कविता : नानीहरुको आग्रहः गुरुआमालाई

~रमा अधिकारी ‘कादम्बरी’~

धुम्म इतिहासको
धमिलो आकाशमा
बन्दुकले लेखेको बारुदको कथा
सुन्दा सुन्दै विरक्तिएर
नानीहरु भन्छन्
गुरुआमा !
कति सुनाउनु हुन्छ
विभक्त मनका व्यथा
उजाड वनका कथा
कति पढाउनुहुन्छ
जलेको पाठशालाको पाठ
परदेशिएको प्यार
र
टुहुरा भविष्यको कथामा
कस्तो खल्लो कौतुहलता हुँदोरहेछ
देश दुखेको
दर्दनाक कहानीमा
कस्तो निरस उत्सुकता जाग्दोरहेछ ।
बरु
हामीलाई दन्त्यकथामा जस्तो
अजङ्गका राक्षस मार्ने
सुकुमार
राजकुमारका कथा सुनाउनुहोस्न
महाभारतमा
द्रौपदीको लाज राख्ने
कृष्णको कहानी पढाउनुहोस्न
नभए
रामको आदर्श घोकाउनुहोस्
सिद्धार्थको शालीनता सिकाउनुहोस्
हामी
रमाएर सुन्छौँ गुरुआमा !
तर
बिन्ति
कहिल्यै नगर्नोस्
विच्छिन्न विकासको
विरक्त–बात
दुःख लाग्छ हामीलाई
बरु गर्नोस्
सधैँ सधैँ
बिहानी घामको कुरा
र भर्नोस्
हाम्रो मनमा
आस्थाको याम ।

– कुशादेवी-७, काभ्रे, नेपाल

विश्व नेपाली साहित्य महासङ्घको विश्वव्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०११ का प्रतियोगी कविता

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.