~गोरखबहादुर सिंह~
“बिग्रिएको दुई महिना भइसक्यो धाराको एउटा टुटी पनि फेर्न सकिएन । दिउँसो क्याम्पस, साँझ बिहान ट्युसन एउटा शनिबार केके मात्रै गर्नु ?” आँगन छेउको धाराबाट छताछुल्ल पानी बग्दै गरेको देखेपछि क्याम्पस जान निस्केका हिराकाजी एक्लै भुनभुनाए।
“ठूल्बाबु!” उनले छोरालाई बाहिर बोलाएर भने, “दिउँसो बजार गएर एउटा राम्रो टुटी किनेर ल्याउनू म फर्कंदा मिस्त्री लिएर आउँछु । आज त धारा बनाउनै पर्यो ।”
“ए भाइ ! आज मलाई तिम्री हुनेवाला भाउजूसँग घुम्न जानु छ, एउटा राम्रो टुटी किनेर ल्याऊ है!” बाबु सुन्न नसकिने दूरीमा पुगेपछि सान्बाबुको पिठ्यूँमा धाप मार्दै ठूल्बाबुले भन्यो र बाबुको पछिपछिजस्तै बाहिरियो ।
“आमा एउटा राम्रो टुटी किनिदिनुहोला है ! मलाई एउटा साथीको बर्थ डेमा नगैनहुने छ ।” सान्बाबु पनि ठूल्बाबुकै पछिपछिजस्तै बाहिरियो ।
“आज त मन्जुकोमा भेट भएर गफ गर्ने कार्यक्रम थियो ।” आमाले सम्झिन् ।
“ए छोरी ! लौ न एउटा राम्रो टुटी किनेर ल्याऊ न बा ! बरु तिमीलाई पकेट खर्च दिउँला, हुन्छ ?”
“त्यो त चान्सै छैन मम्मी, आज मेरो स्विमिङ डे ।” छोरी कुम र मुन्टो मर्काउँदै फुर्की ।
“आइडिया !” झन्नै ‘युरेका’ चिच्च्याउँदै एकछिनपछि छोरीले भनी, “नआत्तिनुस् मम्मी, तपाईंको अप्ठेरो सुल्झिन सक्छ। तर मलाई अलिक धेरै पकेट खर्च दिनुपर्छ नि ! हुन्छ ?”
“हुन्छ।”
“हलो !”
“बुबा ! म छोरी ।”
“भन छोरी, किन फोन गर्यौ ?”
“मान्ने भए मात्रै भन्छु, नत्र भन्दिनँ ।”
“भन न, हुने भए गरिहाल्छु नि !”
“पक्का !”
“पक्का ।”
“त्यसो भए भरे घर फर्कंदा धाराको राम्रो टुटी ल्याउन नबिर्सनुहोला । ओ के ?”
हिराकाजीले अलमलमै छोरीकै शब्द दोहोर्याए, “ओ…..के ।”