~प्रयास लामा~
किष्णे त्यसको सबैले बोलाउने डाक नाम । शीतकालीन बिदा सकेर बिध्यालयहरू पुनः खोलिने तरखरमा छ। त्यसलाई भने बिध्यालय चाडोँ खोलियोस र नयाँ कक्षामा जाउँ जस्तो भईसकेको हो। पुरानो सेकेण्ड हेण्ड किताबमा नयाँ खोल हाल्यो त्यसले र डोरेमोनको नक्शा भएको सानो नेमप्लेट टास्यो। नामको ठाउँमा कृष्ण बहादुर मंगर, कृष्ण पँचमीकै दिन जन्मेकोले त्यसको बाजे चहीँले साह्रै मन पराएर राखिदिएको दिएको नाम हो, त्यसको आमा जिउँदो छदा भन्ने गर्थ्यो, चिट्टिक्क पारेर लेख्यो। कक्षा को ठाँउमा सात लेख्दा त्यो भित्र भित्रै रमायो। रोल नम्बरको ठाँउ त्यसले खाली राख्यो, एडमिशन नतिरूञ्जेल सरले रोल नम्बर दिदैन। गत बर्ष त त्यसले अन्तिम रोल पाएको थियो सप्पै भन्दा अन्तिममा एडमिशन तिरेकोले। प्रत्येक बर्ष यसरीनै सेकेण्ड हेण्ड किताब लाई नयाँ कभर दिएर सजाउछ त्यो। नयाँ किताब किन्ने पैसा त्यसको बासित नभएकै हो तर रात दिन एक गरेर आधा पेट बाँचेर पनि किष्णेलाई अग्रेंजी स्कुलमा पढाउछ। अग्रेंजी स्कुलमा पढाई राम्रो हुन्छ भनेर किष्णेको वाउलाई कसैले सुनाईदिएको थियो। भर्खरै प्राईमेरी स्कुलको भुई क्लास हेर्न पुगेको किष्णेलाई बाउले अंग्रेजी स्कूल मा भर्ना गरेको रे त्यसको फुपु बेला बखत भन्ने गर्छ।
किष्णे बस्छ त्यसको फुपु संगै। स्कुलको नजिकै छ फुपुको घर। आफ्नु घरबाट त स्कुल धाउन तिन घण्टामा पनि बढी समय लाग्छ त्यसलाई। हट्टा कट्टा किष्णेको जागंर देखेर त्यसको फुपुले लाउन खाना पैसा लिन्न तर स्कुलको खर्च चै आफै जोगाड गर्नु भनेर किष्णेको बाउलाई भनेको थियो। त्यसले फुपुको घरमा घासँ काटछ्। दाउरा बोक्छ। घर सफाई गर्छ र साझँमा पढनु बस्छ। त्यो तन मन लगाएर पढछ् जसरी त्यसको बाउले स्कुलको फिस भर्ने पैसा कमाउन तन मन लाएर खट्छ। फस्ट त्यो हुदैन तर पास मात्र भएर पनी कहिल्यै आएन। छैटौं श्रेणीमा त्यो थर्ड भएको थियो। सबैले त्यसलाई स्याबासी दिए। बिरेन दाजुले भने त्यसलाई स्याबासी संगै सेकेण्ड हेण्ड किताब पनि दिए। बिरेन किष्णे भन्दा एक कक्षा माथि छ। प्रत्येक बर्ष नै आफुले पढि सकेको कक्षाको किताब किष्णेलाई दिन्छ। किष्णेले कहिल्यै अन्यत्र माग्नु परेको छैन।
सबभन्दा साह्रो किष्णेलाई कलम र खाता जोगाड गर्नु छ। पोहोर साल जसरी जोगाड गरेको थियो यसपाली हुने हो की होईन चिन्ता छ त्यसलाई। स्कुलमा त्यो बसिरहदैन। पढी पनि रहदैन। सरहरूको टेबल सफा गर्छ त्यसले। अफिसको भुई बडाल्छ त्यसले। त्यसमा त्यसको आफ्नै स्वार्थ छ। अफिसमा एउटा ठुलो कार्टून राखिएको छ र कार्टून मा हुन्छ पोहोर सालको बार्षिक परिक्षामा ठुला कक्षाकाहरूले आधा लेखेर बुझाएको बिज्ञान प्रैक्टिकलका रंगीन दामी खाताहरू। किष्णेको जोगाड यही हो। कलम किन्न त्यसले कसैको घरमा खेताला जानु पर्छ तर घरमै काम गर्दा पनी कहिले काँही पुसाईले मिठाई खा भनेर पाचँ रूपिया दश रुपिया दिने गरेको छ। मिठाई त कसैले किनेरै दिए मात्र खान्छ त्यसले। पाएको पैसाले त्यसले पेन किन्छ, पेन्सिल किन्छ र उब्रेको पैसा जोगाउन त्यसले सानो माटोको कन्तुर पनि राखेको छ।
किताब हरु सजाउदा सजाउदै त्यसलाई स्कूलड्रेसको सम्झना आयो र खोताल्यो त्यसको पुरानो टिनको बाकस। सर्ट नाप्यो त्यसले। बाहुला अलिक छोटो भएछ। पल्टाएर कुईना माथी सुर्कायो। ‘हुन्छ’ त्यसले सोच्यो र मुनी हेर्यो। सर्ट त कम्मर मात्र छुनेगरी छोटो भएछ। “सर्ट प्यान्टमा खादँ” भन्दै सिर्कुना हान्ने हरी सरको अनुहार त्यसको आखाँ अघी झलझली आयो। सर्टको मुनिल्लो सिलाई खोल्दा डेढ ईन्च जति लामो भयो। लामो सास फेरेर त्यसले सर्ट प्यान्ट भित्र खादेर हेर्यो। सर्ट अहिले प्यान्ट बाहिर भएन र ढुक्क भयो त्यो। तर प्यान्टको कम्मर भने टाईट भएर हिडनै नमिल्ने भयो। अनेक कोशिश गर्दा पनी त्यसले कम्मरको पछिल्लो भाग खोल्न सकेन। पोहोरको साल त्यसको बाउले कम्मर को पछिल्लो भाग खोलेर खकुलो बनाईदिएको थियो। त्यसले त्यही देखेको थियो र वाउले झै खोल्ने प्रयत्न गरिरह्यो । प्यान्ट च्यातिने अवस्था भए पछि भने त्यसले प्रयास छाड्यो र बाकसलाई कुनामा थन्कायो। साझँमा खाना खादाँ त्यसले फुपुलाई प्यान्टको बारेमा सुनायो। फुपुले ‘तेरो बाउसित कुरा गरिदिन्छु’ भने पछि, त्यो ढुक्कले सुत्यो। त्यसले त्यो रात मिठो सपना देख्यो। सपना मा देख्यो त्यसले तिन बर्ष अघी बितेका त्यसको आमालाई। र आमा संगै देख्यो त्यसले आफ्नु बाउलाई पनि। हातमा नयाँ स्कूल ड्रेस र जुत्ता लिएर त्यसको बाउ आमा नजिकै उभिएका थियो। “राम्रो पढेर ठुलो मान्छे बन्नु है” बाउले चहीँले त्यसको टाउको सुमसुमाएर आर्शिवाद दियो। एउटा ठुलो चट्याङको आवाजले त्यसको निन्द्रा खुल्यो। बाहिर जोडको हुरी संगै मुसलधारे पानी परिरहेको थियो। त्यसलाई त्यसपछि निन्द्रा परेन। जति जति हावा पानीको वेग बढथ्यो त्यति त्यति त्यसले ढल्नै लागेको बगर छेउको आफ्नो घर सम्झनथ्यो। र जति जति घरलाई समझ्नथ्यो त्यति त्यति त्यसले आफ्नु बाउलाई पनि सम्झनथ्यो।
बिहानको सुर्यदय पर्खेर बसेको त्यो बिहान कसैलाई नभनी आफ्नु घरतिर दौडियो। त्यसको स्वास जोड जोडले चलिरहेको थियो र मुटु ढुक ढुक भईरहेको थियो। दुई घण्टा जति दौडिएर बल्ल त्यो चिलौने डाड़ामा आईपुग्यो। चिलौने डाड़ा बाट त्यसको घर देखिन्छ तर आज देखिएन। त्यसको हंसले ठाउँ छोड्यो र भुईमा थचक्क बस्यो। त्यसले खोला मात्र देख्यो र खोलाको भयावह रुपले लुटिसकको त्यसको गाउँ जहाँ त्यसको घरको नाम निसान नै थिएन।
प्रयास लामा,
मङपु, दार्जिलिंग।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )