कथा : सानुमाया

~दिलिप पौड्याल~

“दैबको लिला हो भाई। कसैले टारेर टर्दैन। यस्तो होला भन्ने कल्ले जानो र ! जानी यहि बसे पनि गएकै छन्। सबैले आ-आफ्नो पिठो खानी हैच। धेरै सुर्ता नलिनुस”, धनेले लालबहादुरको हात समाउदै भन्यो। दुबैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाहिर उभिएर यात्रुहरु निस्कने ढोकातर्फ हेर्दै थिए। उनीहरु भन्दा करिब सय मिटर जतिको दुरीमा आठ दश जना जति मान्छेहरु झुम्म एकैठाउमा उभिएका थिए। महिला जोरजोरसंग रोएको सुनिन्थ्यो। प्रस्थान र आगमन कक्षामा मान्छेहरु आफन्तहरुलाई खादा ओडाई रहेका थिए। कोहि आफ्नो प्रिय मान्छेलाई स्वागत गर्न हाँतमा फूलका गुच्छाहरु बोकेर ब्यग्र प्रतिक्षा गर्दै थिए। ट्याक्सीवालाहरु ठुला ठुला झोला र सुटकेसहरु हातमा बोकेर आफ्नो भ्यानतिर लम्कदै थिए।

केहि बेरमै आगमन कक्षाबाट तिन चार जना मान्छेहरुले रातो बाकस ट्रलीमा हालेर बाहिर निकाले। यो देख्नसाथ् लालबहादुरको साँस रोकियला झैँ भयो। आफु उभिएको धर्ति फाँटे झैँ भयो। ऊ अर्कोतिर फर्केर थचक्क भुईमा बस्यो । धनेले बाकस बोकेर ल्याउने मान्छेहरुलाई नियालेर हेर्यो। अहँ कसैलाई पनि चिनेन। उसले हेर्दा हेर्दै उनीहरुले त्यो बाकस लगेर अलि परपट्टि झुम्प मान्छेहरु उभिएको ठाँउमा गए र नजिकै पार्क गरेको सेतो भ्यानको छतमा हाले। लालबहादुर अझैपनि भुइबाट उठेन। धेरैबेर पछि अर्को रातो बाकस आयो। धनेले त्यो बाकस बोकेर आउनेहरुको अनुहार नियालेर हेर्यो। धम्मने र रातेलाई चिनिहाल्यो उसले । बाकस देख्दा धनेको मन पनि थामिएन। कमिजको बाहुलाले आँशु पुछ्यो। धम्मनेले धनेलाई चिनीहाल्यो। उनीहरु आँखाले कुरा गरे। मुख खोल्न सकेनन्। सबै मिलेर लालबहादुर लाई उठाए।बाकस उचालेर जिपको छतमा हाले।

जिप पशुपतिको आर्यघाटमा गएर रोकियो। गाँउ लैजान सहज नभएकोले उनीहरुले त्यहि सतगत गर्ने निधो गरेका थिए पहिले नै । चारजना उनीहरु थिए। केहि त्यतै थपिए। सबैले ‘रामनाम सत्य हो’ भने। बागमतीको पानीमा चुम्बकले टिलो तान्नेहरुलाई अबसर मिल्यो। दाउरा बेच्नेहरुको छाक टर्ने भयो। फुल बेच्नेहरुले छोराछोरीको फिस तिर्ने भए। पुरेतले पुराणका केहि श्लोक पढे। पहेलो टालोमा केहि पैसा र चामल पोको पारे। पुलमाथि उभिएर केहि मान्छेहरुले कठै भने। एक हुल बादरहरु खोला वारी पारि गरिरहे। पशुपतिको घन्टी छिनछिनमा बजी रह्यो। बागमती नदीको किनारबाट धेरै बेरसम्म धुवा क्षितिजमा गएर बिलिन भयो। त्यहि नै थियो जिबनको बास्तबिक सत्य।

त्यो दिन राति एउटा पाटीमा बाँस बसे चारै जना। भोलिपल्ट बिहानै हिडेरै बसपार्क पुगे। आँकासे पुलको दायाँ र बायाँ लहरै बसेका सडके ब्यापारीहरुले गुद्पाक, उसिनेर सुकाएका आलुका चाना, खासाका कपडा, घडी, चश्मा र मोजा किन्न सक्दो अनुरोध गरे। बसका सहयोगीहरु बाटै सम्म झोला तान्न पुगे। सबैलाई उनिहरूको आगमन एक अबसर जस्तै लागेको थियो त्यहाँका ब्यापारीहरुलाई ।सबैले बोनी गर्दिनुस हजुर , मिलायर दिन्छु भन्थे। तर लालबहादुरको अुहारमा हेरेर उसको पिडा कसैले बुझेनन् । बुझुन पनि कसरि दु:ख जति मुटुभित्र सुल बनेर बसेको हुन्छ। बाहिरी आवरण सबैको उस्तै उस्तै। बसपार्क पुगिसकेपछि एकजना खलासीको पछि लागे सबैजना र धनगडी जाने बसको पछाडीको सिटमा गएर बसे। एकैछिनमा बस यात्रुहरुले खचाखच भरियो। धेरैबेर पछि लामो र एकोहोरो ध्वनि प्रदुषित गर्दै बस स्टेसनबाट बाहिर निस्कियो।

———————————

“हो हो! त्यो सपना हो। सपना मात्र भैदियोस। त्यो हुन सम्भव छैन । ति मान्छेहरु सबै नाटक गर्दैछन् । ऊ … मेरो मान्छे मलाई एक्लै छोडेर जानै सक्दैन। ऊ… त्यसैले हो मेरो… मान्छे… “, कपालको रौ खुल्लै छोडेकी, हरियो लुङ्गि एकसरो पटुकाले कम्मरमा खुकुलो गरि कसेकी, आखाँ गोलभेडा झैँ राता र सुन्निएका, न होची न अग्ली, उमेरले बिस बाइस बर्ष पुगेकि सानुमाया एक्लै बोल्दै थिई।उसका कुराहरु कसैले पनि बुझ्न सकेका थिएनन्।पल्लो गाँउबाट रुनमाया दिदि पनि आएर हिजोदेखि संगै बसेकी थिई। घरका सबैजना अलमलमा परेका थिए।

सानुमायाको लोग्ने कतार गएको वर्षदिन पुगेको थियो बल्ल।जानुभन्दा दुइ महिना अघिमात्र बिहे गरेर घर भित्राएको थियो सानुमायालाई। प्रेम बिबाह थियो उनीहरुको। ऊ विदेश जानु भन्दा एक हप्ता अघिदेखि बुढाबुढी एकैछिन पनि छुट्टीएका थिएनन् रे । हिजोदेखि गाँउभरि गाइगुई हल्ला चलेको थियो। सबैले अरे अरेका कुरा गर्थे। सानुमायालाई सबैले अनौठो मुखाकृति गरेर मात्र हेर्दथे, तर कोहिपनि केहि बोल्दैनथे।”सानुमायाले हिजो बिहानै माझडाँडा गएर तुरुन्त बुढालाई फोन गरि रे । फोन उठेन रे । त्यसपछि उसले काम गर्ने कम्पनीमा फोन गरि रे । उताको कुरा पुरा नसुन्दै भुइमा लढेकि थिई रे ।माझडाँडाका मान्छेले घरसम्म ल्याएर छोद्देका हुन् रे। उनैले माथि तुलसाको दुकानम यस्तो भनेर फर्के रे ” यस्तै कुरा गरे सबैले।

“हिजै देखि यसलाई खै के भएको छ नानि हाम्लाई पनि केहि भन्दिन। हिजो दिनभर हराएकी सॉझ आएकी थिई। सिधै खोपीमा गई। म संग पनि बोलिन ।रातिमा पनि एक्लै बोल्छी। हिजो राति छोरासंग होला कुरा गरेको भनेकी थिए। कहिले पनि अरुको चियो चर्चो नगर्नि म, यसैको पिरले हिजो ढोकामा गएर चियो गरे नानि। यो त यस्तै यस्त्यै के के बर्बराउदी रैछ। रातभरी निन्द्रा लागेन। मनमा कुरा खेलिरहे। छोरा संग पनि धेरै भयो फोन नभएको। उसैले फोन गर्थ्यो बेला बेलामा “, सानुमायाको सासु लालमातिले टाउकोबाट मुजेत्रो झिकेर आँसु पुछ्दै भनिन् ।

“रनेले फोन नगरेको कति भयो आमा ?” रुन्मायाले सोधी।

“दशैँको दिन फोन गरेको थियो। गाँउभरिका सबैलाई सोध्यो। ‘काम कस्तो छ? दुख छ कि छैन?’ भनेर सोधे।

“आमा, कामको कुरा नसोध्नुस। काम गर्न गाह्रो त भैहाल्छ जहाँ गएपनि। गाँउघरमा घासदाउरा, भिरपखेरा गर्दा पनि त दुखै थियो। हजुरहरुलाई पनि त दु:खै छ आजसम्म। मेरो पिर नगर्नुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला भन्थ्यो। ” लालमतीले सुख्क सुख्क गर्दै भनिन् ।

“आँमा, खै मैले त ठुल्बालाई देख्दिन त, कता जानु भाको छ र ?” रुन्मायाले यताउति हेर्दै सोधी।

“खै नानि, ठुल्बाको आनीबानी तलाई थाहै छ। स्कुलको कचरी छ। मुख्याले “बेलुका आउनोला सल्ला गर्न छ” भनेका थे रे। खै के को सल्ला हो बिनासित्तैको ? तिनदिनदेखि उतै छन्। फोन पनि उठ्दैन।बिशेष कामले बुटवल जानुभयो रे भनेर हिजो पुछार साइलाले खबर लेर आको थियो।”

“तिमीहरु सब्बै मेरो राम हेर्न आएका हौ। हेर ! यी हेर। मलाई खाऊ। सबै मिलेर चोक्टा चोक्टा पारेर खाऊ”, सानुमाया एकोहोरो आक्रोस पोख्दै बोल्छे।

के बोलेकी हौ तिमि ? होसमा त छौ ? के भयो तिम्लाई ?” रुन्मयाले उसको हात समाउदै सोधी ।

सानुमायाँ केहि बोल्दिन। उ एकोहोरो माथितिर हेर्छे।

लालमती गोठतिर लाग्छे । आज बिहानै देखि गाईबस्तुले केहि खान पाएका छैनन। ठिक समयमा गाइबस्तुलाई घासपानी गर्ने यै थी। लालमायाले एकमुठो सुकेको खर भारबाट निकालेर भैसीको भकारो मा राखिदिन्छे।

पल्लो घरकी कालिका दिदि र उनको छोरा पनि घरमा आउछन् । कालिकाले नै हो बतुरी दिदिसंग “रातो बाकसमा कतारबाट लाश आयो रे। काठमान्डौमै सतिगति गरेछन बाऊ गएर। घरमा भन्न सकेका छैनन् रे।” त्यहि बेला सानुमाया आगो लिन टुप्लुक्क पुगेकी थिई उसको घरमा। कालिकाले हैन ‘हाम्रो माइतितिरको कुरा हो ‘ भनेर टारीकी रहेछ।

“बरै नि के भयो सानेलाई”, कालिकाले सनुमायालाई साने भनेर बोलाउने गर्छे ।

” खै के भयो भनौ। कुरा सोरका गर्दिन। खाना पनि खाकी छैन हिजोदेखि। सबै जना अलमल परेका छौ ‘ रुनमायाले भनी।

सानुमयाले एकतमासले कालिकाको अनुहारमा हेर्छे। उ केहि बोल्दिन।

” कतै देबी देवता पो लाग्यो कि ? अलि जान्ने मान्छेलाई देखाउन पाए पनि हुन्थ्यो गाँठे । देउरालीका राईला काकाले ट्याक्कै पार्चन भन्ने सुनेकी छु। एकचोटी देखाउदैमा केहि बिग्रने होइन केरे “, कालिकाले रुन्मायाको आँखामा हेर्दै भनी।

त्यतिकैमा सानुमाया ओछ्यानबाट जर्फराउदै उठी र आगनको डिलमा पुगि। सबैजना अलमलमा परे। आगनको तलपट्टी उखुबारी थियो। हेर्दा हेर्दै ऊखुबारीमा फाल हाली सानुमाया ।

” ए लौन अब यो मर्छे। कसैलाई गुहार माग” भन्दै रुनमाया पछि पछि दौडिन्छे। उखुबारीको पुछारमा भोगटेको रुख थियो। त्यहि रुखको फेदमा रुनमायाले सानुमायाको हात समाउछे।

उसका हातखुट्टा थरथरी काँप्छन् । कालिका पनि पछि पछि साथ दिन पुग्छे। दुबैजनाले उसलाई तानेर घरको पिडि सम्म ल्याएर आउछन।

गाँउमा केटाकेटी र महिला बाहेक कोहि छैनन्। लालमती रुदै बाटो तिर भलाक्छिन् । लालबहादुर अहिलेसम्म घर आएका छैनन्। “गाँऊमा गुहार माग्नेजस्तो मान्छे छैन। कोहि बिरामी पर्दा डोकोमा बोकेर हिडाल्ने भुस्तिघ्रे सबै विदेशतिर गएका छन्। यतै भएकाहरु पनि बारीमा बनमारा उमारेर तराइतिरै लामखुट्टे मार्दैछन्। कसलाई गुहार माग्न जानी ? उनि अलमलमा पर्छिन।

त्यहि बेला वरिपरिबाट दुइतिनजना महिलाहरु जम्मा हुन्छन। सबैजना एक अर्काको कान कानमा सासै सासले कुरा गर्छन। सबैले एउटै प्रश्न सोध्छन,” के भयो तलाई ?”

सानुमायाँ केहि बोल्दिन। रूदारूदा उसका आखा राता भएका छन्। सुन्नियका छन् । त्यतिकैमा उसले हात जोडसंग झड्कार्छे र उम्किन खोज्छे। कालिका र रुन्माया दुबै जनाले उसलाई जोडसंग अठ्याउछन्।

“यदि यस्तै गरिस भने साने तलाइ हाम्ले नाम्लाले थामॉ बानेर राख्चम ।” कालिकाले जोडसंग पाखुरा अठ्याउदै भन्छे।

रात ढल्किदै जादा सबैको मनमा एकखालको अत्यास बढ्दै जान्छ। के गर्ने , कसो गर्ने कसैले केहि मेसो पाउदैनन। सानुमाया झन् झन् उखर्माउलो गर्दैछे।

त्यसैबेला पुछारका हर्कबहादुर टुप्लुक्क आइपुग्छन।

” हैन के को भिड हो यहाँ ? कसलाई के भयो ? ” उनि हतारिदै सोध्छन।

रुन्मायाले आफुले देखेको सबैकुरा बताउछे। कतारमा घटेको दुर्घटनाको बारेमा उसलाई पनि थाहा थिएन।

हर्कबहादुर पनि अक्क न बक्क परे एकैछिन। “चाइने भनम देउरालीका राईला बालाई बोलाई हेर्नेकी। कतै देबी देवता लागेको भए उनले झारफुक गरेर पनि निको पार्छन रे भन्नि सुनेको छु। ” उनले उभिएरै भने।

लालमतिले हर्कबहादुरलाई आफ्नो बुढा हिजो बिहानै गाँउ निस्केको र अहिलेसम्म केहि खबर नभएको सुनाइन। बुहारीको बारेमा सबै बेलिबिस्तार लाइन्। उनिहरू के गर्ने के नगर्ने अलमलमा परे।

बाहिर हल्ला बद्छ। सबैजना हतारिदै बाहिर निस्कन्छन। सानुमाया फेरी बारितिर भागिछे। रुनमाया र कालिका पछि पछि दौडदै थिए ।

“लौ न नि , यो त भीरतिर पो जादैछ। लौ न कसो गर्नी होला “, रुन्मायाले भनि।

हर्कबहादुर पनि पछि पछि जान्छन। करिब दुइसय मिटर जति तल खर्सुको रुखमा पुगेर कालिका र रुनमायाले सनुमयालाई समाउछन र बल्ल बल्ल लतारेर घरसम्म पुर्याउछन ।

स्थिति जटिल हुदै गर्दा सबैजनाले सल्लाह गरि सानुमायालाइ डोरीले बाँधेर कोठामा राख्छन। कालिका र रुनमायाले उसलाई त्यहि कुरेर बस्छन । हर्कबह्दुर लामालाई बोलाउन देउराली तिर लाग्छन।

केहीबेरमै देउराली राईलालाई लियर आउछन हर्कबहादुर । गाँउमा सबैले उनलाई राईला बाजे भनेर बोलाउछन्।

राइलबाजे धुपधजा र अक्षता जम्मा गरेर आफ्नो बिधि गर्न तर्फ लाग्छन। अलिबेर अछेता मन्साइसकेपछि टाउको हल्लाउदै भन्छन ” छिछि छि म तारेभिरको कालोमसान हुहुहू।.… म तलाइ छोड्दै छोडदिन। हुहुहुह … हह्हः “

” के चहियो भन् हामि दिन तयार छम् ,अन्जानमा गल्ति भएको भए माफ गर”, हर्कबहदुरले हो मा हो मिलाउछन्।

” हहह्ह …. मलाई कालो बोकाको रगत चाहिन्छ …. हह्हा …. हुहूहुहुह्ह … ” यस्तै यस्तै के के भन्दै जान्छन लामा बाजे। धेरै बेरमा रोकिन्छन।

” हेर भाइ, थाह पाइहाल्यौ तारेभिरको मसान लाएको रैच। यो त अफ्ठेरो पो छ। बेलैमा पुजा गर्न पर्यो। कालो पाठो कता पाइन्छ बरु भोलि नै खोज्न परो। अहिले म खरानी फुक्दिन्छु। एक जोडा धजा फाल्दिन परो अहिल्यै।” लामा बाजेले भने।

लालमतिले आँटीमा गएर धुपधजा लिएर आइन। हर्कबहादुरले धजा बाहिर लगेर कुट्मेरोको हाँगामा बानिदिए । लामा बाजेले खरानी फुकेर दिए। लालमतिले खरानी लगेर लगाइदिइन बुहारीलाई ।

केहिबेर स्थिति सुनसान भयो । अब सानुमायालाई निको हुन्छ कि भन्ने लाग्यो सबैलाई। लामाबाजे पनि खानपिन पछि लागे घरतिर । सानुमायाले पनि एक चोइलो आटो खाई। रात अलि ढल्की सकेकाले लागे सबैजना सुत्ने तरखरमा। रुनमाया घरतिर लागि भने कालिका त्यहि सुत्ने भई।

भोलि पल्ट स्थिति सामान्य बनेपछि कालिका पनि आफ्नो घर गई। सानुमाया उठेर सधैजस्तो गाइभैसीलाइ पानि तताउन गोठतिर लागि। सबैले राईला बाजेलाइ धन्यबाद दिए। लालमतिको अनुहार अलिकति भएपनी उज्यालो भयो।

भोलिपल्ट घाँस काट्न खरबारी गएकी सानुमाया अबेर सम्म पनि आइन घर। सबैजनाले खोजे उसलाई। कहाँ कहाँ खोजेनन, तर कहिपनि भेटेनन्। डाँडाघरे मने र देउरालीको सन्ते लागे सानुमायाको माइतितिर खोज्नलाई। सानुमाया माइत पनि गएकी थिइन।

खोज्न गएकाहरुले सबैकुरो सानुमायाको बुवालाई भन्न सकेनन् । यत्ति भनेकी “सानुमाया घरमा छैन। “

त्यसपछि उनीहरुले सानुमायालाई खोज्न काफल्टोला, भिरमारा, जैथुम्का जताततै पुगे। केहि खबर पाएनन्। कसैले भने भीरबाट खसी । कसैले भने बौलाएर हिडी। गाँउभरी हल्ला फैलियो।

———————————-

चार दिनको साँझपल्ट लालबहादुर घर पुगे। त्यतिन्जेलसम्म लालमति एकातिर लोग्ने हराएको पिर अर्कोतिर बुहारीको त्यो अबस्थाले गर्दा पुक्लुक्क ढल्न मात्र बाँकी थियो। त्यसैमाथि लालबहादुरको अनुहार देख्दै उनको सातो उड्यो। धने आगनमै टुक्रुक्क बसे। लालबहादुरले सयौ कोशिष गर्दा समेत कुरो खोल्न सकेन श्रीमतीसंग। धनेले लालबहादुरको आँखामा एकोहोरो हेरी मात्र रहे।

ढिलो चाडो लालबहादुरले श्रीमतीलाई नभनी सुखै थिएन। आफुले भन्न नसकेपछि धनेलाई भन्न लगाए। एकैछिनमा जे सोचेको थियो लालबहादुरले त्यहि भयो। लालमती बेहोश भै ढलिन भुइमा। धेरैबेरसम्म होस् नआएपछि सबै आत्तिए। रुन्माया र कालिका पनि आए। कसैले अनुहारमा पानि छिम्के, कसैले पैताला मालिस गरे। धेरैबेरमा आँखा खुले। तर स्वरका कुरा गरिनन् उनले।बुढा लगाएत छरछिमेकले दिन दिनै जस्तो सम्झाउथे लालमतिलाई। महिनौ सम्म ऊ बेला बेलामा मुर्छित हुदै बौरिदै गरि। समयले पहिरो गएको ठाउँमा रुखबिरुवा उमारेझै उनीहरुको खाऊमा खाटो बस्दै गयो। तर आमाको ह्रदयमा परेको चोट झन पछि झन् बढ्दै थियो। लालबहादुर श्रीमतीकोलागि भएपनि आफु बलियो बन्ने कोशिस गरे र बिस्तारै सामान्य अवस्थामा फर्किय। छोराको आँश गर्ने ठाँउ नभएपनि छोरीजस्तै बुहारीको यादले समेत पिरल्यो उनीहरुलाई। कतै जिउदै छ कि भनेर खोज तलास पनि जारि नै थियो।

एकदिन अचानक गाँउमा कसैले खबर ल्यायो “सानुमाया त नारायणघाट बजारमा नाङ्गै थि अरे।” एक कान दुई कान मैदान भने झै हल्लाको डडेलोले गाऊ खर्लप्प पार्यो। माइतीले पनि कता कता सम्म खोजेनन्। आखिरमा सबैले माया मारेरै बसेका थिए यतिबेला।

“कठै बरा ! आजसम्म के हालत भएको होला उसको। खोज्न जानुस्। यदि सत्य रैछ भने जसरि भएपनि ल्याउनुहोला। छोरो भगवानको प्यारो भएपनि बुहारीलाई हेरेर चित्त बुझाम्ला। उता बाउआमा पनि रातदिन रोएर बसेका छन्”, लालमतिले बुढालाई भनिन्।

लालबहादुर र भिरमुनीको ज्ञाने कामी भएर एकबिहानै लागे बाटुलीचौर बसपार्कतिर। नारायणघाटको बस छुट्नै लागेको थियो। चढे हुटको सिटमा टिकट काटेर। केहिबेरमै बस छुट्यो कुइरिमन्दल धुलो उडाउदै।

बेलुका सात तिसमा बस नारायणी नदीको पुलको मुखैमा रोकियो।

“ ल ल नारायण, नारायणघाट, झर्नुस, झर्नुस!” खलासी चिच्यायो जोडसंग। लालबहादुर र ज्ञाने झरे बसबाट बत्ताउदै।

“बाजे कति खानोको र?” जोक गर्ने पाराले बोल्यो खलासी। लालबहादुरलाई झनक्क रिस उठ्यो तर केहि बोलेनन्। बसबाट झरेपछि कता जाने, के गर्ने अलमलमा परे दुबैजना। ब्यस्त शहरमा चिने जानेको कोहि थिएन । राति भैसकेकोले मान्छेहरू तछाड मछाड गर्दै थिए। कसैसंगपनि फुर्सद थियन सोधेको जवाफ दिन। मैला कपडा, निन्याउरो अनुहार देखेर होला होटलका दलालहरू पनि आएनन् नजिक ‘हजुर’ भन्नलाई।

पोखरा बसपार्कतिरबाट एउटा रिक्सा आयो बत्ताउदै उनिहरू भएको ठाउतिर। छोला जस्तो गरी रिक्सा रोक्यो। “ बस्नुस हजुर, कहॉ जानुपर्ने हो?”, भन्यो रिक्सावालाले। रक्सिको गन्ध ठुस्स गनायो लालबहादुरलाई। मतवाली भएपनि उनले रक्सि कहिले पिएका थिएनन्।

“ होटलमा जानी हो। अली सस्तो खालको”, ज्ञानेले भन्यो।

“ बस्नुस हजुर, चिन्ता गर्नै पर्दैन। मैले चिनेको होटल छ । राम्रो, सस्तो”, खिस्स दात देखाउदै बोल्यो रिक्सावाल। दुबैजना बसे रिक्सामा। रिक्सा बत्याउदै लाग्यो नारायणीको तिरैतिर दक्षिणतिर । भित्री गल्ली सागुरो हुनुको साथै रिक्सा, साईकल र मोटरसाईकलले ठेलमठेल थियो। कतै सानुमायालाई देखिन्छेकि भनेर टाढा टाढा सम्म हेरे लालबहादुरले तर देखेनन् नाङ्गो शरिर। देखे जिस्कदै गरेका युवायुवति असरल्ल बाटो वारिपारी। देखे भुस्याह कुकुरहरू सडकका पेटीहरूमा सुतिरहेको।

रिक्सा एकोहोरो घन्टी बजाउदै र भिड छिचोल्दै बत्ताइरह्यो करिब पन्द्र मिनेटजति र रोकियो एउटा भत्किनै लाएको घर अगाडी। भित्ताहरूमा जिन्दाबात र मुर्दाबातका नाराहरू कोरिएका, कतै रंग खुइलियको। सटर तान्ने पेटिनिरै दुईवटा लुते कुकुर सुतेका।

” होटेल चम्पा ” साइनबोर्ड झुन्डिएको थियो धुलो र माकुरो जालोले छोपेको।

होटेलको काउन्टरमा चम्पा पान चपाउदै थिई। बाहिरको टेबलमा दुइ चारजना चुल्ठेहरु रक्सि र सेकुवा खादै थिए। लालबहादुर र ज्ञाने पनि बसे नजिकैको टेबलमा। रिक्सावालाले पचास रुपैया माग्यो उनीहरुसंग। साउनीले एक गिलास रक्सि दिएर गाला मुसारि रिक्सावालाको।

रिक्सावालाले एकै सासमा सिनित्त पार्यो।

” ल तपैहरु ढुक्कसंग बस्नुस। मेरो आफ्नै दिदि हो। दिदीले मिलाएर दिनुन्छ”, खिस्स दाँत देखाउदै हेर्यो चम्पातिर।

चम्पाले छड्के आँखाले हेरी र खिस्स हास्दै भनि ,” अझै दुइटा कोठा खाली छन् है। फेरी अन्तै बतुराउलास् ।”

चम्पाले लालबहादुर र ज्ञानेलाइ लगी कोठातिर। उ कोठामै बसी उनिहरुसंगै। लालबहादुर र ज्ञानेले चासो दिएनन्।खिस्रिक परेर फर्की।

एकाबिहानै लालबहादुर र ज्ञाने निस्के होटलबाट बिनामेसै। दिनभरी ड़ूले नारायनगढ बजार। सानुमायालाई देखिन्छ कि भनेर सडकका पेटी पेटी चाहारे। थुप्रै पागलहरू देखे बजारको गल्लि गल्लीमा। तर देखेनन् सानुमाया लाई।

खोज्दै खोज्दै बसपार्क पुगे। बसपार्क को पछाडी एउटी महिला निर्बस्त्र हिड्दै गरेको देखे। उसको पछि पछि एकदर्जन जति झुत्रे केटाहरु उसलाई जिस्काउदै लखेटी रहेका थिए। लालबहादुर झसङ्ग भए। परैबाट नियालेर हेरे उसलाई। अनुहारमा चोटै, चोट, खोटै, खोट भएकोले चिन्ने नसक्ने अवस्थामा थिई त्यो महिला। अलि पर पुगेपछि ढुंगा टिपेर हान्न लागि केटाहरुलाई। केटाहरु भागे। उ एउटा सागुरो गल्लि भित्र पसी। लालबहादुरले ज्ञानेलाई नजिकै गएर हेर्न र उ सानुमाया हो कि होइन चिन्न भने।

ज्ञाने त्यो महिलाको बाटो पछ्यौदै गयो।

त्यो महिला एउटा फोहोरको थुप्रोबाट एउटा कपडा निकालेर सरिरमा बेर्दै थिई । ज्ञाने नजिकै गएर नियाल्यो। त्यसपछि उसलाई पक्का विश्वास भयो कि त्यो महिला सानुमाया होइन।

मनमनै सोच्यो ‘कति धेरै पो रहेछन् यो शहरमा पागलहरू ।’

लालबहादुरको नजिकै गएर भन्यो, ‘ त्यो आइमाई सानुमाया होइन। मैले नजिकै गएर हेरे। त्यो आइमाई बाउनि हो। उसको नाक चुच्चो छ। सानुमाया तेती अग्ली पनि छैन।”

हिड्दै हिड्दै हाकिम चोक पुगे उनीहरु। बर र पिपलको चौतारीमा सितल खादै थिए एकजना बुढो मान्छे आएर उनीहरुको नजिकै बस्यो। उनीहरुलाइ चिन्तित देखर होला सायद उसले सोधपुछ गर्यो। उनीहरुले पहाड घर र मदेस दुवैको बारेमा कुरा गरे।

त्यो बडो भलाद्मी जस्तै लाग्ने मान्छेले उनीहरको कुरा सुनिसकेपछि पुलिस चौकीमा खबर गर्न सल्लाह दियो। उसले नजिकै भएको पुलिस कार्यालय पनि देखाइदियो।

लालबहादुर र ज्ञाने पुलिस चौकी गए उतिबेलै। उनीहरुलाई के भन्ने, कसो गर्ने मेसो भएन।

अलमल परेको देखेर बाहिर गार्ड बसेको पुलिसले सोध्यो , ‘ हजुरहरु के कामले आउनुभएको होला ?”

“हाम्रो बुहारी घरबाट हराएकी थिई एकमहिना पहिले। यता छे रे भन्ने सुनेर खोज्न आएको। ” लालबहादुरले दबेको स्वरमा भने।

गार्डले उनिहरुलाइ महिला पुलिस भएको ठाउमा पुर्यायो र सबै विवरण भरेर बुझाउन लगायो।

अधबैसे महिला पुलिस उनीहरुलाई आफ्नो अफिसमा बोलाई र प्रश्नहरु सोधी।

नाम : सानुमाया

उमेर : २२ वर्ष

उचाई : हजुर जतिकै होला हजुर

मानसिक अवस्था : के भनौ हजुर! हराउनु भन्दा अघिल्लो दिन मसान लाको थियो। कालो बोको पनि भोग गरेकै हो। सोर नभएको कुरा गर्थी।

हराएको मिति : २०२० /१० /०५

खत : दाइने गालामा चन्द्रमा आकारको खत

लगाएको कपडा : हराउने बेला हरियो बुट्टा भएको लुङ्गि र रातो बुलुच लगाई थी । अहिले नाङ्गै छे रे भन्ने सुनेको हजुर।

महिला पुलिसले फाइल फर्काइ फर्काइ हेरी। ” हामीहरुले हिजो एउटा महिला अचेत अवस्थामा फेला पारेर उद्धार गरेका छौ। उसलाई बलात्कार भएको हुनसक्ने संका छ पुलिसको। उसको सरिरमा कुनै कपडाहरु थिएन। अहिले उसको भरतपुर अस्पतालमा उपचार हुदैछ। होसमा आइकी छ रे अहिले। उ केहि बोल्न सकेकी छैन।हामि अनुसन्धान गर्दै छौ। तपाइहरु भोलि आउनुस। अहिले जान सक्नुहुन्छ”, उसले भनि।

लालबहादुरको होसहवास उड्यो। उनीहरु केहि बोल्न सकेनन। हिडे लुरु लुरु बाहिरतिर।

उनीहरु फेरी पनि त्यहि चौतारीमा बसेर यता उति भलाक्न लागे। हेर्दा हेर्दै अध्यारो हुदै गयो। कता जानी , कहाँ बस्नी केहि मेसो पाएनन्। हिजो मात्र उनीहरुले आँठ सय होटेलमा बुझाएका थिए। भात खाने र घर फर्कने पैसो पनि बचाउन पर्ने थियो उनीहरुलाई। हिड्दै जादा एउटा खाली पाटीमा पुगे। त्यही पाटिमै रात बिताउने विचार गरे उनीहरुले।

एकैछिनमा दुइजना अधबैसे केटा र केटि आइपुगे उनीहरु बसेकै ठाँउमा। उनीहरुले आँखै अगाडी छट्पट गर्दै के के सुघे। केटाले नाडीमा सुइ घोप्यो। केहीबेरपछि केटा र केटि नाङ्गै भएर नजिकैको झाडीभित्र घुसे।रुखको आड लाएर केटो उभियो। केटि उसँग मुख जोडेर उभिई। यस्तो हर्कत त उनीहरुले गाँउमा कसैले गरेको पनि देखेका थिएनन। आधा रातमै हिडे त्यहाँबाट ।

हिड्दा हिड्दै नारायणी नदिको पुलमाथि पुगे।बाटोको दुबैतिर एकदुई कुकुर बाहेक सुन्य थियो। बाटोमा रात्रिबस एकतमासले हुइकीरहेका थिए पुलै हल्लिनेगरी।

नारायणी नदीको पुल काटिसकेपछी एउटा सानो छाप्रो भेटे उनीहरुले। यहि छाप्रोमा बाँकि रात कटाउने विचार गरे। छाप्रोभित्र जुनको उज्यालोमा मनाबकृति देखे जुटको बोरा ले बेरिएको अवस्थामा। नजिकबाट नियालेर हेर्दा सास फेरेको थाहा पाए। धुलो र मैलो ले गुन्द्रुक जस्तो परेको कपाल, कालो मोसोले पोतेजस्तो अनुहार , जुट र पलास्टिकको बोराहरूले बेरेको शरीर, घुडा देखि तल नाङ्गै। डोला डोला तिघ्रा र अनुहारको आकृतिले महिला हो भन्ने लाग्यो उनीहरुलाई। देवीहरुका पोस्टर, कोक् र रक्सिका खाली बोतल, प्लास्टिकका झोला, धजा जस्ता देखिने बस्तुहरु उसको कोखैमा थिए। कठै! यो अवस्था देखेर मनमा तुफान चल्यो लालबहादुरको। नराम्रो संग चिसो पस्यो।

‘कतै सानुमाया त हैन यो ? ‘ फेरी मनमनै भन्यो ‘हैन’ सानुमाया त अस्पतालमा छे। भोलि उसलाई भेट्नुछ पुलिस चौकीमा।’

लालबहादुर र ज्ञाने त्यहि नजिकैको पाटिमा गएर बसे। एकैछिनमा एउटा रिक्सा तेही छाप्रोनिर रोकियो। हेर्दा

कालो, पातलो त्यो रिक्सावाल सरासर त्यो छाप्रोभित्र पस्यो र जुटको बोरामा बेरियकी महिलालाई चलाउन लाग्यो। एकैछिनमा बोरो तान्यो र चरनाम नाङ्गो बनाइदियो उसको शरिर। ऊ घरि घरि आफ्नो लाज ढाक्न खोज्थी दुइ हाँतले तर त्यो मान्छेले घरि घरि छातीमा र दुई खुट्टाको बीच भागमा हात घुसार्थ्यो। उसले भुइबाट बोतल निकालेर उसको टाउकोमा प्रहार गर्न मात्र के लाएकी थिई, त्यो व्यक्तिले उसको हात च्याप्प सम्मत्यो र भुइमा लडायो। त्यसपछिको दृश्य लालबहादुरले हेर्न सकेनन्। कहिले नखसेका आँशुका ढील्का तप्प खसे भुइमा। “ओहो के नर्क जस्तो रैछ यो शहर”, मनमनै भने उनले।

धेरैबेरमा रिक्सावाल पुन: रिक्सामा चढ्यो र लाग्यो पुरानो कारखाना भएको भवनतिर। भर्खरकै केटि जस्तै देखिले त्यो महिलाले पुन बेरी जुटको बोरा र रुन थाली एकोहोरो। त्यो सुनसान रातमा उसको चोटलाइ सुन्ने कोहि थिएन त्यहाँ। नारायणी नदीको एकोहोरो सुस्याहटसंगै बिलायो उसको आवाज क्षितिजतिर। एउटा लुते कुकुर उसको छेउमै गएर सुत्यो। त्यो महिलालाई कुकुरको बढी भरोसा लाग्यो र पुन पल्टी त्यो कुकुरसँगै।

केहिबेरपछी पूर्व दिशामा सुनौलो क्षितिज देखिदै गयो। त्यो महिला पनि आफ्नो समानहरु प्लास्टिकको बोरामा हालेर हिड्न थाली। बिहानको उज्यालोमा अनुहार प्रस्ट देखियो। उसका पुष्ट छाती ढाक्ने बस्तु केहि थिएन। कम्मर देखि तल जुटको बोरालाई प्लास्टिकको रसिले कसेर जनतन लाज ढाकेकि थिई ।

” तिनिहरु सबै उडे उ हेर हेर ! मेरा भगवान आउ मलाई लिन। हेर हेर उ. . . ” उ एकोहोरो चिच्याउन थाली।

लालबहादुरले बेसरी नियालेर उसको उनुहारमा हेरे र भने ” ज्ञाने त्यो त सानुमाया जस्तै छ त। हेर त अलि राम्रोसंग।”

ज्ञाने उसको अलि नजिक गयो। जब त्यो महिलाको अनुहारमा खत देख्यो त्यसपछि उसलाई त्यो सानुमाया हो भन्ने पक्का भयो। उसको हंसले ठाउँ छोड्यो। उसका खुट्टा लुला भए। अब कसरि यो कुरा लालबहादुर लाइ भन्ने। उसलाई रिंगटा लाग्यो। रातिको त्यो दृश्य उसको आँखामा कसिंगर झैँ बिझायो।

एकैछिन पछि त्यो महिला मुलबाटोको बिचमा उभिएर पूर्वदेखि आउदै गरेका गाडीहरुलाई हात देखाउदै रोक्न खोजि तर गाडीहरु एकतमासले हर्न बजाउदै भागिरहे उसलाई छेल्दै।

ज्ञाने लालबहादुर भएको ठाउमा गयो र त्यो मानशिक सन्तुलन गुमाएकी महिला सानुमाया नै भएको बतायो। लालबहादुरलाई एकैचोटी सयौ बरुलाले चिले जस्तै भयो। ” हरे शिव के देख्नु पर्यो यस्तो सपनामा पनि नचिताएको”, उनले भने।

उनले ज्ञानेलाई सानुमयासंग गएर कुरागर्न भने। ज्ञाने सानुमायाको नजिकै गयो र उभियो। तेतिन्जेलसम्म सानुमाया नारायणीको पुलको पूर्वतिर बस रोक्ने ठाँऊमा पुगिसकेकी थिइ।

पहिले त उसले कतै आफै चिनेर बोल्छे कि भनेर उसको अघिल्तिर गएर उभियो ज्ञाने। सानुमायाले उसलाई देखेको नदेखे गरी। बोल्ने हिम्मत आएन उसलाई। धेरैबेर नारायणी पुलको रेलिंग समातेर उभिरह्यो ऊ। केहीबेरमा हिम्मत बटुलेर उसले बोलायो , ” भाउजु। “

उसले कुनै रिस्पोन्स गरिन। उसले आफुसंग भएका कवाडी सामानहरु एक एक गर्दै नारायणी नदितिर झर्ने बाटोमा फालिरही धेरैबेर सम्म। बिहानको बेला भएकोले साईकलवालाहरुको भिड बढिसकेको थियो। पैदल यात्रीहरु पनि बाक्लै यताउति गरिरहेका थिए। कसै कसैले “बिचरा! को होलि, यस्ति भर्खरकी केटि छ” भन्दै जान्थे भने कसैले उसको नग्न शरीरको छाती र खुट्टातिर हेर्दै र हास्दै जान्थे।

ज्ञानेले पटक पटक बोलायो तर कुनै प्रतिक्रिया देखाइन उसले। भुईमा भएको काठ टिपी र हावामा दायाँ र बायाँ नचाउदै नारायणगढ बजारतिर दौडी। मान्छेहरु “बौलाई आई ” भन्दै चिच्याउदै भाग्न थाले।

ज्ञाने लालबहादुर भएको ठाउमा फर्कियो। उसले सानुमाया कसैलाई पनि नचिन्ने अवस्थामा भएको सुनायो। उसले भर्खरै सानुमायाले गरेका क्रियाकलापहरुको बारेमा पनि बतायो। दुवै जना केहीबेर चुप बसे। उनीहरुलाई के गर्ने के नगर्ने केहि उपाय आएन।

सानुमायासंग आफुले नैअगाडी उभिएर कुरा गर्ने बिचारले लालबहादुर ज्ञानेको पछि पछि लुरु लुरु सानुमाया गएको दिसातिर हिडे। उनीहरुले दिनभरी देवघाट , गणेश मन्दिर , हस्पिटल लाइन , कम्पास चोक, हाकिम चोक , पुरानो , नया बसपार्क कता कता मात्रै खोजेनन उसलाई। तर हावामा प्वाँख उडेसरि हिडेकी सानुमाया कहाँ पुगी उनीहरुले भेट्न सकेनन। दिनभरिको खोजिले केहि पत्तो नलागे पछि उनीहरु पुन पुलिस चौकीमा शरण लिन पुगे। आफुहरुले सानुमायाँलाइ देखेको र ऊ संग छुटेको सबै वृतान्त सुनाए। उनीहरुले राति सानुमायाँसंग रिक्शावालाले गरेको बलात्कारको घटना पनि सुनाए।

पुलिसको लागि यो कुनै नौलो थिएन। दिनदिनै जस्तो गाँउ गाँउबाट मानशिक अवस्था बिग्रेकाहरुलाई ल्याएर बजारका गल्लि गल्लिमा छोड्ने चलन सामान्य बनिसकेको थियो।पुलिसको जानकारीमा भए अनुसार भरतपुरमा मात्रै सयौ भन्दा बढीको संख्यामा पागलहरू छन्। कतिपय त भारतीय मुलका पनि थिए। पुलिसले सानुमायाँलाइ खोज्ने सामान्य आस्वासन दिएपछि उनीहरु पुन: सडकमा निस्के।

तीन दिनसम्म सडकमै सुतेर सानुमायालाइ खोज्दा समेत भेट्न सकेनन्। भेटिहाले पनि के गर्ने ? के उसले चिन्ली ससुरालाई ? कहाँ हुन्छ उपचार; नेपालमै कि राँची ? पैसा कहाँबाट जुटाउने। कसले सुनाएहोला छोराको दुर्घटनाको खबर ? कि लालमतिले भनेझै मसान लागेको हो उसलाई ? अनेकन प्रश्नहरु आउथे उसको मनमा।

———————————

देबघाट नजिकै एउटा सानो कुटीमा अषी बर्षको एक सन्यासी बस्थे। एकदिन ति सन्यासीले एउटी केटीलाई घाटमा कोइला टिप्दै गरेको देखेछन् । नाङ्गो शरीर मध्यरातमा यताउति गरेको देखेपछि उनलाई सुरुमा त भुत प्रेत हो जस्तो लागेछ। धेरैबेरसम्म हेरेपछि बल्ल मान्छे नै हो भन्ने ठम्माएछ्न् । अर्को दिन शरीरभरि चोटै चोट भएकी कम्मरमा पछौरा जस्तै कपडा बेरेकी महिला नारायणी पुल वारी पारी गरेको देखे पछि नजिकैको कुटीमा बसेका ति दयालु संन्यासिले देवघाटमा रहेको एउटा मानब कल्याण संथालाई खबर गरे। त्यो संस्थाले ति महिलालाई देवघाटको पुलनजिकै प्लास्टिक बटुल्दै गरेको अवस्थामा फेला पार्यो। उतिबेलै पुलिसलाई खबर गरि उनीहरुले उद्दार गरेर संस्थाकै आश्रममा राखे। शरीरभरी चोटै चोट भएकी ति महिला लाखौ कोशीस गर्दा समेत् एक शब्द बोल्न सकिन। प्रहरीमा परेको रिपोर्टको खतको आधारमा पुलिशले ति महिला सानुमाया भएको रिपोर्ट तयार पार्यो। लालबहादुरसंग सम्पर्क हुन नसकेपछि उनीहरुकै रोहबरमा नवजीवन नामक त्यो संस्थाले महिलाको जिम्मा लियो र उपचारको समेत व्यवस्था मिलायो। भरतपुरअस्पतालमा सानुमायाँको उपचार हुने भयो।

भारतको राँचीमा पन्द्र वर्ष सेवा गरेर भरतपुर अस्पतालमा आएका डाक्टर अखिलेसले सानुमयाको उपचारको जिम्मा लिए। डाक्टर अखिलेसले इलेक्ट्रोकन्वुल्सिव अर्थात् दिमागमा करेन्ट लगायर उपचार गर्ने कुरा नवजीवन फाउन्डेसनकी अध्यक्ष शुस्मिता परियारसंग गरे। उपचार गर्ने क्रममा मृतु भएको खण्डमा आफु दोषी नठहरिने गरि कागजमा दस्तखत गर्न लगाए। सानुमायाको टाउकोको रौ सबै खौरियो। शरीरका घाउहरुमा औषधि लगाइयो। उसको शरीर अत्यन्त कम्जोर भएकोले दिमागको उपचार अलि ढिलो गर्ने गरे डाक्टरहरुको टोलीले।

दश दिनसम्म ट्रमा सेन्टरमा राखिसकेपछि डाक्टरहरुले सानुमायालाई टाउकोमा करेन्ट लगाउनको लागि बिशेष कक्षामा लगे। उपचारको सबै बिधि पुरा गरेर टाउकोमा करेन्ट लगाउने काम भयो। तेस्रो पल्टको झड्कासंगै उसको हाँतखुट्टा चल्न छोडे। धेरैबेर सम्म शरीरका अंगहरु चल्न छोडेपछि डाक्टरहरुले उसलाई भेन्टिलेटरमा राक्ने निर्णय गरे। तर अस्पतालको प्रमुखले खर्चको जिम्मा लिने मान्छे नहुदा भेन्टिलेटरमा राख्न नसक्ने भनि डाक्टरहरुको निर्णय बदर गरे। अस्पतालले शुस्मिता संग सम्पर्क गर्ने प्रयास गर्यो। धेरैपल्ट कोशिष गर्दा समेत सम्पर्क हुन सकेन। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरे। प्रहरीले आफुले रेकर्ड फाईल हेरेरमात्र कुरा गर्ने भनि फोन काटे। अस्पतालमा एउटा मात्र भेन्टिलेटर उपलब्ध थियो। आपतकालीन कक्षामा अर्को बिरामी थपिएकोले उसको लागि पनि भेन्टिलेटर आबस्यक थियो। डा अखिलेस कुमारले सानुमायालाई केहि समय भेन्टिलेटरमा राख्नको लागि अनुरोध गरेपनि बिना धरौटी भेन्टिलेटर उपलब्ध भएन।नयाँ बिरामीले पायो भेन्टिलेटर धरौटीमा।

तिन चार घन्टासम्म शरीरका कुनै अंगहरुले काम नगरे पनि उसको छातीको धड्कन चल्दै थियो। बारम्बारको सम्पर्कपछि मात्र नाबजिबन फ़ाउन्डेसनको फोन उठ्यो। तुरुन्त अस्पतालमा आउनको लागि भनियो,तर पहिले बैठक बसेर सल्लाह गर्ने कुरा गरे उनीहरुले। प्रहरीले पनि कुनै रिस्पोन्स गरेन। करिब सात आठ घण्टा पछि मात्र नाबजिबन फाउन्डेसनका केहि व्यक्तिहरु अस्पताल पुगे। त्यतिन्जेल सानुमायाको छातीको धड्कन रोकिसकेको थियो। शरीर चिसिदै गैरहेको थियो। न कसैले साहनुभूति साटे न कोहि ढुँगामुढा गर्न नै आए। त्यसै दिन राति देबघाटको कुटिमा बस्ने तिनै दयालु सन्यासीले नारायणी नदि किनारमा धुवा सतहदेखि थोरै माथि उडेर तल तल बग्दै गरेको देखे। झ्यालको पर्दा तल झारे र बिस्तारमा पल्टेर सुस्तरी भने “रामनाम सत्य हो। “

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.