~ज्ञानेन्द्र रसाइली~
भाग-१
बिहानको झुल्के घामसँगै घरमा सबैजना आ-आफ्नै काममा ब्यस्त छन् । आमा भर्खर उठेर हातमुख धुँदै हुनुहुन्छ । बुबा बाहिर पिँढीमा बसेर दाम्लो बाट्ने काममा हुनुहुन्छ । रमिता बि.क. भित्र भान्सामा चिया तयार गर्दैछिन भने उनका श्रीमान रमेश बि.क.कोठामा समाचार हेर्दैछन साथमा उनिहरूकी ७ बर्षे छोरी किरण चाहिँ हजुरबाको छेउछाउ लुटुपुटु गर्दैछिन ।
बुबा: (दाम्लोको पोयो गाठो बनाउदै) रमिता चिया पाकेन ? चिया पिएर गाउँतिर जानुछ ।
रमिता: (भान्सा देखि) हजुर बुबा ! पाक्यो अब ल्याईहाले ।
आमा: (हातमुख धुँदा प्रयोग गरिएको लोटा समाउँदै) किरण नानु यो लोटा भित्र राख त ।
किरण: (आमातिर जाँदै) खै दिनु आम, म भित्र राख्छु ।
(त्यतिकैमा रमिताले बुबा, आमा, रमेश, छोरी सबैलाई चिया दिन्छिन् र उनिपनी रमेश भएतिर जान्छिन ।)
रमिता: (रमेशतिर हेर्दै) अनि आज कोरोनाको के छ नि अवस्था??
रमेश: (खुइय गर्दै) दिन प्रतिदिन संख्या बढिराछ । दिन दुईगुना रात चौगुनाको हिसाबले बढ्दैछ । खै के हो के ?
(टिभिमा कोरोनाको पछिल्लो विवरण सङसङै जातिय बिभेदका कारण घटेको घटनाको समाचार आइरहेको छ । सोही समयमा छोरी किरण ममिको काखमा आउँछिन ।)
किरण : (उत्साहित भएर) बाबा ! दलित भनेको के हो ? अनि जातिय विभेद भनेको चाँहि के हो नि ममि ???
(रमेश एक्कासी झस्किन्छन् अनि रमितातिर हेर्छन् । रमिता पनि चुपचाप रमेशलाई हेर्दै छोरिलाई अझ कसिलो रूपमा अंगाल्छिन् । उता छोरिले भने एकोहोरो सोधिरहन्छिन् ।)
रमेश : (मनमनै भक्कानिँदै) मेरो छोरिलाई दलितको अर्थ हेपिएको, पिल्सिएको, पिँधिएको भनेर भन्नु ??अनि जातिय विभेद भनेको चाहिँ हामिलाई गरिने छुवाछूत भन्नु ?? पुर्खाले भोगे, बाजे देखि नातिसम्मले भोगियो । फेरि यो पुस्तालाई नि त्यही कुसंस्कारको सिकार बनाउनु??? मेरी छोरिले यी सबै कुरा थाहा पाएपछी उनको कलिलो दिमागमा कस्तो असर पर्ला यो समाजले कहिल्यै महसुस गरेको छ??
रमिता : (रमेशको मुहार पढिसक्छिन् र छोरी त्यही छोडेर आखाभरी आँसु छचल्काउँदै बाहिर निस्किन्छिन नि:शब्द भएर ।)
रमेश : (छोरिलाई आफुतिर तानेर आफ्नो छातिमा टाँस्छन निशब्द बनेर । अनि छोरी अबोध मुहार सहित आफ्नो बाबाको काखमा हुन्छिन् निशब्द भएर ।
भाग – २
किरणको मिल्ने साथी प्रनिका सापकोटाको घर छ छिमेकमा । एउटै कक्षामा पढ्छन किरण र प्रनिका । किरण चिया र बिस्कुट खाइसकेर खेल्न जान्छिन आफ्नो साथी प्रनिकाको घरमा । प्रनिका घरमै छिन् ।
किरण :(आँगन देखि नै बोलाउँछिन) प्रनिका ! प्रनिका !
प्रनिका : (बाहिर निस्कँदै) हजुर ! ए किरण ! आउ-आउ ।
किरण : (बाहिर राखिएको काठको मेचमा बस्दै) हस ! अनि प्रनिका तिमिले होमवर्क गरिसकेउ ?
प्रनिका : (किरणको छेउमा बस्दै) अब नेपालिको २० पेज हेन्डराइटिङ छ । अरू त सकेँ। अनि तिमिले ?
किरण : (प्रनिकातिर हेर्दै) सोसियलको मात्र बाँकी छ । प्रनिका ! म त खेल्न आको । आज के खेलौँ?
प्रनिका : पख ल ! (भित्र गएर स्किप लिएर आउँछिन) लु खेलौँ ।
(किरण र प्रनिका खुसिसाथ आगनमा स्किपिङ खेल्न थाल्छन् ।)
प्रनिकाले खेल्छिन । त्यसपछी किरणले खेल्छिन । दुई साथी कति मिलेर खेलिरहेका छन । एउटै स्कुल, एउटै कक्षा, एउटै बेन्चको बसाई, संगै टिफिन साटासाट गर्दै खान्छन् । कति सुन्दर छ प्रनिका र किरणको मित्रता । उनिहरू खेलिरहेका हुन्छन् । भित्रदेखी प्रनिकाको ममिले बोलाउनुहुन्छ ।)
प्रनिकाको ममि : (घरभित्रदेखी) प्रनु ! ओए प्रनु ! चिया सेलायो त नानी ।
प्रनिका : (प्रत्युत्तरमा) हजुर मामु ! एकछिन न आईहाल्छु के । म किरणसङ खेलिराछु ।
प्रनिकाको ममि : (पुनः बोलाउदै) पहिले चियानास्ता अनि खेलाई । आउ छोरी । कति ज्ञानि ! म सब्जी काट्दैछु । आउ प्रनु ।
प्रनिका : (किरण सङ) किरण एकछिनमा खेलौँ ल । जौँ भित्र ।
किरण : (खेल रोक्दै, स्किपिङ त्यही छोडेर) हस !
(प्रनिका र किरण दुईजना भित्र जान्छन् ।)
किरणलाई पनि प्रनिकासँग घरभित्र देखेपछी उनकी मामु के गर्नु-गर्नु हुन्छिन् ।
प्रनिकाको ममि : (किरणतिर हेर्दै) किरण छोरी ! तिमी एकछिन बाहिर बस्दै गर ल ! खाजा खाइसकेर प्रनिका आईहाल्छिन नि ।
किरण : (चुपचाप हुन्छिन् , मुन्टो हल्लाउछिन र बाहिर जान खोज्छिन)
प्रनिका : (किरणको हात समाउँदै) बस न सँगै जाने । ममि एउटा गिलास दिनु न चिया दिने किरणलाई ।
प्रनिकाको ममि : (छोरिलाई सम्झाउदै) छोरी प्रनु ! किरणले तिमिलाई पर्खिहाल्छिन नि बाहिर । म चिया र नास्ता पनि दिन्छु नि किरण छोरिलाई ।
प्रनिका : (ममितिर हेर्दै) यहीँ दिनुन ममि किरण र म सँगै बसेर खान्छौँ। हामी बेस्ट फ्रेन्ड पो हो त मामु । स्कुलमा त सँगै टिफिन खान्छौँ ।
प्रनिकाको ममि : (अलि ठूलो स्वरमा प्रनिकालाई गाली गर्दै) भनेको चाहिँ किन नलागेको छोरी तिमिलाई? किरण बाहिर बसेर चियानास्ता खाँदै तिमिलाई पर्खिहाल्छिन नि ।
प्रनिका : (रून्चे स्वरमा) सँगै बसेर खाँदा के हुन्छ र ??
प्रनिकाको ममि : (प्रनिकालाई सम्झाउन खोज्दै) किरण हाम्रो घरभित्र पस्न हुँदैन नि त ।
भाग-३
अगि बाटेको दाम्लो बोकेर जेठा बाहुनको घरतिर लाग्छन् रमेशका बा ठुले कामी । आफ्नो नामथरमा गर्व गर्छन् उनी । जेठा बाहुनको आँगनमा पुग्छन् । जेठा बाहुन खाटमा बसेर कुनै धार्मिक ग्रन्थ पढिरहेका छन् ।)
ठुले कामी : (नजिकै गएर) नमस्कार गरे है नमस्कार ।
जेठा बाहुन : (पुलुक्क हेर्दै हात जोडेर) नमस्कार …नमस्कार ठुले । आईपुगेको ?? बसौं ।
ठुले कामी : (मुढा तानेर बस्दै) दिउँसो सारो गर्मी हुन्छ कि । अनि बिहानै आको नि ।
जेठा बाहुन : (आफुले पढ्दै गरेको किताब थन्क्याउँदै) हो नि ठुले । दिउँसो औधी गर्मी । अनि के छ त्यतातिरको खै खबर ??
ठुले कामी : (साथको दाम्लो दिदै) खै खबर निको आनन्दै छ अझै चाहिँ । काम सिध्याइयो फेरि कोहि आयो भने उछिट्याईहाल्छ । त्यहिभएर हतारिँदै ल्याइदिएको नि ।
जेठा बाहुन : (दाम्लो समाउँदै, हेर्दै) तिल्की गाई औछट्टकि छ । महिना दिनमा ३ वटा भइसक्यो दाम्लो चुँडाएकि । के लान्छौ त यसको साटो ठुले ??
ठुले कामी : (मुढा पछि सारेर खाँबो तिर जिउ अडेस लगाउँदै) मेहेनत गरेको हु पैसा नै लान्छु नि ।
जेठा बाहुन : (अचम्मित हुँदै) पैसा नै लाने र ? कति पैसो ?
ठुले कामी : (अडेस लागेको जिउ सिधा पार्दै) अरूलाई त ३०० रूपियाँ लिन्थे अब तपाईं भर अबर काम लाग्ने मान्छे २५० रूपियाँ दिए हुन्छ । उहिले जस्तो कहाँ छ र दाम्लो र मकै साट्ने…..
जेठा बाहुन : (इस्टकोटको भित्री गोजिदेखी पैसा निकाल्दै) एकदम खाटी कुरो ठुले । आफुले गरेको मिहिनेत, बगाएको पसिना सिधै पैसामा साट्ने नि । ल लेउ २५० रूपियाँ ।
ठुले कामी : (पैसा लिएर गन्दै) ठ्याक्कै २५० नै रैछ…..यो पैसाले मेरि नातिनिलाई खेलौना ल्याइदिनु पर्नेछ । बिहान पल्लाघर खेल्न गाकी……………(नि:शब्द)
जेठा बाहुन : (भान्सातिर हेर्दै अलि ठूलो स्वरमा) चिया ल्याओ न ……. आसै-आसमा सास जान्छ होला…..
(भित्र भान्सादेखी महिलाको आवाज आउछ) : ….. पाकिसक्यो …. ल्याईहाल्छु नि …
ठुले कामी : (मुढादेखी उठ्दै) भर्खरै पिएर आको… म जान्छु ।
जेठा बाहुन : (बस्न इशारा गर्दै) चिया त हो चपाउनु पर्दैन त…..एकपल्ट पिसाब गर्दा सब खाली…….
ठुले कामी : (मुढामा पुनः बस्दै) चिया चाहिँ पिउँ न त ……
(त्यतिकैमा भित्रदेखी चिया लिएर एउटी महिला आउँछिन । ठुले कामी र जेठा बाहुन नजिक-नजिक बसेका हुन्छन् । चिया लिएर नजिकै आइपुगेपछी ठुले कामिले पहिले नै एउटा गिलास च्याप्पै समाउँछन । ठुले कामिले चियाको गिलास समाएको देखेपछी जेठा बाहुनको अनुहार अनि आँखा रिसले आगोजस्तो हुन्छ अनि ती महिलातिर घुरेर हेर्छन् ।
जेठा बाहुन : (अघिको त्यो हँसिलो मुहार एक्कासी क्रोधमा परिणत भएजस्तो लाग्छ…… त्यही क्रोधले ठुले कामितिर नि हेर्छन् ……..)
ठुले कामी : (हातको चिया न फाल्नु न पिउनु हुँदै नि:शब्द बन्छन् ।)
भाग-४
हजुरबाले ल्याईदिएको स्किपिङ खेल्दैछिन किरण । घरमा सबैजना छन् । रमिता भान्सामा खाना बनाउँदै, रमेश घाँस लिएर भर्खर गोठतिर आइपुगेका छन् । रमेशका बुबा चिया पिउदै छन् भने आमा कुखुरालाई चारो दिन मकै छान्दैछिन । त्यतिखेर पल्लो गाउँकी दिलु परियार आईपुग्छिन ।
दिलु : (बा-आमातिर हात जोड्दै) नमस्कार ठुलोबुबा ! नमस्कार ठुलोआमा !
आमा : (बुबाआमाले नमस्कार फर्काउँदै) नमस्कार नानी ! पल्लो गाउँकी दिलु हैन तिमी ??
दिलु : (हल्का हाँस्दै) हो त आमा ! चिन्नुभएन र ?
आमा : (मकै छान्न रोक्दै) झन्डै नचिनेको । आजकलका केटाकेटी हलक्कै बढ्छन मलखाडिको मुलाझैँ…… कसरी चिन्नु र?
दिलु : (लजाउँदै) सानी नै छु आमा । अनि भाउजू कता हुनुहुन्छ ??
रमिता : (भान्सादेखी आवाज आउँछ) दिलु नानी ! म त यतातिर पो छु त…….आउनु न …
दिलु : (भान्सातिर जान्छिन) भाउजू नमस्कार ! खाना पकाइसक्नुभो त ?
रमिता : (नमस्कार फर्काउँदै) नमस्कार नानी ! पाक्दैछ…. बस्नुस…. धेरै दिन पछि पो भेट भयो नि ! सबै जना सन्चै हुनुन्छ नि ?
दिलु : (भित्र भान्सामा राखिएको मुढामा बस्दै) सबैजना सन्चै हुनुहुन्छ । म त एउटा कुरा सुनाउन आको भाउजू । अब हाम्रो यो गाउँमा केही कुरा जान्ने, केही सल्लाह-सुझाव दिने यहि घरपरिवार हुनुहुन्छ अनि मेरो मनले यहि भन्यो अनि आएँ । (दिलुको मुहारको भाव बदलिदैछ)
रमिता : (पाकेको सब्जी चुल्होदेखी निकाल्छिन अनि दिलुको छेउमा बस्छिन) दिलु नानी ! भन्नुस्….. आफ्ना कुराहरू दिल खोलेर ।
दिलु : (मुन्टो हल्लाउँछिन) म हिजो तल गैरिधारामा लुगा धुँदैथिएं । धारामा अरू पनि हुनुहुन्थ्यो । हाम्रो घरभन्दा माथिल्लो घरकी रिमालनी काकी पानी थाप्न आउनुभाकोथियो । मेरा साथिहरू सानू खड्का, प्रमिला थापा अनि मेरि बैनी गिता पनि थिए ।
रमिता : (गम्भीर हुँदै) हजुर ।
दिलु : (आफुलाई सम्हाल्दै) रिमालनी काकीले गाग्री थाप्नुभयो । अरू साथिहरूसँगै म पनि लुगा धुनमा ब्यस्त थिए । लुगा धुँदा-धुँदै साबुनको फिँज उछिट्टिएर काकिको गाग्रीमा परेछ । मैले देखिन तर काकिले देख्नुभएछ । त्यसपछी काकी एक्कासी ठूलो स्वरमा कराउनुभो ।
रमिता : (भावुक हुँदै) हजुर ।
दिलु : (आँखादेखि आँसु टप्किदै थिए) गाग्रीको पानी पोखाउनुभो अनि मलाई” त दमाई, तल्लो जातले मेरो गाग्री किन जुठो पारिस ?” भन्नुभो । मैले भनेँ “मैले देखिन काकी…. अन्जानमा गल्ती भो फेरि गाग्री पखालेर थाप्दा हुँदैन र ?” त्यति भनेपछी त अझै धेरै गाली दिनुभो” अझै ठूलो कुरा गर्छेस….कुजात, जस्तो जात त्यस्तै ब्यहोरा गर्छेस?” मलाई पनि चित्त बुझेन अनि भने ” काकी यसरी जातलाई दोष बनाएर गाली नगर्नु है……मेरो गल्ती स्विकारें त….नहुनु गल्ती भयो अब समाधान गरौं न काकी” त्यसो भनेपछी त काकिले ” जान्ने हुन्छेस……मलाई सिकाउँछेस…..सानो जात सानै भएर बस्ने गर” भन्नुभो । मलाई पनि रिस उठ्यो अनि ” काकी खाली जातको कुरा किन गर्नुहुन्छ?…..दमाई भन्नुभो मैले केही बोलिन । अब त हुदाहुदै जातको नाममा अनेक गाली दिन थाल्नुभो…यो त भएन नि” भनिदिए । त्यसोभनेपछी काकिले मलाई अझ ठूलो कुरा गर्छेस भनेर धकेल्नुभो अनि म लडेँ । मेरा साथिहरू बैनी आए अनि मलाई उठाए । काकिलाई कसैले केही भन्न सकेनन् ।
रमिता : (रसाएको आँखा झिमझिम गरेर आँसु लुकाउन खोज्दै र लामो श्वास लिँदै) दिलु नानी ! हाम्रो समाजको बास्तविकता । लड्दा चोट कति लाग्यो नानी ?
दिलु : (सलले आँसु पुछ्दै अनि चोट देखाउँदै) निकै छ भाउजू । कुहिनो, घुडामा अलि ठूलो लागेको छ । टाउको बजारिएर अलि दुख्दैछ ।
रमिता : (आफुलाई सम्हाल्दै) यति ठूलो कुरालाई सहनुहुँदैन । हामी सबै मिलेर सम्बन्धित निकाय जानुपर्छ । दाजु पनि आउनुहुन्छ अनि सबै बसेर के गर्ने ? कसरी जाने? भन्ने सल्लाह गर्नुपर्छ नानी । तपाई पढेको भएर मात्र यसरी हिम्मत गर्नुभो । नत्र उनिहरूको बिरोधमा कमै मात्र आवाजहरू निस्कन्छन् । बाहिर खेलिरहेकी किरण भित्र आउँछिन ।
किरण : (ममिको काखमा जाँदै) ममि भोक लाग्यो….. खाना पाकेन र ?? ममि आन्टीको आखामा आँसु आइराको छ……आन्टी किन रूनुभएको ??
(पुनः एकपटक नि:शब्द बन्छ वातावरण।)
भाग-५
बिहानको खाना खाने समय हुँदैछ । बाहिर सिकुवामा बसिरहेकी रमेशकी आमाले बुहारी रमितालाई बोलाउँछिन ।
आमा : (इन्कारको भावना पोख्दै) बुहारी ! ती नानिलाई एकैचोटि भित्रै बोलाउनु हुने थिएन ।
रमिता : (हातमा पानीको लोटा आमाको छेउमा राख्दै) किन र आमा ?
आमा : (यताउती हेर्दै) उनिहरू भन्दा हामी अलि ठुला हौं रे त । हामी बिस्वकर्माको घरमा परियारहरू आएभने बाहिरै बस्छन् ।
रमिता : (अचम्मित हुँदै) हामिले यस्तो कुरा गर्न मिल्छ र आमा ? यो त गलत सोच हो……।
आमा : (बुहारिको कुरामा सहि थप्दै) मिल्न त मिल्दैन तर पनि उहिले देखिको चलन पनि त मास्नु भएन नि …..
(रमेश पनि गोठदेखी गोठधन्दा सकेर आउँछन् । रमेशका बुबा भने सासू बुहारिको कुरा सुन्दै बसिरहेकाछन।)
रमेश : (तौलियाले हात पुछ्दै) सासुबुहारिको घमासान गफ पो जाँदैछ त ! हामी पनि सुन्न पाए हुन्थ्यो ।
बुबा : (चियाको गिलास भुइँमा राखेर रमेशतिर हेर्दै) त्यही पल्ला गाउँकि दिलुको कुरा गर्दैछन् ।
आमा : (छोरा रमेशतिर हेर्दै) उहिलेदेखिको चलन एकैचोटि मास्नुहुँदैन भनेको नि मैले ।
रमिता : (रमेशको हातको तौलिया समाएर राख्दै) हिजो धारामा रिमालनी काकिले पानी छोइस भन्दै लडाईदिनुभएछ । बिचरा ब्यथा पोख्न आइन् । मैले उनलाई भित्र भान्साघरमा बोलाएर सबै कुराहरू सुने । भरे दाजु आएपछि सल्लाह गरेर सम्बन्धित निकायमा जानुपर्छ भनेको छु । आमा भन्नुहुन्छ भित्र नबोलाएको भए हुन्थ्यो भनेर ।
रमेश : (बुबातिर फर्किदै) बुबा ! खासमा उहिलेदेखिको चलन चाहिँ के थियो नि ?
बुबा : मैले सुने अनुसार चाहिँ ……. दलित मध्ये कामी ठूलो रे ! अनि सार्की त्यसपछी दमाई रे भन्थे बुढापाका । कामिको घरभित्र सार्की चाहिँ पस्न हुने रे तर चुल्होमा जानुहुँदैन रे अनि दमाई चाहिँ कामी र सार्किको घरभित्रै पस्न हुँदैन रे अनि छोएको नि नखानु रे भन्थे ……..
रमेश : (अचम्मित पर्दै) अनि नेपालमा दलित समुदाय भित्र पर्ने जातहरू लगभग २३ / २४ वटा छन् अनि सबैमा यस्तो छ र बुबा ??
बुबा : खै अरू चाहिँ थाहा भएन तर हाम्रा बाउबाजेको कुरा चाहिँ यहि हो ।
रमेश : (आमाबुबा तिर हेर्दै) आमा ! उहिलेदेखी चली आएको चलन मास्नु हुँदैन…..राम्रो चलन छ भने मास्नुहुँदैन तर नराम्रो चलन छ भने त मास्नुपर्छ नि । सती जाने चलन नराम्रो थियो त्यो त मासे नि । एउटा मान्छेले अर्को मान्छेलाई मान्छे नै गन्दैनन….. यो राम्रो चलन भयो र आमा ?
आमा : (छोराको कुरा ध्यान दिएर सुन्दै मुन्टो मात्र हल्लाउदै)
रमेश : अगि आमाले भन्नुभएको कुरा चाहिँ दलित समुदायभित्र हुने छुवाछुत अथवा आन्तरिक छुवाछुत हो । हामिले हामी ठूलो भनेर अर्कोलाई हेप्ने, अनि अर्कोले नि हामिलाई किन हेप्छ भनेर खैरो खन्ने जस्ता कुराहरू भए भने यो समाज अनि देशदेखि छुवाछुत अनि जातीय विभेदको अन्त्य कहिले नि हुँदैन ।
बुबा : (बुढितिर हेर्दै) छोराको कुरा बुझियो नि ? कुरोको जरो आउँदैछ । जरो मासेपछी रूख त त्यसै मासिन्छ । म पनि आज बिहानै जेठा बाहुनसँग यहि कुराले ठोकिएर आको छु……..
आमा : (मन बदलिएझैँ गरि) अब आफू परियो अनपढ…..पढेको भए केही त जानिन्थ्यो बुझिन्थ्यो होला । तर आज छोराको कुराले झलमल्ल घाम लागेझैँ मनै उज्यालो भो ।
रमिता : (खुसिको आँसु पुछ्दै आमाको छेउमा गएर) आमा ! सबैको बुबा-आमा हाम्रो जस्तै हुन् । यसरी सबैका छोरा-छोरीले आफ्ना बुबाआमालाई वास्तविक कुराहरू बुझाएपछी त पक्कैपनी परिवारसगैँ सुन्दर समाज बन्थ्योहोला ।
रमेश : (कुरा थप्दै) एकदम सहि कुरा रमु । अब अर्को एउटा महत्वपूर्ण कुरा भन्छु है बुबाआमा । दलित समुदाय एकअर्कामा म ठूलो र तँ ठूलो भनेर आपसी कलह होस् भनेर नै यस्तो चलन बसाइदिए । आन्तरिक कलह भएपछी अरू जातिले विभेद गर्न पाईरहे किनभने हाम्रो एकता नै हुन सकेन ।
बुबा : (बुझाईको भाव पोख्दै) अगिको शाखा जरो अब पो मूलजरो आयो त बुढी……
रमेश : (मुन्टोले सहि थप्दै) अब एउटा प्रश्न बुबाआमालाई । तिमी बिश्वकर्मालाई थोरै भेदभाव, तिमी सार्किलाई अलि बढी भेदभाव अनि तिमी दमाईलाई सबैभन्दा धेरै भेदभाव भन्छन् र हाम्रो समाजले ?
(सबैजना नि:शब्द हुन्छन् ।)
भाग-६
दिलु परियारमाथी भएको घटना जातिय बिभेदको घटना हो भनी सम्बन्धित निकायमा उजुरी दिने कुरा गाउँमा भित्रभित्रै फैलिन्छ ।
पिडक पक्षका परिवार तथा आफन्तहरू एवम् उनिहरूले आस्था गरेको राजनितीक दलका ब्यक्तिहरू समेत मिलि घटनालाई गाउँमा नै मिलाउन लागिपरेका छन् । यसै क्रममा केही ब्यक्तिहरू दिलुको घरमा जान्छन् । साँझको बेला हुन्छ । दिलुका बाबा-आमा भर्खरै खेतीको कामदेखी आएर बसेका छन् । दिलु र उनका भाईबैनिहरू पनि घरमै छन् ।
ब्यक्तिहरू : (दिलुको घर आँगनमा पुगेर) को हुनुहुन्छ घरमा ? साल्दाई……..हलो साल्दाई…… नमस्कार है…(सबैले नमस्कार गर्छन्। )
(दिलुको बुबालाई साल्दाई भनेर चिन्छन । साल्दाई भित्रदेखी बाहिर आउछन् ।)
साल्दाई : (बाहिर आएर मान्छेहरू ठम्याउँदै नमस्कार फर्काउछन) हजुर …. को हो ? (राम्ररी नियाल्दै) ए ! तपाईहरू पो । आज कहाँदेखि बाटो बिराउनुभो ? पोरको साल भोटताका आउनुभाको थियो । झण्डै नचिनेको मैले त ….. बसौं न आउनुहोस् ।
(ती ब्यक्तिहरू अरू कोहि नभई कुनै पार्टीको त्यही गाउँ अनि जिल्लाका ब्यक्तिहरू हुन् । ती मध्ये त्यही गाउँकै ब्यक्ति बोल्छन् ।)
गाउँका ब्यक्ति : (सबैजना सिकुवामा रहेको कुर्सी-मुढातिर बस्छन् ) साल्दाइ ! हामि हिड्ने बाटो नै यहि हो……..फेरि आजभोली अलि ब्यस्त भइन्छ अनि तपाईहरूसँग भेट गर्ने मन हुँदाहुँदै समय नै मिलाउन सकिँदैन ।
साल्दाई : (बुझेझैँ गरि) हो नि…. मैले त ठट्टा मात्र गरेको ….. अनि आज एक्कासि यो झुपडिमा साँझको बेला……..
गाउँकै अर्का ब्यक्ति : (साल्दाइको बोली उछिन्दै) धेरै भयो यतातिर नआएको अनि जिल्लादेखी पनि हाम्रो पार्टीको हाम्रै ब्यक्तिले आफ्नो पार्टिका कर्मठ सदस्यहरूसँग भेट गर्ने कुरा राख्नुभयो अनि तल्लो गाउँ देखि सदस्यहरू भेट गर्दै यहाँ आइपुगेको नि…..
साल्दाई : (अलि उत्सुकता देखाउँदै) यो त हाम्रोलागि खुसीको कुरो हो नि ………
जिल्लाका ब्यक्ति : (आश्वासन दिने तरिकाले) आज तपाईं भन्दा हामी धेरै खुशी भएका छौँ । तपाईंहरूको समस्याहरू के-के छन् ?……जस्तै पानी, बिजुली, बाटोघाटो तथा अन्य घरायसी समस्याहरू छन् भने भन्नुहोस् साल्दाई….. हाम्रो पार्टी सदस्यलाई कुनै दुःख हुनुभएन….. यो हाम्रो पार्टीको नीति हो । तपाईंका छोराछोरीहरू कति-कतिमा पढ्छन् नि ? एसईई पास गरिसके भने कतैतिर जागिरको बन्दोबस्त गर्नुपरे गरौँला……
(बाहिरको कुराकानी सुनेर सबै परिवारहरू बाहिर सिकुवामा आईसकेकाछन ।)
साल्दाई :(आफ्नो परिवारतिर हेर्दै) ठुली छोरी दिलुले चाहिँ एसईई पास गरि…… अरू त सानै कक्षामा छन् ……
(दिलुले सबैलाई चिया दिन्छिन् । चिया पिउदै पार्टीगत कुराहरू गर्छन् । धेरै आश्वासनका कुराहरू गर्छन् । त्यसपछी हिँड्ने तयारी गर्दै)
गाउँका ब्यक्ति : (सबैजना आफू बसेको ठाउँदेखि उठ्दै) साल्दाई…. अब हामी लाग्छौ…. आफ्नो केही समस्याहरू छन् भने एक कल गर्नु काम भइहाल्छ । (बाटो लाग्छन् ।)
साल्दाई : (हात जोड्दै) हस हजुर……
(आगनको डिलमा पुगेका ती ब्यक्तिहरू केही बिर्सिएजस्तो गरि फेरि फर्किन्छ्न ।)
गाउँका अर्का ब्यक्ति : (सबैजना सिकुवामा नै जान्छन् ।) साल्दाई !….. साँच्ची अस्ति धारामा तपाईकी छोरी दिलु र माथी रिमालनी भाउजुको झगडा भयो रे ……. अनि तपाईहरूले त मुद्दा हाल्दैहुनुहुन्छ रे भन्ने सुनियो ।
साल्दाई :(भित्र पस्न लागेका साल्दाईका परिवारहरू सिकुवातिर फर्किँदै) हजुर ….. मेरि छोरिको सानो गल्तिलाई लिएर कुजात, सानो जात भन्दै अनेक गाली गर्नु अनि कुट्नु त हुँदैन नि ….. यो त नाइन्साफी भएन र ?……… त्यही भएर ……जिल्लाका ब्यक्ति : (सम्झाउन खोज्दै) वहाँको गल्ती हो …… यसरी जातिय गाली गर्दै पिट्नुहुँदैन …….तर साल्दाई एउटा कुरा चाहिँ तपाईं र रिमालनी भाउजू हाम्रो पार्टीका सक्रिय सदस्यहरू हुनुहुन्छ । एउटै पार्टीका सक्रिय सदस्यहरू एकअर्काको विरूद्धमा यसरी मुद्दा गर्ने हो भने भोलि पार्टीको अस्तित्वको पनि ख्याल गर्नुपर्छ नि ।
साल्दाई : (आफ्नी छोरितिर हेर्दै) तपाईंको कुरा पनि सहि हो तर यसरी निर्घात हुनेगरी कुटपिट गर्नु, सानो जात, कुजात भनी तथानाम गाली गर्नु त भएन नि ……… आजभोली त रेडियो-टिभीले जताततै भनिराको हुन्छ । छुवाछुत तथा जातिय बिभेदका घटनाहरू सहनु हुँदैन तुरून्तै सम्बन्धित निकायमा दर्ता गर्नुपर्छ भनेर…….
जिल्लाका ब्यक्ति : (थोरै कुरा मोड्दै) तपाईहरूलाई रमेश सरले सहयोग गरिरहनुभाछ भन्ने कुरा नि थाहा छ मलाई…… वहाँ भनेको अर्को पार्टीको मान्छे हो….. हाम्रो पार्टीभित्र झगडा गराउँदै पार्टीलाई कमजोर बनाउने खेल पनि हुन सक्छ । भोलि तपाईलाई अभर पर्दा त आफ्नै पार्टी काम लाग्छ । रमेश सरलाई कसरी सम्झाउनुपर्छ मलाई थाहा छ । त्यसैले म पार्टीको जिल्लाको मान्छे भएको नाताले के भन्छु भने यो घटनालाई गाउँमा नै सानो भेला गरेर मिलाउनुपर्छ । यसलाई मुद्दा दर्ता तिर नलाग्नु नै बेस हुन्छ । मैले सम्झाउने
काम हो सम्झाईदिएँ । बाँकी आफै बुझ्नुहोला । (त्यति भनेर सबैजना जान्छन् साल्दाइलाई नमस्कार गर्दै)
(साल्दाइकापरिवारका सबैजना नि:शब्द हुन्छन् ।)
भाग-७
दिलु परियारमाथी भएको बिभेदको घटनालाई गाउँमा नै मिलाउने प्रयासमा राजनीतिक दलका केही प्रतिनिधिहरू लागिरहेकाछन् । गाउँमा रहेका केही समाजसेवीहरू घटनालाई मिलाउने प्रयासमा छन् । अन्ततः सो घटना मिलाउनका लागि गाउँमा एउटा भेलाको आयोजना गर्छन् । सो भेलामा दिलु सहित उनका परिवारहरू, रिमालनी काकीसहित उनका परिवारहरू, राजनीतिक दलका केही प्रतिनिधिहरू, समाजका केही ब्यक्तिहरू र केही गाउँलेहरूको उपस्थिति रहेको छ । दिलुलाई सम्झाउनेको धुइरो छ । उनका बुबाआमालाई नि सम्झाउँदैछन् । रमेश सहित उनका सम्पुर्ण परिवारहरू पनि छन् । त्यो भेलालाई सम्बोधन गर्नका लागि एकजना ब्यक्तिले सबैलाई आफुतिर ध्यानाकर्षण गराउँछन।
हरिशरण : (सबैतिर हातले इशारा गर्दै) सबैलाई नमस्कार ! सबैले यतातिर ध्यान दिनुहोला । (सबैको ध्यान हरिशरणतिर जान्छ।) आज हामी यहाँ एउटा सानो कुरा लिएर भेला भएका छौं । रिमालनी काकी र दिलु बिच भएको सामान्य झगडाको बिषय छ । त्यो दिनको घटनाको बारेमा रिमालनी काकिले आफ्ना कुरा राख्नुहुन्छ ।
रिमालनी काकी : (सबैलाई नमस्कार गर्दै) धारामा गाग्री भरिँदै थियो । (दिलुतिर देखाउँदै) यिनिहरू लुगा बजारी-बजारी धुँदैथिए । अलि बिस्तारो गर ….. पानीमा पर्छ भन्दाभन्दै साबुनको फीँज पर्यो । मैले सम्झाउन खोज्दा अझ ठूलो-ठूलो कुरा गरि अनि आईलाग्न खोजी……..म बुढी मान्छेलाई यसो नगर भन्दा झन् छेउमा आई………अनि मलाई गाली गर्दा-गर्दै चिप्लिएर लडि कि कसरी लडि थाहा भएन…….घटना यति हो …. अहिले त सुन्छु कि मैले उसलाई ठेलेर लडाको रे…..कुजात भनेर गाली गरेको रे……नानाथरीको कुरा सुन्दैछु…….।
गाउँका अर्का ब्यक्ति : (रिमालनी काकिको कुरामा सहि थप्दै) काकिको कुरा सुन्दा र बुझ्दा त्यति ठूलो कुरो होइन यो त । धारामा दिलुले गरेको गल्तिलाई काकिले सम्झाउन खोज्नुभएछ ।
राजनीतिक पार्टीका कार्यकर्ता : (भिडको होहल्ला शान्त पार्दै) सामान्य कुरालाई ठूलो पारिँदैछ । पक्कैपनी चलखेल हुनसक्छ । हाम्रो पार्टीलाई कमजोर बनाउने खेल हुनसक्छ । एउटै पार्टीमा मिलेर बसेका सक्रिय सदस्यहरूलाई विभिन्न बहानामा आन्तरिक झगडामा फसाउँदै पार्टीलाई कमजोर बनाउने खेल बुझियो ।
(त्यहाँ उपस्थित मानिसहरूले पनि सो कुरालाई स्वीकार गरेजस्तो वातावरण बन्यो । दिलु परियार केही बोल्न खोज्दैछिन् तर उनको बोलिलाई निस्तेज पारिँदैछ । उनका सबै परिवारहरू निरीह बनिरहेका छन् । पीडितलाई आफ्ना कुराहरू राख्न पनि दिइएको छैन । रमेशले यी सबै कुराहरू नियालिरहेका छन् । अन्तमा रमेशले बोल्छन् ।)
रमेश : (ठूलो स्वरमा सबैलाई नमस्कार गर्दै) सबैलाई नमस्कार ! आफ्ना कुराहरू राख्न पाईन्छ कि पाइँदैन ?? किनकी यहाँ त एकातिरको मात्रै कुरा सुनियो अब दिलु परियारको नि कुरा सुनौँ न त ।
दिलु :(सबैलाई नमस्कार गर्दै) नमस्कार ! मेरो कुराहरू राख्ने अनुमती चाहन्छु । धारामा म सहित मेरा साथिहरू सानू, प्रमिला अनि मेरि बैनी पनि थिए । हामी लुगा धुँदैथियौँ। काकिले गाग्री थाप्नुभयो । लुगा धुने क्रममा साबुनको फीँज उछिट्टिएर गाग्रीमा परेछ ।nमैले त्यतिखेर नै माफी मागेको हो । तर मलाई गाली गर्नुभो त्यो पनि कुजात, सानो जात, सानो जातको सानै ब्यहोरा भन्दै…….. मैले पनि यसरी जातीय रूपमा गाली नगर्नुहोस् भन्दा मलाई ठेलेर लडाइदिनुभो……..
रमेश : (दिलुलाई धन्यवाद सहित भिडतिर हेर्दै) धेरै दिग्गज ब्यक्तिहरू देखिरहेको छु । सामाजिक अभियन्ताहरू, राजनीतिक कार्यकर्ताहरू, हाम्रो समुदायलाई अगाडि बढाउन खोज्ने केही साथिहरू । अरू कुरा केही नगरौं ………. यो घटना भनेको जातीय विभेद तथा छुवाछूतको घटना हो……यो एक सार्वजनिक अपराध हो । यो घटनालाई यसरी गाउँमा मिलाउन पाइँदैन…….कानुन बमोजिम सजायको भागिदार बन्नु पर्छ । यसरी गाउँमा मिलाउँदै जाने हो भने घटनाहरू बढिरहनेछन् …….. पिडितको आवाज कसैले सुन्नेछैन…….
(दिलु परियार संगै धारामा लुगा धुन गएका दिलुका साथिहरू सानू खड्का र प्रमिला थापाले नि बोल्छन् ।)
सानू खड्का : (नमस्कार गर्दै) सबैलाई नमस्कार ! त्यो दिन भएको घटनाको प्रत्यक्षदर्शी म पनि हो । दिलुले भनेको कुरा सत्य हो । अगि दिलुले बोल्छु भन्दा पनि बोल्न दिइएन……रमेश दाईले सहजीकरण गरेपछी मात्र बोल्न पाइन् …….त्यो दिनको घटना सरासर जातीय विभेद हो……पिडितलाई बोल्न नदिइने हाम्रो कस्तो समाज ??? यति ठूलो अपराधलाई गाउँमा मिलाउन खोज्ने कस्तो समाज ??
प्रमिला थापा : (आफ्नो ठाउँदेखि उठ्दै) दिलु हाम्रो साथी हो साथै काकी हाम्रो गाउँकी काकी हुनुहुन्छ । तर दिलुमाथी अन्याय भएको छ । पिडितले न्याय पाउनुपर्छ…….समाजमा रहेका कुरिति-कुसंस्कारहरूलाई जरैदेखि उखेल्ने जिम्मा अब हामी युवाहरूको हो ……..(दिलुतिर हेर्दै) दिलु ! साथि बन्नु मात्र ठूलो कुरा होइन साथित्वको कर्तव्य निभाउनु ठूलो कुरा हो ….. त्यसैले तिमी अगाडी बढ …. तिम्रो साथमा हामी छौँ ……..।
(रमेश, उनका परिवारहरू र केही अन्य उपस्थित ब्यक्तिहरू उठेर ताली पिट्छन भने बाँकी सबै मानिसहरू नि:शब्द बन्छन् ।)
समाप्त
सत्य घटनामा आधारित नाटक
(स्रोत : शब्दसोपान डट कम)