अनूदित कथा : पागलको डायरी

~लू शुन~
अनुवाद: दण्डपाणि जैसी

दुइजना दाजुभाइ थिए । उनीहरुको नाम चाँही अहिले नभनौं । उनीहरु मेरो स्कूलका साथी थिए । दुवैजनासँग राम्रो मित्रता थियो तर लामो समयसम्म नभेटेकोले भेटघाटको निरन्तरता टुट्यो । केही महिना पहिले तिनीहरु मध्ये एकजना चाँही निकै बिरामी छ भन्ने सुनेको थिएँ । म आफ्नो गाउँ फर्कँदै थिएँ, सोचेँ, बाटोमा उनीहरुलाई पनि भेट्दै जाउँ । उनीहरुको घरमा पुग्दा एकजना साथी सँग मात्र भेट भयो । उसले कान्छो भाइ बिरामी भएको कुरो सुनायो ।

उसले भन्यो, “धन्यवाद मित्र । हामीलाई सम्झेर त्यति टाढाबाट आयौ । अहिले त भाइको अवस्था ठीकै छ । हाल उसले एउटा सरकारी जागिर पाएर अन्तै गएको छ ।“

दाजु चाँहीले हाँस्दै हाँस्दै दुइवटा मोटा मोटा डायरी लिएर आयो । उसले मलाई डायरी देखाउँदै भन्यो, “यदि कसैले यो डायरी पढ्यो भने भाइको रोगको कारण थाहा पाउने छ । आफ्नो पुरानो साथीलाई यो डायरी देखाउँदा के नै फरक पर्ला र?”

मैले डायरी लिएर आएँ र पुरै पढेँ । बिचरा युवक आतंक र मानसिक यातनाबाट कति पिडीत थियो भन्ने कुरा डायरी पढेपछि थाहा भयो । लेखाइ निकै बल्झिएको तथा बीचबीचमा काटिएको थियो । ठाउँ ठाउँमा मसीको दाग तथा लेखाइको अन्तरबाट थाहा लाग्थ्यो कि यी कुराहरु केही अगाडी पछाडी गरेर लेखिएका थिए । कतिपय कुराहरु सम्बद्ध पनि लाग्थे र बुझिन्थ्यो पनि । चिकित्सा विज्ञानको खोजको दृष्टिले उपयोगी हुने जति पृष्ठहरुको मैले नक्कल पनि गरेँ । मैले डायरीमा भएका बेकार जस्ता लाग्ने एउटा पनि कुरा फेरिन । खाली नाम परिवर्तन गरेँ । त्यती टाढाका मानिसहरुलाई चिनेकै पो कस्ले हुन्छ र ! शीर्षक लेखकले नै दिएको हो । दिमाग सही अवस्थामा हुँदा नै दिएको हुनुपर्छ । मैले त्यसलाई कुनै परिवर्तन गरिन ।

एक

आज चन्द्रमा निकै उज्यालो छ ।

चन्द्रमा नदेखेको तीस बर्ष भयो । त्यसैले चन्द्रमाको उज्यालो मन परेको छ । बितेका तीस बर्ष अँध्यारोमै बिताएँछु । आज बल्ल अनुभूती भइरहेको छ । तर अब होसीयार रहनु पर्छ । केही न केही कुरा अवश्य छ । नत्र चाओ परिवारको कुकुरले मलाई दुइ दुइ पटक किन हेर्‍यो ? बिना कुनै कारण मेरो शंका पलाएको हैन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।

दुई

आज अँधेरी रात छ । चन्द्रमाको कतै कुनै खबर छैन । लक्षण ठीक छैन । आज बिहान बाहिर जाँदा निकै होसीयार थिएँ । चाओ ले मलाई एकोहोरो हेरिरहेको थियो; लाग्थ्यो मलाई हेरेर डराइ रहेको छ; मानौं मेरो हत्या गर्न चाहन्छ । सात आठ जना अरु मानिसहरु पनि थिए । एकले अर्कोलाई हेर्दै खुसुखुसु मेरो कुरा काटीरहेका थिए । मलाई नदेखेको जस्तो गरिरहेका थिए । बाटोमा जति मानिस भेटिए सबैको त्यही ताल थियो । तिनीहरुमध्येको सबैभन्दा डरलाग्दो मानिसले मलाई देख्ने बित्तीकै दाँत देखाउँदै हाँस्न थाल्यो । मेरो टाउको देखि लिएर पैताला सम्म सम्पूर्ण शरिर थरथर काम्यो । मैले थाहा पाएँ यिनीहरुले पुरा तयारी गरीसकेका रहेछन् ।

म नडराइकनै आफ्नो बाटो लागें । केही केटाकेटीहरु मेरो अगाडी अगाडी हिँडीरहेका थिए । उनीहरु पनि मेरै कुरा काटीरहेका थिए । उनीहरुको हेराइ पनि चाओ कै जस्तो थियो, डरले गर्दा मुखै पहेंलो भएको थियो । मनमनै सोचीरहेको थिएँ, ए बाबा मैले यि केटाहरुको के बिगारेको छु? यिनीहरु मसँग किन रिसाएका हुन् ? खपीनसक्नु भएपछि सोधें, “किन, के कुरा हो ?” तर उनीहरु त्यहाँबाट भागे ।

चाओ सँग मेरो के झगडा हो भनेर बुझ्न सकिरहेको छैन । बाटो हिंड्नेहरुको मैले कहिले के बिगारेको छु ? यतिमात्र याद छ कि करीब बीस बर्ष पहिले मैले कु च्यू को एउटा निकै पुरानो डायरी कुचेको थिएँ अनि कु च्यू मसँग निकै रिसाएका थिए, कु च्यू को चाओ सँग के सम्बन्ध छ ? एक अर्कालाई चिन्दा पनि चिन्दैनन् । हुनसक्छ चाओले कसैबाट यसको बारेमा थाहा पायो अनि त्यसको बदला लिने बिचार गर्दैछ । उनले बाटोमा हिड्ने मानिसहरुलाई मेरो बिरुद्ध भड्काइ रहेको छ, तर यी केटाकेटीहरुलाई यस्को के मतलब? त्यतिबेला त यिनीहरु जन्मेका पनि थिएनन् । यिनीहरुले मलाई किन यसरी एकोहोरो हेरेका ? साह्रै डराएका जस्ता देखिन्छन् कतै मलाई मार्ने त हैनन् । साह्रै चिन्ता लाग्छ । के गर्ने होला ? साह्रै पीर परेको छ । मलाई थाहा छ यीनीहरुले यो कुरा पक्कै पनि आफ्ना आमा बाबुबाट सिकेका हुन् ।

तीन

राती निदाउन सकिरहेको छैन । ठीकसँग नसोचीकन कुनै कुरो बुझ्न सकिँदैन । यिनीहरुलाई हेरौं, कैयौंले जेलको हावा खाइसकेका छन्, कैयौंका स्वास्नीलाई सरकारी कर्मचारीले भगाएर लगेका छन्, कतिका बाबुआमाहरु साहुको ऋणले किचीएर झुण्डिएर मरिसकेका छन्, तर यी कुराहरुलाई संझेर पनि यिनीहरुको रगत यति उम्लेको छैन होला, यति रिस उठेको छैन होला जति हिजो देखियो ।

त्यो आइमाईलाई के भन्ने ? हिजो गल्लीमा आफ्नो छोरालाई कराउँदै पिटीरहेकी थिई, “बदमास, तेरो छाला काढ्छु, तेरो टुक्रा टुक्रा पार्छु, तैंले मेरो कलेजो खाइसकिस् ।” उसले मतिर हेर्दै थिई । म थरथर भएँ । साह्रै आत्तिएँ । क्रूर अनुहार र लामा लामा दाँत भएका मानिसहरु हाँस्न थाले । छन दादाले तुरुन्त आएर मलाई समाए अनि घरमा लिएर आए ।

छनले मलाई घरमा लिएर आए । सबैजनाले मलाई नचिने झैं गरी हेरीरहेका छन् । मैले उनीहरुलाई हेरेँ । उनीहरुको आँखामा पनि गल्लीका मानिसहरुको जस्तै कुरा थियो । म पढ्ने कोठामा छिर्ने बित्तीकै उनीहरुले मलाई बाहिरबाट ढोका बन्द गरेर ताल्चा लगाइदिए, हाँस कुखुरालाई थुने जसरी । म आत्तीएँ ।

केही दिन पहिलेको कुरो हो । छिमेकी गाउँबाट हाम्रो एकजना आसामी बाली नाश भएको खबर दिन आएको थियो । उसले मेरो दाइलाई भनिरहेको थियो, गाउँका मानिसहरुले त्यहाँको एकजना बदमास गुण्डालाई समाते अनि उसलाई पिटेर मारे । कतिपयले त हिम्मत बढ्छ भन्दै उसको छाती चिरेर कलेजो निकालेर तेलमा भुटेर खाए । सहिनसक्नु भएपछि म बोलें । दाइ र आसामीले मलाई खाउँला झैं गरी हेरे । आज सडकमा मानिसहरुले मलाई जसरी हेरीरहेका थिए यिनीहरुले पनि उसैगरी हेरे ।
यो कुरो सम्झ्यो कि पाइताला देखि टुप्पीसम्म शरिर थरथर हुन्छ ।

यीनीहरु नरभक्षी हुन् मलाई पनि खान सक्छन् ।

अँ सम्झेँ, त्यो आइमाई पनि तेरो चोक्टा चोक्टा पार्छु भन्दै थिई ।

क्रूर अनुहारमा लामा लामा दाँत निकालेर मानिसहरु हाँसीरहेका थिए अनि यो आसामीले जुन कथा सुनायो यो सबै गोप्य सँकेत हो । यिनीहरुको कुरामा कति धेरै बिष मिसिएको छ । यिनीहरुको हाँसोले तरवारको धारले काटे झैँ काट्छ । यिनीहरुका लामा-लामा, सेता-सेता दाँत मानिसका हाड मासु चबाएर चम्केका हुन् । यी सबै नरमांसाहारी हुन् ।

मलाई थाहा छ, यद्यपि म नराम्रो मानिस हुँदै हैन, तर जब देखि कू को डायरी माथी मेरो खुट्टा पर्‍यो त्यस दिनदेखि मानिसहरु मेरो पछि लाग्न थालेका छन् । यिनीहरुको मनमा यस्तो गाँठो परिसकेको छ कि मैले केही पनि गर्न सक्दिन । यिनीहरुलाई एकपटक कसैसँग रिस उठ्यो कि उसलाई बदमास भन्न थाल्छन् । मलाई राम्रोसँग याद छ दाइले मलाई निबन्ध लेख्न सिकाउँथे । कुनै मानिस कति नै असल किन नहोस्, तर जब मैले उसको गल्ती देखाइदिन्थेँ दाइलाई निकै मन पर्थ्यो । साथै, जब मैले कसैको गल्ती छोप्ने प्रयास गर्थें, तब उनी भन्थे, “धेरै राम्रो कुरो ! यो तिम्रो नयाँ बिचार हो ।“ यस्ता मानिसहरुको मनको कुरो कसरी थाहा पाउन सकिन्छ र, विशेष गरी जब यिनीहरु कसैलाई खाने कुरा गरिरहेका हुन्छन् ।

गहिराईमा पुगेर बिचार नगरी कुनै कुरा बुझ्न गाह्रो छ । धमीलो याद छ कि, प्राचीन कालका मानिसहरु नरमांसहारी थिए, तर ठीकसँग सम्झन सकिरहेको छैन । यस सम्बन्धमा इतिहासका किताबहरुमा पनि खोज्ने प्रयत्न गरेँ तर कहीँ पनि क्रमबद्ध इतिहास फेला पार्न सकिन । सबै पानाभरी ‘सदगुण र सदाचार’ शब्दहरु मात्र भेटिन्छन् । निद्रा लागिरहेको थिएन त्यसैले निकै ध्यान दिएर आधा रात सम्म पढेर बसें । यता उता हेरेपछि बल्ल वास्तविक अभिप्राय बुझ्न थालें । पुरा किताब भरी एउटा मात्र कुरो थियो कि, “मानिसलाई खाउ।”

किताबमा लेखिएका यी सबै कुराहरू र त्यो आसामीका कुराले मलाई कुटील हाँसोका साथ एकोहोरो हेरीरहेका छन् । म पनि त मानिस हुँ तर यिनीहरु मलाई खान खोजिरहेका छन् ।

चार

बिहानको कुरो हो । केही बेरदेखि चुपचाप बसीरहेको थिएँ । यतिकैमा छन दादा खाना लिएर कोठामा आए । एउटा कचौरामा तरकारी थियो अर्कोमा स्टिममा पकाएको माछो । माछाका आँखा ढुँगा जस्तै सेता थिए, मुख खुला थियो, लाग्थ्यो कुनै भोको नरभक्षी मुख आँ गरेर बसेको छ । मैले खान थालें । गाँसहरु निल्दै थिएँ । माछो खाइरहेको छु की मान्छेको मासु खाइरहेको छु थाहा थिएन । अन्त्यमा सबै वाकेर फालें ।

मैले छनसँग भने, “छन दादा, दाइलाई भन्नुन, यो कोठामा मेरो प्राण उड्ला जस्तो भइरहेको छ, एकछिनलाई आँगनमा घुमेर आउँछु ।”
छन केही नभनी त्यहाँबाट हिडे । तुरुन्त फर्केर आए र ढोका खोलीदिए ।

म नउठीकन कोठामै बसीरहेँ । अब यिनीहरुले के गर्ने हुन्? भनेर सोच्दै थिएँ । एउटा कुरो त थाहा थियो कि यिनीहरुले मलाई उम्केर जान चाँही दिने छैनन् । यति त पक्का पक्की नै थियो । एकजना पाको मानिसलाई साथमा लिएर बिस्तारै बिस्तारै दाइ कोठामा आए । बुढाका रगतका भोका आँखामा चक्कुको धारको जस्तो चमक थियो । उसले मतिर हेर्न चाहँदैनथ्यो । मैले गाली नगरुँ भनेर गर्दन निहुराएर बसेको थियो । चश्मा भित्रबाट छड्के नजर लाउँदै मतिर हेर्थ्यो ।

दाइले भने, “आज त तिम्रो स्वास्थ्य निकै राम्रो देखिन्छ ।“

मैले हो भनेर टाउको हल्लाएँ ।

“तिमीलाई जँचाउन भनेर वैद्य बालाई लिएर आएको थिएँ” दाइले भने ।

“राम्रो” मैले भनेँ, तर थाहा थियो कि यो बुढो वास्तवमा एउटा बुच्चर हो, अहिले वैद्य भएर आएको छ । मेरो नाडी छाम्ने बहाना बनाएर उसले मेरो शरीरमा भएको मासुको अडकल लगाइरहेको थियो । यति काम गरे वापत उसलाई मेरो मासुको हिस्सा पाउने आशा थियो । यस कुराले पनि म डराइन । मैले मान्छेको मासु खान्न तर पनि उनीहरुभन्दा बढी म मा केही छैन । हेरौँ के गर्दो रहेछ भनेर मैले आफ्ना दुइवटै नाडी अगाडी सारिदिएँ । बुढाले खाटमा बसेर आँखा बन्द गरेर मेरो नाडी छामी रह्यो । केही क्षण सोच्यो, अनि आफ्ना धूर्त आँखा खोल्दै भन्यो, “आफ्ना बिचारहरुलाई भट्किन नदिनु, चिन्ता बिलकुलै नलिनु । केही दिन पुरा आराम गर्नु । आनन्दसँग बस्नु , केही दिनमा तिमी पुरा ठीक हुनेछौ ।“

आफ्ना बिचारहरुलाई भट्किन नदिनु, चिन्ता बिलकुलै नलिनु । केही दिन पुरा आराम गर्नु । आनन्दसँग बस्नु । अँ, अनि म मोटाउँछु, अनि तिमीहरुले बढी मासु पाउँछौ, तर यसबाट मैले के पाउँछु ? सञ्चो हुनु भनेको यही हो ? यो सबै यी नरभक्षीहरुको मान्छेको मासु प्रतिको लोभ र साथसाथै राम्रो पनि देखिने नाटक मात्र हो । कायर भएर तुरुन्त कारवाही गर्ने साहस नभएर हो । यो देखेर पेट दुख्ने गरी हाँसो उठ्यो । मेरो हाँसो रोकिएन । म जोड जोडले हाँसें । निकै मजा आयो । मलाई थाहा थियो यस हाँसोमा निडरता अनि सत्यता लुकेको छ । दाइ र वैद्य दुवैको अनुहार डरले पहेंलो भयो । उनीहरु मेरो निडरता अनि सत्यता देखेर डराइ सकेका थिए ।

म निडर छु, साहसी छु त्यसैले त यिनीहरु मलाई खान व्याकुल छन् । उनीहरु मेरो कलेजो खाएर आफ्नो साहस अझै बढ्न सकोस भन्ने चाहन्छन् । बुढो वैद्य उठेर गयो । जाँदाजाँदै दाइको कानमा खुसुक्क भनेर गयो, “यसलाई अब खान पर्छ ।” दाइले टाउको झुकाउँदै ‘हुन्छ’ भने । बल्ल कुरो बुझियो । मासुको रहस्य खुल्यो । मनमा केही धक्का त लाग्यो, तर यो त हुनु नै थियो । मेरो आफ्नो सहोदर दाजु मलाई खाने दाउमा सामेल छ भन्ने मलाई थाहा थियो ।

यो नरभक्षी मेरो आफ्नै दाइ हो । म एक नरभक्षीको भाइ हुँ । मलाई अरु मान्छेले काटेर खानेछन्, तर म एक नरभक्षीको भाइ हुँ ।

पाँच

केही दिन भयो एउटा अर्को कुरो मनमा खेलीरहेको छ, हुन सक्छ वैद्यको भेषमा आएको त्यो बुढो बुचर नभएर वैद्य नै पो हो कि यदि यस्तो हो भने पनि उ नरभक्षी त हो नी । वैद्यहरुका पुर्खा ली शीचन को जडी बुटी सम्बन्धी किताबमा ‘मान्छेको मासु उमालेख खाए हुन्छ’ भनेर स्पष्ट लेखेको छ, त्यसैले त्यो वैद्य नरभक्षी नभएर के हो त ?

आफ्नो दाइको के कुरो गर्नु र, उ त नरभक्षी नै हो । पहिला मलाई पढाउने बेलामा भन्थ्यो, मानिसहरु आफ्ना छोराहरु एकार्कामा साटेर तिनलाई खान्छन् । एकपटक एउटा बदमास मनिसका बारेमा उसले भनेको थियो, “उसलाई मारेर मात्र के हुन्छ, उसको मासु खाउँ अनि उसको छाला काडेर त्यसको बिछौना बनाउँ ।“ त्यतीबेला म सानै थिएँ । यो कुरा सुनेपछि निकै बेरसम्म मुटु ढुकढुक गरिरह्यो । जब छिमेकी गाउँको आसामीले एउटा बदमासको कलेजो झिकेर खाने कुरो गर्‍यो त्यतीखेर पनि दाइलाई कुनै नराम्रो लागेको थिएन । चुपचाप टाउको हल्लाउँदै बस्यो, मानौं उनीहरु ठीक कुरो भनीरहेका छन् । मबाट के लुकेको छ र उ पहिलेको जस्तै खूँखार छ । किनकी एकार्काका छोराहरुलाई साटेर खान सम्भव छ भने हरेक चीजहरु साट्न सकिन्छ, हरेक चीजहरु खान सकिन्छ । उतीबेला जब दाइले यस्ता कुराहरु सम्झाउँथ्यो तब म सुनेरै बस्थें, सोच्दैनथें, तर अहिले राम्रोसँग बुझ्न थालेको छु कि यस्ता कुरा गर्दा उसको मुखमा मान्छेको मासुको स्वाद भरिएर आउँथ्यो होला अनि उसको मन मान्छेको मासु खानका लागि छटपटाउँथ्यो होला ।

निष्पट अँध्यारो । दिन हो कि रात हो थाहा छैन । चाओ परिवारको कुकुर फेरी पनि भुकेको भुक्यै छ । सिंह जस्तो खूँखार, खरायो जस्तो कातर, र स्याल जस्तो चलाख………

सात

मैले ती मान्छेहरुलाई राम्रोसँग चिनेको छु । कसैलाई मारीहाल्ने आँट भएका चाँही हैनन् यिनीहरु । यिनीहरुमा मान्छे मार्ने साहस चाँही छैन । हत्याको परिणामको डरले यिनीहरुको सातो उड्छ, यसैले यिनीहरुले षडयन्त्रको जालो बिछ्याउँदै छन् । मलाई आत्महत्या गराउनका लागि विवश पार्दैछन् । केही दिन देखि गल्लीका लोग्ने मानिस र आइमाइ मानिसहरुको व्यवहार हेर्दै छु, साथै मेरो दाइको व्यवहार पनि हेर्दैछु । मलाई सबै कुरो थाहा छ । यिनीहरु त चाहन्छन् कि मैले घरको छतमा पासो लगाएर झुण्डिएर मरुँ । यिनीहरुलाई कसैले हत्याको अभियोग पनि लगाउन नसकोस् अनि यिनीहरुले पेटभरी पनि खान पाउन् । यस्तै कुराहरुको कल्पना गरेर खुसीले यिनीहरुको भुँइमा खुट्टा छैन । यदि कसैले चिन्ता र संकटका डरले सुकेर आत्महत्या गर्‍यो भने पनि यिनीहरुले उसको शरिरमा भएको रगत र मासु केही पनि बाँकी नराखी खान लालायित हुन्छन् ।

यिनीहरु केवल मुर्दारको मासु खान्छन् । अहिले सम्झँदै छु, एउटा फोहोरी जनावरको बारेमा पढेको थिएँ । उसका आँखा साह्रै डरलाग्दा हुन्छन् । त्यसलाई हुँडार भन्छन् । हुँडारले प्रायः लासको मासु खान्छ । मोटामोटा हाड पनि दाँतले चबाएर निल्न सक्छ । संझदा पनि आङ सिरिङ्ग हुन्छ । हुँडारको जाति ब्वाँसासँग मिल्छ अनि ब्वाँसा कुकुरको जातिका हुन् । अस्ति चाओको कुकुरले बारम्बार मलाई हेर्दै थियो । लाग्थ्यो त्यो कुकुर पनि षडयन्त्रमा सामेल छ । बुढो वैद्यले तल हेरेर बसिरहेको थियो तर मेरो नजरबाट कसरी बच्थ्यो र ।

सबैभन्दा बढी दुख मेरो दाइको लाग्छ । उ पनि त मानिस नै हो, तर उसलाई किन डर नलागेको होला ? मलाई खान भनेर उ पनि अरुसँग किन मिलेको होला ? शायद जे भइरहेको छ त्यसैलाई निरन्तरता दिँदा मानिसले अपराध र दोष छुट्याउन सक्दैनन् । उसले पनि पापकर्म गर्न भनेर आफ्नो मुटु ढुँगा जस्तो कठोर बनाएको छ । सबैभन्दा पहिला त म यही नरभक्षीको पर्दाफास गर्छु । सबैभन्दा पहिला यसैलाई पापकर्मबाट जोगाउँछु ।

आठ

वास्तवमा मैले यो तर्क निकै पहिले नै मान्नु पर्थ्यो । अचानक कोही मानिस भित्र आयो । लगभग बीस बर्षको युवक थियो । अनुहार राम्रोसँग हेर्न पाइन, मुस्कुराइरहेको थियो, तर जब उसले टाउको निहुराएर अभिवादन गर्‍यो तब देखें कि उसको अभिवादन नक्कली लाग्यो । मैले सोधीहालें, “भन त, मान्छेको मासु खाने कुरा ठीक हो ?”

उ मुस्कुराई रह्यो अनि भन्यो, “के अहिले अनिकाल परेको छ र, किन खाने नी मान्छेको मासु ?”

मैले थाहा पाएँ यो पनि उनीहरुकै दलको मानिस थियो । साहस बटुल्दै मैले भनें, “मेरो प्रश्नको उत्तर देउ ।“

“यो प्रश्नको के अर्थ हो? किन ठट्टा गर्दै छौ? बाहिर हेर त कति रमाइलो मौसम छ ।“

“हो रमाइलो मौसम छ , चन्द्रमा पनि उज्यालो छ , तर पहिला तिमीले मैले सोधेको कुराको जवाफ देउ न, सही के हो?”

उ केही आत्तियो र भन्यो “हैन”

“हैन…..” त्यसो हो भने मानिसहरु यस्तो किन गर्छन् ?

“तिमीले के भन्न खोजेको हो ?”

“मैले के भन्न खोजेको? छिमेकी गाउँमा मानिसहरु मान्छेको मासु खाएर बसेका छन् । तिमीले ग्रन्थ निकालेर पढ । सबै ठाउँमा यही लेखेको छ, ताजा राता-राता अक्षरहरुमा ।“

उ चुप भयो । उसको अनुहार पँहेलो भयो । मलाई हेर्दै भन्यो, “हुनसक्छ, परापूर्वकाल देखि यही त हुँदै आइरहेको छ ।“

“परापूर्वकाल देखि हुँदै आइरहेको छ, यसैले उचित हो ?”

“मलाई यस बहसमा छिर्नु छैन । तिमी पनि यो बिना मतलबको झगडामा नपरेकै राम्रो, अनि यस्तो कुरा नगरेकै बेश हुन्छ ।“

म जुरुक्क उफ्रेँ अनि आँखा खोलेर यता उता हेर्न लागें । त्यो मानिस गायब भइसकेको थियो । म पसीनाले निथ्रुक्क भएको थिएँ । त्यस युवकको उमेर मेरो दाइको उमेर भन्दा कम थियो तर उ पनि उनीहरुसँगै मिलेको थियो । उसले आफ्नो आमा बाबुसँग सबै कुरो सिकिसकेको थियो, दैव जानुन आफ्नो छोरालाई पनि सिकाइसकेको हुनुपर्छ । त्यसैले त यी हिजोका ठेट्नाहरुले समेत मलाई एकोहोरो हेरिरहन्छन् ।

नौ

अरुलाई खाने लालच तर स्वयं भोजन बन्ने हो कि भन्ने डर । सबैजना एकार्का प्रति आशंकित छन् ….

यदि मानिसहरुले परस्परको यस डरबाट मुक्ति पाउन सक्ने हो भने उनीहरु कुनै शंका बिना निर्धक्क सँग काम गर्न पाउँछन्, घुमफिर गर्न पाउँछन्, खानपीउन सक्छन्, चैनसँग निदाउन पाउँछन् । मनवाट केवल एउटा यही विचार निकाल्न जरुरी छ, तर मानिसहरु यसो गर्न सक्दैनन् अनि बाउ-छोरा, पति-पत्नी, भाइ-भाइ, मित्र, गुरु-शिष्य एकार्काको ज्यानको दुश्मन बनेका छन्, यहाँसम्म कि नचिनेका मानिसहरु पनि एक अर्कालाई खाने षडयन्त्रमा सामेल छन्, अरुहरुलाई समेत यसमा तानेर ल्याएका छन् । यस्तो दुष्चक्रबाट निस्कन तयार नै छैनन् ।

दश

आज बिहान दाइलाई भेट्न गएँ । हलको ढोका निर उभीएर आकास तिर हेर्दै थिए । म ढोका र उनको बीचमा उनको पछाडि पट्टि गएर उभिएँ । बिस्तारै भनें, “दाइ एउटा कुरो भन्नु थियो ।“

“अँ, भन के थियो?” मतिर झट्ट फर्किंदै दाइले अनुमती दिए ।

“खास कुरो त केही थिएन तरपनि भन्न सकिरहेको छैन । दाइ, आदिम अवस्थामा त मानिसहरुले धेरथोर मात्रामा भएपनि मान्छेको मासु खान्थे होला । जब मानिसको जिवनमा परिवर्तन आयो, तब उनीहरुको बिचारमा पनि परिवर्तन आयो होला अनि उनीहरुले मान्छेको मासु खान छोडे होलान् । उनीहरु आफ्नो जिवन सुधार्न चाहन्थे । यसैले सभ्य भए, उनीहरुमा मानवता पलायो, तर कतिपय मानिसहरु अझै पनि गोहीले झैं मानिसको मासु खाइरहेका छन् । जिवको विकास हुन्छ भन्छन्, एउटा जिव बाट अर्को जिव बन्छ भन्छन् । कतिपय जिवको विकास भएर माछा भए, चरा भए, बाँदर भए अनि अन्तिममा मानिस भए, तर कतिपय जिवमा बिकासको इच्छा हुँदैन अनि गोही भएर बसे। उनीहरुको विकास हुँदैन, उनीहरु सुध्रीन पनि सुध्रिन्नन्, डुलुवा पशु नै भएर बस्छन् । मान्छेको मासु खाने मानिसहरु आफूलाई मान्छेको मासु नखाने मानिसहरुको अगाडी कति निच र लज्जित भएको अनुभव गर्दा हुन् है । शायद बाँदरको तुलनामा गोहीले भन्दा पनि बढी।“

“अतितमा ईया ले आफ्नो छोरालाई उमालेर च्ये र चओ लाई खान दिएको थियो । यो एउटा पुरानो कथा हो । यस भन्दा पहिले फान कू ले आकास र पृथ्वी बनाएपछि ईया को छोराको समयदेखि श्वी शी-लीन को समयसम्म मानिसहरु एक अर्कालाई खाँदै थिए । श्वी शी-लीन को समयदेखि छिमेकी गाउँमा समातिएको त्यो मानिसको समयसम्म यही भइरहेको छ । पोहोर साल एकजना अपराधीको गर्दन काटीदिएका थिए । रगत बगेको देखेर एकजना क्षयरोगको बीरामीले उसको रगतमा डुबाएर रोटी खाएको थियो ।“
”तिनीहरु मलाई खान चाहन्छन् । तिनीहरुलाई तिमी एक्लैले रोक्न गाह्रो छ, तर तिमी उनीहरुसँग किन मिलेका छौ ? यिनीहरु नरभक्षी हुन जति गरेनन् त्यही नै कम हो । यिनीहरुले मलाई खानेछन् त्यसपछि तिम्रो पालो आउनेछ । त्यसपछि यिनीहरुले आपसमा एक अर्कालाई पनि छोड्ने छैनन् । दाइ, तिमीले आजैबाट यो बाटो छोड्न सक्यौ भने सबैलाई शान्ति मिल्नेछ । ठीक छ प्राचीन समयमा यस्तो हुन्थ्यो होला, एउटा मान्छेले अर्को मान्छेलाई खान्थ्यो, तर अब, खासगरी यस समयमा त हामी आपसमा एक अर्काप्रति दया गर्न सक्छौं अनि अबदेखि यस्तो हुनेछैन भनेर भन्न सक्छौं नी । दाइ मलाइ विश्वास छ कि तिमीले यस्तो गर्न सक्छौ । त्यस दिन पनि त्यो आसामीले बाली कम दिने कुरो गर्दा तिमीले यस्तो हुन सक्दैन भनेर भनेका थियौ ।“

मेरो कुरा सुनेर दाइ पहिला त कुटील मुस्कान साथ हाँसीरहेको थियो त्यसपछि एउटा अपराधीले झैं गरि मलाई हेर्‌यो, अनि जब मैले उसको पर्दाफास गरिदिएँ तब उसको अनुहार पहेंलो भयो । गेट बाहिर एक हुल मानिस जम्मा भएका थिए । चाओ पनि आफ्नो कुकुर लिएर उभीएको थियो । सबैले घाँटी तन्काइ तन्काइ भित्र हेर्दै थिए । मैले उनीहरुको अनुहार स्पष्ट देख्न सकिरहेको थिइन । लाग्थ्यो धेरैजनाले कपडामा मुख लुकाइरहेका थिए । कतिपयको अनुहार पँहेलो अनि डरलाग्दो देखिन्थ्यो, कतिपयले आफ्नो हाँसो दबाएको देखिन्थ्यो । मलाई थाहा थियो यी सबै एउटै ड्याँङका मूला हुन्, सबै नरभक्षी हुन । मलाई यो पनि थाहा थियो कि उनीहरु बीच पनि एकमत छैन । कतिपयको बिचारमा मानिसको मासु त परापूर्वकालदेखि खाँइदै आएको हो त्यसैले ठीक हो भन्ने थियो । कतिपयको बिचार यसो गर्न हुन्न भन्ने थियो तर आफ्नो लोभ दबाउन सकिरहेका थिएनन्; चाहन्थे कि उनीहरुको गोपनियता भंग नहोस्; त्यसैले जब उनीहरुले मेरो कुरा सुने उनीहरुहरुलाई रिस उठ्यो; तर उनीहरु आफ्नो रिसमाथी काबू राख्दै ‌ओठ दबाएर हाँसीरहेका थिए ।

दाइ एक्कासी रिसायो अनि कड्किँदै भन्यो, “तिमीहरु सबै यहाँबाट भाग ! एउटा पागललाई हेरेर के पाउँछु भनेर आएका ?”

मैले उनीहरुको चाल बुझिसकेको थिएँ । यिनीहरु आफ्नो बाटोबाट हट्नेवाला थिएनन् यिनीहरुले पुरा योजना गरिसकेका छन् । सबैजना मिलेर मलाई पागल भन्दैछन् । यिनीहरुले मलाई मारेर खाए भने पनि कसैले केही भन्ने पनि छैनन् । सबैले यहि भन्नेछन् कि, पागल थियो, ठीकै गरे । जब छिमेकी गाउँको आसामीले एउटा बदमासलाई मारेर खाएको कुरो गरेको थियो त्यतिबेला पनि यिनीहरु केही बोलेका थिएनन् । यो उनीहरुको पुरानो चाल हो ।

बुढो छन पनि भित्र आयो, उ साह्रै रिसाएको थियो, तर उनीहरुले मेरो मुख बन्द गर्न सकेनन् । मैले भनेरै छाडें, ”यो ठीक कुरो होइन, यस्तो नगर, तिमीहरुको हृदय परिवर्तन आवश्यक छ” मैले भनें, “सबैले कान खोलेर सुन, अबदेखि यस दुनियामा नरभक्षीहरुलाई कुनै स्थान हुने छैन ।“

“यदि तिमीहरुले मान्छेको मासु खान छोडेनौ भने तिमीहरु सबै समाप्त हुनेछौ । एकले अर्कोलाई खाने छौ । तिमीहरुको घरमा जति सन्तान जन्मे भने पनि सभ्य मानिसहरुले तिमीहरुलाई समाप्त पारिदिनेछन् जसरी जंगलमा शिकारीले ब्वाँसोलाई मार्छन् । जसरी साँपलाई मार्छन् ।“

छन ले सबैलाई भगाइदियो । दाइ गइसकेको थियो । छनले मलाई मेरो कोठामा जान भन्यो । कोठामा निष्पट अँध्यारो थियो । मेरो टाउको माथी दलिनका काठहरु कट्याक-कट्याक गर्दै हल्लीरहेका थिए । एकछिन यस्तै कट्याक-कट्याक भयो । आवाज झन बढीरहेको थियो । त्यसपछि छत ममाथी खस्यो ।

छतको बोझ यति धेरै थियो कि अलिकती हल्लीन पनि सम्भव थिएन । उनीहरु त चाहन्थे कि म मरी हालुँ । मलाई थाहा थियो कि यो बोझ नक्कली थियो । यसैले हिम्मत गरेर बाहिर निस्किएँ । पसीना पसीना भएको थिएँ, तर नभनी पनि बस्न सकिन, “तिमीहरु तुरुन्त परिवर्तन हुन आवश्यक छ । आफ्नो हृदय परिवर्तन गर्नु पर्छ । थाहा पाइराख भविष्यमा यस सँसारमा नरभक्षीहरुलाई कुनै स्थान हुने छैन ।“

एघार

कोठाको ढोका बन्द रहन्छ । घाम देखिन्न । दिनको दुइ छाक खान पाइन्छ । मैले खाना खान भनेर चपस्टीकहरु उठाएको थिएँ कि दाइको याद आयो सानी बैनीको मृत्युको याद आयो । यो सबै दाइकै कारण भएको थियो । त्यतिबेला बैनी पाँच बर्षकी थिइ । कति राम्री, कति चुलबुले थिइ । सम्झिदाँ उसको अनुहार आँखा वरिपरि घुम्छ । रुँदा रुँदा आमा बेहाल हुनु भएको थियो । दाइले आमालाई शान्त्वना दिँदै सम्झाउँदै थियो । कारण यो थियो कि उसैले बिचरीलाई खाएको थियो, त्यसैले पनि होला आमालाई यसरी रोएको देखेर उसलाई लाज लागेको थियो । यदि उसमा लाज नामको चीज हुँदो हो त…..

दाइले मेरी बैनीलाई खायो, आमालाई यो रहस्य थाहा छ कि छैन होला । मेरो बिचारमा आमालाई यो सबै कुरा थाहा छ त्यसैले होला जब उनी रोइरहेकि थिइन स्पष्ट रुपमा केही भनिनन् । यो सुनाउने कुरो हैन भन्ने सोचेर चुप लागिन होला । एउटा अर्को घटना याद आइरहेको छ । त्यतीबेला मेरो उमेर चार या पाँच बर्षको हुँदो हो । म आँगनमा छहारीमा बसेको थिएँ । दाइले भनेको थियो, “एउटा राम्रो छोराको कर्तव्य भनेको के हो भने आमा बाबु बिमार हुँदा उनीहरुको दवाइका लागि यदि आवश्यक पर्‍यो भने आफ्नो शरिरको मासु काटेर उमालेर उनीहरुको अगाडि राख्नु पर्छ ।“ उसको कुरो सुनेर आमा समर्थनमा चुप बसेकी थिइन । उनले केही बिरोध गरिनन् । यदि मान्छेको मासुको एउटा चोक्टो खान सकिन्छ भने पुरै मान्छेलाई पनि खान सकिन्छ; अनि जब आमाको शोक र विलाप याद आउँछ तब कलेजो टुक्रा टुका भए जस्तो लाग्छ । यिनीहरुका तरिका पनि बुझिनसक्नुका छन् ।

बाह्र

उसको याद आउने बित्तिकै, सोच्ने बित्तिकै रौं ठडिन्छन् । टाउको घुम्न थाल्छ । अन्त्यमा एउटा कुरो त बुझें कि पुरा उमेर यस्ता मानिसहरुको माझमा बसें, जो चार हजार बर्ष देखि मान्छेको मासु खाइरहेका छन् । दाइले घरको रेखदेख गर्न थाल्ने बित्तिकै बैनीको मृत्यु भयो । यिनीहरुले अवश्य पनि पुलाउमा या अरु खानामा उसको मासुको प्रयोग गरे होलान । अनि थाहा नपाएर हामीले पनि त खायौँ होला नी ।

संभवत थाहा नपाएर मैले बैनीको मासुका धेरै टुक्रा खाएँ होला; अब मेरो पालो हो……

मलाई थाहा नहोला तर मेरा पुर्खाहरुले चार हजार बर्षदेखि मान्छेको मासु खाँदै आएका छन् । म जस्तो मानिसले कुनै सभ्य, वास्तविक मानिसका सामु आफ्नो मुख कसरी देखाउन सक्छ ?

तेह्र

संभव छ नयाँ पुस्ताका सानासाना बाबुनानीहरुले मान्छेको मासु खाएका छैनन् होला । बाबुनानीहरुलाई बचाउँ….

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.