~सुरञ्जन घिमिरे~
उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता ।
लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला त्यसैले ऊ जे हो र जस्ती हो त्यो नितान्त प्रकृतिक र लौकिक नै हो भन्ने मान्थें ।
ऊ हरेक मध्यरातमा छनछन पाउजु बजाउँदै मेरा कोठामा प्रवेश गर्थी । उसको आगमनको बोधबाट मेरो निन्द्रा खुल्थ्यो । म झसङ्ग हुन्थेँ । हिजोआज यो घटना प्रत्येक रातमा घट्ने एउटा स्वभाविक घटना हो भन्ने सम्झिदैँ आफूलाई सम्हाल्थेँ । आजभोलि मलाई यो घटना सामान्य लाग्न थालेको छ ।
एकदिन सधैँजस्तो उही समय र हाउभाउमा ऊ मेरो कोठामा प्रवेश गरी । उसले लगाएको सेतो साडी सेतै चोलो अनि कालो मुलायम केशमा सिरबन्दी प्राकृत र सजिव थिए । तर, चम्किला नीला–नीला आँखा र गाढा रातो लिपिस्टिक अलौकिक जस्ता देखिन्थे । यो देख्दा मलाई स्वभाविक डर लाग्थ्यो । तर म डराएको उसले थाहा पाउँथी र मलाई नडराउन सुझाव दिन्थी । ऊ छेवैमा आएर कस्तो उन्मत्त र निर्लज्ज हाँसो हास्थी ऊ हाँस्दा उसका सेता दन्ते लहर मध्यरातको निस्पट्टतामा थोरै टल्किन्थे । ऊ मेरो तिघ्रामा हातका पञ्जाले प्याट्ट हान्थी । सट्टामा म उसलाई केही गर्न सक्दिनथेँ । भावशून्य आँखाहरूले उसको रुप चार्न खोज्थेँ । ऊ नजानिदो पाराले छेलिन्थि । स्त्रिको जात, सायद लजाउनु पनि उनीहरूको प्राकृतिक गुण होला । म यस्तै सोच्थेँ । यस्तै एकरात उसले मलाई भन्दा पनि मेरा आँखातिर हेरेर भनेकी थिई, “तिमी मलाई कम्ता हेन्सम लाग्दैनौँ ।,” उसले यती भन्दिँदा म मख्ख परेको थिएँ । उही चोलीबाट उसले एउटा चुरोट निकाली र भान्साकोठातिर लागी अगेनामा दिउँसैदेखि एउटा ठुटो नमिठोसँग पुत्पुताई रहेको थियो । त्यसैमा उसले चुरोट सल्काई र ओठमा च्यापी । उसले तानीरहेको चुरोट मलाई दिँदै भनी, “लाउ चुरोट तान” मैले हात कमाउंँदै चुरोट लिएँ र तान्न ओठमा च्यापेँ । ऊ नै बोलीरही, “तिम्रो नाम के हो ?,” उसको यो आवाज एकदमै कामुक र माधक थियो । उत्तिकै अलौकिक पनि थियो । मैले मेरो नाम बताएँ । मैले चुरोट तान्दा कोठामा केही गाडा उज्यालो फैलियो । ऊ छनछन पाउजु बजाउँदै तत्काल कोठाबाट अलप भई ।
मलाई यस घटनाले बर्षौँदेखि सताउँदै आएको थियो । यो नितान्त व्यक्तिगत घटना भएकाले मैले कसैलाई पनि सुनाउन सकिरहेको थिइँन । एक त प्रेमको कुरा हो अर्थात हृदयको कुरा । त्यसमाथि त्यस्ती अलौकिक युवतीसँगको । मलाई आफ्नो समस्या कसैलाई सुनाए त्यसको भयबाट मुक्ति मिल्ने, मन हलुका हुने, उचित परामर्श पाई मार्गप्रशस्त हुने जस्ता आहानहरू यो मामिलामा नितान्त अप्रासङ्गिक लाग्थे । हरेक मध्यरातको घटनाक्रम त्यसमा पनि बर्षौंँ–बर्षको अभ्यस्तताबाट मैले मेरो यस कुण्ठालाई परिमार्जन गर्नु अवश्य थियो । मैले त्यस किसिमको परिमार्जनलाई आवश्यक्ता पनि ठानेँ । त्यसैले मेरो मस्तिष्कमा यो समस्या कसैलाई सुनाउने बिचार आयो । धेरै समय लाग्यो यसका लागि भरपर्दो मान्छे भेट्टाउन । केही समयपछि आफ्नै मनमा लागेर आयो– आफ्ना कुरा नझर्किकन सुनिदिने नजिकका कोही मान्छे हुन्छन् भने ती आफ्नै साथीहरू नै हुन्छन् । र,सबैभन्दा ठूलो शिक्षा साथीहरूबाटै पाइन्छ । अनि सल्लाह र सुझाव पनि । तर अफसोस ! कहिलेकाहीँ साथीहरूलाई नै कति कुरा सुनाउन सकिदैन । तर नसकेर मलाई धर थिएन । किनकि आफ्ना समस्या अरुलाई नसुनाउँदा मनमा गुम्सिएर बस्दा रहेछन् । यस कुराले मलाई दिनदिनै सताउंँदै गईरहेको थियो । त्यसैले एकदिन क्याम्पसबाट फर्किदै गर्दा बाटामा रमेशलाई मेरो समस्या सुनाएँ । उसले भन्यो–‘ला यार त्यस्तो ब्यवाहार त भूतहरूले या कसैको भड्केको आत्माले पो देखाउँछन् त । तर, केटी त्यस्ती बिछट्ट राम्री थिई भने त ऊ पक्कै भूत होइन चुडेल हो बुझिस ?’ सुझाव चित्त बुझ्दो नआए पनि मैँले,–‘बुझेँ यार’ भन्दिएँ । दिनभरी मनमा शान्ति भन्ने कुरो पटक्कै थिएन । हस्याङ्–फस्याङ्गमै दिन बित्यो ।
यो रात पनि मध्यरातमा उही युवती अर्थात भूत अर्थात चुडेल छम्छम् पाउजु बजाउँदै मेरो कोठामा प्रवेश गरी । मलाई उठाई । एकफेर जोडसँग हाँसी र मलाई मान्छे भएपछि हाँसेर बाँच्नु पर्छ भनेर कोठाबाट अलप भई । त्यसपछि म जोडजोडले हाँस्न प्रयास गरेँ तर सकिनँ । बिहान उठेर सम्झिएँ– हिजो राती किन म एक्लै–एक्लै हाँस्दै थिएँ ?
धेरै बर्ष पछिको एकदिन । शनिबार भएकाले क्याम्पस छुट्टी थियो । साथी समिपकोमा गएँ । उसको घरमा पुग्नासाथ टोनी जोडजोडसँग भुक्न थाल्यो । समिपका परिवारले कुकुर भुकाईको आसयलाई ख्याल नगरीदिउन् भन्ने कामना मनमनै गरीरहेँ । म लुसुलुसु समिपको कोठातिर लागेँ । कोठाको ढोका ढक्ढक्क्याएँ । खोल्यो । भित्र पसेँ र चुकुल लगाएँ, ताकी समिपका घरका अरु सदस्यले मेरो यो उपस्थिति थाहा नपाउन् । मैँले उसलाई मेरो समस्याको बेलीबिस्तार लगाएँ । सुनिसकेर उसले भन्यो,‘ला यार यो त डेन्जर केस हो त्यस्ता युवतीहरू त कि भूत हुन्छन् कि कसैको भड्केको आत्मा हुन्छन् कि चुडेल हुन्छन् । सधैँजसो मध्यरातमा सक्रिय हुने यिनीहरू मसानघाट तिरबाट यसो टहलिन बाहिरफेर निस्किएका हुन्छन् । हेर्दा सबै उस्तै देखिन्छन् तर वास्तवमा यिनीहरू फरक–फरक चरित्र रूप र स्वभावका हुन्छन् ।’ मैले उसको कुरा सुनिसकेर भनेँ, “तर होइन यार म उसको चरित्र रुप र स्वभावमा कहिल्यै पनि,कुनै पनि,केही पनि भिन्नता पाउँदिन । मलाई ऊ सधैँ उस्तै माधक र माधुर्य लाग्छे । ऊ सायद प्रेतआत्म नै हो यदि भने पनि मलाई ऊ बिछट्ट राम्री लाग्छे । मलाई अब त उसको बानी परिसक्यो । मध्यरातमा ऊ मेरो कोठामा आईन भने म दिनभरी फ्रेस रहन सक्दिनँ ।’ समिपले मेरो समीप आएर सुनायो, “तँलाई त्यसरी सताउने त चुडेल हो यार तैँले बिर्सीएर पनि त्यस युवतीसँग दोहोरो कुराकानी नगर, गरीस भने तँ ठाउँको ठाउँ बेहोस हुन्छस् ।” एकछिन रोकिएर उसले भन्यो,” मलाई लाग्छ अब तेरो आयु एकदमै छोटो छ अब गर्न मन लागेको कुरा छिटोछिटो गरीहाल, बुझिस् ?,” उसको सुझाव मलाई चित्त बुझ्दो लागेन तर म–” बुझेँ यार ।” भन्दै उसको कोठाबाट बाहिर निस्किएँ । निस्किएँ भन्दा पनि भागेँ । मेरो यस्तो भगाई सायद प्रहरीको भ्यानबाट कैदी भागे जस्तो देखिदोँ हो ।
म प्रायः हरेक मध्यरातमा उसलाई देख्ने गर्छु । ऊसँग कहिल्यै पनि मेरो दोहोरो कुराकानी भने हुन सकेको छैन । म ऊसँग बोल्न चाहान्छु तत्क्षण ऊ मेरो कोठाबाट अलप हुन्छे । ऊ अलप हुँदा मलाई कम्ती शून्यताले छोप्दैन । त्यसपछि त्यस शून्यता भन्दा ज्यादा मलाई भय र त्रासले छोप्छ । किनकी मलाई लाग्छ –ऊ कुनै सांसारिक मानव अझ भनूँ ऊ कुनै जीवित युवती नभएर कसैको भट्केको आत्मा हो वा भूत वा चुडेल वा अरु केही हो । अघिसम्म उसको शून्यताले शून्य बनाएको मेरो मनमा ऊ कुनै तान्त्रिक जीव हो भन्ने चेतनाको प्रवेशपछि ऊ देखि मलाई किन डर लागेको होला ? अथवा मलाई किन ऊ डरलाग्दी लाग्छे । कस्तो अचम्म ! एउटै मान्छेलाई अलग–अलग कोणबाट हेर्दा अलग–अलग स्वरुपको देखिईन्छ । एउटा कोणबाट ऊ माधक,माधुर्य अनि बिछट्ट राम्री युवती हो र अर्को कोणबाट ऊ भूत वा कसैको भड्केको आत्मा वा चुडेल हो । वास्तविक जीवनमा पनि कुनै बस्तुहरू हरेक कोणबाट हेर्दा हरेक किसिमका देखिने रहेछन् । तर,यहाँ अचम्म त यो छ कि अरु कसैको हेराईको कोण अनुसार त्यस बस्तुप्रति आफ्नो दृष्टिकोण कति छिट्टै बदलिदिन्छ । समिपले भन्यो त्यो चुडेल हो ऊसँग दोहोरो कुरा नगर । तर,दोहोरो कुराकानी नगरी पनि प्रेम गर्न सकिन्छ । प्रेम गर्न कसैलाई बोलाउनै पर्छ,गफ गर्न बाध्य पार्नु पर्छ यो पनि त जरुरी छैन । आखिर ऊ चुडेल नै होस् या त्यो भन्दा पनि क्षणभङ्गुर वा मामुली अरु केही बस्तु होस् सायद ऊ मलाई प्रेम गर्छे । प्रेम पाउनु भन्दा ठूलो कुरा यस संसारमा अरु के नै छ र !
आज दिनभरी उसलाई प्रेम प्रस्ताव राख्छु भन्ने सङ्कल्प गरिरहेँ । र, त्यस्तै अभिनय मनमनै गरिरहेँ । दिनभरि आकाशमा कालो बादल मडारिइरहेको थियो । त्यस रात बेस्कन पानी परिरहेको थियो ।
त्यस मध्यरात पनि सधैँ जस्तो ऊ मेरो कोठामा आई । उसको चुरोट तान्ने बानी भएकाले चुरोट सल्काउन ऊ भान्सा कोठामा गई । अगेनो हुडली खरानीले छोपीएको एक दुर्लभ कोइला निकाली फू…फू ….फुकी र चुरोट सल्काएर पुनः मेरो कोठामा प्रवेश गरी ।
उसले उही चोलीबाट अर्को चुरोट निकाली र म तिर बढाई । चुरोट तान्न इसारा गर्दै उसले तानिरहेको चुरोट मलाई दिई अनि मेरो तिघ्रामा प्याट्ट हानेर भनी, ‘मान्छे भएपछि हाँसेर बाँच्नु पर्छ’ मैले जोडले चुरोट तानें । मध्यरातको निष्पट्टतामा केही उज्यालो फैलियो । त्यसै बखत छिनछिन पाउजु बजाउँदै ऊ मेरो कोठाबाट अलप भई।
म दिउँसो विचार गरी बस्छु– कुनै अप्राप्य र असामान्य मानौं प्रेतात्मासँग मध्यरातमा हुने त्यस प्रकारको सामीप्यता प्रेम हो या होइन !
(स्रोत : शब्दसोपान डट कम)