~नन्दलाल आचार्य~
‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’
श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’
विरोधी पक्ष आउँदै थियो । उनीहरूको लाइनको ठ्याक्कै बीचमा पर्ने गरी मैले व्याट्रीमा तार जोडेँ । त्यस विष्फोटमा दुई जना मात्र घाइते भए् ।
साथीहरू अघि नै चम्पट ठोकिहालेछन् । अन्ततः मलाई पक्रिहाले ।
‘ए दनुवार, गोली ठोकूँ कि भन्छस् ?’
विपक्षीको प्रश्नोत्तरमा भनेको थिएँ, ‘ठोक्न मन भए ठोक । सोध्न मन भए सोध । म भन्न तयार छु ।’
‘कायरै छस् कि क्या हो । तेरो सामथ्र्य केही भए पो अर्को कुरा गर्थिस् त ।’
‘म अहिले बगरमा फालिएको माछो बनेको छु । मैले पानी भेटे, तागत देखाइदिन्थेँ ।’
मेरा कुरा सुनेर कमान्डरले मेरो जुल्फी क¥याप्प समात्यो । मेरो गर्धन अररो भयो । सबिनाले कपाल काट्न बरोबर सम्झाउँथी । मैले अटेर गरेको थिएँ । कम्तिमा छोटो कपाल पारेको भए वा खुइल्याएको भए यस्तरी समाउन त पाउन्नथ्यो भन्ने लाग्यो । कहिलेकाँही साना नानीहरूले भनेका कुरा पनि हेक्का राख्नुपर्छ भन्ने ख्याल आयो ।
‘घर कहाँ हो ?’
‘खैरेनी ?’
‘सन्तान कतिजना र केके ?’
‘३ जना, जेठी छोरी सविना, कान्छी सरिता, छोरा सरोज ।’
‘अनुहार हेर्दा त तँ दनुवार होस् भनेर चिनिहाल्यौँ । ए, तँ त जामुनलाल चौधरी पो रहिछस् । सपरिवारै क्रान्तिमा सहभागी गराएको रैछस् हैन ?’ उसले सहजै सोधेको थियो ।
मैले भनेँ, ‘हो, जे गर्नसक्छौ । गर ।’
‘हामीलाई कानुन सिकाउने भाको, कम्लिष्टे मोरो । खान नपाएर कम्लिष्ट भाको । यस दनुवारको बुद्धि भाको भए पो खैरेनीमा ढुक्कले परिवारसँग बस्थ्यो । यो भलायाडाँडामा आएर हामीलाई मार्ने धराप किन थाप्थ्यो त !’
म टेरिनँ । अन्ततः मेरो निधारमा ‘माइन सेबोटेज’ लेखियो र गाईघाट जेलमा कोचियो ।