कथा : रणमाया

~प्रयास लामा~

“आज साझँपख सडकै सडक पर सम्म हिडेर पनि आउनु पर्यो र यसो ठुलो छोरालाई पनि फोन गर्नु पर्यो।” त्यस दिन रणमायाले बाहिर बरण्डामा घाम तापि रहेको प्रणयलाई चिया दिदै भनेको थियो।

शहरमा किराया घर लिएर बसेको रणमायाको कान्छा छोराकहाँ रणमाया आफ्नु बुढेसकालको समय नातिहरूको साथमा बिताईरहेछ। दुईतल्ले घरको मुनिल्लो तल्ला किरायामा दिएको छ बिहारी दम्पतिले। ब्यापारको सिलसिलामा प्राय बाहिरनै रही रहने उनिहरू मासिक किराया उठाउन मात्र आईपुग्छन्। तल्लो तलामा दुईवटा कोठा छन्। एउटा सानो छ जसमा प्रणय एक्लै बस्छ। अर्को परिवार बस्न मिल्ने अलि ठुलै छ। त्यसमा रणमाया, रणमायाको कान्छा छोरा र दुई नातिहरू बस्छन्। नातिहरू ठुलो चहीँ छोराको हो। पढाउनलाई यता राखेको। ठुलो बुहारी चहीँ कमानको काममा हिडने भएकोले मूलघरमा एक्लै बस्छन् भनेर रणमायाले भनेको हो प्रणयलाई। कान्छी बुहारी चहीँ सिगांपुरमा काम गर्छ भनेर कान्छा छोराकै बाट प्रणयले सुनेको। रणमाया आफ्नो छोराहरूको प्रसंशा गरिरहन्छन्। सानै देखी पढाई र खेलकुदमा अब्बल रहेको उसको कान्छा छोराको प्रसंशा विशेष उठदा बस्दा रणमाया सधैं सबैसंग गर्नेगर्छ। कहिलेकाहीं जिवनका रमाईला क्षणहरु पनि सम्झिन्दै रणमाया प्रणयसंग गफिन पुग्छ। यस्तै कुरा कुरामा एकदिन रणमायाले भनेको थियो “मेरो चौधमा नै बिहे भएको। यसको बाउ म भन्दा दश बर्ष ठुलो। म आफन्त कहाँ पाहुना हिडेको मान्छे। हिडेको हिडेकै भए।” यसरी भन्दै गर्दा रणमायाको अनुहारमा केही खुशी जस्तो भाव देखिएको थियो र अलि मुस्कुराउदै भनेको थियो “म भन्दा मेरा देवरहरू ठुला थिए। कान्छा देवर म भन्दा दुई वर्ष जति ठुलो थियो। हामी घरको आगंनमा भोकटेको गोली खेल्थ्यौ। ससुरा बा कराउनु हुन्थ्यो। बुहारीलाई काम सिका भनेर सासु आमालाई हकार्नु हुन्थ्यो। घरमा कोही नभएको बेला हामी घरकै अलैंची चोर्थ्यौ। मलाई बिडी खानु पनि कान्छा देवरले नै सिकाएको” भनेर रणमाया मुसु मुसु हाँसिन् र प्रणयलाई भनिन् “नानी त मेरो छोरा जस्तो मान्छे। मनले खाएर भनेको है।”

“म यसको बाउ बितेको देखी रातो रंगको केही लाउँदिना” एकदिन मन्दिरको टिका दिदा रणमायाले प्रणयलाई भनेको थियो। “महिना दिन थला परेर बितेको। साथी भाईसंग बेलाबखत पिउँथ्यो उ। प्रेशर कहिल्यै नपाएन। त्यहीँ लडदा मात्र थाहा पाएको हाई प्रेशर थिएछ। रक्सीले पनि प्रेशर बडाउदो रहेछ। त्यहीँ भएर डर लाग्छ नानी मेरो छोराहरूले पनि अहिलेसम्म त खाएको थाहा पाएको छुईन् तर केटाहरूको जात खादैन भनिहाल्न पनि हुदैन।”

रणमायाको कान्छा छोरा कहिले काहीँ कोठामै पिउँछ। “बुहारी एक्लै छ गाउँको घरमा यसो घुमेर पनि आउनु पर्यो। यो नातिहरू लाई पनि आमा भेट्नु मन लागेको होला। साग सब्जीहरू पनि पायो भने ल्याउनु भन्दैछ कान्छाले पनि।” सधैं रणमाया घर जाने दिन भन्ने गर्छ। कान्छाको निम्ती पिउने दिन भनेको त्यहीँ दिन हो। “आण्टीले थाहा पाउनु भएको छैन अहिलेसम्म?” प्रणयल एकदिन सोधेको थियो। “अन्डर्सटेन्डिगं गरिदिनु हुन्छ नि। गाउँमा त झन केटाहरूसंग भेट भए पछि जोड नै खुवाई हुन्छ। कहिल्ये काहीँ त आमा मेरो सुर्ताले भट्टी बाहिर नै मलाई कुरिरहेको हुन्छ।”खिसिक्क हाँसेर कान्छाले भनेको थियो।

भोलिपल्ट अबेर उठेको कान्छाले फोनमा आमालाई भन्दैथ्यो “हुदैन हुदैन तिमी आईहाल। म ड्यूटी जानु पर्छ। खाना कसले पकाउछ। एक दिन पो घुमेर आउ भनेको त। ……………..तिम्रो ठुलो छोराले हेरेको छ र तिमीलाई, तिमी त्यो घरमा बसिरहन्छौ?”

रणमाया दुई दिन गाउँ बसेर फर्कियो। “के गर्नु नानी यता बस्यो उताको सुर्ता लाग्छ, उता बस्यो यताको सुर्ता लाग्छ। कान्छाले हप्ता दिन बसेर आउनु नि बल्ल बल्ल गएको भन्दैथ्यो। मन कहाँ मान्छ र नानी। पकायो पकाएन, खायो खाएन भनेर सुर्ता लागि बस्छ यसको।” प्रणयलाई भेट्नु बित्तिकै चाँडै फर्किनुको कारण बिनाकारण नै रणमायाले सुनाएको थियो।

एउटै परिवार भित्रको मान्छेमा पनि आत्मियतालाई अपाङ्ग बनाउने सोचँ र बिचारहरू आफ्नु आफ्नु स्वार्थ, परिस्थिति र बाध्यताहरूकै उपज हुदों रहेछ। कान्छा छोराको माया त रणमायालाई अगाधै लाग्दो हो तर खाना मिठो बनाएन, कोठा सफा गरेन, नानीहरूलाई हेरेन्, सौदा पात सकिएको याद गरेन इत्यादि इत्यादि कुरामा रिस पोखाई रहने कान्छा छोराको प्रशंसा सबैसंग गरिरहनु पर्ने रणमायाको बाध्यता हो भन्ने कुरा प्रणयले बुझिसकेको थियो।

एकदिन आमा चहीँले छोरालाई भन्दैथ्यो “मेरो बुडाको पेनसनले मेरो एउटा जिउ पाल्नु पुग्छ। म अब गाउँमै कोठा लिएर बस्छु। मलाई पाल्नु पर्दैन तिमीहरूले। गाउँको गाडीलाई फोन गरिदे म आजै जान्छु।” त्यस दिन कान्छा छोराले खाना पकायो, भाडा माझ्यो, आमाको लुगा धोईदियो, घर सफा गर्यो, नानीहरूलाई नुहाईदियो। रणमाया गाउँ गएन।

भोलीपल्ट रणमाया अबेर गरेर उठ्यो। रणमाया उठदा कान्छा छोरा दुई नातिहरूलाई स्कूल पठाएर पनि ड्यूटी हिडिसकेको थियो। प्रणय त्यस दिन जिउ बिसञ्चोको बहाना बनाएर अफिस नगई त्यसै ढल्की रहेको थियो। रणमायाले चिया बनाएर प्रणयलाई पनि दियो। प्रणयले अप्ठ्यारो मान्दै “बोलाउनु भएको भए त म आई हाल्थे नि। आण्टीलाई कष्ट भयो।” भन्दै ओछ्यान बाट दैलो सम्म गएर चिया थाप्यो। रणमाया भित्र पसेन तर दैलोको सघांरबाट चिया दिएर निस्की पनि हालेन। अलि अध्यांरो अनुहार थियो रणमायाको सधैँ भन्दा। कसलाई पोखाउ मनको कुरा भएको हुदोँ हो रणमायालाई, सुनिदिने कोही नभए पछि। “आज साह्रो जिउ दुख्दैछ नानी। कान्छालाई भन्नु हुदैन। तिम्रै मात्र दुख्दो रैछ भन्छ। अब नानी त मेरो छोरा जस्तो मान्छे। मनले खाएर भन्नु मन लाग्छ। त्यसलाई नभन्नु है।” सधैं छोराहरूको प्रसंशा गरेर नथाक्ने रणमाया आज संघारबाटै प्रणयलाई दुखेसो सुनाई रहेको थियो। “ठुलोले फोन नगरेको पनि तिन चार महिना भईसक्यो। अस्ति गर्दा मलाई फोटो खिचेर पठाउ है हेर्नु मन लागिरहेको छ भनेको थियो। खै यो कान्छालाई खिचेर पठाईदेन भनेको, हेर्नु मन लागे पैसा लिएर घर आउनु भन्नु भन्छ। म दाजु चहीँसंग बात गरेको सुन्यो भने रिस गर्छ त्यसले। त्यै भएर म त ठुलो चहीँसंग बात गर्न परे माथि बाटो तिर गएर बात गर्छु नि नानी। दाजु चहिँलाई फोन गर्नु, दाजु भाई सर सल्लाह गर्नु छैन। अब परदेशको ठाउँमा छ नानी सुर्ता भन्ने यो एउटा आमाले मात्र गर्ने पेवा रहेछ। के काम गर्दैछ, कति कमाउछ, केही थाहा छैन। त्यो त सिक्स पढदा पढदै भागेर गोवा गएको। फकाई फुस्लाई बिवाह गराएर घरमा राखेको थियौं। बाउ खसे पछि फेरी केरलातिर हिड्यो। के भन्नु नानी बुहारी त मैले नै हेरिदिएको हो तर अहिले बुहारीले नै मलाई हेर्नु सक्दैन। बुहारीको व्यवहारले नै हो ठुलो चहीँ फेरी परदेश हिडेको। आठ नौ बर्ष पुग्न आट्यो घर फर्केको छैन। त्यो जादाँ यो सानो नाती भर्खर दुई बर्षको मात्र थियो। यसपाली जेठमा दश पुरा पुगेर एघारमा हिड्छ यो।” रणमाया मनभित्रबाट दुखी छिन् भन्ने कुरा त प्रणयलाई पहिला नै थाहा भएको हो र रणमायाले दैनिक रूपमा छोराहरूको अनावश्यक प्रशंसा गरि रहँदा एउटा आमाको मायासंगै बुढेसकालको लाचारी पनि प्रणयले महसुस गर्ने गर्थ्यो। छोराहरूको ईज्जतको खातिर रणमायाले दूखको आसुँ पिएर छर छिमेकमा झुटो खुशी देखाउन बाध्य थियो। आखिर मनको बाधं त हो। भत्किनु त पर्छ नै। रणमायाको बाधं कतै चर्किएको थियो आज र त चियाको बहाना लिएर दुख साट्न पुगेको थिए प्रणय कहाँ। “बाउको पेन्सन मेरो नाममा आउँदैछ र मात्र हो यो कान्छाले पनि मलाई राखेको। म कथांकाल ओछ्यान परे भने, मेरो छोराहरूले मलाई हेर्लान भन्ने एउटै पनि आशा छैन। माईतामा मेरी बहिनी छ त्यसले विवाहै गरेन, बोलाईबस्छ, यतै बस भन्छ। कहिले काहीँ त जाउँ कि जस्तो पनि लाग्छ।” प्रणयलाई एकपल्ट त उनीहरूको घरभित्रको कुरा आफुलाई किन सुनाईरहेको जस्तो पनि लागेको हो तर आण्टीको मन झन दुख्लान भनेर टाउको मात्र हल्लाएर “हजुर, हजुर” मात्र भनिरहेको थियो। रणमायाले आज यो सब सुनाउनुको मुख्य कारण के हो प्रणयले बुझिरहेको थिएन। कुराको टुङ्गो लाउने ध्यायले प्रणयले सोध्यो “आण्टी आज धेरै टेनसनमा देखिनुहुन्छ…” रणमायालाई कसरी भनौं भई रहेको कुरा हुदों हो, प्रणयको कुरालाई बिचैमा काटेर भनिन “हिजो ठुलो चहीँ बुहारीले फोन गरेको थियो। भन्छ मेरो त जवानी डल्लै छ, शरिरमा ताकत पनि छ। तिम्रो छोरालाई पर्खेर बसिरहन सक्दिन। म जान्छु अब। तिम्रो छोरा र तिम्रो नातिहरू तिमी नै सम्हाल।” रणमाया एकक्षण चुप लागेर भन्यो “नानी आफै भन्नुहोस त यो दुईटा चोक्टा त त्यसैले जन्माएको हो। बुडा चहीँ घरै आउदैन, अब त्यो पनि बाटो लागे म बुडी औरत एक्लैले कता कता सम्हालनु।”

“नानिको चिया त सेलायो हौ। मैले पो बातमा भुल्लाई पठाए। म तताएर ल्याईदिन्छु है।” भनेर रणमायाले चियाको कप लिएर भित्र पस्यो। बरण्डामा घाम लागिरहेको थियो। प्रणय ओछ्यान छोडेर घाम ताप्न निस्क्यो।

“आज साझँपख सडकै सडक पर सम्म हिडेर पनि आउनु पर्यो र यसो ठुलो छोरालाई पनि फोन गर्नु पर्यो।” त्यस दिन रणमायाले बाहिर बरण्डामा घाम तापि रहेको प्रणयलाई चिया दिदै भनेको थियो।

रणमायाको गाउँको घर खचाखच छ आज। कान्छा छोरा पनि घरमै छ। कान्छी बुहारी बिस दिनको छुट्टी मिलाएर आएको छ। हवाईजहाजको टिकट महंगो छ घरी घरी ओहोर दोहोर गर्न धेरै खर्च हुने कुरा भन्दै “बुहारीलाई त धेरै दिन बाद देखे” भन्ने आफन्तहरूलाई स्पष्टीकरण दिई रहेको छ। ठुलो चहीँ बुहारी खुशी हो कि दुखी भन्न नमिल्ने अवस्था छ। घरी घरी मिठाई किनी माग्ने नानीहरूलाई “तेरो बाउलाई भन” भनेर धपाईरहेछ। नानिहरूको बाउ अर्थात रणमायाको ठुलो छोरा नौ बर्ष पछि घर फर्केको हो। “अब नजानु पर्यो गाउँमै बसेर केही गर्नु पर्यो” भन्दै साथीहरुसंग गफिरहेको थियो। रणमायाले त यस्तै चाहेको थियो जिन्दगीभर, रणमायाको अविवाहित कान्छी बहिनी यतिखेर रणमायालाई सम्झिरहेको थियो। आउने जानेलाई चियाँ दिदै उ एउटै कुरा सयौं चोटी दोह्रोराईरहेको थियो “म आउछु होला छिट्टै। तँलाई भेट्नु मन लागिरहेको छ भनेर मलाई फोन गरेको थियो त्यो दिन। ठिकै छौ भनेर सोध्दा ठिकै छु भन्दै थियो। बाटोमा देख्नेहरूले भनेको फोनमा बात गर्दै हिड्दै थिईन हरे, ट्रकले पुरा हर्न बजाउदा पनि सुनेन रैछ दिदीले। ड्राइवरले जोगाउनु खोज्दा पिछाडीको चक्कामा परेछ।”

प्रयास लामा,
मङपु, दार्जिलिंग।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.