~पाब्लो नेरूदा~
अनुवाद : पर्बत लावती
आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू
लेख्नु, जस्तो कि, “तारै ताराले भरिएको छ रात
र ताराहरू छन् नीला अनि टाढा काँपीरहेका“
रात्री हावा आकाशमा घुम्दछ र गाँउदछ ।
आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू
मैले उनलाई प्रेम गरेँ, र कहिलेकाँही उनले पनि गरिन्
यो जस्तै रातहरूमा मैले अँगालोमा बाधेको थिएँ उनलाई
र चुमेको थिए पटक पटक अनन्त आकाशमुनि ।
उनले मलाई प्रेम गरिन् कहिलेकाँही मैले पनि गरेँ
कोही कसरी रहनसक्थ्यो नगरीकन प्रेम उनका ठूला स्थिर आँखाहरूलाई ।
आजको रात म लेख्न सक्छु सबभन्दा उदास पंक्तिहरू
सोच्नु कि उनी मसित छैनन् लाग्नु कि उनलाई मैले गुमाईसकेँ ।
उनी बेगर यो सुनसान रात झन सुनसान सुनिनु
अनि कविता फुर्छ मुटुमा जसरी खस्छ खर्कमा सित।
के फरक पर्छ कि मेरो प्रेमले उनलाई रोक्न सकेन ?
तारै ताराले भरिएको छ रात तर उनी मसित छैनन्।
यति नै छ, टाढा कोही गीत गाइरहेछ, धेरै टाढा
मेरो आत्मा मानिरहेको छैन कि मैले उनलाई गुमाइसकेँ।
मेरा आँखाहरु उनैलाई खोज्छन् मानौं
उनीसम्म पुग्न चाहिरहेछन्
मेरो मन पनि उनैलाई खोजीरहेछ तर उनी मसित छैनन्।
उस्तै रातले सेत्ताम्मे बनाइरहेको छ उस्तै रुखहरूलाई
तर हामी त्यो बेला झैँ उस्तै रहेनौँ।
यो निश्चित छ अहिले म उनलाई प्रेम गर्दिन ।
तर मैले उनलाई कति प्रेम गरेको थिएँ ।
त्यो बतासलाई मेरो आवाजले छुन प्रयास गरेथ्यो
जुन उनीसम्म पुग्थ्यो ।
अरूको, अब चाँडै नै उनी अरूको हुनेछिन्
जस्तो मेरो चुम्बनभन्दा पहिले थिए
उनको आवाज, उनको उज्यालो शरीर, उनका अनन्त आँखाहरू ।
निश्चित छ अहिले म उनलाई प्रेम गर्दिन,
तर सायद म उनलाई प्रेम गर्छु
प्रेम कति छोटो बिर्सन कति गाह्रो ।
किनकी यो जस्तै रातहरूमा
मैले उनलाई अँगालोमा बाँधेको थिए
मेरो आत्मा मानिरहेको छैन कि मैले उनलाई गुमाईसकेँ।
यद्यपि यो पिडा अन्तिम हो उनले मलाई दिइरहेकी
र यी अन्तिम पंक्तिहरू हुन् जुन मैले उनको लागि लेखिरहेको छु ।
पाब्लो नेरूदाको कविता ‘Tonight I Can Write the Saddest Lines’ को नेपाली अनुवाद
(स्रोत : शब्दसोपान डट कम)