्यबोध, शिल्प र कलात्मक वैशिष्यट्यहरू भने परवर्तीकालका प्रायश: कविताहरूमा रिक्थका रूपमा रहिरहेका देखिन्छन्। सञ्चारसुविधाहरू जतासुकै उपलब्ध हुथालेपछि अनि नेपाली भाषामा आधा दर्जन दैनिक समाचारपत्रहरू प्रकाशित हुनथालेपछि भारतीय नेपाली कवितामा गीत, गजल, हाइकु, हास्य, चुटकिलापरक व्यङ्ग्य तथा अन्यान्य नौला बान्कीका कविताहरू पनि प्रशस्तै देखिनथालेका छन्। अब नेपाली कविता पाठकमुखी, सरल र व्यङ्ग्यधर्मी बन्दै गइरहेको पाइन्छ, यसलाई एउटा सुखद मोड मान्न सकिन्छ।

(सितम्बर 2011)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.