~राजु प्रधान “हिमांशु”~
प्रारम्भ
पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी –
एक दिन कालो र सेतो रङ माझ झगडा र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल देखिएपछि कालो हल्ला गर्दै हानियो अन्धकारतिर । सेतो चुपचाप अघि बढिरह्यो उज्यालोतिर ।
(मञ्चमा सेतो आकृति भित्रन्छ र गन्तव्यतिर हिँडिरहेको अभिनय गर्छ )
पृष्ठभूमिबाट पुन: आवाज आउँछ –
सेतो भनेकै शान्ति ! प्रेम, दया र सत्यका जलपहरू टाँसिएको सेतो अघि बढिरह्यो । अचानक ऊ अघि अर्को सेतो अर्थात् शरीरमा सेतो रङ दलेर कालो छोपेको चरित्र हातमा कालो रङ र ब्रुस बोकी आइपुगेर सेतोको बाटो छेक्यो यसरी –
(अर्को सेतो आकृति हातमा कालो रङ र बुरुस बोकेर भित्रन्छ र हिँडिरहेको सेतोको बाटो रोक्छ अनि )
सेतो – अरे ! यसरी किन रोक्छौ मेरो बाटो ?
अर्को सेतो – तिम्रो यात्रा रोक्नुलाई रोक्छु तिम्रो बाटो ।
सेतो – तिमी को हौ ?
अर्को सेतो – चिनेनौ ? म तिम्रै प्रतिबिम्ब हुँ।
सेतो – मेरो बाटो रोक्नुको तिम्रो उद्देश्य ?
अर्को सेतो – उद्देश्य? तिम्रो यात्रा यहाँ टुङ्गिन्छ अनि यहाँदेखि मेरो यात्रा सुरु हुन्छ । रिले खेल खेल्नु छ हामीले ।
सेतो – थाहा छैन मलाई तिमी को हौ ! मेरो प्रतिबिम्ब त तिमी होइनौ । मलाई यस्तै लाग्दैछ ।
अर्को सेतो – म तिम्रै प्रतिबिम्ब हुँ अनि तिमी मेरो ।
सेतो – यो हुनै सक्दैन
अर्को सेतो – हुनुसक्छ ।
सेतो – कसरी ?
अर्को सेतो – (हातको कालो रङ सेतोको जिउभरि खनाएर ) यसरी ।
सेतो – अरे ! यो के गरेको ? ममाथि कालो रङ किन खनायौ ?
अर्को सेतो – एइ मोरा हो ! यहाँ आएर समात यसलाई ।
(यत्तिमा दुई काला चरित्र आएर सेतोलाई समातेर लगी मञ्चको देब्रे पक्षको कुनामा भएको खाम्बोसित बाँधिदिन्छन् अनि अर्को सेतोको छेउमा आएर उभिन्छन् )
सेतो – तिमीहरू त गुण्डा रहेछौ । मेरो रङमा रङ्गिएको तिमी चैँ को हौ ?
अर्को सेतो(हाँसेर) – हा हा हा म म उही कालो हुँ। तिम्रो विपरीत तर अहिले तिम्रो प्रतिबिम्ब । हा हा हा ।
सेतो – कालो रङ तिमी ? तर याद गर । शरीरमा सेतो रङ दलेर सेतो बन्ने कोसिस गर्दैमा तिमी सेतो बन्न सक्दैनौ । कारण तिमीभित्रको कालो अनन्त छ । न त पखालिन्छ । न त छोपिन्छ । भ्रममा पार्ने तिम्रो असफल प्रयासमा सत्य हाँस्न सक्दैन । एक दिन सेतो रङ पखालिएर तिम्रो भित्री कालो देखापर्छै पर्छ अनि मलाई तिमीले पोतेको कालो रङ पनि एक दिन पखालिएर मेरो भित्री सेतो देखापर्छै पर्छ । स्वाङ र ढोँगमा नबाँच यसरी रङहरूको खेल खेलेर । सेतो भनेको सेतै हो ,कालो हुँदैन यो । कालो भनेको पनि कालै हो । सेतो हुँदैन यो ।
अर्को सेतो – हा हा हा तर कालो र सेतोको मिश्रण के हो ? जेहोस् ,क्षणिक नै भए पनि अहिले तिम्रो र मेरो रूप एउटै छ । फरक तिमी भित्र सेतो बाहिर कालो । म भित्र कालो बाहिर सेतो । तर हामी दुवै एउटै ,कालो र सेतो मिश्रित वर्तमान । हा हा हा समानान्तर छौँ हामी । अहिले देख्नेले तिमीलाई मनपराउँदैन मलाई रुचाउँछ । मान्छेले देखेकोलाई नै सही मान्छ ।
सेतो – तर त्यो दृष्टिदोष हो। देखेको नै सही हुँदैन ।
अर्को सेतो – मान्छेले दृष्टिदोषलाई नै सत्य ठान्छ । देखेको नै सही हो भन्छ।
सेतो – सिंहको छाला ओढेर स्याल जङ्गलको राजा बन्न सक्दैन ।
अर्को सेतो – तर मान्छेले झुक्किएर सिंह मान्छ स्याललाई । किनकि आँखाले देखाएको कुरालाई नै सत्य मान्ने चलन छ मान्छेको बस्तीमा ।यसैले स्याल सिंह भइरहेको हुन्छ ।
(यति भनी अर्को सेतोले सेतोलाई कालो रङ दलेर सम्पूर्ण शरीर नै कालो बनाइदिन्छ ।)
सेतो – तर तिम्रो यो कपट र ईर्ष्याको कालो रङ पखालिन्छै पखालिन्छ । मलाई बाँधेर राख्ने तिम्रो दुष्प्रयासको हुनेछ दुष्परिणाम । तिमीले लाख कोसिस गरे पनि क्याक्टसको बोटबाट गुलाफ फुल्न सक्दैन ।
अर्को सेतो – हो पक्का हो । म गुलाफ फुलाउने कोसिसमा पनि छैनँ । म त तिमीलाई हराउनु चाहन्छु । तिम्रो शान र मर्यादामा जिउनु चाहन्छु । तिमीलाई दूषित पारेर आफू परिष्कृत बन्न चाहन्छु ।
सेतो – तर किन ? मसित किन यस्तो शत्रुता ?
अर्को सेतो – किन हो मलाई थाहा छैन । तर तिम्रो प्रसिद्धिमा म जल्छु । तिम्रो वाहवाहीमा र स्याबासीमा म गल्छु । तिम्रो उन्नतिमा म ढल्छु । मभित्र आगो लाग्छ कुन्नि किन तिम्रो खुसी र सुख देखेर, तिम्रो सहूलियत र आनन्द देखेर ।
सेतो – ए ! तिमी त ईर्ष्या र डाह पो रहेछौ । तिमी त आह्रिस,द्वेष र जलन पो रहेछौ । भनूँ भने तिमी आफन्तबीच फुट ल्याएर एकता र साथ भत्काउने आफन्तै रहेछौ । र तिमी सधैँलाई कालो रहेछौ।
अर्को सेतो – सायद !तर अहिले सन्चो भएको छ मलाई । (दुई चरित्रहरूसित ) एइ मोरा हो ! उसलाई अझै राम्ररी बाँध । (दुई चरित्रहरूले सेतोलाई पुन: कसेर बाँध्छन् अनि त्यसपछि) अब हामी पस्नुपर्छ मान्छेको बस्तीभित्र । तर पर्ख एकछिन । (यति भनी अर्को सेतो नेपथ्यतिर जान्छ र सेतो रङ लिएर आएर रङमा बुरुस चोबी दुई कालो चरित्रलाई रङ्गाउन थाल्दै) अँ ,अहिले ठिक भयो । लु हिँड ,अब पस्नुपर्छ हामी मान्छेको बस्तीभित्र । (अर्को सेतो र दुई चरित्रले गइरहेको अनि सेतो बन्धनमुक्त हुनु खोजिरहेको अभिनय गर्छन् । यत्तिमा पृष्ठभूमिबाट आवाज आउँछ )-
पृष्ठभूमिको आवाज- कालो पसेको मान्छेको बस्ती कस्तो हुन्छ ? लु हेर्नुहोस् । यी: यस्तो हुन्छ !
(त्यसपछि दृश्य दुई सुरू हुन्छ ।)
दृश्य दुई
मञ्चको दाहिने पक्षमा एक व्यक्ति फूलको माला/खदा पहिरिएर उभेको छ । देब्रे पक्षमा अन्य दुई व्यक्ति कुरा गर्दै गरेका अभिनयमा छन् । मध्य मञ्चमा लोग्ने र स्वास्नी खडा छन् । मञ्चमा दाहिने, देब्रे र मध्यपक्षले तीन वटा भिन्न-भिन्नै दृश्य ,समय र परिवेशलाई इङ्गित गर्छन् । यत्तिमा दाहिने पक्षमा दृश्य गतिशील बन्छ । करतलध्वनि गुँजिरहेको छ । पाँच जना पुरुष आएर उभिरहेका व्यक्तिलाई खदा/माला लगाएर जान्छन् एक एक गर्दै । त्यसपछि हातमा बेतार माइक्रोफोन लिएर एक उदघोषकको प्रवेश हुन्छ अनि –
उदघोषक – साहित्यश्री जस्तो सर्वोच्च पुरस्कार प्रापक हाम्रा गौरव श्रद्धेय श्रीमान् पद्मभूषण मास्केज्यूलाई माल्यार्पण गरिएपछि अब म श्रद्धेय मास्केज्यूलाई आजको यस समारोहमा उपस्थित हुनु भएका महानुभावहरूको उत्साह र प्रेरणाको निम्ति दुई शब्द राखिदिनहुन भनी सविनय आग्रह गर्दछु ।
(यति भनी उदघोषकले माइक्रोफोन मास्केज्यूलाई दिँदै गरेको अनि मास्केज्यूले थाप्दै गरेका अभिनयमा दुवै अचल बन्छन् अनि देब्रे पक्षमा दृश्य गतिशील बन्छयसरी) –
देब्रे पक्षको दृश्य
व्यक्ति( क ) – त्यो मास्केले कसरी चैँ पुरस्कार पायो ?
व्यक्ति (ख ) – लबी लगायो होला ।उसले चिनेजानेका धेरै छन्।भएन घर घरैमा पुग्यो होला ऊ ।
व्यक्ति (क ) – तीन वटा पुस्तक छपाउँदैमा यत्रो ठूलो सम्मान ? अरे तिमीले दुई दर्जन पुस्तक छपाइसकेको छौ अनि मैले डेढ दर्जन । फेरि हामी ऊभन्दा अग्रज पनि त हौँ । तर हामीले त्यो सम्मान पाएनौँ ।
व्यक्ति (ख ) – त्यसैले त भन्दै छु । उसले लबी फिट गर्यो होला । पुरस्कार गुठीमा पनि गुटबाजी चल्छ ।जातलाई चेप्ने परम्परा बसेको जस्तो छ । अन्त हामीले कहाँ पाउने ?
(दुवै व्यक्ति अचल हुन्छन् आ –आफ्ना अभिनयमा अनि त्यसपछि पुन: दाहिने पक्षमा दृश्य गतिशील बन्छ )
दाहिने पक्षको दृश्य
(उदघोषक र मास्केज्यूको अचल अभिनय भत्किन्छन् )
पद्मभूषण(माइक्रोफोन थापेर सम्भाषण राख्दै )- यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो सादर नमस्ते । आज यहाँहरूले मलाई जुन सम्मान दिनुभयो त्यसको निम्ति म आभारी छु ।साँच्चै ,आज मलाई विश्वास भयो । पुरस्कार ठूलो रहेछ । यत्तिका वर्षपछि पुरस्कृत हुँदामात्र यी: हेर्नोस् त खदा र मालाले सजिएको यो मेरो गला !
हिजोसम्म मलाई बिर्सनेहरू मैले यो पुरस्कार पाएँपछि मलाई सम्झन्दैछन् हो ! मलाई सम्मान र अभ्यर्थना जनाउन हतारिएका छन् समूहहरू अहिले ! मैले पुरस्कार पाएँपछि चमत्कारै भयो । समारोहहरूमा प्रमुख अतिथि बनिदिनुपर्ने आग्रहहरू छन् अहिले मअघि । हिजोअस्तिसम्म समारोहहरूमा म आमन्त्रित हुनै सकेको थिइनँ। तर पुरस्कार पाएँपछि भने आमन्त्रित भइरहेछु प्रमुख अतिथिको रूपमा यसरी । साँच्चै म र मेरो प्रतिभाभन्दा पुरस्कारै ठूलो रहेछ । मैले पुरस्कार पाएँपछि मात्र म र मेरो कृति चर्चित र मूल्याङ्कित हुँदो रहेछ । चामत्कारिक रहेछ यो समय पनि । धन्यवाद ।
(त्यसपछि पद्मभूषण त्यही अभिनयमा स्तम्भित हुन्छ अनि मध्य पक्षमा दृश्य गतिशील बन्छ यसरी) –
मध्य पक्षको दृश्य
लोग्ने(हातमा भएको खबर कागज पढ्दै) -साहित्यश्री जस्तो पुरस्कार विवादग्रस्त हुनु एकदमै अनुचित छ । पुरस्कार पाएर विवादग्रस्त हुनुभन्दा नपाएकै वेश !
स्वास्नी – जमाना विज्ञापनको छ । हल्लाको छ । प्रचार-प्रसारको छ । तर तपाईँ भने भक्कु लेख्नुहुन्छ । छपाउनुहुन्छ । आफ्नो पैसा लगाएर अर्को व्यक्तिलाई प्रकाशक राखेर पुस्तक छपाउनुहुन्छ । सित्थैमा बाँड्नुहुन्छ । हल्ला गर्नु हुन्न । साहित्य-सेवाको नाममा आफ्नो जेथा स्वाहा पार्नु हुँदैछ । तर पुरस्कार भने अरूले थाप्दै छ । सम्मान पनि अरूलाई मात्र भो । खोइ तपाईँलाई दिएको सम्मान ?
तपाईँका साथीहरूले तपाईँको लेखाइलाई सशक्त र बेजोड मान्छन् । तपाईँलाई प्रयोगधर्मी साहित्यकार ठान्छन् । तीन दशक भइसक्यो तपाईँले साहित्यको सेवा गर्नुभएको । तर पुरस्कार एउटै पाउनुभएको छैन ।
लोग्ने – सर्वप्रथम म पुरस्कारको निम्ति लेख्दिनँ । ख्याति कमाउनुलाई लेख्दिनँ । मैले लेख्नुपर्छ र लेख्नुकै लागि लेख्दै छु । म हल्लामा विश्वास गर्दिनँ । सत्कर्ममा विश्वास गर्छु । सम्मानको भोको छैनँ म ।
(दुवै त्यही अभिनयमा अचल हुन्छन्। विस्तारै मञ्च अँध्यारिन्छ र दृश्य परिवर्तन हुन्छ ।)
दृश्य तीन
मञ्च उज्यालिँदा मञ्चमा दुई पुरुष आपस्तमा बाझ्दै गरेका अभिनयमा अचल देखा पर्छन् अनि त्यसपछि पृष्ठभूमिबाट आवाज आउँछ)-
पृष्ठभूमिको आवाज – अब मान्छेको बस्तीमा कालो पसेपछि बनिएको अर्को ठाउँको दृश्य हेरौँ । जहाँ दुई पुरुष आपस्तमा बझ्दैछन् यसरी।
(त्यसपछि दुई पुरुषको अचल अभिनय भत्किन्छ र त्यो दृश्य गतिशील बन्छ )
पुरुष (१) – होइन,होइन,यो मेरो जमिन हो । तैँले मिचेको छस् आधै । तर तैँले यसो गर्नु पाउँदैनस् ।
पुरुष(२) – अरे ! उल्टा कुरा नगर् तँ । यो मेरो जमिन हो । तैँले पो आधा मिचेर मेरो हो भन्दैछस् ।
पुरुष(१) – के अरे ? मैले मिचेँ अरे ? धूर्त कुरा नगर् तँ । मेरा पिता-पुर्खाले स्याहारेका जमिनलाई तैँले मिचेर आफ्नो बनाउनु खोजेको ? कहाँ हुन्छ त्यस्तो ?
पुरुष(२) – कसो अरे ? तेरो पिता –पुर्खाले स्याहारेका जमिन अरे ? तँ छट्टु कुरा नगर् । मेरो पुर्ख्यौली चिन्हको रूपमा रहेको यो जमिनलाई हडपने दुस्साहस नगर् तँ ।
पुरुष(१) – चुपलाग् । मेरो जमिनलाई तैँले पो हडपनु खोज्दैछस् ।
पुरुष(२) – तँ चुपलाग् । उल्टा तैँले मेरो जमिन मिच्दैछस् ।
पुरुष(१) – होइन,होइन,होइन।
पुरुष(२) – हो,हो,हो।
पुरुष(१) – नकरा तँ । नत्र —
पुरुष(२) – नत्र के ? के गर्छस् ? लु आइज ? के गर्छस् ?
पुरुष(१) – यसले त राम्रो मुखले भनेको नमान्दरहेछ । (एक घुस्सी पुरुष (२)- को मुखैमा हिर्काएर) ला ,ला, ला त खा (अझै लात र घुस्सीले प्रहार गर्न लाग्दा पुरुष (२) पनि पुरुष(१) माथि जाइलाग्छ । यी दुईमाझ झगडा हुन्छ अनि आ-आफ्ना अभिनयमा दुवै स्तम्भित हुन्छन् ।)
(यत्तिमा आधा सेतो र आधा कालो पहिरनमा एक चरित्रको प्रवेश)
चरित्र – अरेरे ! तिमीहरू आपस्तमा किन लडिरहेछौ ?
(दुई पुरुष अचल अभिनय भत्काएर एक साथ )
पुरुष(१)+पुरुष(२) – यसले मेरो जमिन मिच्दै छ ।
चरित्र – अरे ! दुवैले दुवैको जमिन मिच्दैछन् ? कस्तो अचम्म ! त्यसो भए यो जमिन कसको हो ?
दुवै पुरुष एक साथ – मेरो ।
चरित्र – अचम्म !
पुरुष(१) – मेरो हो ।
पुरुष(२) – होइन मेरो हो ।
पुरुष(१) – होइन मेरो हो ।
पुरुष(२) – होइन मेरो हो ।
चरित्र – शान्ति ! शान्ति !! शान्ति !!! (पुरुष(२)-सित) तिमी भन्छौ यो जमिन तिम्रो हो अनि ऊ भन्छ यो जमिन उसको हो । तिमीहरूसित यस जमिनको कागजपत्र छ ?
(दुवै पुरुष चुप लागेर एक-अर्कालाई हेराहेर गर्छन्)
चरित्र – तिमीहरूको मौनताको अर्थ तिमीहरूसित यस जमिनको कागजपत्र छैन । त्यसो भए कसरी भयो यो जमिन तिमीहरूको ? हँ ? तिमीहरूसित न त प्रमाण छ न त कुनै आधार । तब किन लड्छौ मेरो र तेरो भन्दै ?
पुरुष(१) – तिमी कस्तो कुरा गर्दैछौ ? म यहाँ बसेको कति साल भइसक्यो ।
चरित्र – तिम्रो घर कहाँ छ ?
पुरुष(१) – उ: पर । मेरो घरको जमिनसित यो जमिन जोडिएको छ ।
चरित्र(पुरुष(२) सित) – तिम्रो घर चैँ कहाँ छ ?
पुरुष(२) – त्यहाँ पर छ । मेरो घरको जमिनसित यो जमिन पनि गाँसिएको छ ।
चरित्र – तिम्रो घर उत्तरपट्टि छ अनि उसको घर रहेछ दक्षिणपट्टि। तिमीहरूको घरलाई जोडेको रहेछ यस जमिनले अनि यसैको आधारमा तिमीहरूले यस जमिनमाथि आ-आफ्नो अधिकार जमाउन खोजेका रहेछौ । तर प्रमाण भने केही छैन तिमीहरूसित ।
पुरुष(१) – इतिहास साक्षी छ म यहाँ बसेको ।
पुरुष(२) – म पनि यहाँ बसेको इतिहास साक्षी छ ।
चरित्र – इतिहासलाई वर्तमान समयमा दसीको रूपमा पस्किनु सकिँदैन । किनभने इतिहास अतीत हो तर तिमीहरू वर्तमान हौ । यसर्थ वर्तमानमा सही ढङ्गमा दिमागलाई उपयोग गर्न सकियो भने मात्र तिमीहरूको समस्या समाधान हुनुसक्छ ।
पुरुष(१) – कसरी ?
चरित्र – तिमीहरू एक-अर्कासित नलडेर आपस्तमा मिल्नुपर्छ । अर्थात् मिलेर आधा आधा जमिन बाँडेर जीवन धान्नु सक्नुपर्छ ।
पुरुष(२) – आधा आधा ? हुँदैन, हुँदैन ।
पुरुष(१) – हो,त्यसो हुनै सक्दैन । मलाई सिङ्गो जमिन चाहिन्छ ।
पुरुष(२) – मलाई पनि मेरो सम्पूर्ण जमिन चाहिन्छ ।
चरित्र – यस कुरोको कुनै आधार छैन । वास्तवमा तिमीहरूलाई थाहै छैन अहिले यो जमिन कसको अधिनमा छ भनेर ।
पुरुष(१) – मेरो अधिनमा छ नि ।
पुरुष(२) – होइन , मेरो अधिनमा छ ।
चरित्र – होइन । यो जमिन वास्तवमा मेरो अधिनमा छ ।
पुरुष(१) – के अरे ? तिम्रो अधिनमा छ अरे यो जमिन ? ई: नापेर ।
चरित्र – हो, तिमीले ठिकै भन्यौ। नापेर नै मैले भनेको । किनभने म यस इलाकाको प्रशासक हुँ । यहाँ मेरो आदेश चल्छ । मेरो प्रशासनमा नै तिमीहरूको मात्र होइन सबैको कार्य सम्पन्न हुन्छ । तिमीहरूसित यस जमिनको कागजपत्र छैन । तर मसित कागजपत्र छ । त्यसैको आधारमा म यहाँबाट कर सङ्ग्रह गर्छु अनि प्रशासनको हितमा काम गर्छु । तिमीहरूकै सुख-सुबिस्ताको निम्ति म यहाँ कार्यरत छु ।
पुरुष(१) – तिमी उल्टापाल्टा कुरा नगर ।
पुरुष(२) – हो, तिमी उटपटाङ कुरा नगर ।
चरित्र – म सही कुरा गर्दैछु । तिमीहरूले कर नतिरेको धेरै वर्ष भइसक्यो । सरकारी कर नतिरेर उल्टा यस जमिनमाथि अधिकार जमाउनु खोज्छौ ? कस्तो हाँसो उठ्दो कुरो ! अब चुपचाप आ-आफ्नो घर जाऊ अनि सोमबारभित्र कर तिर्नू । नत्र कानूनी कारबाही गरिनेछ । बुझ्यौ ?
पुरुष(१) – मेरो पुर्खाको जमिनलाई तिमीले सरकारी बनाउनु खोज्दैछौ । तर म त्यसो हुनु दिन्नँ ।
पुरुष(२) – मेरो पुर्ख्यौली जमिनलाई तिमीले आफ्नो बनाउनु खोज्दैछौ । तर म त्यसो गर्नु दिन्नँ ।
चरित्र – म राम्रो मुखले भन्दै छु । तिमीहरूले मेरो कुरा सुन्नुपर्छ । म कडा र ढिँड छु । मेरो त्यो रूप देखाउनु नपरोस् ।
पुरुष(१) – के चैँ गर्छौ ?
चरित्र – हेर , म राम्रो मुखले भन्दै छु । नत्र ?
पुरुष(२) – नत्र के एइ ?
चरित्र – नत्र ? नत्र ? (गोजीबाट सिटी निकालेर फुक्छ । त्यसपछि पुलिसहरू आउँछन् अनि) अरेस्ट देम । (पुलिसहरूले दुई पुरुषलाई पक्रन्छन्)
पुरुष(१) – यसको नतिजा ठिक हुने छैन ।
पुरुष(२) – तिम्रो यस कारबाहीले एउटा आन्दोलनको सूत्रपात हुनेछ ।
चरित्र – लैजाऊ यिनीहरूलाई अनि बेल नहुने अपराधिक धाराहरु लगाएर थुनिदेऊ । जाऊ । (पुलिसहरूले दुई पुरुषलाई पक्रेर लान्छन् । “मलाई छोडिदेऊ ,छोडिदेऊ भन्दै पुरुष(१) र पुरुष(२) कराउँदै जान्छन् । )
चरित्र(स्वगत) – मूर्खहरू ! आफ्नो जमिनको कागजपत्र नराखी एक-अर्कासित झगडा पर्छन् । मूर्खहरू !!
(चरित्रले प्रस्थान गर्छ अनि दृश्य परिवर्तन हुन्छ)
दृश्य चार
दृश्य छ सुरुआतकै । बाँधिएको कालो भएको सेतो कराउँदैछ ।
सेतो – कस्तो समय हो यो ? हँ ? कालोको बन्धनमा किन छु म यसरी सेतो भएर पनि ? कोही छ भने रोक कालोहरूलाई । मनको बस्तीभित्र जानु नदेऊ ।सेताम्मे मनको बस्तीमा कालोहरू पसेर नबनोस् रक्ताम्मे परिवेश । रोक रोक ।
(यत्तिमा मञ्चको दाहिने पक्षबाट सेतो कुर्ता पाइजामा लगाएका दुई मानिसको कुरा गर्दै प्रवेश )
मानिस(१) – अब के भन्ने ? कसलाई भन्ने ? सबै उस्तै छन् ।
मानिस(२) – त्यही त उपदेश र सुझाउ दिनु पनि मनाही भएको जतिकै छ । झगडा छुटाएर मिलाप गराउनुलाई त्यसो गरिएको त उल्टो आफैमाथि पो जाइलाग्यो ।
मानिस(१) – हुँदैन । अब कसैलाई पनि खराब काम गर्नुबाट रोक्नु हुँदैन । व्यर्थमा झमेलामा परियो ।
मानिस(२) – हो नि । सबै बाठे हुनेहरू मात्र छन् । सबै उल्टा सोच्नेहरू मात्र छन् ।
सेतो – अरे ! सुन ,मलाई बन्धनबाट मुक्त पार । भाइहरू ,सुन ।
(दुवै मानिस सेतोलाई देखेर )
मानिस(१) – अरे ! ऊ को हो फेरि ?
मानिस(२) – फेरि अर्को झमेला ? को हो ऊ ?
सेतो – म सेतो हुँ ।
मानिस (१) – (कालै भएको सेतोलाई हेरेर) ढाँट्छौ ? आफू भने काले छौ । फेरि भन्छौ आफूलाई सेतो ! ढँटुवारे !
सेतो – होइन भाइ, म सेतो हुँ । कालोले मेरो रूप यस्तो बनायो ।
मानिस(२) – तिमी सेतो ? कालोले यस्तो पार्यो तिमीलाई ? तर खोइ कालो ?
सेतो – ऊ अन्य सेतोहरूलाई कालो रङ दल्नु तिमीहरूकै बस्तीतिर गएको छ ।
मानिस(१) – तिमी कस्तो उटपटाङ कुरा गर्दैछौ ? पागल हौ कि क्या हो ?
सेतो – उटपटाङ कुरा होइन तर सत्य कुरा । म पागल होइन । मलाई यहाँ बाँधेर राख्ने कालो हो कालो । मेरो सेतो रूपलाई यस्तो पार्ने कालो हो कालो ।
मानिस(२) – तर कालोले त्यसो किन गर्यो ?
सेतो – उसको दिमागमा खोट छ । ऊ जल्छ मसित । मेरो सत्यतादेखि ऊ डराउँछ र ऊ मलाई जित्न चाहन्छ । यसैले ऊ पापी भएको छ र कुकर्म गरिहिँड्छ । म जस्ताहरूलाई यस्तै पार्न चाहन्छ ।
मानिस(१) – यसको मतलब सेतो र कालोको पारस्परिक युद्ध चलिरहेको रहेछ ।
मानिस(२) – सेतो र कालोको झमेला रहेछ ।
सेतो – अरे ! भाइहरू ,पहिला यस बन्धनबाट मलाई मुक्ति त देऊ ।
मानिस(१) – होइन ,हामी व्यर्थैमा यिनीहरूको झमेलामा पर्नु हुँदैन । साँढेको जुझाइमा बाछाको मिचाइमात्र हुन्छ । जाऔँ ।
सेतो – अरे ! भाइ ,तिमीहरू पनि सेतो पहिरनमा छौ । तिमीहरूको अन्तर पनि मेरो जस्तै सेतो हुनुपर्छ अनि सेतो अन्तर बोक्नेहरूले यस्तो नकारात्मक सोच पाल्नु हुँदैन । मलाई खोल भाइ ।
मानिस(१) – हामी को हौँ त्यो त हामीलाई थाहा छ । तर तिमी को हौ त्यो हामीलाई थाहा छैन । तिम्रो मुक्ति हाम्रो निम्ति खतरा पनि हुनुसक्छ ।
सेतो – म खतरा होइन ।खतरनाक छुइनँ । खतरनाक त त्यो कालो छ । त्यसलाई रोक्नुपर्छ अपराधको निर्माण गर्नबाट । त्यसलाई छेक्नुपर्छ पापको विस्तार गर्नबाट । यसर्थ मेरो मुक्ति आवश्यक छ ।खोल मलाई ।
मानिस(२)(मानिस(१)सित)- साथी , अब हामी यहाँ धेरै बेर नबसौँ । पुलिस आयो भने हामी पनि झमेलामा पर्न सक्छौँ ।
मानिस (१ ) – हो ,हो, जाऔँ । उसको कुरामा भरोसा गर्नु हुँदैन । जाऔँ ।
(दुवैको प्रस्थान)
सेतो – भाइहरू , भाइहरू , मुर्ख्याइँ नगर यसरी । मेरो उन्मुक्ति नभएसम्म कालो अन्धकार हट्ने छैन तिमीहरूको परिवेशबाट । बुझ । सुन ,सुन, मलाई खोल ।मुक्त गराऊ । मेरो कालोपन पखाल । तिमीहरूको शान्ति म सेतो देखिनुमा मात्र छ । बुझ भाइहरू हो ।
(यत्तिमा सेतो रङ पोतिएको कालो अर्थात् अर्को सेतोको हाँस्दै प्रवेश )
अर्को सेतो – हा– हा—हा—सेतोको अझै यस्तो गति ? कसैले पत्याएन तिमीलाई । मान्छेले ढँटुवारे भन्यो तिमीलाई । तिम्रो साथ दिएन । हा—हा—हा— देख्यौ मेरो क्षमता ? तिमीलाई मैले बेरूप पारेँ । कालै बनाइदिएँ । तर म भने सेतै भएर हिँड्दैछु । मान्छेका आँखाहरूले मलाई सेतो देख्छन् । यसैले तिमीले मान्छेबाट सहायता नपाएर अझै तिमी मेरो बन्धनमा छौ । हा—हा—हा–।
सेतो – तिम्रो यो बन्धन चिरस्थायी छैन । एक न एक दिन म बन्धनमुक्त हुनेछु । पखालिएर मेरो बहिरी रूप म सेतै हुनेछु । तर तिमी पखालिएर कालै हुनेछौ । त्यो समय आउने छ । तिमी पखालिने समय आउने छ ।
अर्को सेतो(सेतोको शरीरमा कोर्राले प्रहार गर्दै) – चुप् ! चुप् ! म त्यो समय आउनु नै दिन्नँ ।(कराएर) एइ मोरा हो ! यसलाई अझै राम्ररी बाँध अनि अझै कालै पार । छिटो ।
(दुई जना सेतो रङ लगाएका चरित्रले सेतोलाई निक्खुर कालो पार्छन् । त्यसपछि कालै भएको सेतोलाई अर्को सेतोले कपालमा समाएर )
अर्को सेतो – देख्यौ मेरो शक्ति ? सेतोको साम्राज्यको पतन भयो भनेर सोच ।सुरु भइसकेको छ कालोको शासन चारैतिर । मान्छेको संसारमा मेरो आदेश चलेको हुन्छ अब । हा—हा—हा—(हाँस्छ। अचानक बिजुली चम्किन्छ । चट्याङ हान्छ । मुसलधारे पानी पर्छ । कालो छक्क पर्छ ।)
कालो – अरे ! अचानक मौसममा परिवर्तन ? किन ?
सेतो – तिमीलाई परिवर्तन गर्नलाई नै हो मौसमको यो परिवर्तन ।
कालो – सरासर झुट । मलाई परिवर्तन गर्न सक्दैन कसैले पनि ।
सेतो – तिमी हेर्दै जाऊ ।
(भारी वर्षाको पानीले सेतो र कालोको शरीरमा दलिएका रङहरु पखालिँदै जान्छन् । कालो रङ लागेको सेतो विस्तारै सेतो देखिन थाल्छ । सेतो रङ पोतिएको कालो भने विस्तारै कालो बन्दै जान्छ वर्षाले ।)
सेतो (हाँसेर ) – हा—हा—हा–सेतो रङ पखालिएर तिमी असली कालो भयौ । तिमीले जबरजस्ती मेरो शरीरमा कालो रङ पोतेर केही फाइदा भएन । यी: हेर म फेरि सेतै भएँ।
कालो – यो के भयो यस्तो हँ ?
सेतो – सत्यता यही हो । तिमी बुझ । तिमी कदापि सेतो बन्न सक्दैनौ अनि मलाई कदापि कालो पार्न सक्दैनौ । सेतो भनेको सेतै हो । चिर सत्यलाई कालो बनाउनु सकिँदैन । कालो बनाउने दुस्साहसको सधैँ हार हुन्छ यसरी । तिम्रो हार भयो अनि मेरो जित भयो ।
कालो – उफ ! मैले भूल गरेँछु पखालिने रङ दलेर तिम्रो शरीरमा । तर म तिमीलाई फेरि कालो बनाउनसक्छु । म फेरि सेतो हुनुसक्छु । त्यो क्षमता छ मसित । बेमौसमको वर्षाले तिमीलाई साथ दियो आज । तर मौसम सधैँ यस्तो हुँदैन । मेरो पक्षमा मौसम रहेको दिन म फेरि तिमीलाई कालै पार्नेछु र म पनि सेतै हुनेछु र तिम्रो सिंहासनमा फेरि बस्ने छु । हा— हा—हा—म फेरि आउने छु । हिँड् ऐइ मोरा हो ! यो हाम्रो समय होइन । हिँड् ।
(अर्को सेतो र दुई चरित्रको प्रस्थान। लगातार पानी परिरहेछ )
सेतो – हा—हा—हा—तिमी हरुवा भयौ कालो ! तिम्रो हारले शिक्षा दिनेछ मान्छेलाई । (दर्शकतर्फ) म साँच्चे सेतो हुँ भनेर बल्ल थाहा भयो होला मान्छेहरूलाई । तर एउटा कुरो थाहा छैन मान्छेहरूलाई । त्यो कुरो हो – म अझै पूर्णतया मुक्त भएको छुइनँ । यी : हेर ,कालोले बाँधिदिएको छ । यो बन्धन तब नै खोलिन्छ ,जब मान्छेको मगजमा टाँसिएको कालोपनको अंश पखालिन्छ ।मान्छेको मनमा गाँसिएको ईर्ष्या, आह्रिस र स्वार्थका धर्साहरू मेटिएपछि मेरो उन्मुक्ति हुनेछ । अब सजग बन मेरो उन्मुक्तिको निम्ति । मलाई हेरेर, कालोलाई देखेर असली रूपलाई चिन र यो बन्धन तोड । तब नै तिम्रो मान्छेत्व बाँच्न सक्छ । हे ! मान्छेहरू ! तिमीहरू कहाँ छौ ? सेतो पहिरनले कालो मन छोप्नु सक्दैन । तिमीहरूको मन पनि सेतै हुनुपर्छ अब । काला रङहरूको आक्रमणलाई रोक्न सक्नुपर्छ अब ।फेरि फेरि मेरो गति यस्तो नहोस् ।
नबनोस् सेतो रङ कालो फेरि ।सुन ,सुन ,हे मान्छेहरू ! आऊ, खोल मलाई । बन्धनमुक्त पार मलाई । आऊ । (अचल बन्छ )
(यत्तिमा मञ्चको दाहिने पक्षबाट एक सेतो समूह र देब्रे पक्षबाट छाता ओढेको तर एउटा हातमा कालो रङ बोकेको एक कालो समूहको प्रवेश । दुवै समूह सेतोको छेउमा पुगेर स्तम्भित हुन्छन् अनि )
सेतो(अचल अभिनय भत्काएर) – अहो ! मलाई मुक्त पार्न सेतो समूह आइपुगेको छ । (कालो समूहलाई देखेर) तर तर मलाई कालो रङ पोत्नु कालो समूह पनि उपस्थित छ । एउटा समूह मलाई मुक्त पार्न चाहन्छन् । भने अर्को समूहले मलाई कालो रङ पोत्नु चाहन्छन् । मैले दोधारे स्थितिको सामना गर्नुपर्दै छ । मान्छेले सही समूह चिन्नुपर्छ र सही दिशातर्फ लाग्नुपर्छ । होहोरीमा लागेर कालो पछ्याउनु हुँदैन । छाता ओढेर त कालो समूह आएको छ । तर सेतोले पनि छाता बोकेको हुनुपर्छ अब कालो रङलाई छेक्नु । हो छेक्नु सक्नुपर्छ अब कालो रङको वर्षा । ( पुन:अचल बन्छ )
(त्यसपछि पृष्ठभूमिबाट आवाज आउँछ)
पृष्ठभूमिको आवाज – मान्छेका मनका दुईवटा जमात छन्। एउटा जमातको रङ हुन्छ कालो अनि अर्कोको सेतो ।कालो जमातले थिच्न र मिच्न खोजिरहेको हुन्छ सधैँ सेतोलाई । कालो जमात सेतो जमातलाई कालो रङ पोत्न सधैँ उत्सुक रहेको हुन्छ । अवसर पाए कालो रङ पोतिदिन्छ सेतोको शरीरभरि । आफ्नो शरीरमा भने सेतो रङ पोत्ने कोसिसमा हुन्छ कालो । ईर्ष्या भनेकै कालो । स्वार्थ भनेकै कालो । जिउभरि सेतो रङ दलेर आफूभित्र कालो लुकाउँछ कालो जमात । जिउभरि कालो रङ दलिएको सेतो मनले भने आफूभित्र कालो लुकाउनु पर्दैन । किनकि ऊभित्र छ सेतै सेतो । कालो मनले जति नै छल गरे पनि त्यसको पराजय निश्चित छ । जित सदा सेतो मनकै भएको हुन्छ । तर मान्छेले रङ चिन्नु सक्नुपर्छ ।
(पर्दा खस्छ)
– खरसाङ
(स्रोत : साहित्यपोस्ट डट कम)