कथा : संयोगान्त

~अश्रु सिन्धुलीय~

१. सामान्य बेलामा जस्तो छैन उनको चालढाल। अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि। लुगा पनि विहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ। अनि छोरी पनि सँगै छन्। उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने आमासँग कतै अनुहार मिल्दैन तर एउटी आमाले मेरी छोरी भनेपछि मान्नै पर्‍यो। छोरीको नामचाहिँ अलि अप्ठेरो जस्तो लाग्यो। भन्छिन्-  ‘यो छोरीले मलाई पाल्नुपर्ने हुनाले यसको नाम मैले पाली राखेको।’

पाली त भाषा पनि हो अनि हाम्रा पहाडका घरतिर पहिले पहिले दलानमा पानी नपरोस् भनेर पाली गाँस्ने चलन थियो। छानाभन्दा धेरै तलबाट गाँसिएर बनाएको अर्को छानासहितको दलान भन्ने सम्झन्थ्यौँ। सायद त्यसै भएर हो, उनले पाली नाम राखेको। उनी त्यति पढे लेखेकी पनि होइनन् जस्तो लागेर एकदिन मैले जब सोधेँ ‘कति पढ्नु भएको छ?’ भनेर, उनले अनपेक्षित जवाफ दिइन्, ‘तपाईँलाई किन चाहियो मेरो पढाइ?’

२. सामान्यतः मानिसहरूसँग कुरो गर्ने क्रममा के भनुँ भनुँ भनेको बेलामा सोधिने कुरा भनेको पिताजीको नाम, जन्मेको ठाउँ, पढाइ, दाजुभाइ, दिदीबहिनी, मनपरेको पुस्तक, मनपरेको ठाउँ आदि आदि नै हुन्। अझ विहेको कुरा सोधिने त झनै मामुली कुरा नै हो। धेरैजसो २५ देखि ३५ सम्मकी केटीलाई सोधिने कुरा विहे नै हो। आजभोलि पोते लगाएको देखेमा, सिउँदोमा सिन्दूर देखेमा बाहेक ती विहे भएका पनि हुनसक्छन्, विहे नभएका पनि हुनसक्छन्। एकपटक त्यस्तै भयो। एउटी झण्डै ३५ वर्षजतिकी जस्ती देखिने अपरिचित महिलालाई मैले सरकारी अफिसको भाडाको गाडीमा सोधेँ- तपाईँको नाम के हो? उनले भनिन्- सजला। अनि थर के हो? भन्दा पन्त भनिन्। मैले अनायास नै सोधेँ- अहिलेको कि पहिलेको? उनले झर्को मान्दै भनिन्- अहिलेको न पहिलेको।

अनि मैले बुझ्नुपरेको थियो ती भद्र महिलाको विहे भएको छैन। मलाई बेकारमा अपरिचित महिलालाई सोधेको जस्तो लाग्यो तर परिचयको एउटा कडी नै हो- नाम, थर, घर, पढाइ, पिताको नाम, आजभोलि माताको नाम पनि सोधिन्छ। पति वा पत्नीको नाम र उस्तै परे छोराछोरीको नाम पनि। काम पनि सोधिन्छ। अलि आकर्षक तलब र सुविधा भएको कार्यालय वा गैरसरकारी संगठन भए स्वयं खुलासा हुन्छ- यो एनजीओ हो, तलब झण्डै एक लाख रुपैयाँजति, दुई लाखजति, सोध्नै पर्दैन। तर मैले जब उनलाई उनको पढाइ सोधेँ, उनले झर्कोसँग त होइन तर मैले धेरै पढेको छैन भन्ने सोचाइ राखेको जस्तो गरी भनेकी जस्तो लाग्यो– मीठो भाषा र शिष्ट लवजमा।

३. आजभोलि कस्तो पनि हुन्छ भने सानै देखेर कुनै केटी वा केटालाई सोधिन्छ- अहिले कति क्लासमा? अनि खासगरी केटीले सगर्व भन्छन्- म त स्नातकोत्तर दोस्रो वर्ष। ‘ए’ भन्यो अनि फुक्र्यायो- यति सानैमा पनि कति धेरै पढेको? अनि कहिले लाग्छ, पक्कै स्नातकोत्तर होला या स्नातक तहमा होला अनि सोध्यो– बीए कि एमएमा नानी? उनले हाँस्दै लजाएर कक्षा नौ भन्छिन्। हेर्दै डँडाक अनि हृष्टपुष्ट शरीर। हेर्दै २४ या २५ की जस्ती। नसोधे पनि हुने हो तर सोधिन्छ। यो एउटा सामाजिक चलन भएको छ। उहिले उहिले कति कक्षा भनेपछि उसको कक्षाअनुसारको अंग्रेजी सोध्ने चलन थियो। गणितका सूत्र सोध्ने चलन थियो, जस्तो कि कक्षा नौ भन्यो भने ‘चरा उडिरहेको छ’लाई अंग्रेजीमा अनुवाद गर त। या ‘ए प्लस बीको  होल स्क्वायर कति हुन्छ?’ यस्तै यस्तै।

अचेल धन्न त्यस्तो त सोधिँदैन तर अनुमान गरिन्छ, कति जानेको होला? या त्यसै बीए वा एम ए भनेको पो हो कि ? किनभने प्रमाणपत्र बाटा घाटामा देखाउनु त पर्दैन पनि। त्यसैले मैले सोधेको प्रश्नमा पनि उनले किन चाहियो? भनेकी होलिन्। तर मैले सोध्न छोडिन र सोधेँ फुर्क्याउँदै- तपाईंको चालढाल हेर्दा लाग्छ, स्नातक तह त पास गरेकै हुनुपर्छ। मैले एउटा ठाउँमा छात्रा होस्टेलमा वार्डेन मागेको थाहा पाएको छु, सिफारिस गर्न मिल्ने हो कि होइन भनेर सोधेको। तर मेरो मनमा चाहिँ लागेको थियो, कक्षा आठसम्मचाहिँ पास गरेकी हुनुपर्छ। तर प्वाक्क सोधियो, फुस्किइ त हाल्यो मुखबाट। त्यत्री छोरी छे, उमेर पनि झण्डै ३५ भन्दा बढी छ जस्तो लाग्छ। त्यस्तो वार्डेनको ठाउँ पनि काल्पनिक नै भनेको हो। त्यस्तै पर्‍यो भने कतै भन्नु पनि पर्ला भनेर। तर आजको चालढालचाहिँ उनको खुसीको लागि नै हो भन्ने अनुमान गर्नचाहिँ सकिन्थ्यो।

४. उनको पसल छ। सबैले उनको व्यापारिक बानी बेहोरा मनपराउँछन्। भन्छन्- त्यो छोरीको बाबु कता छ, कसैलाई पनि भन्दिनन्। किन भन्नुपर्‍यो त? आफ्नो गोप्य कुरा। कसैले सोधेका पनि त छैनन् होला। सबैका त गोप्य कुरा हुन्छन् नि, सबैले चाहिँ भन्दै हिँड्नु नपर्ने अनि पालीकी आमाले चाहिँ भन्दै हिँड्नुपर्ने हो र? साँच्चै उनको नाम पनि थाहा छैन किनभने हामी सबै पालीकी आमा नै भनेर चिन्छौँ। तर हाम्रो समाज त्यस्तो छ कि बस्ने ठाउँ पनि दिन्छ अनि कतिका लागि बस्ने ठाउँ पनि हर्ने गर्छ, बदनाम गरेर र बस्नै नहुने पारेर। कहीँ पालीकी आमा पनि त्यस्तै बस्नै नसक्ने भएर भागेकी पो हुन्  कि कतैबाट?

उनको बोलीको लबजले लाग्छ, पाल्पा, अर्घाखाँची, स्याङ्जा, गुल्मी कतै हो। त्यो सोध्न पनि मलाई किन अप्ठेरो लागेको हो भने उनले फेरि पनि मलाई भनिन् भने- किन चाहियो मेरो जन्मस्थान, मेरा माता पिताको नाम? उनको वेदना र दर्दको कुनै अनौठो कथा पो होला कि? या उनले कुनै नयाँ पतिको लागि यो ठाउँमा कुरेर बस्ने गरी व्यवस्था पो मिलाएर बसेकी हुन् कि? या कुनै पति पो छ कि? आजको बोलीचाली र व्यवहारले नयाँ जीवनको सुरुवात पो गर्न लागेकी हुन् कि जस्तो पनि लाग्यो तर सोध्ने आँट गर्न सकिएन किनभने त्यो उनको निजी काम र व्यवस्था हो।

५. हामी उनको पसलमा जाने र पसलका सामानको प्रशंसा गर्ने स्थायी ग्राहकभित्रै पर्छौँ। उनी ठग्दिनन् भन्ने हाम्रो टोलमा सबैलाई थाहा छ। उनको पसलमा एक सय रुपैयाँ पर्ने सामान अरू पसलमा तीन सय रुपैयाँसम्म पनि पर्छ भनेर भन्छन्। बोली पनि साह्रै असल र मिजासिलो छ। सामान्यतः आफ्नो विज्ञापन नगर्ने बानीकी पालीकी आमाका बारेमा सबैको अनुमान छ-अनमेल विवाहको परिणाम हुनुपर्छ यो पाली पनि र उनको यो गुप्तवास पनि।

भन्न त कसैले भन्थे पहिले उनी कतै होटेल गरेर पनि बस्थिन् रे! त्यो बेलामा पनि उनका ग्राहकहरूले उनको प्रशंसा नै गर्थे रे! त्यो बेलामा नै एउटा असल ड्राइभर केटोले मनपराएको थियो रे! अनमेल विवाह र यौन आकांक्षाको कुनै सन्देहसमेत कतै देखाएको कसैलाई थाहा छैन हाम्रो टोलमा। कसैले पनि उनलाई उत्ताउलीको रूपमा लिएका छैनन्। सबैले एउटी असल पसल्नी, मिजासिली पसल्नी र असल आमाको रूपमा लिन्छन्। पालीका साथीहरूलाई समेत उनले आमाभन्दा बढी माया गरेको मान्ने पनि छन्। कसैले त पाली साँच्चै उनकी छोरी हो के त भन्ने पनि छन् तर उनले छोरी भन्ने अनि छोरीले माया पाउने हुँदा हामीलाई केको खसखस लाग्नु नि, ती आमा छोरी हुन् कि होइनन् भनेर।

६. आमा सिँगार पटारमा छन्। छोरी साक्षी बस्न लागेजस्तो गरी सिँगार पटारमा भए पनि त्यति खुसी देखिएकी छैनन् तर आजचाहिँ आमाको जस्तो सिँगार पटार पारेर होला, आमा जस्तै देखिएकी छन्। अनि कतै मन्दिर जानेजस्तो गरी एउटा गाडी पनि तयार छ। आमा र छोरीबाहेक अरू कोही पनि साथमा छैनन्। हामी त बाटोमा हिँड्ने परिचित ग्राहक मात्र हौँ। छोरीले बिस्तारै भनिन् मैले सुन्नेगरी- अब हामी यहाँबाट जान्छौँ। तपाईँहरूसँग भेट होला नि! आमाले फिसिक्क हाँसेर छोरीको कुरालाई स्वीकृतिसम्म दिइन् तर आँखाले केही बोलेनन्, ओठले पनि केही भनेनन्।  शरीरले भने केही बोल्दै थियो र विवाहको जस्तो लक्षण देखिन्थ्यो।

७. अनि मेरो पाखुरामा च्याप्प समाएर सुस्तरी भनिन्- ”मैले पाँच कक्षा मात्र पढेकी हुँ र यो छोरी एउटा अनपेक्षित बूढाको सापटी हो।’ ‘सापटी’ शब्द भन्दा फेरि फिसिक्क हाँसिन् र भनिन्, ‘त्यो साहुको पनि पहिलेकी बूढीको मृत्यु भएकाले मलाई फकाएर राखेको थियो। मलाई खासै दुःख त थिएन तर जतिबेर पनि म उसका लागि यौनदासी हुनुपर्नेजस्तो गरेकाले म भागेर छोरी लिएर हिँडेँ। अहिले उसले अर्को विहे गरेको छ र म गाउँतिर जाँदा उसको भोक पूरा गर्नुपर्छ।’

उनी बोलिरहिन्, ‘म नियमले अहिले पनि उसकी बुढी नै हुँ र पनि कुनै खोजखबर पनि गर्दैन, रिस राग पनि गर्दैन। म स्वतन्त्र छु र ऊ पनि स्वतन्त्र छ। म विवाहिता पनि होइन, तर उसले स्वतन्त्र छोडेकी उसकी नारी हुँ। मलाई उसले जहिले पनि स्वागत गर्छ र बिदाई गर्छ। यो छोरीको नाममा थर तर मैले उसको दिइनँ। अहिलेको प्रेमीको थर दिएकी छु। त्यसमा पनि उसको कुनै विरोध छैन तर भन्ने गर्छ- मलाई मेरै छोरीले दागबत्ती देओस्, जबकि उसका छोरा नाति छन् घरभरि। मैले आजसम्म पनि यो छोरीलाई उसको नाम र थर दिएकी छैन र थाहा पनि छैन, म कसकी छोरी हुँ।’

८. मैले छोरीतिर इशारा गर्दै बिस्तारै सोधेँ- ‘यो उसको पहिचानको हकको विरुद्धमा भएन र?’ अनि उनले भनिन्- ‘पहिचान त अहिले पो भएको छ मलाई र मेरी छोरीलाई। मेरो प्रेमी असल छ र पनि ऊ मसँग विवाह गर्न तयार थिएन। आज ऊ तयार भयो र म विवाहका लागि दक्षिणकाली जान लागेकी। तपाईँ मेरो मौखिक र पहिलो साक्षी हुनुभयो मेरो विवाहको बारेमा। धन्यवाद छ तपाईँले मेरो कुरा ध्यानपूर्वक सुन्नुभएकोमा।’

९. अब मेरो पालो अलमलमा पर्ने रह्यो। यो आमा, छोरीको पहिचान दिने क्रममा अरू कसैको पहिचानमा र अधिकारमा पो हस्तक्षेप भयो कि? परिवारको सल्लाहमा त्यो केटाले विवाह गर्न लागेको हो कि भावावेशमा आएर हो? अनि मैले सुस्तरी भनेँ-यो विवाह असफल भयो भने नि? उनले फिस्स हाँस्दै भनिन्-आजसम्म जुन चिज थिएन, त्यो भोलि पनि भएन भने म किन चिन्तित हुने र?

तर उसले धेरै पहिलेदेखि नै पालीको परिचयमा सहयोग गरेकोले अब म ढुक्क छु, म मेरो परिचयका लागि उसको सहयोग अपरिहार्य र अपेक्षित छ। हामी जता बसे पनि तपाईँको सहयोग भने पाइरहौँ, हामी आमाछोरी र यसका कर्मका बाबुलाई।

१०. अनि त्यो कार गुड्यो। कार चलाउने उनै थिइन्। उनको पछि पछि उनको भावी पति अर्को कारमा गुड्दै थियो। छोरी आमासँगै कारमा हाँस्दै हामीलाई हात हल्लाउँदै गइन्। मलाई यो प्रेमको संयोगान्तले खुसी लाग्यो। सायद त्यही होटेलमा मनपराउने ड्राइभरले नै आफ्नो इमान्दारी देखाउँदै पाणीग्रहण गर्ने होला र कन्यादान दिने अभिभावकचाहिँ त्यही पाली होली, जसले आफ्नो बाबुलाई आमा जिम्मा लगाउली।

पाली पनि खुसी होली उसले बाबु पाई, उसका बाबु पनि खुसी होलान्, उनले बहुप्रतीक्षित पत्नी पाए र पालीकी आमा पनि खुसी होलिन्, उनले पालीका लागि एउटा पिता पाइन् र आफ्ना लागि एउटा साथी। त्यस्तो साथी सायद अब छोड्नु पनि नपर्ला र छोडेर पनि नजाला।

(स्रोत : थाहाखबर डट कम )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.