~सुरेन उप्रेती~
आज गुराँसको जन्म दिन । गुराँसले पच्चिसौं वसन्त पूरा गरेर छविसौ वसन्तमा प्रवेश गरेको दिन । उनी नामजस्तै सुन्दर छिन् । उनलाई कुनै कृत्रिम लालीको जरुरत पर्दैन । उनका गालामा गुराँसको रंग फक्रिएको छ। उनका निर्दोष आँखाहरूले हरिणका वर्णित आँखालाई भुलाउँछन् । कहिलेकाहीँ म उनलाई मृगनयनी भनेर सम्बोधन गर्छु । प्रत्युत्तरमा उनी हाँसेको जस्तो गर्छिन । सायद उनले त्यसको अर्थ बुझेको छैन होला । तर बाबाले पक्कै पनि राम्रो भनेको ठानेर मुस्कुराएकी हुन सक्छिन् । उनका लामा परेलाहरू र घुमेका आँखीभैं छन् । दुई आँखाहरू लुकामारी खेल्ने लामो नाक हेर्दा विश्वको चर्चित तस्वीरकी मोनालिशाको असली रूप प्रतिबिम्वित हुन्छ । “छोराछोरी आफ्ना राम्रा, अन्नबाली अरूको राम्रो” भन्ने भनाइ प्रचलित छ । मानिसहरूले आफ्ना सन्तानहरूलाई सबैभन्दा राम्रो देख्छन रे । आफ्नो अधिक मायाका कारणले पनि राम्रो देखेको हुन सक्छ । तर मैले त अरूका भनाइहरूलाई मात्र उद्रृत गरेको हो । मैले गुराँसको वर्णन गरेको पटक्कै हैन । कति पटक बाटो हिंड्ने मानिसहरू रोकिएर उनलाई एकोहोरो हेरिरहन्छन् । उनको फोटो खिचेर लान्छन् । भगवानले फुर्सदमा रचना गरेको सुन्दर रूप भनेर प्रशंसा गर्दछन् ।
एकपटकको कुरा हो । गुराँस र म संसारकै चर्चित नियाग्राफल्समा घुम्न गएको थियौँ । नियाग्राफल्स अमेरिका र क्यानडाको सीमा बनेर रहेको विश्वप्रसिद्ध झरना हो । यस झरनाको पारिपट्टि अमेरिकाको बफेल्लो शहर रहेको छ । यो झरना हेर्न संसारका मानिसहरू हजारौंको संख्यामा दिनदिनै आउने गर्दछन् । गुराँस र म पनि क्यानडातर्फबाट सुन्दर झरना हेर्दै थियौं । किनाराबाट मानिसहरू झरनाको सुन्दरतालाई आआफ्नो क्यामेरामा कैद गर्दै थिए । कोही मानिसहरू राता र निला रेनकोट लगाएर पानीजहाजबाट छहरालाई नियाल्दै थिए । छहराबाट आएको पानीको बाफले उनीहरू आधासरो रुझ्दथे । यही रमाइलो दृश्य हेर्दै गुराँस ह्विलचेयरमा थिइन । म त्यसलाई गुडाउँदै थिँए । एउटा मानिस केही समयदेखि हाम्रो वरिपरि घुम्दै थियो । हामी पनि आफ्नै सुरमा छहराको उद्गगमतर्फ बढ्दै थियौं । नियाग्राफल्सको किनारामा एउटा सानो सपिङ मल छ । त्यहाँ टुरका गाइड पुस्तिकादेखि सोभिनियरका अनेक सामाग्री बेच्न राखिएका छन । खानलाई रेष्टुरेण्ट,र फास्टफुडहरू पनि पाइन्छ । किनमेलका लागि पसलहरू पनि छन् । यात्रुहरूलाई ट्वाइलेटको व्यवस्था पनि छ । टाढाबाट आएका पर्यटकहरू क्यानडा झल्काउने सोभनियरहरू किनेर लैजान्छन् । हिंड्दाहिंड्दै थाकेकाहरू त्यहीँ बसेर सुस्ताउँछन् ।
त्यस मलको अगाडितर्फ फलामको बारले छाँगातर्फ जानबाट रोक्दछ । मानिसहरू त्यहीँ बारमा उभिएर नियाग्रा फलको छाँगाको दृश्यपान गर्छन् । छाँगालाई हातले नै छुन सकिन्छ जस्तो लाग्दछ । त्यो मलको बाँयातर्फ ठूलो चउर छ । हामी त्यही चौरमा रोकियौं । मैले व्हिलचेयरको हेन्डिलमा झुन्ड्याएको ब्यागबाट आँपको जुस झिकेर गुराँसलाई पिउन दिँए । मैले बोतल निकालेर पानी पिएँ । त्यो अघिदेखि हाम्रा वरिपरि घुम्ने मानिस हाम्रै नजिक आयो । उसले स्क्यूज मी सर भनेर बोलायो । मैले अरू कसैलाई सोधेको होला भन्ने ठानेर वास्ता गरिनँ । म गुराँसका निधारमा आएका पसीनालाई रुमालले पुछिदिँदै थिएँ । फेरि पनि एस्क्यूज मी सर भन्ने आवाज आयो । मैले आवाज आएतर्फ आँखा घुमाएँ । मलाई नै भनेको रहेछ । मैले उसैतर्फ मोडिएर के होला भनेर सोधेँ । यी सुन्दर केटीको नाम के होला । म उनको चित्र बनाउन सक्छु । उसले दुवै प्रश्न एकैसासमा गर्यो । ऊ पेन्सिलले चित्र बनाउँदो रहेछ । क्यानडा अमेरिकामा मात्र हैन युरोपका शहरहरूमा पनि चित्रकारहरूले मानिसको चित्र बनाएर पैसा लिन्छन । उनीहरूको पेशा नै हो । चारपाँच मिनेटमा नै सुन्दर स्केच गरेर पैसा कमाउँछन् । शहरहरूका व्यस्त भागमा अझ पर्यटकीय क्षेत्रतिर त चित्र बनाउनेहरूको भिड नै हुन्छ । चित्र बनाउन लगाउनुभन्दा पहिला नै कति पैसा पर्छ भनेर सोधेन भने त बनाइसकेपछि जति पैसा पनि माग्न सक्छन् । मलाई त्यो कुरा थाहा भए पनि म गुराँसको चित्र बनाउन लगाउने सोचाइमा थिइन् । मैले अहिले म बनाउन चाहन्न भने । फेरि केही सोचेर कति पैसा लिनुहुन्छ नि मैले सोधेँ । त्यो मानिसले सर माफ गर्नुहोला । म पैसा लिएर बनाउने चित्रकार हैन । मेरो शोख नै चित्र बनाउने हो । म पैसा लिन्न । चित्र बनाउन दिनुहुन्छ ? मलाई त यी सुन्दर युवती मोनालिसाजस्तै लाग्यो । उसका कुराले मलाई पनि खुसी लाग्यो । गुराँसलाई मोनालिसाजस्तै सुन्दर भनेको सुन्दा मलाई पनि एक किसिमको गर्वबोध भयो । उनी मेरी छोरी हुन । उनको नाम गुराँस हो मैले भने ।
चित्रकारले एकैक्षणमा विचित्रको सुन्दर तस्वीर बनायो । चित्र हेर्दा लाग्थ्यो उसले यो चित्र पेन्सिलले बनाएकै हैन । यो त क्यामेराले खिचेको तस्वीर हो । उसको चित्रकारिता देखेर म पनि सारै प्रशन्न भएँ । मलाई अरू दस मिनेट समय दिनुस् म यो तस्वीर तपाईलाई दिन्छु उसले भन्यो । म नजिकै रहेको मलभित्र गएँ । गुराँसलाई बाथरुम लगेर फ्रेस गराइदिएँ । हामी दुवैले केही स्न्याकहरू खायौं । करीब आधा घण्टापछि आउँदा त्यो चित्रकार हामीलाई नै पर्खिरहेको रहेछ । उसले बनाएको तस्वीरलाई रंग भरेछ । पृष्ठभूमिमा नियाग्राफल्सको सुन्दर दृश्यलाई थपेछ । फोटो साँच्चै बोल्लाजस्तो बनाएछ ।
विडम्बना गुराँस बोल्न सक्दिनन् । उनलाई खाना खुवाउने लुगा लगाइदिनेदेखि दिसापिसाब धोइदिने सबै कामका लागि अरू मानिसले नै गर्नुपर्दछ । एकक्षण पनि उनलाई एक्लै छोड्नु हुँदैन । उनी हिंड्न र उभिन पनि सकदिनन् । बोल्न पनि सक्दिनन् । उनको शारीरिक वृद्धि मात्र भयो । मानसिक र बौद्धिक वृृद्धि हुन सकेन । उनको प्रतिक्रिया भनेको भोक लाग्दा र दिसापिसाब आउँदा रुने मात्र हो । त्यही रुवाइ मात्र हो उनीसँग हुने हाम्रो सम्वाद । गुराँसले ममीलाई र मलाई सँधै देखिरहने हुनाले हामीलाई चिन्छिन्। हामी दुईमध्ये एकजना सँधै सँगै हुनुपर्दछ । हामीमध्ये एकजनालाई पनि देखिनन् भने उनको रुवाइ शुरू हुन्छ । हामीहरू नआएसम्म उनको रुने क्रम रोकिंदैन ।
हामी गुँरासको चिन्ताले कति दिनसम्म सुत्न सकेनौँ । गुराँस सुतेपछि प्रत्येक दिन हामी दुई प्राणी उनको भविष्यका बारेमा कुरा गर्छौ । आँसु बहाएर पीडालाई बाहिर निकाल्दछौ । गुराँसलाई एक जनाले मात्र त दिसापिसाब गराउन पनि सकिंदैन । उनलाई लिएर घरभन्दा बाहिर गयो भने रात कटाउन मुस्किल हुन्छ । यसैकारण हामी धेरै सामाजिक गतिविधिबाट विमुख भएका छौ। आफ्नो घरको ट्वाइलेटमा जस्तो समाउने बारहरू सबै ठाउँमा हुँदैनन् । ती बारहरू नहुँदा उनलाई उभ्याउन र ट्वाइलेटमा राख्न पनि समस्या हुन्छ । हामी प्रतिदिन वृद्ध हुँदै जाँदै छौ । गुराँस झन्–झन् ठूली हुँदैछन् । हामीमध्ये एक जनालाई केही भयो भने पनि अर्को जनाले हेरचाह गर्न सकिँदैन के गर्ने होला भनेर कहिलेकहीँ कुरा गर्छौं । झन् हामी दुवै जनालाई केही भयो भने के होला गुराँसको अवस्था । चिन्ताले हामीलाई दिनप्रतिदिन गलाइरहेको छ ।
उनी बाहिरी रूपमा देख्दा सुन्दर छिन् । प्रकृतिले गुराँसमाथि पनि कुनै पक्षपात गरेको छैन । मासिक श्राव नियमित हुन्छ । शारीरिक विकासले गर्दा उनी वयस्क भएकी छन् तर उनको मस्तिष्क तीनचार महिनाको भन्दा विकास हुन सकेको छैन । हामी क्यानडाजस्तो संसारको सुविधासम्पन्न ठाउँमा छौं । यहाँको सरकारले यस्ता मानिसहरूको रेखदेखका लागि भनेर भत्ता दिएको हुन्छ । त्यो पैसा दिएर अरूलाई नै पनि राख्न सकिन्छ । तर ती तलब लिएका मानिसहरूले गुराँसको सम्वेदना बुझ्न सक्दैनन् । बालिका र युवतीहरू परिवारकै सदस्यहरूबाट हिंसा भोगिरहेका खबरहरू दिनप्रतिदिन आउँछन् । हाम्रो अनुपस्थितिमा के होला भनेर झन् शंका– उपशंका मनमा तुफान भएर दौडिन्छन् ।
म नेपालका गाउँघरहरू सम्झन्छु । जहाँ आफ्ना नानीहरूलाई एक्लै घरमा छोडेर दिनभरि मेलापातमा जाने विवश आमाबाबुहरूलाई सम्झन्छु । अनि घरका कोठामा थुनिएका र बाँधेर राखिएका गुराँसहरूलाई सम्झन्छु । ती बोल्न नसक्ने आवाजविहीन गुराँसहरू हिंसामा परेर गर्भवती भएका रेडियो र पत्रपत्रिकाका खबरहरू मेरा दिमागमा सग्बगाउँदै दौडिन्छन् । मलाई रिंगटा लागेर आउँछ । मेरो टाउको फुट्लाजस्तो हुन्छ । उफ के यो धर्तीमा मानवीयता भन्ने मरेकै हो त ।
गुराँस जन्मिएको ठाउँ क्यानडाकै सुविधासम्पन्न अस्पतालमा हो । उनी गर्भमा आएदेखि नै नियमित जाँच हुँदै आएको थियो। अल्ट्रासाउन्ड गरेर उनको मुटुको धड्कनदेखि उनको अवस्था सबै परीक्षण गरिएको थियो । उनी जन्मदा उनको तौल तीन केजी चार सय ग्राम थियो । उनलाई स्वस्थ बालिका भनेर अस्पतालले जन्मेको प्रमाणपत्र दियो । उनको आगमनले परिवारमा हर्षोल्लास छायो । हामी बसेको शहरका नेपालीहरूमाझ खुसी साटासाट गर्यौं । क्यानडाको व्यस्त जीवनलाई निरन्तरता दिँदैं पुनः नियमित कार्यहरूमा जुट्यौ । गुराँस दुई महिनाकी भएकी थिइन् । उनलाई अचानक ज्वरो आउन थाल्यो । सास फेर्न पनि गाह्रो भयो । उनलाई दौडाएर उनी जन्मिएको अस्पतालको आकस्मिक कक्षमा पुरयायौं । गुराँसलाई आइसियुमा राखेर अक्सिजन दिन शुरू गरे । निमोनियाको शंका भयो । शरीरमा अक्सिजनको मात्रा कम भएको जानकारी दिए । तीन दिनसम्म आइसियूमा राखेर उपचार भयो । तीन दिनपछि अस्पतालबाट घरमा ल्यायौं । छोरी त्यसै लठ्ठ परेजस्तो देखिन्थ्यो । बच्चा भएर पनि कति कुरा थाहा नहुने । आँखा जति खेर पनि निधाउरा लोलाएका हुन्थे । गुराँसले रुन पनि हाँस्न पनि छोडिन । जतिखेर पनि टोलाइरहेको जस्ती भइन । शरीर पनि लल्याकलुलुकजस्तो भयो । मैले अस्पतालमा फोन गरेर सोधेँ । औषधिले होला एकदुई दिनमा ठिक भैहाल्छ भनेर अस्पतालले आश्वस्त गरायो । एकदुई दिन गर्दै हप्ता बित्यो महिना बित्यो अहँ केही सुधार आएन । मैले फेरि अर्को अस्पताल पुर्याएँ । सबै जाँच गरेपछि औषधिको डोज बढी भएको हो भन्ने पत्ता लाग्यो । कम डोजको टाइलानोल भन्ने औषधि दिनुपर्नेमा दुखाइ कम हुने मोर्फिन भन्ने दबाई दिएको रहेछ । त्यसका लागि सयौपटक अस्पताल पुग्यौं । मुद्दा गर्न वकिलहरू कहाँ पुग्यौं । अस्पताल र डाक्टरका विरुद्ध मुद्धा गर्ने वकिल पनि पाइएन । फेरि हामी भर्खरभर्खर क्यानडा आउने आप्रवासीहरूसँग राम्रो भाषा पनि नहुने । नियमकानून पनि सबै थाहा थिएन । राम्रो सल्लाह दिने मानिसहरू पनि पाइएन । सबै मानिसहरू आआफ्नो काममा व्यस्त हुने। मैले नजिकै रहेका शहरहरूमा गएर पनि नेपालीहरूसँग सहयोग मागें । कसैबाट पनि भरपर्दो सल्लाह पाउन सकिन । सबै नेपालीहरू नयाँनयाँ नै भएकाले उनीहरूलाई पनि थाहा नभएको होला । हामी पचिसौं वर्षदेखि यो नियति पीडा भोग्दै आएका छौं । कसैको सानो गल्तीले गुराँसको जीवन गुराँस बन्नबाट वन्चित भएर सामान्य झारमा रूपान्तरण भएको छ । अझै पनि एक दिन गुराँस बनेर यो क्यानडाको सेतो धर्तीमा रग छर्नेछिन् भन्ने लागिरहन्छ । बाबुआमाको मन त हो सँधै फेरि पनि निको भएर धर्तीमा फुल्छिन् भन्ने लागिरहन्छ ।
(स्रोत : कथा संग्रह “प्रेयसी रोवर्ट”बाट !)