~मनीषा गौचन~
हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,
उसका आँखा
उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको कुरुवा भएर बसेको थिएँ । आमा कुनाको बेडमा निदाइराख्नुभएको थियो । क्याबिनमा अक्सिजनको पाइपभित्र उहाँको सास खेलिरहेको मधुरो आवाज गुञ्जिरहेको थियो । झ्यालनिर म एउटा किताबका पानाहरू पल्टाउँदै थिएँ । त्यही झ्यालबाट देखिने गरी ऊ दायाँतिर लागेकी थिई । हिँडदाहिँड्दै उसले नपत्याउने गरी मेरा आँखामा आफ्ना आँखाका किरणहरू छोडिदिएकी थिई । उसले छोडेका किरणहरूको मातमा म एउटा रंगीन दुनियाँ सिर्जना गर्न पुगिसकेको थिएँ । त्यो दुनियाँ नितान्त आश्चर्यजनक थियो जहाँ स्वप्नील रंगहरू उसको आगमनका लागि झ्नझन् गाढा हुँदै घुल्न थालिसकेका थिए । मेरो मनमा चाह पलायो, ऊ फेरि मेरै झ्यालको साइडबाट बायाँ मोडियोस् । फेरि दायाँ मोडियोस् । फेरि बायाँ, फेरि दायाँ । यसरी ओहोरदोहोर गरिरहँदा फेरि पनि ती आँखाहरूबाट किरण मेरो आँखामा सरोस् । म खुसीले उज्यालिन सकुँ । खै के थियो त्यो नजरमा त्यतिबेला म अझै सोचमग्न छु । तर, अहिले भने सिर्फ यस्तो लागिरहेछ ती आँखा विषालु थिए…।
उसको आवाज
उसँग बोलेको पहिलो दिन, म अस्पतालकै कोरिडरमा आमाको लागि औषधिको लिस्ट बोकेर फार्मेसीतिर जाँदै थिएँ । ऊ हुत्तिँदै आई । मसँग ठोक्किई । उसको हातमा रहेका फाइलहरू भुइँमा छरिए । ऊ फेरि पनि मेरो आँखामा उसका आँखाका किरणहरू छोड्दै भुइँतिर निहुँरिइ र फाइल उठाइ अनि भनी ‘सरी’ । यो एउटा शब्दले पनि कसरी बोक्न सकेको उसको आवाजको दम । साँच्ची उसले यत्तिमात्र बोल्दा पनि म भित्र कस्तो अनौठो स्फूर्ति छाएको ! मानौं, दिनभरको घामले लल्याकलुलुक भएको एउटा बिरुवा झाझरबाट झरेको पानीको बुँदले बिउँतिएझैँ । मेरो मनमा चाह पलायो, फेरि पनि उसैगरी ऊ ठोक्किन आओस् र भनिरहोस् ‘सरी…सरी …सरी’ । ऊ गई । मेरो मन मस्तिष्कभरि एउटा धुन छोडेर गई । म हरदम त्यो धुनकै लयमा एकोहोरो भइरहेँ । जुन कुनामा जाँदा पनि त्यो आवाजले मलाई छोडेन या भनुँ मैले त्यो आवाज छोड्न सकिनँ । यस्तोसम्म भएँ, लाग्न थाल्यो मलाई स्केजोफ्रिनिया भएको छ । म आवाजको भ्रमहरूमा क्षत्विक्षत हुँदैछु र पनि मीठो मानी मानी सुन्दैछु । तर, यतिबेला भने यस्तो लागिरहेछ म उसको आवाजको भोल्युम नै म्युट गरिदिउँ ।
उसको मुस्कान
ऊ फेरि पनि त्यही करिडोर हुँदै आई । हातमा पानीको बोतल लिएर उभिरहेको थिएँ म । एकपटक पुलुक्क हेरी । उसको नजर नै त काफी थियो मेरो मन मस्तिष्कलाई म आफैंबाट उडाएर लैजान । ऊ मुसुक्क मुस्काई । उसको मुस्कान त्यत्तिकै शक्तिशाली थियो जसले मभित्रको जिद्दी ‘म’ लाई तुरुन्तै काबुमा ल्यायो । ऊ हिँड्ने कोरिडोर हुँदै म उसको मुस्कान पछ््याउन थालेँ । लालुपाते जस्ता दुई पातला ओठहरू मेरा आँखाहरूमा टाँसिएझैँ लाग्यो । एकपटक बायाँ हत्केलाले दुवै आँखा हल्कासँग थिचेँ । हुन सक्छ म ती लालुपाते ओँठलाई आँखाबाट टिपेर कतै लुकाउन चाहन्थेँ या क्याबिनका भित्ताहरूमा सजाउन चाहन्थेँ । हो, नजानी नजानी उसको मुस्कानको नशाले म लठ्ठिँदै थिएँ । हेर्दाहेर्दै ऊ त्यहाँबाट कतै गइसकेकी थिई । मेरो हातको पानीको बोतल रित्तिसकेको थियो । थाहा भएन, कतिबेला मैले पानी रित्याएँ । मेरो चिउडोमुनिको सर्टको भाग भने रुझेको थियो । उसको मुस्कान खोज्ने म यतिबेला भने त्यो मुस्कानको दुश्मन भएको छु । अथवा, त्यो मुस्कान मेरो दुश्मन भइदिएको छ ।
उसको स्पर्श
पहिलो पटक उसलाई छोएको सम्झेँ । सम्झनु पनि पर्दैन आफैं छाइदिन्छ मस्तिष्कभरि । ऊ हाम्रो क्याबिनमा आएकी थिई । पाठेघरमा समस्या र फोक्सोमा पानी जमेर बिरामी परेकी मेरी आमा नसाबाट औषधि लिँदै हुनुहुन्थ्यो । सजिलोसँग औषधि नगएपछि मैले नै मेडिसिन ‘सी’ मा फोन गरेर नर्सलाई बोलाएको थिएँ । केहीबेरमै ढोका ढकढक गरेको आवाज आयो । ढोका खोल्दा सामुन्ने ऊ नै त थिई । मलाई हेरेर ऊ मुसुक्क मुस्काई । उसको गालाको अलि तल्लो भागमा रहेको गाढा खैरो कोठी तन्किएर लाम्चो भयो । ऊ झनै राम्री देखिई । ऊ सरासर भित्र आई । औषधि पास गर्ने क्यानुला चलाउन थाली । दुखाइले आमाको अनुहार छुँदै थियो । मैले आमालाई कपालमा सुमसुम्याउन थालेँ । बुढेसकालले हल्का खुम्च्याएको मेरी आमाको हातमा उसले अरू नसा खोज्न थाली । मलाई थाहा थियो ऊ नर्स थिई । तर, ऊ यो डिपार्टमा थिइनँ । मैले सोधेँ, ‘अबदेखि यतै हो तपाइँ ? ‘
‘हैन, आज साथी नआएकोले मात्र हो । म प्राय: म्याटरनिटी वार्डमा हुन्छ’, उसले भनी । उसले यतिभन्दा म उसको साथीप्रति कृतज्ञ हुन पुगेँ जो एकदिन नआउँदा यो सब भयो । उसले आमाको हातमा उपयुक्त नसा भेटिन । मैले नियतवश आफ्ना औंलाहरू आमाको हात हुँदै उसका औंलाहरू छुन पुगेँ । के थियो उसका औंलाहरूमा कुन्नि ! तिनलाई छुँदा मेरो जीउभरि अचम्मको कम्पन आएको थियो । कताकता उसको स्पर्शसँगै प्रितका कणहरू मेरा औंलाहरूमा सरेझैं महसुस भएको थियो । यतिबेला लाग्दैछ, ऊ एउटी काल सर्प थिई जसले मलाई क्षणभरमै डस्यो ।
उसको साथ
उसको हेराइ, मुस्कान, आवाज, यी सबैको नशामा म पूर्ण रूपले डुबिसकेको थिएँ । योभन्दा पहिले यसरी कुनै युवतीको नशामा म परेको थिइनँ । म भित्रको हलचल उसले पनि बुझ्दै थिई । म जे भइरहेछु त्यसले उसलाई रमाइलो लागेको हुन सक्छ । त्यसैले हाम्रो क्याबिनमा आउने क्रम बढाउन थाली । ऊ आउँथी, निकैबेरसम्म कुरा गर्थी । मभन्दा बढी ऊ नै बोल्थी । म कम बोल्थेँ किनकि मेरा इन्द्रियहरू उसैलाई हेर्न, सुन्न र महसुस गर्न रुचाउँथे । ऊ बोलिरहँदा म उसलाई यसरी हेर्थेँ कुनै बेला ऊ आफैं आत्तिएर के कुरा गरिँदैछ त्यो नै बिर्सन्थी । यतिबेलासम्म उसले आफ्नो पारिवारिक वृत्तान्त सबै बताइसकेकी थिई । मध्यम परिवारकी थिई । बाबु सामान्य सरकारी जागिरे । आमा गृहिणी । तीन दिदीबहिनीमा माइली छोरी थिई ऊ । कपनमा बस्थी । स्टाफ नर्स बन्नु उसको सपना थियो । लगभग ऊ त्यही सपनामा रमाउँदै थिई ।
एकदिन हामी अस्पतालकै क्यान्टिनमा कफी गफ गर्दै थियौँ । ऊ निकै खुसी देखिन्थी । एउटी गर्भवती महिलाको ज्यान जानबाट जोगिएको कुरा सुनाई । अनि मैले सोधेँ, ‘बच्चा ? ‘ उसले भनी, ‘बच्चा त पहिले नै मरिसकेको थियो ।’ सोचेँ, सारा संसार जीवित कुराले नै त आकर्षित हुन्छ । उसले प्रसूति विभागमा के कस्ता गतिविधिहरू हुन्छ त्यो खुलेर सुनाउँदै थिई । यही क्रममा उसले भनी, ‘एउटा मान्छेबाट दुइटा मान्छे बन्नु सजिलो कहाँ छ र ? ‘
मैले थपेँ, ‘यो त दुइटा मान्छेबाट तीन बन्नु हैन र ? ‘
उसले तुरुन्तै तर्क गरी, ‘मान्छे त आखिर आमाकै कोखमा बन्ने हो नि, हैन र ? ‘
उसले यसोभन्दा मैले मेरी आमालाई सम्झेँ जसले कोखमा मात्रै हैन, यो दुनियाँमा मलाई मान्छे बन्न अनेक संघर्ष झेल्नुभएको छ । म जुरुक्क उठेँ र क्याबिनमा लागेँ । ऊ सायद छक्क परी ।
आमा छटपटाइरहनुभएको थियो । ऊ पनि मेरो पछिपछि आएकी रहिछ ।
उसले अक्सिजनको पाइप मिलाई तर आमा अक्सिजन लिन नसक्ने अवस्थामा पुगिसक्नुभएको थियो । मैले आमालाई बोलाएँ । आमाको आँखीभौं विस्तारै तलमाथि गर्यो । उहाँ वास्तवमा अन्तिमपल्ट सास फेरिरहनुभएको थियो । क्षणभरमै अरू पनि नर्स डक्टरहरू भेला भए । तुरुन्तै उहाँलाई भेन्टिलेटरमा राखियो । त्यसको केहीबेरमै मेरी आमा रहनुभएन ।
पूरै सुनसान भो संसार । मेरो सामुन्ने आमासँगका ती क्षणहरू खेल्न थाले छाया भएर । छायामा, मेरी आमा अनि म । मलाई काखमा लिएर दूध चुसाउँदै गरेकी मेरी आमा, केहीबेरमै मेरो हात समाएर स्कुलको बाटो लाग्नुहुन्छ । म कक्षा कोठामा साथीहरूको टिफिनमा टोलाइरहेको हुन्छु त्यति नै बेला मेरी आमा हातमा टिफिन बोकेर आइपुग्नुहुन्छ । छुट्टीको घण्टी लाग्छ । सबैका आमाबुवाहरू गेटमा पहिले नै आएर छोराछोरीको बाटो कुरिरहेका हुन्छन् । त्यही भीडमा मेरी आमा पनि हस्याङफस्याङ गर्दै आइपुग्नुहुन्छ र म आमाको चोरऔंला समातेर आमासँगै डेरामा फर्किन्छु ।
रातको पर्दा खस्छ । आमा मलाई कपालमा सुममुमाउँदै अनेक कथा सुनाउनुहुन्छ अनि म लुपुक्क आमाको अँगालोमा निदाउन पुग्छु । मस्त नीदमा डुबेको मलाई निद्रादेवीकै काखमा छोडेर उहाँ अर्को कोठामा जानुहुन्छ । निद्रादेवीले मलाई छोडेर जान्छे । म ब्युँझन्छु । उता कोठाबाट आमाको भारी सास मेरो कानसम्म ठोकिन्छ । म झसँग झस्किन्छु । यसपछि मेरो झस्किने क्रम दोहोरिरहन्छ ।
एकदिन मलाई उता कोठामा आमा के गर्दै हुनुहुन्छ भनेर जान्न मन लाग्यो । ढोकानेर पुगेर आमा भन्दै बोलाएँ । एकाएक उहाँको सास शान्त भयो । तर, केही खसेजस्तो आवाज सुनेँ । मैले ढोका घचेटेँ । खुलेन । भित्रबाट चुकुल लगाइएको थियो । निकै बेर ढोकामा ढकढक गरेँ । अहँ, आमाले ढोकै खोल्नुभएन । त्यसपछि कहिल्यै पनि आमाको कोठाबाट कुनै त्यस्तो आवाज आएन ।
एकपटक म सिकिस्त बिरामी परेँ । मलाई अस्पतालमा भर्ना गर्नुपर्ने भनियो । आमासँग पैसा थिएन । त्यतिबेलै एकजना पुरुष आयो र केही रकम उहाँलाई दिएर गयो । सायद मेरो उपचार खर्च त्यसैबाट टरेको थियो । मलाई सञ्चो भएको केही दिनमै त्यो पुरुष हाम्रो घरमा आयो र मेरै सामुन्ने आमालाई तानेर कोठामा लग्यो । म पच्छ्याउँदै गएँ । ढोका बन्द भयो । अनि मैले सुन्न थालेँ त्यस्तै भारी सास ।
धेरैपछि मैले बुझ्न थालेँ आमाले के गर्नुहुन्थ्यो । हो, मेरी आमा मलाई हुर्काउन आफ्नो शरीरको व्यापार गर्नुहुन्थ्यो । यो लोग्नेमान्छेले जितेको समाजमा मेरी आमा एउटीमात्र होइनन् जसले आइमाई भएकै कारण यो सब झेल्नुपर्यो । सामूहिक बलात्कारको उपज हुँ म । एक साँझ बाटोमा हिँड्दै गर्दा उहाँ लुटिनुभयो । को को थिए उहाँ चिन्नुहुन्न । आफूमाथि पालैपालो उफ्रिरहेका तिनका अनुहार रातको अँध्यारोले लुकाइदिएको थियो । सम्झनुहुन्छ अँध्यारोमा ती लोग्नेमान्छेहरू ब्वाँसाजस्ता देखिन्थे । आमाको पेट बढ्दै गयो । मेरी आमा आफ्नै परिवारमा अटाउन सक्नुभएन ।
अन्तत: त्यागिदिनुभयो आफ्ना भन्नेहरू सबै । यी सबै पीडालाई बिर्सन मेरी आमाले आफ्नो शरीरलाई बजारमा राखिदिनुभो । यी कुराहरू मेरी आमाले कति सुन्दर अक्षरमा आफ्नो डायरीको पानामा लेख्नुभएको रहेछ जुन मैले कक्षा १० मा अध्ययन गर्ने बेला चोरेर पढेको थिएँ । डायरीमा एउटा यस्तो वाक्य पनि थियो, ‘सन्तानको बाबु को हो भन्ने कुरा आमालाई मात्र थाहा हुन्छ रे । तर म आमा भएर पनि मलाई थाहा छैन मेरो छोराको बाबु को हो ? ‘
यतिबेला म आमाका निदाएका आँखाहरू पढ्दै थिएँ । उहाँसँगै निदाएका थिए मेरा बाबु पनि । किनकि मेरी आमा आमामात्र हुनुहुन्थेन, मेरो बाबु पनि हुनुहुन्थ्यो र त, मैले कहिल्यै बाबुको अभाव महसुस गर्नु परेन । अहिले भने म नितान्त टुहुरो बनिसकेको थिएँ । आमाको शरीर छोएँ । झन्झन् पवित्र लागेर आयो । आमाको पवित्र शरीरलाई आर्यघाटमा जलाएर फर्केदेखिन् म पूरै एक्लो भएँ ।
मेरो एक्लोपनाले मलाई खाँदै थियो । यसबाट उन्मुक्त हुन मैले फेरि उही नर्सलाई खोज्न थालेँ । साँच्चीभन्दा मलाई उसको साथ आवश्यक हुन थाल्यो । जमिनमा त आवश्यकता नहुने झारबाहेक आवश्यक सबै नरोपी उम्रिँदैन । आवश्यक हुने चीज पाउन आफू होमिनै पर्छ ।
हिउँदमासको बिहान । चारैतिर हुस्सुको मस्ती थियो । प्रकृतिको क्यानभासमा ऊ आफैं जसरी मन लाग्छ उसरी पोखिएको थियो । कौसीको डिलमा उभेर पूर्वतिर हेरेँ । कपनको डाँडा देख्न सकिनँ । केही दिन भो यो डाँडालाई बिहान बिहान गम्लंगै छोपेर हुस्सुले सम्भोग गर्न थालेको । मलाई हुस्सुसँग भाउन्न भएको पनि केही दिन भयो । तल ओर्लें । मेरो बुलेट ढाड थापेर मलाई नै पर्खिरहेको थियो । चिसो लागिसकेछ यसलाई पनि र खोक्न थाल्यो । केहीबेर किक दिएपछि ऊ आफैं ताब्यो । एकपटक सुमसुमाएँ । टालोले पुछपाछ पनि गरेँ ।
निदाएको टोललाई ब्युताउँदै मेरो बुलेट कपनतिर हुइँकियो । बाटो छेक्न आएको हुस्सु आफैं टाढाटाढा हुँदै गयो । गुम्बा नजिक पुगेपछि उसलाई फोन गरेँ । मलाई थाहा थियो उसको बिदाको दिन हो आज । १५, २० मिनेटको अन्तरालमा आई ऊ । उ मलाई कल्पनाकाशको अप्सराभन्दा कम लागिन । उसका सुकुमेलजस्ता मसिना आँखा, पातला लालुपाते ओठ, टुसुक्क उठेको फुच्चे नाक सबैतिर मेसैसँग चुम्ने रहर बढेर आयो । हामी त्यतै नजिकैको डाँडामा चिसो हावा खाँदै, सुन्दर तर भित्रभित्र निसास्सिएको काठमाडौंलाई हेर्दै उभियौं । केहीबेरको कुराकानीपछि मैले सीधै ऊसँग प्रेम प्रस्ताव राखेँ । उसले नाइँ पनि भनिन हुन्छ पनि भनिन । कति कुरा मौनतामै सुरु हुँदा रहेछन् जसरी उसले केही नभनी पनि सुरु भयो हाम्रो प्रेम कहानी ।
म उसलाई अति नै चाहन्थेँ । अति नै माया गर्थँे । मलाई यस्तो लाग्थ्यो ऊ नै मेरो सबथोक हो । धर्ती हो, आकाश हो, संसार हो । हरपल, हरक्षण उसलाई आफैंसँग राख्न थाहन्थेँ म । मानौं, मैले अहिलेसम्म कमाएको सबैभन्दा महँगो चीज । मनले जे चीज खोज्छ त्यो चीज पाउनैपर्ने मेरो आदतसँग मेरी आमा पनि पटकपटक थाक्नुभएको मलाई राम्ररी याद छ । म अहिले जसरी आर्थिक रूपले सम्पन्न हुनु सकेको छु त्यो पनि त मेरो आदतकै उपज हो । हो म जे खोज्छु त्यो पाएरै छोड्छु । मैले आमाको सुख चाहेँ । मेरो लागि त्यो सुख पैसामा थियो ।
दुनियाँले थुकेको मेरी आमालाई म त्यो सिंहासनमा राख्न चाहन्थेँ जहाँ उहाँले आफूलाई एउटा महलको महारानी सम्झन सक्नुहोस् । उहाँलाई यो अवस्थामा ल्याउन मैले पढाइलाई निरन्तरता दिन चाहिनँ । म छिटो छरितो पैसा कमाउने धन्दामा लागेँ । संयोगवश मैले एउटा त्यस्तो समूह भेटेँ जसको हात समातेर म पैसाको चंगुलमा छिर्न थालेँ । हो, मैले लागूऔषधको ओसारपसारदेखि लिएर सुन तस्करीसम्मको काममा दिलो ज्यान लगाएँ । मसँग भएको यो आलिसान बंगला, जग्गाजमिन, मेरो बैंक ब्यालेन्स सबैमा मेरो आफ्नै पसिना छ । मान्छेले यो उमेरमै सजिलै कसरी पैसा कमायो भन्छन् होला तर यति कमाउन मैले पनि कयौं जोखिम मोलेको छु । र पनि म त्यो भाग्यमानी दुई नम्बरी धन्दावाल हुँ जो जहिल्यै पुलिसको आँखामा परेन ।
हाम्रो प्रेमको यात्रा अगाडि बढिरह्यो । उसको आउने जाने क्रम बढ्दै गयो । दिनभर मसँग रहे पनि रातमा ऊ फर्कन चाहन्थी । तर, कैयौं रात मैले उसलाई जबर्जस्ती आफैंसँग राखेको छु । उसँग अलग हुँदाको क्षण कल्पना गर्दामात्रै पनि मेरो संसार पूरै अन्धकार भएको महसुस हुन्थ्यो । विस्तारै मैले उसलाई नर्सिङको काम छोडेर आरामले घर बस्न कर गरेँ । तर, उसले मानिन । भनी, ‘नाइँ, म यो काम छोड्न सक्दिनँ, किनकि म बिरामीलाई प्रेम गर्छु ।’
मैले ख्याल गर्दै भनेँ, ‘यदि बिरामीकै ख्याल गर्नु छ भने डक्टर बन न, म तिमीलाई डाक्टरी पढाउन पनि सक्छु ।’
उसले भनी, ‘डाक्टर आफ्नो ठाउँमा महान् होलान् तर बिचराहरूसँग बिरामीलाई प्रेम गर्ने समय नै हुँदैन… ।’
ऊ प्राय: यस्तै कुरा गर्थी । ऊ के सोच्थी, के चाहन्थी त्यो मेरो खोजीको विषय थिएन । मेरो लागि महत्वपूर्ण उसको उपस्थिति थियो । उसको सामीप्यता । उसको आलिंगन ।
आमाले छोडेर जानुभएको यो घरमा म उसलाई यति धेरै सुख दिएर सजाउन चाहन्थेँ । मेरो आशक्तिको पिरामिड अकासिँदै थियो । एकदिन उसले मध्यरातमा एसएमएस पठाई, ‘अब हामी अगाडि बढ्न सक्दैनौं । मलाई तपाईको प्रेम भारी भयो । तपाईंको साथ साँघुरो भो ।’
म छाँगाबाट खसेँ झै भए । मैले फेरि मरिहत्ते गरेर प्रेमको भीख माग्न थालेँ । बुलेटको आवाजसँगै चिच्याउँदै ऊ बस्ने घर अस्पताल सबैतिर पच्छ्याउन थालेँ । मेरो हद देखेर उसले भनी, ‘यदि तपाईं मलाई प्रेम गर्नुहुन्छ भने, केही समय शान्त हुन दिनुस् ।’ यसपल्ट उसले भनेको मान्न मैले आफ्नो सनकपनलाई काबुमा ल्याउन कठोर प्रयास गरेँ । योसँगै मेरो बुलेटले पनि केही दिन आराम पायो ।
त्यसको केही समयपछि मैले उसलाई एकजना मान्छेसँग धुम्बाराही पार्कमा देखेँ । मेरा आँखाहरू एकाएक आक्रोशको रसले भिजे । मेरो सनकपना मुटु हुँदै मुठ्ठीसम्म पुग्यो । मैले आक्रोशले दाँत किट्न थालेँ । म चाहन्थेँ, मेरो मनमस्तिष्क सबै बटुलेर लानेलाई म त्यही सिध्याउन सकुँ । तर, म अगाडि बढिनँ । मलाई पूरा तयारीका साथ अगाडि बढ्नुथियो ।
हो, त्यो दिनदेखि म उसका हरचिजलाई घृणा गर्ने कोसिसमा छु ताकि म उसलाई सहजैसँग सिध्याउन सकुँ । त्यसैले म उसका आँखालाई सेता विषालु पुतली ठान्छु । उसको आवाजलाई किचकन्याको गीत ठान्छु । उसको मुस्कान एक जाल हो र उसको साथ एउटा अँध्यारो गहिराइ । म उसका यी सबैचीजले पागलजस्तै भइरहेछु । जबसम्म यी चिजहरूको अन्त्य हुँदैन मेरो मस्तिष्कका न्युरोनहरू एकअर्कासँग जुधेरै फुट्नेछन् । म यो परिस्थितिसँग हार्न चाहन्न । जित्नकै लागि म उसको हत्यारा हुन तयार हुँदै छु ।
कोठा सुनासान छ । भित्तामा एउटा पेन्टिङ छ । केही क्राइम उपन्यासहरू छरपस्ट छन् । मैले पढी सिध्याएका यी पुस्तकहरूको पानापाना खोज्दै म फेरि पढ्छु । हत्याका घटनामा विशेषगरी मेरो मस्तिष्क पोखिन्छ । हिजो अस्तिझैँ, आज पनि म उसलाई कसरी सिध्याउने उपायहरू खोज्दै छु । भर्खरै गुगलमा सर्च गरेँ । यो क्रम चलेको एक हप्ता भइसक्यो । उसलाई सिध्याउने कुरा गर्दागर्दै पनि म फेरि उसलाई मन पराइरहेकै हुन्छु । माया गरिरहेकै हुन्छु । त्यसैले म उसलाई कुनै पीडा नदिई मार्न चाहन्छु । अ पेन लेस देथ । यो कसरी गराउन सकिन्छ त्यो सोचिरहन्छु ।
खोजिरहन्छु । विभिन्न पोइजनका टप टेन नामहरू मेरो ल्यापटपको स्क्रिनमा देखिन्छन् । तर, मलाई सबैभन्दा उपयुक्त मेरै नाइन एमएम अमेरिकन पिस्तोल नै लाग्छ । जुन मैले लागूऔषधकै एउटा काम फत्ते गरेबापत एक विशेष व्यक्तिबाट उपहारस्वरूप सन् २०१५ पाएको थिएँ । मसँग भएका सामानहरूमा यो मेरो लागि निकै विशेष पनि हो । यही विशेष चिजले म मेरो विशेष मान्छेलाई सिध्याउने निर्णयमा पुग्छु । नबिराई म उसलाई एक राउन्ड गोलीमै सिध्याउँछु, दुखाइको महसुसै नगरी ऊ सदाका लागि बिदा हुनेछे । उसँगै बिदा हुनेछन्, उसका आँखाहरू, उसको आवाज, उसको स्पर्श । उसको साथले त मलाई छोडिसकेको थियो नै । यस्तै यस्तै कल्पना गर्र्दै, म म्याग्जिन भर्छु र पिस्तोलमा लोड गर्छु ।
मौसम चिसो छ । ओभरकोट लगाउने राम्रो मौका पनि हो यो । म आफ्नो कालो ओभरकोटको भित्री खल्तीमा गोली लोड गरिएको पिस्तोल घुसाउँछु र उसलाई एउटा मेसेज लेख्छु, ‘…तिमीलाई अन्तिमपटक भेट्न मन छ ।’
तुरुन्तै जवाफ आउँछ, ‘भन्नुस् कहाँ कति बजे… ? ‘
‘चुच्चेपाटी चोक, ३ बजे…’, म रिप्लाई दिन्छु ।
ऊ आउँछे । मेरो बुलेटमा बस्छे । पहिलेभन्दा असजिलरी । उसलाई लिएर म सुन्दरीजलको जंगलतिर हुइिकिन्छु । सायद सगरमाथा आरोही पासाङ ल्हामुले पछाडिबाट हेरिरहेकी हुन्छे । केही बेरपछि उसलाई पनि त म पासाङ ल्हामुकै संसारमा पुर्याउनेछु ।
हामी सुन्दरीजल ड्याम नजिक पुग्छौं । बाटोभरि न ऊ बोल्छे न म । ऊ ड्यामको डिलमा उभिन्छे । म उसको सामुन्ने । मेरा हातहरू थरर्र काँप्न थाल्छन् । उसका सुन्दर आँखाहरूले फेरि मलाई मोहित गर्न थाल्छन् । उसले मुस्कुराउँदै मैले भेट्नुको कारण सोध्छे । उसको मुस्कानले फेरि पनि मलाई पगाल्छ । मैले एक्कासि उसको हात समात्छु । उस्तै मुलायम् छन् ती हातहरू । ऊ अचम्मित भएर मलाई हेरिरहन्छे । मेरो मुखबाट तातो सास बहन्छ, ‘तिमीलाई अघाउञ्जेल हेर्न मन लाग्यो ।’
उसका आँखाहरूले सोधेझैं लाग्छ, ‘सधैं, किन तर्साउनुहुन्छ मलाई यो डरलाग्दो पे्रमको अश्त्रले ? ‘
उसलाई के थाहा यतिखेर म प्रेमको हैन घृणाको अस्त्र बोकेर हिँडिरहेछु ।उसलाई हेर्दै जान्छु । मेरो आवेग झन्झन् बढ्न थाल्छ । म फेरि लोभिँदै जान्छु उसका आँखा, उसका नाक, चिउँडो, छातीको लयसँगै । मेरो सास बढ्दै जान्छ ।
मेरो शरीर भिज्दै जान्छ आफैंभित्रको आवेगले । ऊ केही नचली ठिंग उभिरहेकी हुन्छे । बेलाबेला उसका दुबै हातका औंलाहरू एकअर्कासँग अँगालिन्छन् । ऊभन्दा मुनि पानीको दह गहिरो भएर उसैलाई नै कुरिरहेको हुन्छ । पानीको सतहमा चल्मलाइरहेको थियो उसकै प्रतिबिम्ब । मैले खुट्टाले ढुंगा हुत्याउँदै पानीमा खसालिदिन्छु । किनकि म उसको वास्तविक रूपको नशामै रमाउन चाहन्छु।
मलाई लाग्न थाल्छ उसलाई सिध्याउनु अघि, क्षणभर भए पनि तानेर जंगलको माझमा उसको सिकार गरुँ । भरपूर अघाएर मात्र उसलाई बिदा गरिदिऊँ । अनौठोसँग मभित्र रगतको बहाव बढ्छ । अचानक मेरा आँखाहरूमा तातो रगत छर्किएको भान हुन्छ । एकाएक म दृष्टिभ्रम हुन पुग्छु । टाउको झट्कारेर आफैंलाई नियाल्छु । ब्वाँसोभन्दा फरक पाउँदिनँ । ऊ बरु उस्तै छे । उसको वरिपरि मेरै अनुहारका थुप्रै ब्वाँसाहरू देख्छु ।
बीचमा ऊ शान्त भएर उभिएकी छे । एउटी सुन्दर देवीको प्रतिमूर्तिझैं लाग्छ । उसको अनुहारमा घरीघरी मेरी आमाको अनुहार आएर बसिदिन्छ । एकाएक म आफैंसँग क्रोधित हुन्छु । भएभरको घृणा जाग्छ आफैंप्रति । म सम्हालिन सक्दिनँ र ओभरकोटभित्र हात छिराएर पिस्तोल निकाल्छु । मेरो दायाँहातको चोर औंला र ट्रिगरबीच मलाई नै सिध्याउने सम्झौता भइसक्छ । म राम्ररी चाल पाउँछु मेरो दायाँ निधारमा पिस्तोलले मीठोसँग स्पर्श गर्दैछ… ।